दन्त बझान र दन्त उपचार

- किशोर नेपाल

वैशाख १५, २०७५

कुनै मानिसले अर्को कसैसँग झगडा गरिरहेका बेला दिने गज्जबको धम्की हो— दाँत भाँचिदिउँला । बंगारा झारिदिउँला । बत्तीसी निकालेर हातमा राखिदिउँला । यस्ता झगडालुहरूले जे बोले पनि दाँतमा आक्रमणचाहिं गरी हाल्दैनन् । त्यसो गरी हाल्ने भए दिनहुँ कतिका दाँत र बंगारा झर्ने थिए होला ? दाँतका सम्बन्धमा यो हिंस्रक उदाहरण मात्र होइन, अहिंस्रक उखान पनि प्रचलित छ । अक्सर गाउँ–छिमेकका घरहरूमा हुने सासू–बुहारीको ठास–ठुस र झगडाका बारेमा कुरा गर्दा मानिसहरू ‘सासू–बुहारीको दन्त–बझान’ को उल्लेख गरिहाल्छन् । सासू–बुहारीबीचको झगडा दक्षिण एसियाइ समाजको मूल चरित्र नै बनिसकेको छ । देशमा यस्ता सासू र बुहारीको संख्या बढ्दो छ, जो एक–अर्काको जगल्टा उखेल्न सधैं तयारीका साथ बसेका हुन्छन् । 

यी त भए दाँतका सम्बन्धमा केही रमाइला गफ । यी उदाहरणबाट पनि दाँत मानव शरीरको कति महत्वपूर्ण अंग हो भन्ने प्रकट भैहाल्छ । सरसर्ती हेर्दा दाँतको रोग सामान्य नै मानिन्छ, तर यो सामान्य हुँदैन । जसरी मानिसको आँखा, नाक, कानजस्ता इन्द्रियको उपचारका अलग विधि हुन्छन् त्यसरी नै दन्त–चिकित्साका पनि अलग विधि छन् । चिकित्सा शास्त्रमा नेत्र चिकित्सा विज्ञानको जस्तै दन्त चिकित्सा विज्ञानको अलग अध्ययन गराइन्छ । मूल डाक्टरी पढने चाहना भएका मानिसहरूले त्यस्तो अध्ययनको अवसर पाएनन् भने दन्त विज्ञान पढ्छन् । पहिले ‘के होला र दन्त विज्ञान ?’ भन्ने मनस्थिति बनाएकाहरूले पनि पछि यसको जटिलता थाहा पाउँछन् ।

एसएलसीमा दोलखा जिल्लामै पहिलो भएर नाम कमाएका दिनेश कार्की बीपी कोइराला प्रतिष्ठान, धरानमा चिकित्साशास्त्र पढ्न चाहन्थे, तर उनको भागमा पर्‍यो दन्त विज्ञान । सन्तोषी युवा दिनेशले त्यसैलाई अपनाए । अहिलेका प्रतिष्ठित युवा दन्त चिकित्सकहरूको लहरमा उनको नाम निकै चम्किएको छ ।

डा. दिनेशका लागि दन्त विज्ञानको अध्ययन व्यक्तिगत जीवनका लागि पनि निकै अनुकूल भएको छ । दोलखाका डा. कार्कीले डाक्टरी शिक्षा धरानमा लिए । उनको आँखा भैरहवामा दन्त विज्ञान पढिरहेकी आशाका आँखासँग जुध्न पुगे । त्यसपछि तयार भयो एउटा त्रिकोण : दोलखा, धरान र भैरहवाको । अहिले कार्की दम्पतीसँगै प्राक्टिस गर्छन् । यो आलेखमा डा. आशाका विचारलाई सामेल गर्न सकिएन, किनभने उनी घरकाजमा व्यस्त थिइन् । छोरीकी आमा भैसकेपछि आशाले डाक्टरीबाट केही समयका लागि बिदा लिएकी छिन् । यता डाक्टर दिनेशको स्वभाव भने अलिकति बिन्दास छ । निश्चित बिरामी छन् । राम्रो आम्दानी छ । लोभ–लालचबाट बूढाबूढी नै टाढा छन् । कफी सप वा बियर वारमा एक कप कफी वा एक बोत्तल वियरसँग मात्तिएर राम्रो पुस्तक पढ्न पाए डाक्टर गम्किहाल्छन् । घूमघाम भनेपछि हुरुक्क हुन्छन् । टाइम निकालेर फिक्सन लेख्छन् । अब लेखनलाई सह–व्यवसाय बनाउने धुनमा लागेका छन् । 

दाँतको उपचारको कुरा गर्दा डा. दिनेश भन्छन्– कसैसँग भिडेर बंगारा फुस्काएर आएको मानिसको त होइन, दाँतको पीडाले छटपटाइरहेको कसैलाई पनि पाँच मिनेटमा पीडाबाट बाहिर ल्याएर उपचार गर्छु । दाँत दुखेर छटपटाइरहेको मानिसको पीडा निको नपारेसम्म अरू उपचार सम्भव पनि हुँदैन ।

हिजोआजका दन्त–चिकित्सकहरू बिरामीको दाँतलाई उखेलेर फाल्नेमा विश्वास गर्दैनन् । दाँत सकेसम्म फाल्नु हुँदैन । रुट क्यानल ट्रिटमेन्ट गरेर पनि दाँतलाई जोगाउनुपर्छ । यद्यपि, आरसीटी अलिकति खर्चिलो हुन्छ, तर यसले दाँतको सौन्दर्य र स्वास्थ्य दुवैलाई फिट राख्छ । 

डाक्टर दिनेश भन्छन् : दन्त चिकित्सा उपचार मात्र नभएर फेसन पनि हो । मानिसहरू लाखौं खर्च गरेर दाँतको साजसज्जा गर्छन् । देशका लाखौंलाख गरिब जनताको दाँत खराब छ । दाँतमा लागेको रोगका कारण सडकमा भेटिने हरेक तेस्रो मानिसको मुख गन्हाएको हुन्छ । दाँतको चिकित्सामा सरकारी अनुदान छैन । कतैबाट सहयोग आएको देखिँदैन । ओरल हेल्थलाई सरकारले नै प्रोत्साहित गर्नुपर्ने हो । सहर–बजारकै अवस्था ठीक छैन । गाउँघरको त के कुरा गर्नु ?

मानिसका जम्मा २८ वटा दाँत र चारवटा बुद्धिबंगारा हुन्छन् : डा. दिनेश भन्छन्, बुद्धिबंगाराको आकार गजब–गजबका हुन्छन् । कुनै गोलो, कुनै थेप्चो । ती अप्ठेरा पनि हुन्छन् । सौन्दर्यका हिसाबले काठमाडौंका केटीहरू दाँतको सुरक्षामा लागेका छन् । दाँत बांगो नहोस्, इनामेल नजाओस्, कालो नहोस्, दाँतको बीचमा ग्याप नहोस् भनेर सबै सचेत छन्, तर केटाकेटीमा खाएको जंक फुड, चिसो आइसक्रिम र गुलियोले धेरैका दाँत कमजोर भएका छन् ।

डा दिनेश खुशी छन् : दाँतका बारेमा चेतना बढ्दो छ । जनता सचेत हुँदै छन् । दन्त उपचारको ग्ल्यामर भ्यालु पनि बढ्दैछ । जीवन रमाइलो बन्दैछ ।

 

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्