प्रेममा परेकै छैन, कसरी धोका खानु ?

- कृष्ण भट्टराई

वैशाख २६, २०७५

 

 

 

२१ वर्षअघि बाँझपाटन, पोखरामा जन्मिएकी जसीता गुरुङ यतिबेला नेपाली चलचित्रमा स्थापित हुने क्रममा छिन् । चैत मसान्तमा प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मार्फत रजतपटमा पदार्पण गर्ने यी अभिनेत्री एउटै चलचित्रमार्फत दर्शकको मन जित्न सफल भएकी छिन् । चलचित्र प्रदर्शन भएको दुई साताको अवधिमा झन्डै एक दर्जन नयाँ चलचित्रबाट अभिनयको प्रस्ताव पाउने यी भाग्यमानी अभिनेत्री पछिल्लो एक दशकदेखि बुवा–आमासँग बेलायतमा छिन् । लिलिबिलीको छायांकन तथा प्रदर्शनका लागि झन्डै तीन महिनाअघि काठमाडौं आएर गत मंगलबार बेलायत फर्किएकी जसीताले साप्ताहिकका कृष्ण भट्टराईसँग लामै कुराकानी गरेकी थिइन् :

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?

झन्डै चार महिना लामो नेपाल बसाइ पूरा गरेर मंगलबार बेलायत फर्कंदैछु । चलचित्र ‘लिलिबिली’ को नेपालमा हुने छायांकनका लागि काठमाडौं आएकी थिएँ । चलचित्रलाई हिट बनाएर फर्किएकी छु ।

यसपटकको नेपाल बसाइ कस्तो भयो ?

अघिल्लो पटक नेपाल आउँदा म चलचित्रमा अनुबन्ध भएकी एउटी नयाँ अनुहारमा सीमित थिएँ । त्यसअघि नेपाल आउँदा म एउटा नेपाली अभिभावककी छोरीका रूपमा चिनिन्थें । यसपटक भने नेपाली चलचित्रकी अभिनेत्रीका रूपमा नेपाल आएँ । त्यो हिसाबले मेरो यसपटकको नेपाल बसाइ अत्यन्त फलदायी रह्यो ।

लिलिबिली प्रदर्शन हुनुभन्दा अघि र पछिकी जसीतामा के अन्तर छ ?

चलचित्र लिलिबिली प्रदर्शन हुनुभन्दा अघि म नेपाली चलचित्रकै लागि नयाँ अनुहार थिएँ । चलचित्र प्रदर्शन भएपछि मलाई दर्शकहरूले सम्मान दिनुभयो । नेपाली चलचित्र उद्योगको एउटा सदस्यका रूपमा चिनिन पाएँ ।

पर्दामा आफैंलाई देख्दा कस्तो अनुभव गर्नुभयो ?

मैले पहिलो पटक यो चलचित्र जापानमा हेरेकी थिएँ । अभिनेता प्रदीप खड्का तथा निर्माता गोविन्द शाहीसँग बसेर पहिलो पटक चलचित्र हेर्दा म निकै नर्भस थिएँ । चलचित्र हेर्दै जाँदा म अरू नै कसैको चलचित्र हेर्दैछु जस्तो लाग्यो । पर्दामा देखिएको त्यो कलाकार म आफैं हो भन्ने विश्वास नै भएन । पहिलो पटक सिल्भर स्क्रिनमा आफूलाई देख्दा आफैंप्रति विश्वास नभएको हुनसक्छ । यद्यपि दोस्रो पटक काठमाडौंमा चलचित्रका निर्देशक, कलाकार, सञ्चारकर्मी तथा दर्शकहरूसँग बसेर हेर्दा भने मेरो आँखामा खुसीका आँसु छचल्किएका थिए ।

आफ्नो अभिनयप्रति के–कस्ता प्रतिक्रिया पाउनुभयो ?

अधिकांश दर्शकले मेरो अभिनय शैली, मेरो सुन्दरता तथा मैले निर्वाह गरेको चरित्र मन पराएको पाएँ । कतिपयले मलाई वास्तविक जीवनमा भन्दा ठीक विपरीत चरित्र निर्वाह गरेको पनि भन्नुभयो । अभिनेता प्रदीप खड्कासँगको केमेस्ट्री मिलेको चर्चा पनि चल्यो ।

खड्कासँग त अफेयरकै चर्चा छ त ?

