हो, त्यो हाम्रो गल्ती थियो

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७५

८ करोड ७० लाख फेसबुक प्रयोकर्ताको तथ्याङ्क चोरिएको विषयलाई लिएर यतिबेला फेसबुक चर्को आलोचना एवं विवादमा तानिएको छ । यो प्रकरणले फेसबुकसँग जोडिएका मनिसहरूको गोपनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । कतिपय मानिसले आफ्नो फेसबुक एकाउन्ट नै डिलिट गरेका छन् भने फेसबुकको सेयरमा समेत भारी गिरावट आएको छ ।

डाटा लिकको खबरपछि फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग समस्यामा परेका छन् । अघिल्लो सोमबार र मंगलबार अमेरिकी सिनेटको सुनुवाइमा भाग लिएका जुकरबर्गले डाटा लिकको जिम्मेवारी लिँदै सिनेटसमक्ष माफीसमेत मागे । सुनुवाईका दौरान जुकरबर्ग एकदमै गम्भीर देखिन्थे । डाटा लिकको मामिलामा उनी सिनेटका सदस्यहरूको निशानामा रहे । जुकरबर्गले अमेरिकी कंग्रेससमक्ष लिखित बयान दर्ता गराउँदै डाटा दुरुपयोगलाई लिएर माफी मागेका थिए । 

बेलायतको डाटा विश्लेषक कम्पनी क्याम्ब्रिज एनालिटिकाले अमेरिकी चुनावका सिलसिलामा फेसबुकसँग भएको विभिन्न व्यक्तिको तथ्यांक दुरुपयोग गरेको विषयमा फेसबुकले निकै चर्को आलोचनाको सामना गर्नुपरिरहेको छ । फेसबुकमाथि फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत सूचना जम्मा गरेर अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पलाई फाइदा पुर्‍याएको आरोप समेत लागेको छ । 

ठूलो मात्रामा प्रयोगकर्ताहरूसम्बन्धी तथ्यांक चोरी भएपछि अमेरिकामा त ठूलै पराकम्पन गएको छ । अमेरिकी कंग्रेसमा सिनेटरहरूले मार्क जुकरबर्गसँग दुई दिन लगाएर ५–५ घण्टा गरी १० घण्टामा ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । सिनेट सदस्यहरूले सोधेका प्रश्नबाट मार्क जुकरबर्ग निकै हैरान देखिन्थे । जुकरबर्गसँग फेसबुकको डाटा चोरी, व्यक्तिगत गोपनीयताको सुरक्षा, निर्वाचनमा वैदेशिक हस्तक्षेपको आमन्त्रणजस्ता विषयमा अमेरिकी कंग्रेसमा सिनेटहरूद्वारा सोधिएका प्रश्न तथा उनले दिएको उत्तर :

 

फेसबुकद्धारा प्रयोगकर्ताको डाटा कुनै तेस्रो पार्टीलाई जानकारी बिना पठाइएको तपाईंको सम्झनामा छ ? यदि छ भने कति पटक ? 

जुन एप्लिकेसनसँग धेरै सूचना छन्, हामी अहिले त्यस्ता एपहरूमाथि निगरानी गरिरहेका छौं । विगतमा हामीले कुनै एपलाई प्रतिबन्धित गरेको मलाई सम्झना छैन । 

तपाईंले बिना जानकारी चोरी भएको तथ्यांकका सम्बन्धमा अडिट गर्नुभएको छ कि छैन ? छ भने कति पटक ? 

हामीले गरेका छौं, ठ्याक्कै कति पटक भन्ने चाहिँ सम्झना भएन । यद्यपि आगामी दिनमा त्यस्तो नहोस भनेर हामी प्रतिबद्ध छौं । 

फेसबुकले दुई तीन पेजको डाटा पोलिसीका बारेमा मात्र भन्छ । जस्तै एकअर्कालाई जोड्ने इत्यादि, तर फेसबुकभित्रका अति आवश्यक डाटा पोलिसीका बारेमा केही भन्दैन, जुन एकदम आवश्यक छ । प्रयोगकर्ताको डाटाभित्र कसरी काम हुन्छ ? 

के–कति डाटा सेयर गर्न चाहने हो त्यो प्रयोगकर्ताकै हातमा हुन्छ । भित्रको प्राइभेसी पोलिसी बुझ्न एकदमै गाह्रो भएकाले प्रयोगकर्तालाई जानकारी नदिइएको हो । 

प्रयोगकर्ताले आफ्ना जानकारी गोप्य राख्न फेसबुकलाई पैसा तिर्नुपर्छ भन्ने कुरा साँचो हो ? 

