Teej banner

मेरो गीतमा राजा वीरेन्द्र नाचे

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७५

काठमाडौंमा जन्मिएर दोलखामा हुर्किएका लोकगायक कुमार बस्नेत परिचय दिइरहनुपर्ने नाम होइन । लोकलयमा नाच्दानाच्दै गायक बनेका बस्नेत प्रारम्भिक दिनमा विशेष गरी द्विअर्थी गीत गाएर चर्चामा आएका हुन् । लामो समयदेखि संगीतकर्ममा व्यस्त बस्नेतलाई नै नेपाली लोकलयलाई रेडियो नेपालमार्फत घर–घरमा पुर्‍याउने श्रेय दिनेहरूको कुनै कमी छैन । कुमार बस्नेतसँग अहिलेको सन्दर्भमा लोकगीत–संगीतका बारेमा साप्ताहिकले गरेको कुराकानी :

कसरी गायक बन्नुभयो ? 

म वि.सं. १९९८ मा काठमाडौंको कमलपोखरीमा जन्मिएको हुँ, सानो छँदा म निकै बिरामी थिए रे, आमा पनि बिरामी । हाम्रो परिवारसँग खान लाउन सक्ने प्रशस्त सम्पत्ति थिएन । मलाई बचाउन भनेर हजुरआमाले हामीलाई दोलखा पुर्‍याउनुभयो । म सानैदेखि बाजा बजाउने रहर गर्थें । मैले बाजा बजाउँदा क्षेत्रीको छोरो भएर पनि बाजा बजाउँछ भनेर घरमा गाली गर्थे, तर मेरो बाजामोह कहिल्यै कम भएन । त्यतिबेला मेरो बुवा नेपाल नाट्य संघको जनरल सेक्रेटरी हुनुहुन्थ्यो । म बुवासँगै त्यहाँ जान्थे, त्यही बेला हो लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरूसँग मेरो भेट भएको ।

त्यो बेलाका हास्यकलाकार केशरगुप्त सिंहलाई अहिले कसैले सम्भँmदैनन्, उनी त्यो बेलाका चर्चित हास्यकलाकार थिए । उहाँहरूसँगको संगतमा पुगेपछि म उहाँहरूकै पछि लागें । म केही जान्दिनथें, तर संगत राम्रो पर्‍यो । सिकाइदिने गुरु उनीहरू नै हुन्, उनीहरू कुरा गर्दै सिकाउँथे । म २००८ सालतिर बालकलाकार हुँदै कलाकारितामा आएको हुँ । बच्चैदेखि नाच्ने भएकाले केआई सिंह, विश्वेश्वरप्रसाद कोइराला, टंकप्रसाद आचार्यजस्ता राजनैतिक हस्तीहरूले मलाई चिन्थे । त्यतिबेला नेपालमा नाचको त्यति विकास भएको थिएन तर भैरवबहादुर थापा जसलाई म गुरु मान्छु, उहाँ राष्ट्रिय नाचघरको नृत्य निर्देशक हुनुुहुन्थ्यो । त्यहाँ नाच्दा–नाच्दै रेडियो नेपाल पुगेर म गायक भएको हुँ । 

रेडियो नेपालमा तपार्इंको प्रवेश कहिले भयो ? 

२०१५/२०१६ सालतिर होला । म पहिलो पटक रेडियो नेपालमा नाच्न गएको थिएँ । 

तपाईं त नर्तक हुनुहुन्थ्यो, गीत कसरी गाउन थाल्नुभयो ? 

राम्रो नाच्ने भएकाले रेडियो नेपालमा मलाई सबैले चिन्थे । म गायक हुन खोजेर भएको पनि होइन । आफ्नो गाउँ दोलखामा हुने जात्रामा जे सुन्थें, म त्यही गुनगुनाउँथे । बाल्यकालमा गुनगुनाएको त्यही स्वाद पछिसम्म रहँदो रहेछ । रेडियो नेपालमा नाच्न थालेपछि सडक विभागका लेखापाल रवीन्द्र शाहले तँ राम्रो गीत गाउँछन् निवेदन हाल भनेपछि मैले निवदेन दिएँ । मभन्दा अगाडि नारायणगोपालको अन्तर्वार्ता चलिरहेको थियो, नारायणगोपाल ६/७ वटा गीत गाएर फर्किएँ । त्यसपछि मेरो पालो आयो । स्वर राम्रो छ तर मान्छे सानो भयो भनिरहेका थिए । त्यसमा नारायणगोपाल पास भएनन्, तर म पास भएँ । भाग्य रहेछ, भाग्यले साथ दियो भने डोकोमा पनि दूध अडिँदो रहेछ । 

कलकत्तामा कुन–कुन गीत गाउनुभयो ? 

