सिनेमा खेलिनँ, किन खेलें ?

- मनोज गजुरेल

वैशाख १०, २०७५

मेरा लागि सबैभन्दा अप्ठ्यारो प्रश्न हो, ‘तपाईंले चाहिँ किन अहिलेसम्म फिल्म नखेल्नु भएको ?’ खासमा यसको चितबुझ्दो जवाफ मसँग पनि छैन । ‘खेल्न मन नलागेर’ भनौं भने सिनेमा मोह सानैदेखिको हो, ‘मौका नपाएर’ भनौं भने साथीभाइले प्रस्ताव गरेकै हुन्, तैपनि सिनेमा मेरो प्राथमिकतामा परेको थिएन । 

हुन त ठूला–ठूला प्रश्नको उत्तर ठूलठूला मान्छेले पनि दिन सक्दैनन् । हामीमध्ये अधिकांश मानिस किन जन्मिएको हुँ र किन बाँचिरहेको छु भन्ने कुरासमेत थाहा नपाई मृत्यु वरण गर्छाैं । त्यस अर्थमा मैले आजसम्म फिल्म नखेल्नुको कारण भन्न नसक्नु सामान्य हो ।

यसको गहिरो कारण भन्न नसके पनि सामान्य कारण भने दिन सक्छु । जतिबेला म कलाकारितामा प्रवेश गरें, त्यतिबेला मेरो सम्पर्क प्रगतिवादी स्रष्टाहरूसँग थियो । त्यो विचारमा आस्था राख्नेहरूको मत हुन्थ्यो, सिनेमा भनेको बुर्जुवाहरूको क्षेत्र हो । त्यही कारणले त्यतातिर ध्यान दिइएन । जब सिनेमाको माध्यमबाट पनि जनताका कुरा सम्प्रेषण गर्न सकिन्छ भन्ने बुझियो, त्यतिबेलासम्म म स्टेजमा उक्लिइसकेको थिएँ । सिनेमाभन्दा स्टेजमै मज्जा आउन थालिसकेको थियो ।

नढाँटी भन्नुपर्दा ममा आँट पनि नआएको हो । १२–२० का मञ्चहरूमा स्वतन्त्र उफ्रिदै आएको म क्यामेराको फ्रेममा कैद हुन सकुँला र भन्ने लाग्थ्यो । आफ्नै स्क्रिप्टमा फरर दौडने मलाई सट र कटमा अल्झिन सक्दिनँ जस्तो लाग्थ्यो । अझै पनि त्यस्तै लाग्छ । 

बाग्मती सफाइ अभियानका क्रममा एक दिन चलचित्रकर्मी रञ्जु प्रधानसँग भेट भयो । सामाजिक, धार्मिक एवं व्यवहारिक रञ्जु दिदीसँग अग्ला, कम बोल्ने तथा गम्भीर प्रकृतिका निर्देशक रामशरण पाठक पनि थिए, जसले वल्र्डकप इन नेपाल, ठेगाना, प्रेमगीत–२ जस्ता चलचित्रको सफल निर्देशन गरेका छन् । कुरैकुरामा सफाइ अभियन्ताहरूले एउटा सन्देशमूलक चलचित्र बनाउनुपर्ने र मलाई अभिनय गराउने कुरा उठ्यो ।

मैले भनेँ, ‘एउटा सक्रिय अभियन्तालाई असफल बनाउनु छ भने उसलाई मन्त्री बनाइदिनुपर्छ, रङ्गमञ्चको एउटा सफल कलाकारलाई सिध्याउनु छ भने सिनेमा खेलाउनुपर्छ ।’ मेरो तात्पर्य म सिनेमाका लागि होइन, रङ्गमञ्चका लागि मात्र बनेको हुँ भन्ने बुझाउनु थियो । अरू अभियन्ताहरू सहमत भए पनि निर्देशक रामशरण पाठक मेरो कुरामा असहमत भए ।

पाठकले भने, ‘बरु सिनेमाको मान्छेले रङ्गमञ्चमा काम गर्न नसक्ला, तर रङ्गमञ्चको मान्छेलाई सिनेमामा काम गर्न/गराउन बहुत सजिलो हुन्छ ।’ दयाहाङ राई, प्रवीण खतिवडा, सुदाम सिके, विजय बराल, सरिता गिरी, दीपकराज गिरी, दीपाश्री निरौला आदि सफल चलचित्रकर्मीको उदाहरण दिँदै रामशरण जीले थपे, ‘तपाईं जन्मिएको कलाकारिताका लागि हो, माध्यम मञ्च, टिभी वा ठूलो पर्दा जे पनि हुन सक्छ ।’