फेसबुकमा नचाहिने विज्ञापन नदेखिने बनाउन आवश्यक पैसा खर्च गर्नुपर्छ । जुन रूपमा अहिले विज्ञापन आउँछन्, त्यसबाट नै फेसबुक चलेको हो । बिना विज्ञापन फेसबुक चलाउन गाह्रो हुन्छ । 

क्याम्ब्रिज एनालाइटिकाले ८ करोड ७० लाख अमेरिकी प्रयोगकर्ताको सूचना फेसबुकमार्फत चोर्दा तपाईंले ती ८ करोड ७० लाख जनतालाई किन सुचित गर्नुभएन ? 

क्याम्ब्रिज एनालाइटिकाले उक्त सूचना फेसबुकको एप डेपलपभरबाट लिएको थियो । हामीले जब त्यो कुरा थाहा पायौं तत्काल त्यो एप र क्याम्ब्रिज एनालाइटिकालाई सबै सूचना निष्क्रिय पार्न भनेका थियौं । उनीहरूले ती सूचना निष्क्रिय तुल्याएको सूचना पनि हामीलाई दिए, तर त्यो साँचो रहेनछ । यो विषयमा पर्याप्त काम नगरेकोमा हामीलाई पछुतो छ । त्यो हाम्रो गल्ती थियो । 

तर तपाईंले प्रयोगकर्तालाई यस विषयमा किन केही भन्नुभएन ? 

क्याम्ब्रिज एनालाइटिकाले हामीले सबै सूचना निष्क्रिय तुल्याइसक्यौं भनिसकेपछि हामीले त्यसलाई फेरि दोहोर्‍याएर हेरेनौं । त्यही भएर कुनै प्रयोगकर्तालाई सूचित गरिएन । 

फेसबुकले धेरै वर्षदेखि गोपनीयतासम्बन्धी प्रश्न खेपिरहेको छ । यो पहिलो घटना होइन । यस्ता प्रश्न उठेपछि विगतको तुलनामा अहिले फेसबुकको गोपनीयतामा के परिवर्तन भएको छ ? 

फेसबुकको सुरुवातदेखि नै धेरै गल्ती भएका छन् । हामीले यस्ता गल्ती समयसँगै सच्याइरहेका छौं, तर अहिलेको समस्याजस्तै ठूला गलत समाचार, बाहिरी देशको प्रभाव, चुनावमा पर्ने प्रभावमाथि चाहिँ अझै केही ठूला कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि हामीले प्रशस्तै काम गर्नुपर्नेछ । आउने दिनमा प्रयोगकर्ताहरूले केही राम्रा चीज देख्न पाउनु हुनेछन् । 

तथ्य वा गलत सूचनाका बारेमा फेसबुकले कसरी मूल्यांकन गर्छ ? 

फेसबुकले सुरुमा सूचना विवरण (data cantact) हेर्छ । फेसबुकले कृत्रिम बौद्धिकता (AI-Artificial Intelligence) मार्फत योग्य–अयोग्य सूचना छुट्याउँछ र अयोग्यलाई आम जनतासामु पुग्न दिँदैन । 

फेसबुकले अमेरिकी चुनावमा विदेशी हस्तक्षेप रोक्न के गरिरहेको छ ? 

हामीले नयाँ र एकदमै बलिया AI टुल बनाएका छौं । जुन गलत र नक्कली आइडीहरू छन् र जुन आइडीले हाम्रो सिस्टमलाई ह्याक गर्ने प्रयास गर्छन् त्यस्तालाई निगरानी गर्दै हटाएका छौं । यस्ता आइडीहरू जसले चुनावमा गलत सूचना फैलाउँछन् त्यसलाई नियाल्दै त्यस्ता फेक आइडीमाथि बन्देज लगाएका छौं । यो वर्षभित्र हामी २० हजार मानिसलाई सूचना निरीक्षणमा लगाउँदैछौं । 

फेसबुकमा गलत सूचना फैलाउनेहरूलाई कसरी सजाय दिँदै हुनुहुन्छ ? 

हामीले त्यस्ता नक्कली आइडीहरूलाई बन्द गरिदिएका छौं । रूसका ४ सय ७० नक्कली आइडी, जुन अमेरिकन चुनावमा हस्तक्षेप गर्न बनाइएका थिए । त्यसैगरी अस्ती भर्खर रूसबाट चलाइएका २ सय ७० आइडी पनि बन्द गरेका छौं । समग्रमा हजारौं यस्ता फेक आइडी बन्द गरेकोमा हामी खुसी छौं । 

फेसबुकले २०१५ मै क्याम्ब्रिज एनालाइटिकालाई किन बन्द गरेन ? 

