प्रमुख लिगमा एकहोरो जित

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७५

इंग्ल्यान्ड

म्यानचेस्टर सिटी फेरि एकपटक युरोपेली च्याम्पिन्स लिगमा असफल सावित भयो, तैपनि उसलाई इंग्लिस प्रिमियस लिग जित्नबाट भने कसैले रोक्न सकेन । प्रशिक्षकमा पेप ग्वार्डिओला आएयता सिटीले लिग जितेको यो पहिलो अवसर हो । छिमेकी क्लब म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमको हातबाट पराजित भएको दिन सिटी लिग च्याम्पियन बन्यो । अहिले सिटी ३५ खेलबाट ९३ अंकको स्थितिमा छ । अब उसको ध्यान केन्द्रित भएको छ, लिगमा कमाएको अंक र गरेका गोलका अरू धेरै कीर्तिमान राख्ने कुरामा । खास भन्ने हो भने लिग उपाधिको होडमा एक्लै जस्तै रह्यो, सिटी । उनको नजिकको प्रतिद्वन्द्वी युनाइटेड धेरै पछाडि रह्यो । उनीहरूबीच अहिले १६ अंकको अन्तर छ । 

स्पेन

स्पेनी ला लिगाको विशेषता भनेकै बार्सिलोना र रियल म्याड्रिडबीचको प्रतिस्पर्धा हो । पछिल्लो एक दशकलाई आधार मान्ने हो भने बार्सिलोनाले रियललाई यसमा धेरै पछाडि छाडेको छ । बार्सिलोना पछिल्ला दस सिजनमा सात पटक विजेता भएको छ । यसपटक बार्सिलोनाको लिग उपाधिको होड भने डेपोर्टिभो लाकुरुनामाथि प्राप्त जितसँगै टुंगो लागेको थियो । लिग उपाधिको होडमा बार्सिलोनालाई पनि अरु कसैले छुन सकेन भन्दा हुन्छ । बार्सिलोनाले सजिलै लिग उपाधि जित्यो र त्यसको एउटा प्रमुख कारण लिगमा रियलको खराब प्रदर्शन पनि रह्यो । बार्सिलोनाले यस्तै प्रदर्शन च्याम्पियन्स लिगमा भने गर्न सकेन । 

जर्मनी

जर्मन बुंडेसलिगा झन्–झन् नराम्रो हुँदै गएको आरोप पनि छ । यसको कारण स्तर खस्किएर होइन, बरु बार्यन म्युनिखले लगातार उपाधि जितेर हो । हुन पनि अहिले जर्मन लिग बार्यनले जित्नकै लागि बनेजस्तो देखिएको छ । बायर्नले अग्सबर्गलाई हराएको खेलपछि लिग उपाधि जित्ने निश्चित भएको हो । सबैभन्दा एकपक्षीय लिग उपाधिको होड पनि यही नै रह्यो, युरोपका प्रमुख पाँच लिगमध्ये । अहिले तत्कालको लिग तालिकाले पनि यसलाई प्रस्ट पार्छ । बायर्नको अहिले ८१ अंक छ भने दोस्रो हुने साल्का ०४ को ५७ अंक । यो अन्तरले नै बार्यनको लिगमा प्रभुत्व देखाउँछ । बायर्नले लगतार ६ वर्षदेखि उपाधि जितिरहेको कारण उसको उत्कृष्ट प्रदर्शन नै हो । 

फ्रान्स

जसरी खास खास देशको लिगमा कुनै एउटा टिमको प्रभुत्व छ, त्यस्तै प्रदर्शन फ्रान्सको लिग वानमा पीएसजीको छ । पेरिस सेन्ट जर्मेनले यसपटकको लिग उपाधि जित्न खासै मेहनत गर्नु परेन । गत सिजन पीएसजीलाई पछाडि छाडेर मोनाकोले लिग जित्दा धेरै आश्चर्यमा परेका थिए । यद्यपि यसपटक पीएसजीले उपाधि जित्ने निर्णायक खेलमा यही मोनाकोलाई ७–१ ले हरायो । यसले पनि देखाउँछ, लिगमा उसको एकछत्र राज कस्तो थियो ? अहिलेको लिग तालिकामा जहाँ पीएसजीको ९१ अंक छ, त्यहीं दोस्रो स्थानको लियोनको ७२ अंक छ । पीएसजी यो पूरा सिजनमा शानदार लयबाट गुज्रियो । 

इटाली

युरोपका प्रमुख पाँच लिगमध्ये निर्णय हुन नसकेको एक मात्र लिग इटालीको सिरी ए हो । लिगमा अहिले तीन चरणका खेल मात्र बाँकी छन्, तैपनि यसको उपाधि कसले जित्ने हो, टुंगो छैन । यसले पनि देखाउँछ, कम्तीमा इटालीमा यसपटक लिगमा राम्रै प्रतिस्पर्धा भयो । यद्यपि डर के पनि छ भने यसअघि जस्तै युभेन्ट्सले नै जित्ने छ । लिगमा अधिकांस समय नेपोली नै अगाडि रह्यो, तर अन्त्यतिर युभेन्ट्सले अग्रता लियो । अब यही स्थिति निर्णायक हुने छाँट छ । पछिल्लो खेलमा नेपोली फिओरेन्टिनासँग पराजित भएपछि उसको दावेदारी कमजोर भएको हो । शीर्ष दुई टिमबीच ४ अंकको मात्र फरक छ । यसमा युभेन्टसको ८८ अंक छ भने नेपोलीको ८४ । 

प्रकाशित :वैशाख २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्