खडानन्दका हस्यौलीहरु

- जीवन भट्टराई

वैशाख १५, २०७५

ब्रेकअप भैसकेकी जीएफको निमन्त्रणा कार्ड आयो खडानन्दलाई ।

साथी : अनि त्यो विवाहमा जान्छस् त तँ ?

खडानन्द : जान्छु यार, प्रेम आफ्नो ठाउँमा छ, मासु–पुलाउ आफ्नो ठाउँमा । 

-----------------

इन्टरनेट राम्रोसँग नचलेर दिक्क भएका खडानन्दले कस्टमर केयरमा बार–बार फोन गरे । यद्यपि उनको समस्या समाधान भएन, फेरि फोन गरे ।

कस्टमर केयरबाट : नमस्ते, तपाईंको के सेवा गर्न सक्छु ?

खडानन्द : खुट्टो धेरै दुखिरा’को छ, तेल लगाएर मिचिदिनुस् न ।

-----------------

खडानन्द र पत्नी ।

खडानन्द : धत ....यस्तो पनि सब्जी हुन्छ ...? न नुन, न मसला, न खुर्सानी अनि पूरा पाकेको पनि छैन, के हो यस्तो ....??

पत्नी : तिमी जहिले पनि किचकिच नगर खडु, भन्द्या छु म माइत गैदिन्छु अनि त्यही सब्जीको फोटो फेसबुकमा राखेको— ५ सय ६७ वटा लाईक तथा १ सय ९४ वटा कमेन्ट आएका छन्, ३९ जनाले सेयर गर्‍या छन् तिम्लाई के थाहा ?

-----------------

खडानन्दका ससुरासार्‍है माया गर्थे खडुलाई । उनको मृत्युपछि टेन्सन भइरा’को थ्यो खडानन्दलाई । मलामीका साथ हिंड्दै थिए खडानन्द ।

हरिबोल (घरबाट फुत्त निस्केर) : ससुरा बूढा मरे कि क्या हो खडु ??

खडानन्द (रिसले) : हैन, बूढालाई यसो बजार घुमाउन लगेको ।

-----------------

खडानन्द ज्योतिषीकहाँ गए ।

ज्योतिषी (हात हेर्दै) : यो महिना तिम्री पत्नी अलि कम बोल्नेछिन् ।

खडानन्द : हो र गुरु ....? कसरी ....?

ज्योतिषी : यो महिना नै २८ दिनको छ मूर्ख ।

-----------------

खडानन्द र जीएफ ।

जीएफ : ह्याप्पी बर्थ डे माई डियर खडु †

खडानन्द : थ्याङ्क्यु सो मच डार्लिङ ।

जीएफ : पार्टी ....??

खडानन्द : मेरो ? नेपाली कांग्रेस ।

-----------------

हुँदाहुँदै ‘हल्का’ शब्द यति हल्का रूपले आउन थाल्यो स्टाटसमा 

हाल्का रमाइलो

हल्का घुमघाम 

हल्का क्लिक

हल्का पिएको अवस्था 

हल्का पिटाई खाएको अवस्था 

हल्का पा....को अवस्था 

हुँदाहुँदै अब त,

हल्का १ सय ३० किलोको भारी बोक्या अवस्था रे ....

लौ नसकिने भो.... ।

-----------------

खडानन्द कक्षामा ।

शिक्षक : मीठो, गुलियो रस आउने बिरुवाको नाम भन त ।

खडानन्द : आउँदैन सर ....

शिक्षक : यसो विचार गरी हेर त, चिनी कहाँबाट आउँछ ....?

खडानन्द : छिमेकीको घरबाट मागेर सर ।

-----------------

खडानन्द र साथी ।

खडानन्द : जुन दिन धेरै ठूल्ठूलो र महान् काम गरूँ भनेर सोच्छु नि, हुँदै हुँदैन यार †

साथी : किन र ....?

खडानन्द : त्यही दिन श्रीमान्ले झोला बोकाएर सब्जी किन्न पठाउँछे भन्या †

-----------------

खडानन्द र पत्नी ।

पत्नी : तिमी मलाई कति माया गर्छौ खडु ?

खडानन्द : ७५ प्रतिशत ।

पत्नी : किन ७५ प्रतिशत मात्र ....? अरूचाहिं ....?

खडानन्द : १० प्रतिशत भ्याट, १० प्रतिशत सेल्स ट्याक्स, अन्य ट्याक्स ५ प्रतिशत कटाएर ।

-----------------

खडानन्द र साथी ।

खडानन्द : सरल बन्ने प्रयास गर भाइ, स्मार्ट होइन ।

साथी : किन र ....?

खडानन्द : शास्त्रअनुसार तँलाई बनाएको ईश्वरले हो, सामसुङले होइन .... ।

-----------------

खडानन्द कलेज पढ्दा ।

प्रोफेसर : वैवाहिक जीवन भनेको के हो ?

खडानन्द : सर, ‘मानिहाल न’ देखि ‘भाडमा जाऊ न’ सम्मको यात्रा नै वैवाहिक जीवन हो ।

-----------------

खडानन्द र हरिबोलबीचको फोनवार्ता ।

हरिबोल : हेल्लो, खडानन्द हो ?

खडानन्द : हो त, किन र ?

हरिबोल : आज बहुला तथा भुस्याहा कुकुरहरू पक्रन नगरपालिकाको गाडी घुम्दैछ रे, घरबाहिर ननिस्की है ।

-----------------

स्कुलमा पढाउँदै ।

खडानन्द : तिमीहरू रोज डे, प्रोमिस डे, भ्यालेन्टाइन डे मनाउने भन्दै उफ्रिन्छौ, पूर्णिमा, एकता दिवस, भानु जयन्ती, लक्ष्मीपूजाका बारेमा केही थाहा छ तिमीहरूलाई ?

बिर्खे : सर यी पुर्णिमा, दिवस, पूजा, भानु, एकता, जयन्ती, लक्ष्मीहरू चाहिँ कुन स्कुलमा पढ्छन् ????

-----------------

खडानन्द र हरिबोल ।

हरिबोल : गधाहरूको पनि दिन आउँछ भन्थे, हो रै’छ ?

खडानन्द : हो र ?

हरिबोल : अँ, तेरो पनि त जन्मदिन आउँदै होला नि होइन ? दुई महिनापछि ???

-----------------

भ्यालेन्टाइन डे मा खडानन्द र जीएफ ।

जीएफ : भ्यालेन्टाइन डेमा मलाई के गिफ्ट दिन्छौ खडु ?

खडानन्द : तिमी जे भन्छौ त्यही ।

जीएफ : मलाई अरू केही चाहिएन, बस् रिङ दिए पुग्छ ।

खडानन्द : ल, भरे घर 

पुगेपछि दिन्छु, तर एक–दुई रिङमै चाहिँ नउठाऊ है, ब्यालेन्स नै छैन क्या मेरो फोनमा ।

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्