डर

- सुविन भट्टराई

वैशाख १५, २०७५

डर, हिँड्दाहिँड्दै ठेस लागेर लडिन्छ कि भन्ने । डर, लडेर उठ्न सकिन्न कि भन्ने । डर, उठेर हिँड्न सकिन्न कि भन्ने । डर, हिँड्न सके पनि कसैलाई उछिन्न सकिन्न कि भन्ने । डर, एकपटक उछिने पनि, सधैँभरि उछिनिरहन सकिन्न कि भन्ने । 

थाहा छैन जीवन डरमा बाँचेको हो कि डर जीवनमा बाँचेको हो । 

डरले जिब्रो लरबरिन्छ । हातगोडा काँप्छन् । तर्कका धारलाई भुत्ते बनाइदिन्छ । मस्तिष्कका सुन्दर विचारहरूलाई कुरूप विचारले विस्थापित गरिदिन्छन् । हिम्मतका पंखमा कैँची चलाइदिन्छन् । उत्साहको अँगेनामा जब खस्न थाल्छन् डरका थोपाहरू, तब मानिसभित्र अकर्मण्यताको हिमनदी जम्न थाल्छ । 

चोर, डाँका, भूत, राक्षस र किचकन्नीसितको डरले अक्सर मानिसको बाल्यकाल रातमैत्री हुन सक्दैन । असुरक्षा, असफलता, शंका अनि प्रतिस्पर्धाको डरले जवानी दिनमैत्री हुन सक्दैन । यो डर हारसँगको डर हो । यो डर अरूसित होइन, आफैँसित हो । आफ्नै क्षमतासितको डर हो । आफ्नै हिम्मतसितको डर हो । 

यहाँ डरमा बाँच्ने कति होलान् ? रिजल्टको डरले परीक्षै नदिनेहरू होलान् । घाटाको डरले नयाँ व्यापारको आइडिया हुँदाहुँदै पनि सुरु नगर्नेहरू होलान् । रिजेक्सनको डरले कसैलाई प्रेम प्रस्तावै राख्ने हिम्मत गर्न नसक्ने घायल प्रेमीहरू होलान् । थाकिन्छ कि भन्ने डरले यात्रै नगर्नेहरू होलान् । नमीठो होला भन्ने डरले नयाँ खानेकुरा चाख्न हिचकिचाउनेहरू होलान् । अझ गलतलाई गलत भन्न डराउनेहरू कति होलान् ? 

डर हाम्रो कमजोरी हो । हामी अक्सर नचाहिने कुरामा हिम्मत देखाउँछौँ र चाहिने कुरामा डराउँछौँ । हामीलाई यसले घाटाबाहेक अर्थोक केही दिँदैन, तर हाम्रो यो कमजोरीको फाइदा अरूले भने मज्जाले उठाइरहेका हुन्छन् ।

असफल हुनु त्यति नराम्रो कुरा होइन, तर असफलतासित डराउनुचाहिँ पक्कै नराम्रो हो । 

घाटा हुनुमा दोष जसको होला–होला, तर घाटासित डराएर सम्भावित नाफाहरूको बाटो थुन्नु पनि पक्कै मूर्खता नै होला ।

प्रेम डरको डोरीमा आफैँलाई बाँधेर गर्ने चीज होइन, रहरको धागोमा बाँधेर उडाउने चीजहो । डरमा प्रेम हुँदैन र प्रेममा कुनै डर हुनु हुँदैन । चाखेरै थाहा हुन्छ, कुनै पनि चीज मीठो छ कि नमीठो, तर स्वादसित डराएर जिब्रोको अधिकार खोस्नु कहाँको बुद्धिमता हो ?

नथाकी यात्रा गर्छु र आँसु नझारी रुन्छु भन्नु उस्तै–उस्तै कुरा हुन् । यो कुरा यात्रासित डराउने तमाम ती मानिसहरूलाई कसले बुझाउला ?

गलतलाई गलत भन्न डराउने सबै मानिस गलत हुन् । सही र गलतको पार्थक्य मानिसले सही ढंगले कसरी छुट्याउला?

हामी डरसित भाग्न मात्र जान्दछौँ । डरसित उठ्ने प्रयास गर्दैनौँ । डरसित बस्ने प्रयास गर्दैनौँ । डरसित लढ्ने प्रयास गर्न सक्दैनौँ । हामी डरका अघिल्तिर जहिल्यै आत्मसमर्पणको भावमा हुन्छौँ । डर यदि मुसा हो भने हामी बिरालो बन्न सक्नुपर्छ । डर यदि यात्रा हो भने हामी पाइला–पाइलामा परिणत हुन सक्नुपर्छ । डर असफलताको हो भने हामी कम्तीमा प्रयासमा अनूदित हुन सक्नुपर्छ । डर यदि घाम हो भने हामी छायाँमा बद्लिन सक्नुपर्छ । डर यदि बर्षात् हो भने हामी ओत बन्न सक्नुपर्छ । 

भन्नुहोला, यी सब भन्न धेरै सजिलो छ, तर भनेभन्दा गाह्रो प्रयास गर्नमा पनि छैन । प्रयास नगर्नु भनेको फेरि घुमीफिरी उही कुरा आउँछ, हारसितको डर । संसारको सबैभन्दा ठूलो हतियार हरेक मानिसले आफैँसित बोकेर हिँडेको हुन्छ— हिम्मत । फरक यति हो, थोरैले देखाउँछन्, धेरैले लुकाउँछन् ।

 

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्