बेरोजगार भविष्य र हाम्रा सन्तति

- अधिकारी रवीन्द्र

वैशाख १८, २०७५

सर्वप्रथम एउटा ऐतिहासिक प्रसङ्ग । उन्नाइसौं शताब्दीको सुरुवाती समयमा बेलायतमा गलैँचा उद्योगमा नयाँ प्रविधि घुसाइयो । औद्योगिक क्रान्तिको त्यो समयमा भित्र्याइएका मेसिनले हजाराँै मजदुरलाई बेरोजगार बनायो । कारण गलैँचाका सबै काम अब मेसिनबाट हुने भए । ती मजदुरमध्येका नाइके मजदुरको नाम लुडाइट थियो र उनको अग्रतामा उक्त प्रविधिको ठूलै विरोध भयो ।

 रोजगारी खोसिएको रिसमा उनीहरूले फ्याक्ट्रीमा आगजनी गरे, मेसिन बिगारिदिए । आज पनि अंग्रेजी भाषामा लुडाइट भन्ने प्रतीकात्मक शब्दले कुनै त्यस्तो व्यक्तिलाई जनाउँछ जो नयाँ प्रविधि, औद्योगीकरण, स्वचालित प्रणाली वा कम्प्युटरको विरोधी हो । किनभने उसको विचारमा त्यस्ता चिजले मानवीय रोजगारी विस्थापित गरिरहेका छन् । 

मेसिनले अब ती काम पनि गर्न थालिसकेको छ जुन काम केवल मानिस मात्रको वशमा छ भनेर सोचिन्थ्यो । मानिसलाई मनोरन्जन दिने, उनीहरूको देखभाल गर्ने र अन्य सहानुभूतिजन्य कामहरूसमेत अहिले मेसिनले गर्दैछन् । 

विशिष्ट सीप चाहिने कामबाहेक मध्यम तथा निम्न सीप भएका मानिसहरूले गर्ने सबै प्रकृतिका काम मेसिनबाटै गर्न सकिन्छ भनेर दावा गर्नेहरू कम छैनन् । हुन पनि हो, उनीहरूको दाबालाई सिद्ध गर्ने थुप्रै उदाहरण भेटिन्छन् । कम्प्युटरले कुन किसिमका काम भविष्यमा कहिल्यै गर्न सक्दैन भन्ने भनाइ समयसँगै पटक–पटक गलत सावित हुँदै आएका छन् । 

एउटा चाखलाग्दो कुरा यो हुन सक्छ : मास्लोवको मानवीय आवश्यकताको तहगत वर्गीकरण अनुसार विविध आवश्यकता प्रविधिले पूरा गर्न सक्नेछ अथवा गाँस, बास र कपास तथा सूचना र शिक्षाका लागि धेरै पैसा पर्नेछैन । जब धेरै आवश्यकता नि:शुल्क हुनेछन् तब मानिसका लागि कामको चपेटा पनि निश्चय नै कम पर्नेछ । यति मात्र नभै सुरक्षा तथा दोस्रो वर्गमा पर्ने मानसिक आवश्यकता पनि कुनै उपकरणले पूरा गरिदिनेछ, तर मानिस हो, उसका आवश्यकता यति धेरै थपिनेछन् कि उसलाई आम्दानी वा रोजगारीको खाँचो अहिलेभन्दा बढी हुनेछ ।

यस्ता काम गर्न अब कुनै मानिसको आवश्यकता पर्नेछैन जुन काम एकोहोरो र दोहोरिरहने प्रक्रियामा आधारित छन् । सडक–सडकमा एटीएम राखिदिएकाले बैंकले कति मानव कर्मचारी कटौती गरेको छ ? सिसी क्यामेराको प्रयोगले गार्डको संख््या कतिले घटेको छ ? अनि सोच्नुहोस्, चोक–चोकका भेन्डिङ मेसिन तथा रकम रिचार्ज गर्ने मेसिनले कति कर्मचारीलाई बेतलबी बनायो ? यस्ता मेसिनले काममा भएका कर्मचारीलाई कामबाट प्रत्यक्ष निकाल्ने भन्दा पनि मेसिन आउँदैखेरि नयाँ काम गर्ने गराउने भनेर आउँछन् र हेर्दा नयाँ काम देखिए पनि वास्तवमै मानव वर्क फोर्सकै अतिरिक्त आएका हुन्छन्, अर्थात् कसै न कसै गरी मानिस स्टाफभन्दा यी मेसिन जागिर दिनेहरूका लागि धेरै प्रिय हुन्छन् । 

