Teej banner

लखनउमा पहले आप

- किशोर नेपाल

वैशाख १३, २०७५

नजाकत’ अर्थात् सभ्य र शिष्ट सांस्कृतिक । यही हो सहर लखनउ । अवध राज्यको राजधानी लखनउका नवावहरू शासनमा भन्दा शिष्टाचारमा अलमलिन्थे रे । ‘पहले आप–पहले आप’ भन्दाभन्दै नवावहरूले राज्य गुमाएका किस्सा एवं किंवदन्तीहरू अहिलेसम्म पनि लखनउ र त्यो सहर वरपरका नगरहरूमा प्रचलित छन् । अवधका नवावहरूको अंग्रेजहरूसँगको युद्धमा अंग्रेजी फौजले लखेट्दा भाग्दै थिए एक जना नवाव । त्यही बेला उनको जुत्ता फुक्लियो । जुत्ता कसरी लाउने हो ? उनलाई आउँदैनथ्यो । उनी जुत्ता लगाइदिने सहयोगी नपाएपछि अंग्रेजको कब्जामा परे । ‘किन भागेनौ तिमी ?’ प्रश्नको जवाफमा उनले भनेका थिए, ‘मेरो जुत्ता लगाइदिने कोही सहायक थिएन । म आफैं जुत्ता लगाउन सक्दिनथें ।’

नवावहरूका किस्सा एक होइन, लाखौं छन् । नवावका किस्सा र कहानीका पुस्तक हजारौंको संख्यामा लेखिएका छन् । नवावहरूको विलासपूर्ण जीवनको सम्झना भारतमा मात्र होइन, नेपालमा पनि गरिन्छ । नेपालगन्ज सहरको संरचना हेर्ने हो भने नवावकालीन महल र मकवराहरूको प्रभाव स्पष्ट देखिन्छ । नेपालगन्जको बजारमा बनारस सहरको गल्ली र लखनउ सहरको सौन्दर्यको प्रभाव प्रशस्त पाइन्छ । वास्तुकलाको अद्भुत नमुनाका रूपमा रहेका विशाल दरबारहरूको आधुनिकीकरण र प्रयोगले लखनउ सहरलाई जीवन्त बनाएको छ । इतिहासको सम्मान गर्न अलिकति पनि कन्जुसी गरेका छैनन् लखनवीहरूले ।

जसरी नेपाली जीवन हाम्रा नेपाली नेताहरूकै कारण ह्रासोन्मुख हुँदै गएको छ, त्यसरी नै नवावहरूको पतन नवावीकै कारण भएको थियो । उनीहरू आर्थिक एवं राजनीतिक गतिविधिहरूमा भन्दा बढी सांस्कृतिक र सांगीतिक विकासतर्फ ढल्किएका थिए । कवाव, मुजरा र सायरीको आकर्षणमा चुर्लुम्म डुबेका थिए । शक्ति र सत्ताको सुरक्षाको चिन्ता थिएन उनीहरूलाई । लखनउको विकास यही परिवेशमा भएको थियो । अहिले पनि लखनउले त्यो परिवेशलाई छाडेको छैन । जताततै पार्क र मनोरन्जन स्थलहरूको निर्माण हुन छाडेको छैन । खुला छ लखनउ । उत्तर भारतमा यत्तिको सफा, विकसित र सभ्य अर्को सहर छैन होला । 

नयाँ पुस्ताले भारतको सबैभन्दा ठूलो संघीय राज्य भएर पनि विकासको मामिलामा पछि परेको उत्तर प्रदेशलाई विकसित राज्यको अघिल्लो पंक्तिमा उभ्याउने भाषण गरे पनि नेतृत्वमाथि पुरानै पुस्ताले कब्जा जमाएको छ ।