क्याम्ब्रिज एनालाइटिकाले सन् २०१५ मा फेसबुकको कुनै सर्भिस प्रयोग गरेको थिएन । त्यसैले बन्द गर्न उसको कुनै पेज वा विज्ञापन हामीसँग थिएन । 

२०१० मा तपाईंले फेसबुक सधैं नि:शुल्क हुन्छ भन्नुभएको थियो । के फेसबुक सधैंभरिका लागि नि:शुल्क रहनेछ ? 

हो, फेसबुक सधैंका लागि नि:शुल्क हुनेछ । 

तर, फेसबुक सधंैका लागि नि:शुल्क भए तपाईं कसरी आफ्नो कम्पनी सुचारु राख्न सक्नुहुन्छ ? 

हामी विज्ञापनमार्फत आम्दानी गर्छौं । 

क्याम्ब्रिज एनालाइटिकाले कसरी यस्तो कार्य गर्‍यो भन्ने विषयमा केही ज्ञान छ ? 

छैन् । 

२०१६ मा ट्रम्पलाई सहयोग गरिरहेको क्याम्ब्रिज एनालाइटिकामा फेसबुकका कुनै मानिस आबद्ध थिए ? 

ट्रम्पले फेसबुकसँग पनि सहयोग मागेका थिए । हामीले ट्रम्पलाई सहयोग गरेका थियौं, जसरी हामीले विज्ञापनदातालाई फेसबुकमार्फत सहयोग गर्छौ, तर क्याम्ब्रिज एनालाइटिकामा फेसबुकको कुनै व्यक्ति आबद्ध भएको मलाई सम्झना छैन । 

तपाईंको कम्पनीको बोर्डमा यस्ता समस्याका बारेमा छलफल हुन्छ कि हुँदैन ? तपाईंले यस्ता समस्या समाधानका लागि प्रयास गर्नुभएको छ कि छैन ? 

यस्ता समस्यामा छलफल हुन्छ । गोपनीयता र चुनावमा वैदेशिक हस्तक्षेप अहिलेका हाम्रा मुख्य समस्या हुन् । हामी यसलाई रोक्न एकदम प्रयास गरिरहेका छौं । 

फेसबुक ह्याक भएको छ ? 

भएको छ, तर त्यति लामो समय हुन सकेन । सन् २०१३ मा त्यस्तो घटना भएको थियो । 

फेसबुक प्रयोगकर्ताहरूले फेसबुकले फेसबुकबाहेकका अरू साइटमा पनि आफ्ना गतिविधि अनुगमन गर्न सक्छ भन्ने थाहा पाउँछन् कि पाउँदैनन् ? 

फेसबुक प्रयोगकर्ताले आफू कहाँ–कहाँ निरीक्षण भैरहेको छु भनेर फेसबुकमार्फत नै थाहा पाउँछन् । 

तपाईं फेसबुकको डाटा एकाउन्ट होल्डरको सम्पत्ति भन्नुहुन्छ । तपाईंले त्यही डाटाबाट वर्षको ४० बिलियन डलर कमाउनुहुन्छ । तपाईंले फेसबुकको डाटालाई एकाउन्ट होल्डरको डाटा भनेर कसरी भन्नुभएको हो ? 

एकाउन्ट होल्डरको डाटा भन्नुको अर्थ त्यो डाटामाथि एकाउन्ट होल्डरको पूर्ण रूपमा अधिकार छ भन्ने हो । व्यक्तिले आफूसँग सम्बन्धित तथ्यांक कुन प्रकारले प्रयोग गर्छ त्यो ऊ आफैंमा भर पर्छ । त्यसैले तपाईंले आफ्नो डाटा फेसबुकलाई प्रयोग गर्न अनुमति दिनुपर्छ, अन्यथा फेसबुकले त्यसको प्रयोग गर्दैन ।

 

कुनै पनि एकाउन्ट डिलिट गर्दा त्यसको ब्याकअप कपी कति समयका लागि रहन्छ ? एकाउन्ट डिलिट गरेपछि पनि ब्याकअप डाटा किन कायमै रहन्छ ? त्यो हट्छ कि हट्दैन ? 

ती ब्याकअप कपीहरू कति समयका लागि रहन्छन् भन्ने चाहिँ मलाई पनि ठ्याक्कै थाहा छैन, तर ती कपी पछि डिलिट हुन्छन् भन्नेमा चाहिँ म विश्वस्त छु । 

फेसबुकमा आएका उजुरीहरू कसरी सुल्झाइरहनु भएको छ ? 