प्रिय हुन्छन् यस अर्थमा कि यी मेसिन मानिसजस्तो कहिल्यै थाक्दैनन्, कहिल्यै बूढो हुँदैनन्, बिग्रिए तुरुन्त बनाउन सकिन्छ, आवश्यकता परे भ्याकेन्सी ननिकाली वा इन्टरभ्यू नलिई तुरुन्त हजारौँको संख्यामा रेप्लिकेट गरेर ल्याउन सकिन्छ अनि थप यस्ता मेसिन मानिसजस्तो सानातिना कुराले कामबाट विकर्षित हुँदैनन् । यिनीहरू न गर्भवती हुन्छन्, न सुत्केरी नै, यिनीहरूलाई कामका दौरानमा न प्यास लाग्छ न पिसाब । अरू त अरू एकपटक इन्स्टालेसन खर्च बेहोरिसकेपछि आजीवन बिनातलब यी मेसिनलाई चाहेजसरी काम लगाउन सकिन्छ । पेन्सन, उपदान, बिमा आदि–इत्यादि खर्च सोच्नु पनि पर्दैन । महिना दिनमा एक दिन सर्भिसिङ गराइदिए हप्तामा सातै दिन र दिनमा चौबीसै घण्टा निर्धक्क चलिदिने यी मेसिन मानव मजदुरका घोर सत्रु सावित भएका छन् ।

एस्प्रेस्सो क्युबले बिनावेटर र कुक चाहेजस्तो कफी तपार्इंको हातमा खसालिदिन्छ । चेन रेस्टुरेन्ट डोरड्यासले घरघरमा अर्डर पुऱ्याउन साना आफैं चल्ने रोबोटिक कारहरूबाट सेवा सुरु गरिसकेको छ भने केही समयअघि सिंगापुरमा नुटोनोमी नामक कम्पनीले गरेको अटो ड्राइभिङ कारको सफल परीक्षणले संकेत गर्छ, सवारी चालक दाजुहरूले अब छिट्टै आफूलाई नयाँ पेसाका लागि तयार गर्नुपर्नेछ । यो पेशा धराशायी हुँदैछ । चालकरहित कार सुरक्षित पनि हुनेछ । 

तिनीहरूमा स्पिड प्रतिस्पर्धाको भावना हुँदैन, रिस हुँदैन । पिएर झल्लु भएर सवारी चलाउने मानव चालकको तुलनामा ती कारले निर्धक्कसँग गन्तब्यमा पुर्‍याइदिन्छन्, अनि अर्को कुरा यिनीहरूको हेर्ने क्षेत्र मानिसको जस्तो एकतर्फी हुँदैन । यिनीहरूले चारैतिर देख्छन् अनि अपारदर्शक अवरोधपछाडि पनि के छ थाहा पाउन सक्छन्, कारण यिनीहरूले हाम्रो जस्तो सीमित पञ्चइन्द्रीय प्रयोग गर्ने होइनन्, सेटेलाइटबाट लाइभ रन हुने म्याप र जीपीएस प्रयोग गर्छन्, तसर्थ मानव चालकले सफ्टवेयर प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्नेछैनन् । 

आखिर मान्नुहोस्–नमान्नुहोस्, जुनसुकै प्रविधिको अन्तिम बिन्दु मानव संसाधनको आवश्यकतालाई न्यूनीकरण गर्नु नै हो । नयाँ प्रविधि जन्माउने काममा थोरै मान्छे सम्मिलित हुन्छन्, फलस्वरूप उनीहरू आर्थिक रूपले निकै समृद्ध पनि हुनेछन्, तर उनीहरूबाट प्रतिपादित प्रविधिले लाखौंको संख्यामा बेरोजगारी थपिनेछ । बदलिँदो समयमा लुडाइट भएर प्रविधिको विकासमा अड्चन सिर्जना गर्न खोज्दा असफल भइने निश्चित छ, तसर्थ अब हाम्रा सन्ततिलाई पढाउँदा, प्रशिक्षण दिँदा प्रविधिका चपेटामा नपर्ने वा यसको सिकल्प हुने गरी गर्नुपर्ने देखिन्छ, त्यति नभए प्रविधिसँग जुध्न वा खेल्न सक्ने योद्धाका रूपमा खडा गर्नुपर्ने हुन्छ । नवीन प्रविधि सिर्जना गर्ने सर्जक भए झनै राम्रो ।

                                        ravinems@iom.edu.np

 

प्रकाशित :वैशाख १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्