‘मेरा निर्वाचित सहयोगीहरू बेरोजगार छन् । म उनीहरूलाई विकासका काममा सक्रिय बनाउन खोजिरहेको छु,’ भारतीय जनता पार्टीले चुनाव जित्नुअघि उत्तर प्रदेशका पुराना नेता मुलायम सिंह यादवका छोरा अखिलेश यादवले भनेका थिए । उनी निर्वाचित प्रतिनिधिलाई दायित्वविहिन राख्न चाहँदैनथे । निर्वाचित नेताहरूलाई विकासको केन्द्रबिन्दुमा निर्देशकको भूमिका दिएर राख्नुपर्छ भन्ने उनको सोच थियो । नाराले मात्र देश बन्दैन । विकासका प्राथमिकताहरू तोकिनुपर्छ । अखिलेशको हकमा यति भन्न सकिन्छ– उनलाई उक्त कुराको पूरा ज्ञान थियो, तर उनी हारे । नराम्रोसँग हारे ।

अखिलेश हारे पनि भारतका राजनीतिक दलहरूमा युवा पुस्ताको वर्चस्व बढ्दै गएको छ । विहारका नीतिश कुमार, उडिसाका नवीन पटनायक तथा उत्तर प्रदेशमा राहुल गान्धीलगायतका धेरै युवा नेताले राजनीतिको कठिन यात्रा तय गरेका छन् वा गर्दैछन् । यीमध्ये नीतिश कुमारलाई छाडेर सबैले आफ्ना पिताको उत्तराधिकारित्वमा पाएका छन् राजनीति । उत्तराधिकारित्व पाउनु नराम्रो होइन । पाएर सफल नै हुन सकिन्छ भन्ने कुनै सूत्र पनि छैन । उत्तर प्रदेशकै कुरा गर्ने हो भने दिग्गज नेता मुलायमसिंहका छोराले इन्दिरा गान्धीका नातिलाई बढारिदिए चुनावमा । जनताले राहुलको विकासको एजेन्डालाई अनुमोदन गरेन । 

अखिलेशका पिता मुलायम सिंह यादव समाजवादी नेता डा. राम मनोहर लोहियाका अनुयायी हुन । उनी प्राय: भाषणहरूमा डा. लोहियाको यो भनाइ– ज्यूँदो देशले (परिवर्तनका लागि) पाँच वर्ष पर्खिंदैन– भन्ने उल्लेख गर्छन् । डा. लोहियाले संसद्को पाँचवर्षे अवधि जनताको काम गर्नका लागि हो, काम नगर्ने सरकार हटाउन पाँच वर्ष कुरिरहनु जरुरी नभएको मान्यता स्थापित गर्नुभएको थियो भारतीय राजनीतिमा । राजनीति गर्ने मानिसले डा. लोहियाको यो वाक्यको मर्म र महत्त्व बुझ्नुपर्छ ।

संसारकै राजनीतिबाट पुस्ता बदलिँदैछ । राजनीतिका नयाँ परिभाषाहरू स्थापित हुने तरखरमा छन् । हाम्रो आफ्नै देशलाई हेरौं : काठमाडौं राजनीतिको केन्द्रबिन्दुमा छ, तर अहिलेको संघीय परिवर्तनपछि पनि राज्यहरूमा यसको प्रभाव घट्न थालेको छ । काठमाडौं अब राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयहरूमा सीमित हुँदै गएको छ भने यो स्वाभाविक हो । राजनीतिको विकासवादी धारको प्रभावले गणतन्त्रको लोकतान्त्रिक स्वरूपलाई निश्चित आकारमा ल्याउँछ । यसलाई सानो उपलब्धि भन्न मिल्दैन ।

नेपालमा नयाँ राजनीतिक नेतृत्व निखारिन र तिखारिन पाएको छैन । राजनीतिक आधारहरूलाई पुन: परिभाषित गर्नका लागि उपयोगी सावित हुन यो पुस्ता तिखारिनैपर्छ । यसका लागि नेताहरूले आफ्नो मनस्थितिमा परिवर्तन ल्याउनुपर्छ । चीनको राजनीतिमा नयाँ युवा नेतृत्व स्थापित हँुदै गएको छ । त्यहाँ कुनै समस्या छैन । उनीहरू जनताको आवश्यकताअनुसार रुपान्तरणमा लागेका छन् । भारतमा त्यही क्रम सुरु भएको अवस्थामा नेपालले नयाँ बाटो लिन सकेन भने हामी पछि पर्नेछांै, यसमा कुनै शंका नगरे हुन्छ । 

प्रकाशित :वैशाख १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्