त्यस्तो चर्चा चल्नु सामान्य हो । प्रत्येक चलचित्र प्रदर्शन भएपछि उक्त चलचित्रका अभिनेता र अभिनेत्रीको नाम जोडिनु नौलो कुरा होइन । हेर्दै जानुहोला, मैले दोस्रो–तेस्रो चलचित्रमा काम गर्दा ती चलचित्रका अभिनेतासँग पनि मेरो नाम जोडिन्छ । त्यसैले म यो कुरालाई अति नै सामान्य रूपमा लिन्छु । यद्यपि प्रदीप र म असल साथी भएका छौं भन्ने कुरामा दुईमत छैन ।

लिलिबिलीलाई तपाईं आफ्नो करियरको कुन प्वाइन्ट मान्नुहुन्छ ?

यो बिगिनिङ प्वाइन्ट नै हो । पहिलो प्रयास नै सफल भएकाले यसले मेरो करियरलाई उचाइमा पुर्‍याउनेछ भन्ने आशा छ ।

अब अर्को चलचित्र कहिले त ?

सम्भवत: म २०७५ सालमै नयाँ चलचित्रमार्फत दर्शकमाझ आइसक्नेछु ।

कस्ता चलचित्रबाट प्रस्ताव पाइरहनुभएको छ ?

मैले एक दर्जनभन्दा बढी चलचित्रबाट अभिनयको प्रस्ताव पाइसकेकी छु । केही स्क्रिप्ट आफैंसँग बेलायत लिएर जाँदैछु । तीमध्ये एक अथवा दुई चलचित्रमा अभिनय गर्ने सम्भावना प्रबल छ ।

तपाईंले निर्वाह गर्न चाहेको भूमिकाचाहिं कस्तो हो ?

मलाई ऐतिहासिक विषयमा आधारित चलचित्रमा राजकुमारीको भूमिका निर्वाह गर्ने ठूलो चाहना छ । आशा छ, मैले त्यस्तो ऐतिहासिक अवसर अवश्य पाउनेछु ।

चलचित्रमा सक्रिय भएपछि बेलायत छाडेर नेपाल नै बस्नुपर्ने भयो भने ?

मेरा लागि त्यो सबैभन्दा भाग्यशाली दिन हुनेछ । आफ्नो देशमा बसेर आफूलाई मन परेको काम गर्न पाउँदा कुन नेपाली खुसी नहोला ?

प्रसंग बदलौं, तपाईंको नाम ‘जसीता’ को अर्थ के हो ?

यसको वास्तविक अर्थ त मलाई पनि थाहा छैन, यद्यपि बुवा जस–राम गुरुङ तथा आमा सीता गुरुङकी छोरी भएकाले बुवाले नै जसीता नाम राखिदिनुभएको हो ।

बेलायत गएको कति भयो ?

म २००८ मा पहिलो पटक आमा र दाजुसँग बेलायत गएकी थिएँ । बुवा बेलायती सेनामा कार्यरत हुनुभएकाले हामी पोखराबाट उतै बसाइ सरेका थियौं । त्यतिबेला म कक्षा ७ अध्ययरत ११ वर्षकी बालिका थिएँ ।

बाल्यकालमा कस्तो स्वभावकी हुनुहुन्थ्यो ?

म अन्य सामान्य बालिकाहरूझैं थिएँ । कम बोल्ने, राम्रो पढ्ने । नृत्यमा चाहिं एक कदम अगाडि । विद्यालयमा हुने प्रत्येक प्यारेन्ट्स डेमा मेरो नृत्य अनिवार्य रुपमा समावेश हुन्थ्यो ।

११ वर्षको उमेरमा बेलायत पुगेपछि त्यहाँको समाजसँग घुलमिल हुन कत्तिको गाह्रो भयो ?

पहिलो कुरा त भाषाले अलि गाह्रो पार्‍यो । नेपालमा हुँदा नेपाली मात्र बोल्ने बानी, दुई–चार महिना त उताका मानिसहरूले बोलेको बुझ्नै समस्या भयो । विद्यालयमा पनि गाह्रै थियो । सबै कुरा सामान्य हुन झन्डै दुई वर्ष लाग्यो ।

अहिले पढाइ कहाँ पुर्‍याउनुभयो ?

