अप्रेसन आई बोस फन्दामा नेटवर्किङ व्यवसायीहरू

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७५

 

नेपालको सबैभन्दा ठूलो नेटवर्किङ ठगी युनिटी काण्डलाई लिइन्छ । युनिटी लाइफ इन्टरनेसल, हर्बो इन्टरनेसल नेटवर्किङ कम्पनीहरूले पिरामिड शैलीमा नेटवर्क बनाएर ठगी गरेपछि सरकारले नेटवर्किङ व्यवसायमाथि नै प्रतिबन्ध लगाएको थियो, तर उक्त प्रतिबन्धका बीच पनि नेपालमा विभिन्न लोभ देखाउँदै अवैध नेटवर्किङ व्यवसाय चलाउने क्रम रोकिएको छैन । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले हालैमात्र ८ हजारभन्दा बढी सदस्य भएको त्यस्तै एक नेटवर्किङ व्यवसायमा संलग्नहरूको समूहलाई पक्राउ गरेको छ । काठमाडौंको चुच्चेपाटीस्थित आइबोस ग्लोबल मार्केटिङ प्रा.लि.का नाममा खोलिएको नेटवर्किङमाथि सिआईबीको टोलीले अनुसन्धानपछि कारबाही 

थालेको हो ।

अनुसन्धानका क्रममा ब्युरोले आइबोसले ८ हजार सदस्य बनाएर ठगी गरेको विवरण प्राप्त गरेको बताइएको छ । ‘गैरकानुनी तवरले नेटवर्किङ विजनेश गरेको सुराकका आधारमा हामीले वैशाख ४ गते काठमाडौं—७ चुच्चेपाटीस्थित आइबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयबाट ६६ जना ब्यक्तिलाई नियन्त्रणमा लिएका थियौं,’ सिआईबीका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘प्रारम्भिक छानबिनपश्चात् तीमध्ये ७ जना सक्रिय व्यक्तिविरुद्ध अनुसन्धानको कारबाही अघि बढाइएको छ भने अन्यलाई छाडिदिएका छौं ।’

उक्त कम्पनीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङको नामबाट सर्वसाधारणलाई आइबोस सदस्य बनाउने भन्दै ठगी गर्दै आएको सिआइबीले जनाएको छ । नेटवर्क विजनेसको नाममा गैरकानुनी तवरले सर्वसाधारणहरूबाट सदस्यताबापत ठूलो रकम लिएर ठगी गरिएको सिआईबीको दाबी छ । 

आइबोस काभ्रे पाँचखाल—१५ घर भै हाल धुम्बराहीमा बस्दै आएका ३५ वर्षीय राजकुमार दंगालले सञ्चालनमा ल्याएका हुन् । दंगाललाई प्रहरीले पक्राउ गरिसकेको छ । यस्तै, प्रहरीले आइबोसमा संलग्नता देखिएको भन्दै दोलखा लामिडाँडाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रामेछापकै रविन नेपालीलाई समेत पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ भने सोलखुम्बुका प्रदीप राई, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठमाथि पनि अनुसन्धान गरिरहेको छ । 

ब्युरोका अनुसार शिवाकोटीले ५ हजार ८ सय ८९ सदस्य बनाएका थिए । उनीपछि रविन नेपालीले १ हजार ३२ जनालाई नेटवर्किङ व्यवसायका नाममा सदस्य बनाएका थिए । भक्तबहादुरले २ सय ५०, प्रदिपले ३ सय १, तिर्सना सुनुवारले २ सय तथा पूर्णबहादुरले १ सय २१ जना सदस्य बनाएका थिए । 

यसअघि गत जेठमा प्रहरीले गैरकानुनी रुपमा नेटवर्किङ व्यवसायमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट १ सय २ जनालाई कार्यालयमै छापा मारेर नियन्त्रणमा लिएका थियो । 

यसरी हुन्थ्यो ठगी 

सिआईबीका प्रवक्ता श्रेष्ठका अनुसार पिरामिड शैलीमा नेटवर्क बनाएर आइबोसका सञ्चालकहरूले ब्यापारका नाममा ठगी गरेका थिए । सदस्य बनेवापत सेम्पुदेखि ब्रासलेटसम्म र चियादेखि घडिसम्म दिइन्थ्यो भने त्यसबापत उनीहरूले पैसा उठाउने गरेका थिए । सदस्य बनेवापत पैसा लिएर उनीहरूलाई सेम्पु, चिया, घडी, ब्रासलेट आदि सामान दिइन्थ्यो । प्रवक्ता श्रेष्ठका अनुसार पिरामिड शैलीमा नेटवर्किङ विजनेश गर्न नेपालमा बन्देज छ । आइबोसले विभिन्न माध्यमबाट आफ्नो व्यापारको विज्ञापन समेत गर्ने गरेको थियो । कम्पनीले अनलाइन तथा विभिन्न माध्यमबाट व्यवसायका नाममा ठूलो रकम ठगी गरेको प्रहरीको दाबी छ ।

प्रकाशित :वैशाख २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्