२०७५ मा कस्ता चलचित्र आउँछन्

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७५

प्रि–प्रोडक्सन, छायांकन तथा पोस्ट प्रोडक्सनमा रहेका चलचित्रलाई आधार मान्ने हो भने वर्ष २०७५ मा कम्तीमा ८० वटा चलचित्र प्रदर्शन हुने सम्भावना छ । तीमध्ये छायांकनरत तथा प्रदर्शनको अन्तिम तयारीमा रहेका केही चलचित्रको छोटो विवरण यस्तो छ : 

 

कोहलपुर एक्सप्रेस

अभिनेत्री केकी अधिकारीद्वारा निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, रवीन्द्र झा, बुद्धि तामाङ, विनोद न्यौपाने, कुशाग्र भट्टराई आदि कलाकारले अभिनय गरेको यो हास्यप्रधान चलचित्र वैशाख १४ गतेदेखि प्रदर्शनमा आउनेछ । 

ह्याप्पी डेज 

वैशाख १४ गतेदेखि नै प्रदर्शन हुने चलचित्र ह्याप्पी डेजलाई मिलन चाम्सले निर्देशन गरेका छन् । बेलायतमा छायांकन गरिएको यो चलचित्रमा दयाहाङ राई तथा प्रियंका कार्की मुख्य भूमिकामा छन् । 

पसिना

वैशाख १४ गते नै प्रदर्शनमा आउने चलचित्र पसिनालाई आरबी खत्री शरदले निर्देशन गरेका हुन् । मजदुर वर्गको कथा बोल्ने यो चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, सुरजनी केसी आदि कलाकारले अभिनय गरेका छन् । 

हिरो रिटन्र्स

अभिनेत्री रेखा थापालाई लामो समयपछि दर्शकमाझ ल्याउने काम यही चलचित्रले गर्नेछ । अभिनेता सविन श्रेष्ठद्वारा निर्मित यो चलचित्रमा रेखा र सविनको जोडी बाँधिएको छ । यसअघि गत चैत महिनामै प्रदर्शनमा आउने भनिएको यो चलचित्र वैशाखको अन्तिम सातासम्ममा प्रदर्शन हुने अपेक्षा गरिएको छ । आशिष भेटवाल यो चलचित्रका निर्देशक हुन् । 

हैरान

जेठ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘हैरान’ को निर्देशन कान्छा निर्देशक सौगात विष्टले गरेका हुन् । यो चलचित्रमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा, शिशिर भण्डारी आदि कलाकारले अभिनय गरेका छन् । 

सुनकेशरी 

अभिनेत्री ऋचा शर्माले अस्ट्ेरलिया पुगेर छायांकन गराएको चलचित्र सुनकेशरी हरर शैलीको चलचित्र हो । अभिनेता अर्पण थापाद्वारा निर्देशित यो चलचित्रमा अभिनेत्री शर्मालाई डरलाग्दो रूपमा प्रस्तुत गरिएको छ । जेठ ११ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्र सिड्नीको एउटा पुरानो दरबारमा बस्ने भूतमा केन्द्रित छ ।

चंगा

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखला डिट्ठा सा’बका निर्देशक किशोर भण्डारीले निर्देशन गरेको पहिलो चलचित्र ‘चंगा’ जेठ ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । हास्यप्रधान यो चलचित्रमा बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, राजन खतिवडा आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको सांगीतिक पक्ष पनि उत्तिकै सबल भएको बताइन्छ । 

ब्ल्याक 

प्रदीप श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘ब्ल्याक’ मा आकाश श्रेष्ठ तथा आँचल शर्माको जोडी फिचरिङ छन् । सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धीरेन शाक्य आदिले समेत अभिनय गरेको यो चलचित्र जेठ ११ गतेदेखि प्रदर्शनमा आउनेछ । 

भैरे

सूर्य बोहराद्वारा निर्देशित चलचित्र भैरे जेठ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, सुनील थापा, विक्रान्त बस्नेत, बुद्धि तामाङ आदि कलाकारले अभिनय गरेका छन् । 

लम्फू

वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लम्फू’ मा एउटा बेरोजगार युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ । गोपालचन्द्र लामिछानेद्वारा निर्देशित यो चलचित्रमार्फत कबिर खड्का अभिनेताका रूपमा पदार्पण गर्दैछन् । उनलाई अभिनेत्री मरिष्का पोखरेललेसाथ दिएकी छिन् । 

अमेरिका ब्वाइज

जेठ १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र अमेरिका ब्वाइजमा अर्पण थापा, सुनील थापा, सन्दीप क्षेत्री, कामेश्वर चौरसिया, हरिहर शर्मा आदि कलाकारले अभिनय गरेका छन् । प्रवेश पौडेलद्वारा निर्देशित यो चलचित्रले अमेरिका जान इच्छुक युवाहरूको कथालाई रमाइलो शैलीमा चित्रण गरेको छ । 

ड्रिम गर्ल 

निर्देशक ऋषिराज आचार्यको ड्रिम प्रोजेक्ट अर्थात् चलचित्र ड्रिमगर्ल प्रदर्शनका लागि तयार छ । स्वदेशदेखि विदेशसम्मका लोकेशनमा छायांकन गरिएको यो चलचित्र असार २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्र ड्रिम गर्लमा आकाश खड्का तथा आश्मा गिरी मुख्य भूमिकामा देखा पर्दैछन् । 