‘ती साथीहरू बहुप्रतिभाशाली कलाकार हुन्, समूहमा काम गर्न सक्ने क्षमता छ, तर छाडा राँगोजस्तो स्वतन्त्र प्रस्तुति गर्ने एकल कलाकार हुँ । मलाई लाग्दैन कि म ठूलो पर्दामा टिक्न सक्छु ।’ मैले आफ्नो कमजोरी सुनाएँ । रामशरणजीले भने, ‘तपाईंको आत्मसमीक्षा आफ्नो ठाउँमा ठीक छ तर एउटा निर्देशकको दृष्टिकोणबाट हेर्दा जस्तोसुकै छाडा साँढेलाई पनि सिनेमामा सधाउन सक्छु ।’ 

यति भनेर उनले एउटा छोटो सिनेमा हेर्न दिए । ‘दैलो’ शीर्षकको उक्त चलचित्र जनयुद्ध र त्यसले ग्रामीण समाजमा पारेको सामाजिक, मानसिक, आर्थिक र मानवीय समस्यामा केन्द्रित थियो । कुनै संवादबिनाको दैलो कमै सिनेमा हेर्ने मेरो छोराले पनि पूरै हेर्‍यो । पहिलो पटक सिनेमा हेर्दा छोराले आँसुसमेत झार्‍यो । सबै नयाँ अनुहारको भूमिका रहेको दैलोमा उनीहरूको अभिनय उत्तिकै राम्रो छ । अर्को गज्जबको कुरा त के थियो भने ती सबै पात्रको पहिलो र अन्तिम चलचित्र पनि यही हो । भन्नुको अर्थ उनीहरू कोही पनि व्यवसायिक कलाकार थिएनन्, सबै सामान्य गाउँले थिए ।

प्रेमगीत–२ को विशेष शोमा रामशरणजीले फेरि भने, ‘अब तपाईंले सिनेमामा काम गर्नुपर्छ ।’ मैले भनेँ, ‘मेरो सामाजिक चरित्र र सिनेमाको चरित्र मेल खानुपर्छ ।’ रामशरणजीको भनाइ थियो,’ तपाईंलाई सिनेमामा अर्को पात्रका रूपमा होइन, समाजले तपाईंलाई जुन रूपमा चिनेको छ, तपाइंबाट जे अपेक्षा राख्छ, त्यही रूपमै प्रस्तुत गर्ने हो ।’ 

यसरी म ‘सयकडा १०’ शीर्षकको चलचित्रमा समाहित हुन पुगे । अग्रज कलाकार राजाराम पौडेल भिनाजुसँग धेरै कुरा सिक्न पाएको छु । अमृत ढुंगाना, उत्सव न्यौपाने, अमित पोख्रेल, करुणा श्रेष्ठजस्ता युवा कलाकारसँग सहकार्य गरेको छु । बर्मिज नेपाली कलाकार सोनिया राइसँगको सहकार्यले संसारभरका नेपाली भाषालाई जोड्ने मेरो अन्तर इच्छा सुरु भएको छ । 

रङ्गमञ्च मेरा लागि पहिलो प्राथमिकता थियो, छ र रहनेछ । कलामार्फत सामाजिक परिवर्तन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने सपना कहिल्यै मर्नेछैन । श्रमजीवी, सीमान्तकृत र विपन्न जनताको पक्षमा मेरो कलम, मेरो कला र मेरो कर्म चलिरहनेछ । मजदुरका क्याम्पहरूमा, किसानका खेतहरूमा, विद्यार्थीका स्कुलहरूमा, राष्ट्रसेवकका कार्यस्थलमा, देशभक्तहरूको र्‍यालीमा, अभियन्ताका अभियानहरूमा म सधैँ भेटिनेछु । हुन त म बिजी छु तर साथै इजी पनि छु ।

जीवन र जगत्मा बाँच्ने मेरो आफ्नै सिद्धान्त छ । पर्दामा मानिसको रूप र संसारमा देखिने स्वरूपमा विरोधाभास हुनु हुँदैन । कलाजस्तै हुनुपर्छ बेहोरा पनि । 

म यो सिद्धान्तलाई हुबहु लागू गर्न सक्छु/सक्दिनँ, त्यो आफ्ना ठाउँमा छ तर प्रयास गरे असम्भव छैन भन्नेचाहिँ सत्य हो । किनभने ओशोले यो विषयमा बडो सुन्दर विचार व्यक्त गर्नुभएको छ ।

भारतीय अभिनेता विनोद खन्नाले ओशोसँग सोधे, ‘वास्तविक जीवन र अभिनय जीवनमा कसरी तारतम्य मिलाउने गुरुदेव ? ओशोको देशना थियो, ‘विनोद, अभिनय यसरी गर कि त्यहाँ तिमी वास्तविक जीवन बाँचिरहेका छौ र जीवन यसरी बाँच कि त्यहाँ अभिनय गरिरहेका छौ ।’

प्रकाशित :वैशाख १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्