०७५ सालमा कस्तो फेसन चल्ला ?

- महेश तिमल्सिना

वैशाख ११, २०७५

 

युवापुस्ता फेसन र स्टायलमा बढी कन्सस छ । अन्तर्राष्ट्रिय बजारमा मार्केट लिएको नयाँ फेसन केही समयमै नेपाल भित्रिन्छ अनि नेपालीहरू पनि त्यसकै पछि लाग्छन् । गतवर्ष युवतीहरूमा क्रप टप्स, ब्यागी जिन्स, ग्रन्च जिन्स तथा पार्टी वेयरमा लेहेंगा आदि चलेका थिए भने पुरुषहरूमा क्याजुअलमा फिटेट सर्ट, मोदी कोट तथा ब्लेजर्सले एकछत्र बजार लियो । अब यो वर्ष अर्थात् ०७५ सालमा कस्तो फेसन ट्रेण्डमा आउला त ? नेपालका  सक्रिय फेसन डिजाइनरको आँकलन : 

क्याजुअल वेयर

क्याजुअल वेयरमा युवाहरूले कटन तथा लिलेनका पहिरन मन पराउँदै आएका छन् । त्यसमा पनि हाफ पाइन्ट तथा हुडी टिसर्ट चल्ने सम्भावना धेरै छ । युवतीहरूको हकमा भने जम्परले सबैको मन जित्नेछ । त्यसका अतिरिक्त मिनिस्कर्ट तथा आउटरहरूले पनि बजार लिन सक्छन् । 

पार्टी वेयर

पार्टी वेयरमा युवाहरूको हकमा कोट–सुट, लिलन तथा कटन कोट ट्रेण्डमा आउने सम्भावना छ । युवतीहरूमा रसिल्क, सिल्क, कटन तथा नेटका कपडा बढी चल्न सक्छन् । ती कपडाका लेहेंगा, साडी, वन पिस गाउन तथा ककटेल ड्रेसहरू धेरैले रुचाउने छन् । 

जाडोयाम 

जाडोयाममा युवाहरूले मोटो लाइक्रा तथा कटनका टिसर्ट रुचाउने छन् । त्यस्तै जम्पर ज्याकेट तथा आउटरहरू ट्रेन्डमा आउन सक्छन् । क्याजुअल वेयरमा फिटिङ ट्राउजर पनि चल्न सक्छ । गत वर्ष युवतीहरूमा उलनको लङकोट लोकप्रिय थियो । यो वर्ष त्यसको आकारमा परिवर्तन आउने सम्भावना छ । किनभने यो बजारमा भर्खरै आएको नयाँ आइटम हो । जाडोमा युवतीहरूको लेगिज, कोट तथा टप बुट चल्न सक्छ । 

चश्मा

गत वर्ष युवाहरूमा मर्करी डिजाइनको चश्मा लोकप्रिय थियो । हिजोआज स्टिलको फ्रेमभन्दा प्लास्टिकको फ्रेम बढी चल्दैछ । पहिले मर्करी ग्लास कालो कलरमा मात्र आउँथ्यो, तर अहिले यो थुप्रै कलरमा उपलब्ध हुनथालेको छ । त्यसैले यो वर्ष मर्करी ग्लासले बजार लिन सक्छ । 

जुत्ता 

यो वर्ष क्याजुअल वेयरमा स्लिपर जुत्ता चल्न सक्छ । त्यस्तै, गर्मी महिनामा जालिदार जुत्ता तथा लेदरको हाफ सुजले पनि बजार पाउनेछ । गर्मी यामका लागि जुत्ताबाट बाहिर ननिस्किने मोजा ट्रेज्डमा छ । युवतीहरूमा पनि जलीवाला स्यान्डल चल्ने सम्भावना धेरै छ । जाडोयाममा युवाहरू हाप टप तथा कट बुटतर्फ आकर्षित हुन सक्छन् । 

यो वर्षको विशेष 

जाडो मौसममा युवतीहरूबीच मखमल, ब्रोकेट, पश्मिना तथा उलनका कपडा बढी प्रिय हुन्छन् । पार्टी वेयरमा यी कपडाका गाउनले बजार लिन सक्छ । यस्तो पहिरन अहिले अधबैंसे महिलाहरूले पनि लगाइरहेका छन् । युवाहरूमा चाहिँ कोटमा कलरफुल चेक कोट, पाइन्ट, वेस्ट कोट आदि चल्ने सम्भावना बढी छ । 

                                                                 उत्तम बनेपाली, फेसन डिजाइनर

 

प्रकाशित :वैशाख ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्