हामीले पहिलेको भन्दा प्रभावकारी र मजबुत हिसाबले समस्या समाधान गर्दैछौं । 

यस्ता समस्याका बारेमा जानकारी, अडिट गरिरहनुभएको छ ? 

हामीहरू गर्दैछौं र पहिलेको भन्दा राम्रोसँग गर्दैछौं । 

विज्ञापनबाट कसरी पैसा कमाउनुहुन्छ ? 

विज्ञापनदाताले जुन कार्यका लागि विज्ञापन दिएको हो त्यो कार्य सफल भए हामीलाई पैसा दिन्छन् । 

फेसबुक प्रयोगकर्ताका लागि राम्रो गर्नेभन्दा पनि तपाईंको उद्देश्य अर्कैतिर मोडिएजस्तो देखिन्छ नि ? 

हाम्रो उद्देश्य त्यसरी मोडिएका छैनौं । हामीले कहिल्यै विज्ञापनदाताहरूलाई प्रयोगकर्ताभन्दा माथि राखेका छैनौं, तर यो कम्पनी राम्रोसँग चल्न फाइदामा जानुपर्छ एवं त्यसका लागि हामीले विज्ञापनदाता एवं सेयर होल्डरहरूसँग मिलेर जानुपर्छ । 

तपाईंको टर्म अफ सर्भिस कति जनाले पढ्छन् ? तपाईंलाई थाहा छ ? 

एकदमै थोरै, तर फेसबुकले आफ्ना हरेक प्रयोगकर्तालाई टर्म अफ सर्भिस पढ्ने मौका दिएको छ र प्रयोगकर्ताले त्यो नपढे पनि फेसबुकप्रति उनीहरू सहमत छन् भन्ने कुरालाई नकार्न सकिँदैन । 

कोगन (Kogan) ले फेसबुकको तथ्यांक क्याम्ब्रिज एनालाइटिकाबाहेक अरू कसैलाई बेचेको छ ? 

छ, युनोइया (Eunoia) अर्को कम्पनी हो, जसलाई कोगनले तथ्यांक बेचेको थियो, तर अरु धेरैलाई बेचेको हुनुपर्छ भन्नेमा पनि म विश्वस्त छु । 

तपाईंसँग कोही जोन केन्डीको फाइल हेर्छु भनेर आउन पाउँछ ? 

अहँ, पाउँदैन । 

तपाईं आफै पनि जोन केन्डीको फाइल हेर्न सक्नुहुन्न ? 

हेर्न सकिन्छ तर त्यो नियमको उल्लंघन मानिन्छ । 

क्याम्ब्रिज एनालाइटिकाले ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरेको तथा नियमको उल्लंघन भएको थाहा पाएपछि यस विषयमा फेसबुकमा कुनै कुराकानी भयो कि भएन ? यो कुराको जानकारी जनतालाई किन दिइएन ? 

फेसबुकभित्र यसका बारेमा कुराकानी भएको मलाई थाहा छैन । फेसबुकभित्रका कसैले पनि यसका प्रयोगकर्तालाई यस विषयमा केही नभनौं पनि भनेनन् । 

फेसबुकले मोबाइलबाट अडियो पनि तान्न सक्छ ? यसले मोबाइलको अडियो पनि प्रयोग गर्न सक्छ ? 

सक्दैन । 

के तपाईं हाम्रो फोन कल पनि रेकर्ड गर्न सक्नुहुन्छ ? 

हामी फोन कलसँग सम्बद्ध कुनै पनि कुरा संकलन गर्दैनौँ  । 

तपाईं आफूलाई पीडित सम्झनुहुन्छ ? तपाईंलाई आफ्नो कम्पनी पीडित भएजस्तो लाग्छ ? 

होइन, हामी पीडितचाहिँ होइन बरु हामीमाथि सम्पूर्ण समाजलाई जोगाउने उत्तरदायित्व छ । 

तपाईं ती ८ करोड ७० लाख जनतालाई पीडित भन्नुहुन्छ ? 

हो, यो एक प्रकारको नराम्रो घटना हाम्रै आँखा अगाडि भयो र उनीहरू फस्न बाँध्य भए । 

फेसबुकमा विविधताको कमी छ । तपाईंको फेसबुकले कुनै पनि नागरिक अधिकार संस्थाको साथ लिएर यस्ता समस्या सुल्झाउन केही गर्न सक्छ ? 

यो एकदम राम्रो सोच हो । यदि त्यसरी आबद्ध हुन चाहे आबद्ध हुन सकिन्छ । 

कानुनी संस्थाले फेसबुकमार्फत कसैमाथि आँखा लगाउँछन् । के तपाईं विश्वस्त तुल्याउन सक्नुहुन्छ फेसबुकले कानुनी संस्थाहरूलाई यसमार्फत कसैमाथि आँखा लगाउने अधिकार दिएको छैन ? 