त्यहाँ मैले दुईवटा गीत गाएँ । एउटा ‘चौतारी झ्याङला नानी कान्छा’ बोलको तामाङ गीत थियो, दोस्रो ‘रिमझिम रिमझिम पानी पर्ला’ बोलको आधुनिक गीत । भगवान्ले आशीर्वाद दिएका रहेछन्, दुवै गीत चले । त्यसपछि नाच्ने–गाउने क्रम बढ्दै गयो । 

मौलिक भाकातर्फ कसरी मोडिनुभयो ? 

साथीहरू भन्थे, तँ आफ्नो संस्कृतिको विकासमा नलागेर किन विदेशीहरूको कपी गरेर हिँड्छस् ? त्यो बेला गाई चराउने, भैंसी चराउनेहरूले गाउँमा गाउने लोकगीत नेपालमा चल्दैनथ्यो, हेंला गर्थे । ती गीत चलाउन मैले ‘दिउँला तिमीलाई दिउँला यो जोवन’ जस्तो गीत गाए । 

धेरै चलेको मध्येको एउटा गीत छोरीभन्दा आमा तरुनी... कुन सन्दर्भमा गाइएको थियो ? 

त्यो धेरैपछि ०४८ सालमा गाएको गीत हो । एकथरी हाम्रा पुर्खाहरूका गीत हुन्छन्, अहिले गीत लेख्ने पनि छन्, बनाउने पनि छन् । बेनीघाटभन्दा पर चरौदी भन्ने ठाउँमा माछा मारेर फर्कंदै थिएँ, मलेखुमा पन्चेबाजा निकै राम्रोसँग बजिरहेको थियो । मलाई पनि हेर्न रहर लाग्यो, मोटरसाइकल रोकें । केटाहरूले मलाई चिनिहाले । त्यो बिहेको जन्तीका रूपमा सिंगारपटार गरेर आएका बूढी आमाहरू देखेपछि ‘हत्तेरिका है छोरीभन्दा आमा तरुनी भएर हिँड्ने चलन निस्कियो,’ केटाहरूले भने । मलाई पनि घत पर्‍यो । ओहो भाइ हो, यो राम्रो गीत बन्छ, यसमा शब्दहरू कति करेक्सन गर्न सकिन्छ गर, म पछि आउँछु भनेर काठमाडौं आए । त्यति बेला म बाहिर घुमिरहन्थे । पछि ती भाइहरू क–कसले के–के शब्द थपे थाहा भएन, तर गीत राम्रो बन्यो । 

गीतको कस्तो प्रतिक्रिया आयो ? 

निकै तीव्र प्रतिक्रिया भयो, जुलुस नै निस्कियो । तत्कालीन सञ्चारमन्त्री प्रदीप नेपालले त्यसमाथि बन्देज नै लगाउनुभयो । धनकुटाको एउटा कार्यक्रममा गीत गाउने बेला एउटाले स्लिपमा ‘दाइ तपाईंले छोरीभन्दा आमा तरुनी’ गीत गाएर किन आफ्नो देशका दिदीबहिनीहरूको बेइज्जती गर्नुभएको ? भनेर सोध्यो । गीत गाइसकेपछि मैले भाइहरू, नरिसाउनुस् यो हाम्रो दिदीबहिनीको बेइज्जती होइन, संसारभरि नै छोरीभन्दा आमा तरुनी छन् । मैले गाएको भएर बरु मेरै बदनामी भयो होला । मैले गीत त गाइहालें, तर मेरी श्रीमतीका लागि गाएको सम्झिदिनुहोस् भनेपछि भोलिपल्टदेखि नै प्रतिबन्ध खुलिहाल्यो । 

त्यतिबेला तपाईंलाई गाली गर्नेहरू पनि निकै थिए होलान् नि ? 

गाली त खाएँ । मैले गाएको ‘काठमाडौं कि नेवार्नी, रुम्जाटारे गुरुङ्नी, थाकखोलाकी थकाली, हेलम्बुकी शेर्पिनी’ गीतमा राजा वीरेन्द्र नै नाचेका थिए । गीतहरू त रमाइलोका लागि गाइएका हुन्छन्, त्यसलाई त्यही रूपमा लिइदिनुपर्छ ।

कहिले र कहाँ नाचेका थिए राजा वीरेन्द्र ? 

२०३१ सालतिर सुर्खेत क्याम्पमा राजालाई मेरो गीत मन पर्‍यो र उनी त्यहीँ नाचेका थिए । 

गीत कसरी राम्रो बन्दो रहेछ ? 

गीतमा एउटै मान्छेले सबै कुरा राम्रो बनाउन सक्दैन, सबैको शब्द र भावना एउटै हुन्छ भन्ने पनि छैन । मैले गीतमा एउटा शब्द राखेको छु, तपाईंले योभन्दा यो राम्रो हुन्छ भनेर अर्को सुन्दर शब्द थपिदिनुहुन्छ । अर्कोले त्यसको अन्तरा योभन्दा यो राम्रो हुन्छ भनेर अर्को वाक्य जोडिदिन्छ । यसरी सबैको प्रयासबाट एउटा राम्रो गीत बन्ने हो । 

 

अहिले परिश्रम गर्ने बानी हराउँदै गएको हो ? 

