Teej banner

हाँसोको मुहान खोज्दै जाँदा— १

- मनोज गजुरेल

वैशाख २४, २०७५

राम्रो कम्पनी’, ‘सजिलो जागिर’, ‘दुई दिन साप्ताहिक छुट्टी’, ‘वर्ष–वर्षमा घरबिदा’, ‘टन्नै ओभर टाइम’, —यस्ता थुप्रै सपना देखाएको थियो उसले । ऊ अर्थात् मेरै गाउँको म्यानपावर एजेन्ट । पासपोर्ट र २५ हजार रुपैयाँ बैना लिंदै उसले भनेको थियो— एक हप्तामा मेडिकल हुन्छ, दस दिनभित्र भिसा झर्छ, पन्ध दिनभित्रमा उडाइसक्छु । यद्यपि एक वर्षसम्म न भिसा झर्‍यो, न त पैसा फिर्ता गर्‍यो । २५ हजार रुपैयाँको ब्याज तिर्न आमाले घरको बाख्रा बेच्नुपर्‍यो ।

पासपोर्ट फिर्ता मागौं फोन उठाउँदैन । उठाइहाल्यो भने ‘काम हुँदैछ’ भन्छ । ‘कैले हुन्छ ?’ भन्दा ‘हुनासाथ खबर गर्छु’ भन्छ । कुर्‍यो कुर्‍यो, न खबर आउँछ, न फोन आउँछ । मैले फोन गर्दा झ्याप्पै काटिदिन्छ । भेट्न खोज्यो, अहिले बाहिर छु भनेर दिउँसै ढाँटिदिन्छ । 

सुनेअनुसार उसले मजस्ता १ सय जनासँग २५–२५ हजार रुपैयाँ लिएको हुन्छ । १ सय इन्टु २५ हजार इजिकल्टु २५ लाख रुपैयाँ बैंकलाई दिन्छ । यता हामीलाई झुलाउनसम्म झुलाउँछ । उता हाम्रो पैसाले बैंकमा ब्याज फलाउँछ । हामीलाई ‘तिम्रो काम हुँदैछ’ भन्छ, खासमा उता उसको काम हुँदै हुन्छ । बोल्न सक्नेलाई किस्ता–किस्तामा पैसा फिर्ता दिन्छ । नसक्नेलाई पैसा माग्दा सातो लिन्छ ।

भिसा आउनै लाग्यो, आइज भन्छ । गयो, १५ दिन पर्ख भन्छ । गाउँको मान्छे, पैसा हुन्न । साथीभाइ खोज्यो, बात मार्दै बस्यो । आफन्त खोज्यो, भात मार्दै बस्यो । दोहोर्‍याएर गयो, ‘खाएर आयौ होला, हामी त खान थाल्यौं’ भन्छन् । खाएको छैन भन्यो भने, पाउरोटी दिन्छन् । 

भाग्य बलियो छ भने वर्ष दिनपछि भिसा आउँछ । उता विदेश जाने भिसा आउँछ । यता ऋण खोज्दा दिसा आउँछ । बाबाको औंठी बेच्यो । मम्मीको तिलहरी जाकटी राख्यो । पैसा लगेर म्यान पावरलाई दियो । उड्ने दिन आउँछ । कम्पनीको टोपी भिराएर एयरपोर्ट पुर्‍याउँछ । 

भित्र छिर्न त छिर्‍यो तर अब बोर्डिङ पास कता, थाहा हुँदैन । एउटालाई सोध्यो, ऊ पनि नयाँ । अर्कालाई सोध्यो, बोल्न पैसा लाग्लाझैं गर्छ । मजस्तै मजदुरको लाइन हुन्छ । उसैको पछाडि उभिन्छु, अगाडि जा भन्छ । अगाडि जान्छु, पछाडि बस् भन्छ । बल्ल बल्ल बोर्डिङ पास मिल्छ । साथीहरूलाई पछ्याउँछु । 

सुकिला–मुकिलाको लाइन छुट्टै । श्रमिक कामदारको छुट्टै । इमिग्रेसन भन्दा रहेछन्, त्यसलाई । बुबाको उमेरका हाकिम हुँदा रहेछन् । पावरवाला चस्मा धडेका, आँखा भित्र गढेका, पद हेर्दा निकै पढेका, बेहोरा हेर्दा पढ्दै नपढेका । बोल्दा पनि पैसा लाग्लाजस्तो गर्ने । बोल्दा पनि सातो लिने खालका ।

नबोल्दा पनि बातो बसाउने खालका । ‘कहाँ जान लागेको ?’ सोध्दा पनि स्वास्नीलाई सोधेजस्तो । छाप लगाउँदा पनि गोदेजस्तो । यो देखा भन्छ, त्यो देखा भन्छ । यस्तो पुगेन भन्छ । त्यस्तो पुगेन भन्छ । के नपुगेको हो ? न म प्रस्ट बुझ्छु, न त ऊ स्पष्ट भन्न सक्छ ।

कसो–कसो त्यो ज्यामद्वार पार गर्छु । त्यसपछि घरभन्दा ठूलो जहाज चढ्छु । जहाज चढेपछि मलाई बल्ल मान्छे भएको अनुभूति हुन्छ । किनभने जहाजका ‘वेटर’हरूले मुसुक्क गर्दै ‘नमस्ते’, ‘हजुर’, ‘सर’ जस्ता सम्मानित शब्द बोल्छन् । अघिको ठुस्स परेको इमिग्रेसन अफिसरभन्दा हजार गुणा ठिक लाग्छन् यी एयर होस्टेजहरू । 

म एक वैदेशिक रोजगारीमा हिंडेको श्रमिक । जहाजमा के–के दशा भोग्नुपर्छ । विदेशी इमिग्रेसनमा कस्तो अनुभव हुन्छ । कम्पनी, काम, तलब, रेमिट्यान्स, बिदा, स्वदेशको झम्झना.....सबै बिषयमा क्रमश: सुनाउँदै जानेछु, ‘मंगल होस्’का आगामी अंकमा ।

प्रकाशित :वैशाख २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्