प्रधानमन्त्रीको शुभकामना साजिदलाई

- रोजिन शाक्य

वैशाख १०, २०७५

 

पाँच फिट एघार इन्च अग्लो शरीरका धनी २४ वर्षिय साजिद आलाम मिष्टर इन्टरनेसनल २०१८ मा नेपालका तर्फबाट सहभागि हुनका लागि म्यानमार प्रस्थान गरेका छन् । उनले म्यानमार जानुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसित भेट्ने अवसर प्राप्त गरेका थिए । प्रधानमन्त्री ओली र मन्त्री पण्डितले साजिदलाई प्रतियोगिताका लागि शुभकामना दिएका थिए । 

कुनै पनि सौन्दर्य प्रतियोगिताका सहभागिलाई सरकारको उच्च पदस्थ व्यक्तित्वबाट भेट प्राप्त भएको निकै थोरै अवसरहरु मध्ये साजिद यो अर्थमा भाग्यमानी बनेका छन् । विराटनगर निवासी साजिद पेशाले विज्ञापन व्यवसायी हुन् । फेसन कोरियोग्राफी र मोडलिङमा पनि सक्रिय रहेका साजिदले साउथ एशिएन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेज्मेन्टबाट बिबिए सम्मको अध्ययन पूरा गरेका छन् । 

उनले आउँदो अप्रील ३० तारिखमा म्यानमारस्थित नेसनल थिएटर अफ याङगोनमा संचालन हुने १२ औँ संस्करणको मिष्टर इन्टरनेसनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल लगायत विश्वका ३७ मुलुकका प्रतिस्पर्धीहरुको सहभागिता रहेको छ । साजिदको सो प्रतियोगिताका लागि सहभागिताका सम्बन्धमा सम्पूर्ण संयोजन र व्यवस्थापन प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था नेक्स्ट मिडियाले गरेको हो । 

प्रतियोगितामा साजिदले विजय तण्डुकारले तयार पारेको क्राँक्री पहिरनमा नेसनल कस्ट्युम अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने उनका लागि अन्य वार्डरोब इन्सेप्सन, डि बेस नेपाल तथा अब्दुल करिम खानले तयार पारेका छन् । यस अघि मिष्टर इन्टरनेसनलमा नेपालबाट तर्फबाट रोकेश तण्डुकारले सहभागिता जनाएका थिए । उनले प्रतियोगितामा नेसनल कस्ट्युम अवार्ड हात पारेका थिए ।  

 

प्रकाशित :वैशाख १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्