म अहिले मेकअप एन्ड हेयर डिजाइनमा ग्राजुएसन गरिरहेकी छु । सेकेन्ड इयरसम्मको अध्ययन पूरा गरिसकें । अब एक वर्षपछि मेरो ग्राजुएसन पूरा हुन्छ ।

टिनएजमा कस्तो स्वभावको हुनुहुन्थ्यो ?

१६–१७ वर्षको उमेरसम्म पनि म साधारण नै थिएँ । नेपाली समुदायका मेरै उमेरका किशोरीहरूसँग घनिष्ठता थियो । हामी नेपाली जहाँ पुगे पनि नेपालीसँगै घुलमिल हुने बानी छ । टिनएजको अन्त्यतिरदेखि साथीहरूसँग घुम्न जाने, रमाइलो गर्ने, चटपटे बनाएर खाने, पिकनिक जाने जस्ता रमाइला गतिविधिमा पनि सहभागी हुन थालें ।

विद्यालय तहपछि अभिभावकले तपाईंलाई के पढाउन चाहनुभएको थियो ?

छोरीलाई जुन विषयमा रुचि छ, त्यही विषय पढून् भन्ने उहाँहरूको चाहना थियो अर्थात् मैले जे पढे पनि राम्रो गर्नुपर्छ भन्ने उहाँहरूको मनसाय थियो । विद्यालय तहको अन्त्यतिर भने फेसन डिजाइनिङ, ट्राभल एन्ड टुरिज्मजस्ता विषयप्रति रुचि बढ्न थालेको थियो । फेसन, सौन्दर्य, मेकअपजस्ता विषयमा बढी नै रुचि भएकाले मैले युनिभर्सिटी भर्ना हुने बेलामा हेयर एन्ड मेकअप डिजाइनलाई रोजें ।

मेकअप डिजाइनमै स्नातक गर्ने योजना कसरी बन्यो ?

हेयर एन्ड मेकअपका पनि अनेकन शैली हुन्छन् । हेयर एन्ड मेकअपमा उच्च शिक्षा हासिल गरियो भने भविष्यमा यही विषयमा करियर बनाउन सकिन्छ भन्ने मेरो सोच थियो ।

सौन्दर्यको औपचारिक अध्ययन गरिरहेको मान्छे, चलचित्रमा कसरी आइपुग्नुभयो ?

यसको कथा केही रोचक छ । मैले अघि नै भनेकी थिएँ, म नृत्यमा निकै सिपालु छु । फुर्सदमा पनि नाचिरहन्छु । गत वर्ष समरमा कलेज बिदा भएपछि एउटा क्याफेमा पार्ट टाइम काम गर्न थालें । यद्यपि एक साता नबित्दै उक्त काम छाडेर केही नयाँ गर्नुपर्छ भन्ने सोच्न थालें । त्यही बेला नेपाली समुदायका प्रतिभाहरूलाई लक्षित गरिने नृत्यमा आधारित रियालिटी शो ‘डान्स अफ–२०१७’ को आवेदन खुल्ला भएको रहेछ । मैले अडिसनका लागि निवेदन दिएँ । अडिसनमा उत्कृष्ट दिने प्रयास गरें, निर्णायक प्रतियोगिताका लागि छनौट भएँ । निर्णायक प्रतियोगितामा हामी १३ जना थियौं, दिन–रात मेहनत गरेर उक्त प्रतियोगिताको उपाधि नै जितें । त्यही उपाधि नै म चलचित्रमा आउने मुख्य कारण बन्यो ।

कसरी ?