हो, पहिलेको तुलनामा परिश्रम गर्ने बानी हराउँदै गएको छ । अहिलेको प्रविधीले जोसुकैलाई गायक बनाइदिन सक्छ । 

तपाईंहरू शब्द, लय संकलन गर्न जुन मेहनत गर्नुहुन्थ्यो, अहिले त त्यस्तो छैन नि ? 

‘हेर्दा राम्रो माछापुच्छे...’ गीतको लय, शब्द र गायनमा मैले ६ वर्ष मेहनत गरेको छु । म श्रोताहरूलाई नेपालीपनको झझल्को र स्वाद दिनुपर्छ भन्ने मान्यता राख्छु । मेरो यो मान्यताले लोकगीत माथि त आयो तर कहिलेसम्म भन्ने प्रश्न भने जीवितै छ । नेपाली बुद्धिजीवीहरूले भन्ने एउटा कुरा मलाई निकै घत त लाग्छ— तिमीले गर्दाखेरि नै अहिले नेपालको लोकगीतले परिचय पाएको छ, तिमीले नगाइदिएको भए अहिले त्यसको अवस्था के हुन्थ्यो ? भन्न सकिन्न । 

सबैभन्दा गाह्रो शब्द र लय संकलन कुन गीतमा भएको थियो ? 

सबै गीतमा उत्तिकै गाह्रो भएको थियो । सबैभन्दा गाह्रो लागेको प्रेमदेव गिरीको देउडा गीत ‘कोइली बास्यो कुहु कुहु....’ थियो । 

आजभोलि तपाईंको गीत कपी गरेको चर्चा पनि छ नि ? 

अब छोडिदिनुहोस त्यो कुरा । मदनकृष्ण–हरिवंश मेरा आफ्ना मान्छे हुन्, उनीहरूले पनि कपी गरेका छन् किन त्यसो गरे उनीहरू नै जानून् । हामी यो क्षेत्रमा सँगसँगै हुर्किएको, म उनीहरूलाई गाली गर्न सक्दिनँ, तर दु:खलाग्दो कुरा यहाँ जसले जे गरे पनि हुने भयो । अहिले श्रोताले माया गरेका दुई जना गायक जिउँदै छौं, प्रेमध्वज आधुनिक गीतका, म लोकगीतको । अहिले हामी दुई गल्लीको कुकुरजस्ता भएका छौं । हामीलाई यो स्थितिमा संगीतको कालाबजारी गर्नेहरूले नै पुर्‍याएका हुन्, बरु उल्टै हाम्रै बदनामी गर्छन्, अब के गर्ने त ? 

नयाँ गीत पनि आउँदैछन् कि ? 

अस्ति भर्खर पनि गाएको छु, गाउने तयारी पनि चलिरहेको छ । श्रोताहरूले माया पनि गर्छन्, गाली पनि गर्छन् । गाली र ताली दुवैलाई मैले सम्मान गर्ने गरेको छु । पहिलेको जस्तो वातावरण छैन । अहिले १० वटा गाउँ घुम्दा पनि एउटा राम्रो गीत फेला पर्दैन । 

८/१० वर्षयता मन परेको गाउँले भाका समेटिएको गीत कुन लाग्छ ? 

पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग चरिकोट मेला हेर्न गएको थिए । त्यहाँ बूढाहरूले एउटा गीत गाएका थिए, ‘बूढानीलकण्ठ नारायणथान, उत्तानो परेको देउता थान...’ मलाई त्यो गीत मन पर्‍यो । शब्द पूरा भएन, त्यसपछि धन लामासँग सोधखोज गर्दै गएपछि गीत पूर्ण भयो । म पहिले गीतका शब्द फाइनल गर्छु, अनि संगीतकारकहाँ जान्छु । 

नयाँ आएका लोकगायकमा कस्तो सम्भावना देख्नुहुन्छ ? 

दोहोरीतिर धेरै प्रतिभाशाली कलाकार छन् । एउटाको नाम नलिऊँ । प्रतिस्पर्धा चर्को छ, काम गर्न दिनुहोस्, कसले कति गर्छ हेर्दै जाऊँ । 

कमाइका दृष्टिले लोकगायकको अवस्था कस्तो थियो । 

मेरो कुरा छाडिदिनुहोस्, मैले सर्वस्व डुबाएको छु । गीत गाउन कलकत्ता जानुपथ्र्यो, एकपटक कलकत्ता जाँदा १० लाख रुपैयाँसम्म खर्च हुन्थ्यो । त्यति पैसाले त्यो बेला २ सय रोपनी जग्गा किनेको भए यो पूरा अनामनगर मेरै हुन्थ्यो कि हुँदैनथ्यो ? मूर्ख त म नै भएँ नि । यद्यपि भाग्यले साथ दिएकाले म राम्रो भए, नत्र म पनि गाउँमा गाई–भैंसी चराउने गोठालो नै त हुँ । 

प्रकाशित :वैशाख १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्