२०७४ मा निरन्तर मञ्चन भए नाटक

- महेश तिमल्सिना

वैशाख १०, २०७५

भनिन्छ, साहित्य र रंगमञ्च समाजको ऐना हो । खासगरी रंगमञ्चमा रंगकर्मीहरू जसरी प्रस्तुत हुन्छन्, त्यसले समाजको कुनै न कुनै स्वरूप वा चरित्रको प्रतिनिधित्वि गरेको हुन्छ । पश्चिमा रंगकर्मीहरूको धारणा के पनि छ भने जुन मुलुकमा रंगमञ्च सक्रिय र ऊर्जावान् हुन्छ त्यो मुलुक कहिल्यै सुस्ताउँदैन अनि गतिशील मुलुक नै आमनागरिकको सुख–दु:खसँगै हातेमालो गरेर अघि बढिरहेको हुन्छ । 

सुनिल पोखरेल 

यो वर्ष रंगमञ्चमा लगातार नाटक मञ्चन भए । यो रंगमञ्चका लागि राम्रो संकेत हो । नाटकघर बनेपछि निरन्तरता दिनुपर्छ भनेर पनि यो वर्ष विभिन्न नाटक मञ्चन भए । मञ्चन भएका कतिपय नाटकले आम जनमानसमा राम्रै प्रभाव छाडे भने कतिपय नाटक केवल मञ्चन गर्नका लागि मात्र मञ्चन गरिए । यस्तो स्थितिले दर्शकहरूले रंगमञ्चलाई जति माया गरेको देखियो त्यो गुमाउनुपर्ने अवस्थासमेत सिर्जना हुन सक्छ । त्यसैले हामी सबै सुध्रिनु आवश्यक छ । यो वर्ष मैले हेरेकामध्ये अनिल सुब्बाको नाटक ‘जिउँदो आकाश’ र सुदाम सिकेले अभिनय गरेको ‘म्याड म्यान्स डायरी’ असाध्यै राम्रा थिए । अहिले रंगमञ्चमा जस–जसले काम गरिरहनुभएको छ, उहाँहरूले नाटकका बारेमा गहिरो अध्ययन गर्नुभएको छ, यद्यपि कतिपय रंगकर्मीले चाहिँ आफूले सोचेको र अध्ययन गरेको कुरा ठीक हो कि होइन भन्ने पक्षमा पनि विचार गर्ने हो भने रंगमञ्च अझ राम्रो हुने थियो ।

सरिता गिरी

समग्रमा हेर्दा यो वर्ष राम्रा–राम्रा नाटक मञ्चन भए भने राम्रा कलाकारहरूसमेत देखा परे । गुरुकुल बन्द भएपछि रंगमञ्च नै संकटमा परेको थियो । यद्यपि अहिले राम्रा–राम्रा थिएटर खुलिसकेका छन् । त्यस्तै, नयाँ विषयवस्तुमा आधारित नाटक मञ्चन हुने क्रम बढ्दो छ । कतिपय नाटकले थिएटरमा पर्याप्त दर्शक पनि ताने । नाटकमा कलाकार भन्दा पनि त्यसलाई कसले लेखेको छ र कसले निर्देशन गरिरहेको छ भन्ने कुराले ठूलो महत्व राख्छ । यो वर्ष मञ्चन भएका कतिपय नाटकमा त्यति धेरै मेहनत नभएको देखियो, जसले गर्दा दर्शकहरू भड्किने हुन् कि भन्ने डर पनि देखा पर्‍यो । यो वर्ष मण्डलामा बाह्र दुर्बासा, बोक्सीको घर, एन्टिगोनी, लाटीको छोरो आदि राम्रा नाटकहरू मञ्चन भए । त्यस्तै शिल्पी थिएटरमा माधवी, ययातीजस्ता नाटकले रंगमञ्चप्रति आममानिसलाई आकर्षित गर्‍यो । 

राजन खतिवडा

यो वर्ष थिएटर ओलम्पिकमा पाँचवटा नेपाली नाटकले सहभागिता जनाए । त्यस्तै, सर्वनाम थिएटरमा एकल नाटक महोत्सव भयो जुन नेपाली रंगमञ्चका लागि ठूलो उपलब्धि थियो । सर्वनामको महोत्सवले दर्शकलाई उत्साहित बनायो भने रंगकर्मीहरूलाई पनि नयाँ हौसला प्रदान गर्‍यो । यो वर्ष नाटकहरू निरन्तर मञ्चन त भए तर, कतिपय नाटक गत वर्षको तुलनामा कमजोर पनि देखिए । थिएटरमा नाटकहरू नियमित मञ्चन भैरहे तर शक्तिशाली नाटक कमै हेर्न पाइयो । यो वर्ष पोखरामा गन्धर्व नाटकघर खुल्यो भने आममानिसले रंगमञ्चलाई गम्भीर रूपमा लिन थालेको पाइयो । यो रंगमञ्चको अर्को सफलता हो, किनभने टेलिभिजन क्रान्तिपछि रंगमञ्च सुस्ताएको वा मानिसको रुची कम भएको अनुभव गरिएको थियो । 

विजय बराल 

यसपालि रंगमञ्चमा नयाँ–नयाँ निर्देशकहरू देखा परे, नाटक पनि धेरै नै मञ्चन भए, तर मञ्चन भएका नाटकमा जति स्तरीयता हुनुपर्ने थियो, त्यति देखिएन । यो वर्ष कतिपय नाटक नयाँ ढंगले लेखिएको र नाटककारको मर्मअनुरूप मञ्चन भएको पाएँ । राजन खतिवडाले निर्देशन गरेको नाटक ट्वेल्भ एङ्ग्री म्यान निकै स्तरीय थियो । त्यस्तै, मण्डलामै मञ्चन भएको अर्को नाटक लाटीको छोरो पनि उम्दा थियो । यी नाटकले यो वर्ष रंगमञ्चमा राम्रै प्रभाव पारे । रंगमञ्चमा नयाँ–नयाँ नाटक नभएको समयमा नयाँ विषयवस्तुका नाटक मञ्चन भए, जसले रंगमञ्चमा राम्रा–राम्रा नाटककारलाई भित्र्यायो । रंगमञ्चका केही कलाकार चलचित्रमा पनि देखा परे । अहिले रंगमञ्चमा नयाँ–नयाँ कलाकारको आगमन हुन थालेको छ । कतिपय कलाकार रंगमञ्चलाई राम्रोसँग नबुझिकनै यो क्षेत्रमा होमिएको देख्दाचाहिँ रंगमञ्चमा विकृति देखा पर्छ कि भन्ने डर लाग्छ । 

 

प्रकाशित :वैशाख १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्