उक्त कार्यक्रमका प्रस्तोता सञ्चारकर्मी नरेश भट्टराईलाई मैले ‘माइतीघर’ गीतमा प्रस्तुत गरेको नेपाली नृत्य मन परेछ, तिमी त नेपाली चलचित्रमा आउनुपर्ने भनेर प्रतिक्रिया जनाउनुभयो । उपाधि नै जितेपछि कोरियोग्राफर (निर्णायक) रेनसा बान्तवा राईले नेपाली चलचित्रमा तिम्रो भविष्य छ भन्नुभयो । त्यही दिन राति प्रतियोगिताको सक्सेस पार्टीमा कसैले मसँग खिचेको तस्बिर फेसबुकमा राख्नुभएछ, जसलाई निर्देशक मिलन चाम्सले देख्नुभएको रहेछ । सञ्चारकर्मी भट्टराई तथा प्रतियोगिताका आयोजक सपन कुमार राईले पनि निर्देशक चाम्ससँग मेरो प्रतिभाका बारेमा कुरा गर्नुभएको रहेछ । सबैले मेरो प्रशंसा गरेको सुनेपछि निर्देशक चाम्सले मलाई चलचित्र ‘ब्लाइन्ड रक्स’ को लन्डनमै भएको प्रिमियर शोमा बोलाउनुभयो । त्यही कार्यक्रममा उहाँसँग भेट भयो, दुई दिनपछि चलचित्र ‘लिलिबिली’ का लागि अडिसन लिनुभयो । यद्यपि अडिसनको परिणाम भने सुनाउनु भएन ।

अडिसनमा के–के सोधियो ?

नेपाली बोल्न आउँछ भन्ने पहिलो प्रश्न थियो । मैले आउँछ भनेर नेपालीमा खररर कुरा गरेपछि निर्देशक चाम्स प्रभावित हुनुभएको थियो । म अलि मोटी भएकाले केही तौल घटाउन आग्रह गर्नुभयो । मैले एक महिनाको अवधिमा दुई–तीन किलो तौल घटाएँ ।

अभिनयका लागि छनौट भएको जानकारी कसरी पाउनुभयो ?

अडिसन दिएपछि मलाई आफू ‘लिलिबिली’ मा छनौट भएँ कि भइनँ भन्ने खुल्दुली भैरहेको थियो । छनौट भइनँ भने पनि अभिनयको अध्ययन गरेर, नेपालमै पुगी अडिसन दिएर भए पनि चलचित्रमा आउँछु भन्ने निर्णय गरिसकेकी थिएँ । आफ्ना अभिभावकहरूलाई पनि यो कुरामा सहमत गराइसकेको थिएँ । एक महिनापछि निर्देशक चाम्सले फोन गरेर ‘एउटा ब्याड न्यूज छ’ भन्नुभयो । मैले आफू छनौट हुन नसकेको कुरा बुझिसकेकी थिएँ । ‘ठीकै छ, लिलिबिली नभए अर्को कुनै नेपाली चलचित्रमा प्रयास गरौंला’ भनेर फोन राख्नै लागेकी थिएँ, उहाँले ‘सुन न, एउटा ब्यान्ड न्यूज छ, तिमी लिलिबिलीको पत्रकार सम्मेलनमा सहभागी हुन काठमाडौं जानुपर्ने भयो’ भन्नुभयो । उहाँको त्यो कुराले मलाई असीमित खुशी दियो । तुरुन्तै बुवा–आमालाई आफू चलचित्रमा छनौट भएको जानकारी गराएँ ।

त्यसपछि के भयो ?

त्यसपछि लिलिबिलीको पत्रकार सम्मेलनमा सहभागी हुन काठमाडौं आएँ । झन्डै एक महिनाको काठमाडौं बसाइका क्रममा अभिनयको कार्यशालामा पनि सहभागी भएँ । चलचित्रका अभिनेता प्रदीप खड्कासहित अन्य कलाकारहरूसँग घुलमिल भएँ । वर्कसप सम्पन्न भएलगत्तै बेलायत फर्किएर चलचित्रको छायांकनका लागि स्कटल्यान्ड पुगें ।

छायांकनको अनुभव कस्तो थियो ?

म इङ्ल्यान्डमा बसोबास गर्ने भए पनि नजिकैको स्कटल्यान्ड पुगेकी थिइन् । क्रिसमसका बेला त्यहाँ लन्डनमा भन्दा बढी चिसो हुन्छ भन्ने सुनेकी थिएँ, साँच्चिकै हो रहेछ । डिसेम्बरको चिसोमा एकसरो लुगामा अभिनय गर्नु चुनौतीपूर्ण रह्यो । जति नै चिसो भए पनि एक महिनाको अवधिमा चलचित्रको अधिकांश छायांकन सम्पन्न गरियो ।

छायांकनका क्रममा भएका कुनै रमाइला घटना सम्झनुहुन्छ ?