त्यस्तो अधिकार दिएको छैन । कानुनी संस्थाले हामीबाट अनुमति लिइसकेपछि मात्र त्यस्तो कार्य गर्न पाउँछन् । 

फेसबुकमा नागरिकविरुद्धको भेदभावजस्ता विषय पनि व्याप्त छन् । यसका लागि के–कस्तो कदम चलाइरहनुभएको छ ? 

यसका लागि कृत्रिम बौद्धिकता (Artificial Intelligence-AI) का माध्यमबाट काम गरिरहेका छौं, तर यसमा अलिक बढी जोड दिनुपरेको छ र यसमा हामी अझ राम्रोसँग काम गर्ने प्रयास गरिरहेका छौं । अहिलेको अवस्थामा खुसी हुनुपर्ने चाहिँ देखिँदैन, अझ धेरै कार्य गर्न सकिन्छ । 

अहिलेको तपाईंको मुख्य काम के हो ? 

अब आउने वर्षहरूमा हुन लागेका कुनै पनि चुनावमा हस्तक्षेप हुन नदिनु । 

फेसबुक एउटा टेक्निकल कम्पनी हो कि विश्वकै सबैभन्दा ठूलो प्रकाशक ? 

मेरो हिसाबले फेसबुक एउटा टेक्नीकल कम्पनी हो । हामी यसभित्रका सामग्री वा सूचनाका लागि हकदार छौं, तर हामी आफै सूचना वा सामग्री बनाउँदैनौं । 

रूस र चीन सरकारसँग फेसबुकको डाटा जम्मा भैरहेको आरोपमा कति सत्यता छ ? 

हामी यस विषयमा अध्ययन गर्दैछौं । हामीलाई ती देशका बारेमा खासै ज्ञान छैन् तर ती देश पक्कै पनि फेसबुकबाट फाइदा लिन खोजिरहेका छन् । 

तपाईं कुनै यस्तो कानुनको पक्षमा उभिनुहुन्छ, जसले फेसबुक वा अरू माध्यमबाट आएका सूचनाहरू अरू सन्दर्भमा प्रयोग गर्नुभन्दा अघि अनुमति लिन जरुरी छ ? 

यो एकदमै ठीक कुरा हो । 

यो सन्दर्भमा तपाईं कानुनलाई सहयोग गर्नुहुन्छ ? 

अवश्य, तर हरेक विवरण र बेहोरा हेर्नु जरुरी छ । 

सामाजिक सञ्जालको लत चिन्ताको विषय हो कि होइन ? 

यो त सबैले सोच्ने विषय हो, तर कति प्रयोग गर्ने प्रयोगकर्ता आफैंले विचार गर्नुपर्छ । 

फेसबुक सुरक्षित अनुभव गर्नका लागि हो कि यसबाट सुरक्षित हुनका लागि ? 

फेसबुक आफैंमा सुरक्षित भएकाले म आफंै र मेरो परिवार हरेक समय यसको प्रयोग गरिरहेका हुन्छौं । 

फेसबुकका के–कति कुरा स्टोर हुन्छ । के हामीले क्लिक गरेका सबै चीज कतै स्टोर हुन्छन् ? 

हो, फेसबुकमा स्टोर भैरहेका हुन्छन् । 

फेसबुकले कोही हिजो राति बसेको होटलको नाम सेयर गर्न सक्छ अथवा कसैलाई पठाएको म्यासेज सेयर गर्न सक्छ ? 

अहँ सक्दैन, कुनै व्यक्तिले आफ्ना के–कति सूचना सेयर गर्न चाहने हो, त्यो सबै उसको आफ्नै हातमा हुन्छ । 

के फेसबुक कसैको एकाधिकार हो ? 

मलाई त त्यस्तो लाग्दैन । 

त्यसो भए हामीले किन आफ्ना सूचना तपाईंलाई परिचालन गर्न दिने ? 

परिचालन त जसले पनि गर्न सक्छन्, तर हामीहरू सही परिचालनका लागि बसेका हौं । 

प्रयोगकर्ता लगआउट भैसकेपछि पनि फेसबुकले त्यसको ब्राउजिङ डाटा ट्रयाक गर्न सक्छ ? 

फेसबुकले अययपष्भक लाई ट्रयाक गर्छ । 

                                               (गार्जियन र अन्य एजेन्सीहरूको सहयोगमा)

प्रकाशित :वैशाख १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्