सुश्री सम्पत्ति

सञ्चारकर्मी निर्देशक सुव्रतराज आचार्यको सुश्री सम्पत्तिलाई सोसल कमेडी विधामा आधारित चलचित्र भनिएको छ । सम्पूर्ण छायांकन पोखरामा गरिएको यो चलचित्र साउनको अन्तिम साता प्रदर्शनमा आउनेछ । चलचित्र सुश्री सम्पत्तिमा विनोद न्यौपाने, सारा शिर्पाली, सलोन बस्नेत, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र दुई बेरोजगार युवाले सम्पत्तिका लागि अविवाहित युवतीलाई मायाजालमा पार्न गरेको संघर्षमा केन्द्रित छ । 

नाइँ नभन्नु ल–५ 

नेपालको सबैभन्दा लामो चलचित्र सिरिज अर्थात् विकास आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–५’ को छायांकन झापा तथा इलामतिर भैरहेको छ । यो चलचित्रमा दिलीप रायमाझी, प्रियंका कार्की, अनुभव रेग्मी, स्वस्तिमा खड्का, केकी अधिकारी, बुद्धि तामाङ आदि कलाकारले अभिनय गरेका छन् । ‘नाइँ नभन्नु ल–५’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ । 

ब्रेकअप

फागुनमा प्रदर्शनमा आउने चलचित्र ‘ब्रेकअप’ प्रि–प्रोडक्सनदेखि नै चर्चामा छ । आसिरमान देशराज जोशीले धेरै पारिश्रमिक लिएको भनिएको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरिरहेका छन् । चलचित्र ब्रेकअपको निर्देशन हेमराज बिसीले गरिरहेका छन् । 

राम कहानी 

अभिनेत्री पूजा शर्माको चलचित्र राम कहानीलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यो चलचित्रमा अभिनेत्री शर्मासँगै आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । भदौ २२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र रामकहानीले तीजलाई लक्षित गरेको छ । 

 

छक्का पञ्जा–३

छक्का पञ्जा श्रृंखलाको तेस्रो चलचित्र छक्का पञ्जा–३ को छायांकन प्रारम्भ हुन बाँकी नै छ, यद्यपि यसले चलचित्र क्षेत्रमा आफ्नै प्रकारको क्रेज कायम गरेको छ । यही वर्षको फूलपातीमा प्रदर्शनमा आउने यो चलचित्रको निर्देशन पनि दीपाश्री निरौलाले नै गर्दैछिन् भने दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे आदि कलाकार नै मुख्य भूमिकामा रहनेछन् ।

डमरुको डन्डीबियो 

वैशाख २१ गते प्रदर्शनमा आउन चलचित्र डमरुको डन्डीबियोले नेपालको पुरानो खेल डन्डीबियोको प्रचार गर्ने निश्चित छ । यो चलचित्र अभिनेता खगेन्द्र लामिछानेले डन्डीबियो खेलको जगेर्नाका लागि गरेको संघर्षको कथामा आधारित छ । छेतेन गुरुङद्वारा निर्देशित यो चलचित्रमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल आदि कलाकारले पनि अभिनय गरेका छन् ।

 

जय भोले 

पुराना निर्माता तथा निर्देशक अशोक शर्माले झन्डै एक दशकपछि यही चलचित्रमार्फत रजतपटमा पुनरागमन गरेका छन् । दसैंको फूलपातीका दिन प्रदर्शनमा आउने यो चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा गरिएको छ । चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । 

चंगा चेट

दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र चंगा चेट पनि प्रि–प्रोडक्सनको समयदेखि नै चर्चामा छ । यो चलचित्रमा आयुष्मान देशराज जोशी तथा प्रियंका कार्कीले मुख्य भूमिका निर्वाह गर्दैछन् । यही वर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउने यो चलचित्रमा वास्तविक जीवनका प्रेमी–प्रेमिकालाई दर्शकले रुचाउने हुन् कि होइनन् ? निक्र्यौल हुनेछ ।

डामाडोल

चलचित्र दुई रुपैयाँको सफलतापछि आसिफ शाह, असिम शाह तथा निश्चल बस्नेत चलचित्र ‘डामाडोल’ लिएर दर्शकमाझ आउँदै छन् । असोजमा प्रदर्शन हुने यो चलचित्रमा आसिफ, निश्चल तथा स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरिरहेका छन् । 

भोर 

तराईमा व्याप्त दाइजो प्रथालाई मुख्य विषय बनाइएको चलचित्र भोरलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनले चलचित्र झोलामार्फत दर्शकको मन जितिसकेका छन् । चलचित्र भोरमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार, बीएन पटेल आदि कलाकारले अभिनय गरेका छन् । 

क्याप्टेन

अभिनेता भुवन केसीले छोरा अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको चलचित्र ‘क्याप्टेन’ पनि प्रि–प्रोडक्सनको क्रममै चर्चामा छ । दीवाकर भट्टराईले निर्देशन गर्ने यो चलचित्र वर्षको उत्तराद्र्धसम्ममा प्रदर्शनमा आउनेछ । चलचित्र क्याप्टेनमा अनमोल केसीले फुटबल खेलाडीको भूमिका निर्वाह गर्दैछन् । 

रानी 

मलिना जोशी तथा मनिष सुन्दर श्रेष्ठद्वारा अभिनित चलचित्र रानी असार ८ गतेदेखि प्रदर्शन हुँदैछ । विकास बस्याल यो चलचित्रका निर्देशक हुन् । 

वीरांगना

शिल्पा पोखरेल तथा अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र वीरंगना सफल चलचित्रको सूचीमा पर्न सक्ने सम्भावना छ । असार २९ मा प्रदर्शन हुने यो चलचित्रको निर्देशन राजकुमार सानेले गरेका हुन् ।

प्रकाशित :वैशाख ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्