त्यति बेलाको चिसोबाहेक दिमागमा अरू केही पनि आएन । नढाँटी भन्नुपर्दा मैले त्यस्तो चिसो त्यसअघि कहिल्यै खोपेकी थिइनँ । यद्यपि गीतको छायांकनमा असाध्यै रमाइलो भएको थियो । जति नै गाह्रो भए पनि उक्त क्षण मेरो जीवनकै सबैभन्दा उत्कृष्ट सम्झना हो ।

जीवनलाई कसरी बुझ्नुभएको छ ?

जीवन भनेको सुख र दु:खको मिश्रण हो । जीवनमा उतार–चढाव आइरहन्छ । कहिले खुसी र कहिले दु:ख भएन भने जीवन बाँच्नुको अर्थ नै के रहन्छ र ? यद्यपि सुख र दु:ख जे भए पनि जीवनमा सकारात्मक भावना भैरहनुपर्छ ।

तपाईं बेलायतमा हुर्किएकी युवती नाइट लाइफ कत्तिको मन पर्छ ?

पत्याउनु हुन्न होला, म बेलायतमै हुर्किए पनि नेपाली कला र संस्कृतिबाट टाढा छैन । नेपाली केटी साथीहरू भेला पारेर अमिलो र पीरो मिसिएको चटपटे खाएर फुर्सदको सदुपयोग गर्ने केटी हुँ म, मलाई बेलायत होस् अथवा काठमाडौं वा पोखरा कतैको पनि नाइट लाइफ मन पर्दैन ।

कस्तो खानपिन रुचाउनुहुन्छ ?

मलाई सबैभन्दा मनपर्ने खाना भनेकै दाल, भात र तरकारी हो । हामी बेलायतमै पनि प्रत्येक रात नेपाली खाना नै खान्छौं । अझ बुवाले बनाउने ढिँडो मेरो विशेष परिकार हो ।

आफू कत्तिको राम्री लाग्छ ?

वाउ...भन्नुपर्ने राम्री पनि छैन, छ्या भन्नुपर्ने नराम्री पनि छैन, ठीकै छु ।

फुर्सदमा के गर्नुहुन्छ ?

मोबाइलमा गेम खेल्छु । पुस्तक पढ्छु । जिम जान्छु ।

कुन कुराले रिस उठ्छ ?

कसैले कुनै कुरा ढाँट्दा अनि पिठ्यूँ पछाडि कुरा काटेको थाहा पाउँदा रिस उठ्छ ।

आफूमा भएको कमजोरी ?

म मानिसहरूलाई सहजै विश्वास गर्छु । अर्को कुरा म मानिसलाई सजिलै चिन्न सक्दिनँ । यी कमजोरीका कारण मैले धेरै पटक धोका खाएकी छु ।

प्रेममा पनि धोका खाएको हो ?

प्रेममा त म अहिलेसम्म परेकै छैन, कसरी धोका खानु ?

तपाईंलाई मन पर्ने पहिरन ?

आफूलाई सुहाउने ।

चलचित्र ‘लिलिबिली’ मा दर्शकले तपाईंको कुन पक्ष मन पराए जस्तो लाग्छ ?

मेरो चञ्चले युवतीको चरित्रले धेरैजसो दर्शकलाई लोभ्याएको रहेछ । कतिपयले मेरो सौन्दर्यको पनि प्रशंसा गर्नुभएको छ ।

आफ्नो स्वभावलाई सुधार्ने मौका पाउनुभयो भने ?

म कमलो मनकी छु, संवेदनशील पनि छु । सानो कुराले पनि मेरो आँखा रसाउँछ । म आफूलाई भित्रैबाट मजबुत बनाउन चाहन्छु । कठोर बन्ने प्रयास गर्न थालेकी छु, यद्यपि सफल भैसकेकी छैन ।

अबको दस वर्षमा तपाईंलाई कहाँ पाइएला ?

दर्शकहरूको माया पाइरहें भने म अभिनयमै रमाइरहेकी हुनेछु । चलचित्रमा रहिनँ भने समाजसेवीका रूपमा सक्रिय हुनेछु ।

 

प्रकाशित :वैशाख २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्