ठूला प्रतियोगिताको वर्ष

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७५

वर्ष २०७५ नेपाली खेलकुदको दृष्टिकोणले निकै महत्त्वपूर्ण रहनेछ । यो वर्ष ठूला प्रतियोगिताको ठूलै संयोग जुरेको छ । यो वर्षको सबैभन्दा ठूलो खेल महोत्सव रहनेछ, इन्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद । जकार्ता र पालेमबाङ दुई सहरले आयोजना गर्ने यो प्रतियोगिता अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म चल्नेछ । एसियाली खेलकुदमा ४० खेलका ४ सय ६२ स्पर्धा हुनेछन् । 

नेपालले यो प्रतियोगितामा कुनै न कुनै पदक जित्ने प्रयास गर्नेछ । अबको केही दिनमा एसियाली खेलकुदका लागि छनौट खेल प्रारम्भ हुनेछन् । आउने केही महिना एकपछि अर्को खेलका खेलाडीहरू त्यसमै व्यस्त रहनेछन् । नेपाली खेलकुदका लागि एसियाली खेलकुदले तेक्वान्दो, कराँते तथा मार्सल आट्र्सका अरू कतिपय खेलले नेपालको स्तर निर्धारण गर्नेछन् । 

वर्ष २०७५ राष्ट्रिय खेलकुदको पनि वर्ष हो । आठौं राष्ट्रिय खेलकुद यसै वर्ष नेपालगञ्जमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले मंसिर २१ देखि २८ सम्म राष्ट्रिय खेलकुदको आयोजना गर्ने निर्णय गरिसकेको छ । प्रतियोगिताका लागि गीत, नारा एवं मस्कट खोज्ने काम भैसकेको छ । सम्भवत: एसियाली खेलकुदपछि यसको वास्तविक तयारी सुरु हुनेछ । आयोजकका रूपमा नेपालगञ्जले पनि आफ्नो तयारी प्रारम्भ गरिसकेको छ । 

फुटबलमा दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप पनि वर्ष २०७५ मै आयोजना हुँदैछ । बंगलादेशको ढाकाले आयोजना गर्ने यो प्रतियोगिता सेप्टेम्बर ४ देखि १५ सम्म सञ्चालन हुनेछ । साफ च्याम्पियनसिपमा कुल ७ टिमले सहभागिता जनाउनेछन् । नेपालले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन । त्यसैले फेरि एकपटक प्रतियोगितामा नेपालको उद्देश्य हुनेछ, उपाधि चुम्ने । 

क्रिकेटको एसिया कप पनि यही वर्ष सम्पन्न हुनेछ । यसमा टेस्ट खेल्ने ५ नियमित देशको सहभागिता रहनेछ नै, एउटा अर्को देशले पनि त्यसमा सहभागिता जनाउने अवसर पाउनेछ । त्यसका लागि छनौट प्रतियोगिता हुनेछ, जुन सेप्टेम्बरमा सञ्चालन गरिनेछ र त्यसको आयोजना भारतले गर्नेछ । यसमा कुल ६ टिमको सहभागिता रहनेछ, नेपालसँगै हङकङ, मलेसिया, ओमान, सिंगापुर र यूएई । नेपालले वान डे टिमको मान्यता पाएयताको यो सर्वाधिक महत्त्वपूर्ण प्रतियोगिता हुनेछ । नेपालले यही वर्ष क्रिकेटकै अर्को ठूलो प्रतियोगिता आईसीसी वल्र्ड ट्वान्टी–२० क्वालिफायर पनि खेल्नेछ । 

यो प्रतियोगिता सन् २०२० मा आयोजना हुने ट्वान्टी–२० विश्वकपको छनौट हो । छनौटमा ६१ देशको सहभागिता रहनेछ । नेपालले भने एसियाली क्षेत्रमा आफ्नो चुनौती पेस गर्नेछ । यो प्रतियोगिताका लागि एसियालाई पूर्व र पश्चिम गरेर दुई समूहमा विभाजन गरिएको छ । नेपाल इस्टर्न रिजनमा छ र यसमा नेपालसँगै मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार तथा थाइल्यान्ड छन् । नेपालका लागि यो सजिलो समूह सावित हुन सक्छ । वेस्टर्न रिजनमा यूएई, कतार, कुवेत, बहराइन, माल्दिभ्स र साउदी अरेबिया छन् । यसअघि नेपालले बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेलिसकेको पृष्ठभूमिमा नेपालले अबको छनौटमा राम्रो गर्नुपर्नेछ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमले यो वर्षको जुलाईमा लन्डनको प्रसिद्ध क्रिकेट मैदान लर्ड्समा त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपालको प्रतिद्व्रन्द्वी मेरलिबन क्रिकेट क्लब तथा नेदरल्यान्ड्स हुनेछन् र क्रिकेटको स्वरूप हुनेछ– ट्वान्टी–२० । दुई वर्षअघि पनि नेपालले लडर््समा खेलेको थियो । 

प्रकाशित :वैशाख ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्