साहित्यमा वर्ष २०७४ लाई फर्केर हेर्दा

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७५

वर्ष २०७४ मा नेपाली भाषाका केही त्यस्ता आख्यान बजारमा आए जसले नेपाली साहित्यलाई उकालोतर्फ धकेले । यो वर्षलाई खासगरी सिमान्तकृत वर्गले आफ्नो स्थान खोजेको कुरा समेटिएको साहित्यको वर्षका रुपमा सम्झनुपर्ने हुन्छ । वर्षका दुई चर्चित कृति विवेक ओझाको ऐलानी र सरस्वति प्रतीक्षाको नथियाले पश्चिम नेपालको सामाजिक कोढ मानिदै आएको बादी समुदायको शरीर बेच्नुपर्ने बाध्यताको कथा सार्वजनिक गरेका थिए । यी दुइ पुस्तकका बारेमा उपन्यासकार अमर न्यौपाने भन्छन्– ऐलानी उपन्यास भोक र भोग अनि शरीर सम्भोगको अभिशप्त कथा हो । बादी समुदायकै कथाव्यथामा आधारित सरस्वती प्रतीक्षाको उपन्यास नथिया त्यसको दुई महिनापछि प्रकाशित भयो । ऐलानी र नथिया दुवै खोजपरक तरिकाले लेखिएका आख्यान हुन् । नेपालमा रहेका बढीभन्दा बढी भाषिका, संस्कृति, परम्परा एवं पीडाका कथा सार्वजसिनक हुनु साहित्य क्षेत्रकै लागि राम्रो संकेत हो । 

लेखक अमर न्यौपानेका अनुसार साहित्य क्षेत्रका लागी वर्ष २०७४ सुखद एवं सकारात्मक रह्यो । यो वर्ष २५ देखि ७५ वर्षसम्मका सर्जकका बिभिन्न कृति बजारमा आए । त्यसमा समालोचक कृष्ण गौतमको रानीवनदेखि विवेक ओझाको ऐलानी, निलम कार्कीको योगमाया, अर्चना थापाको कठपुतलाजस्ता पुस्तक प्रमुख थिए । लेखक न्यौपानेका अनुसार पुस्तकको संख्या बढ्दै गएपछि नै साहित्यले गुणात्मक विकासको बाटो खोज्न थाल्छ । सबै फूल फल हुँदैनन् । सबै फल बीउ हुँदैनन् अनि सबै बीउ बिरुवा हँुदैनन् भने सबै बिरुवा रूख हँुदैनन् । जुन बीउ रूखसम्म विकसित हुन्छ, त्यसको खास अर्थ हुन्छ । 

साहित्यमा पनि यस्तै हुन्छ । संसारकै नियम हो, सबै कृति कालजयी हुँदैनन् । समयले लिएको परीक्षामा उत्तीर्ण भएपछि मात्र कुनै पनि कृति कालजयी हुन्छ । हाम्रो सन्दर्भमा यो वर्ष सार्वजनिक भएका केही चर्चित कृतिको आयु कति होला त्यो समयले बताउने नै छ तर जे–जस्ता संकेत देखिए त्यसले के भन्छ भने यो वर्ष साहित्यमा पाइला टेक्ने नयाँ पुस्ताका सर्जकहरू गहन अध्ययनपछि नै साहित्यमा आएका छन् र उनीहरूको कृतिमा सम्बन्धित विषयवस्तुमा पर्याप्त अनुसन्धान, अध्ययन गरिएको छनक पाउन सकिन्छ । 

मदन पुरस्कार विजेता घनश्याम कँडेल उपन्यासका क्षेत्रमा यो वर्ष उल्लेख्य प्रगति भएको मान्छन् । उपन्यासको तुलनामा कथा, कविता आदि विधाका पुस्तक संख्यात्मक रूपमा कमै प्रकाशित भएको कँडेलको मूल्यांकन छ । लेखक अर्चना थापाका अनुसार यो वर्ष तुलनात्मक रूपमा बढी पुस्तक प्रकाशित भए । यो वर्ष पुस्तक र पठन संस्कृतिलाई सञ्चार माध्यमले पनि पर्याप्त ठाउँ दिए । त्यति मात्र होइन, प्राय: काठमाडौंमै हुने साहित्यिक कार्यक्रमले यो वर्ष काठमाडौंको घेरा नाघे अर्थात् राजधानीबाहिरका सहरमा त्यस्ता साहित्यिक कार्यक्रम बढी भए । 

वरिष्ठ साहित्यकार धु्रवचन्द्र गौतमका अनुसार यो वर्ष नेपाली साहित्यमा जे देखियो, सुनियो वा पढियो त्यसले नेपाली साहित्यको स्तर र मौलिकता क्रमश: उकालो लागिरहेको अनुभूति दियो । बजारमा धेरै विधाका धेरै थरीका पुस्तक देखा परे । अर्को कुरा के पनि देखियो भने कतिपय लेखकले पुस्तक लेख्ने घोषणा गर्नेबित्तिकै उनीहरूकहाँ प्रकाशकहरूको ताँती नै लाग्यो । साहित्यको बजार बनाउन प्रकाशकहरू पनि नयाँ–नयाँ योजनाका साथ अगाडि आए । यसले के संकेत गर्छ भने टेलिभिजन, स्मार्ट फोन, इ–बुक आदिको यो जमानामा पनि पुस्तक पढ्ने क्रेज घटेको छैन ।

लेखक कुमारी लामा यो वर्ष साहित्यिक कार्यक्रमहरू धेरै भएको बताउँछिन् । त्यस्तै कुमारीको दृष्टिमा कसैले नउठाएका कतिपय विषयवस्तुमा आधारित पुस्तक लेखिनु नेपाली साहित्यकै लागि अर्को सकारात्मक संकेत हो । 

२०७४ का पाँच साहित्यिक पुरस्कार:

अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार राशि : १ लाख ५० हजार रुपैयाँ

सम्मानित व्यक्ति : कृष्ण धरावासी

मदन पुरस्कार  राशि : २ लाख रुपैयाँ

सम्मानित व्यक्ति : घनश्याम कँडेल

पहिचान पुरस्कार राशि : २ लाख २ हजार रुपैयाँ

सम्मानित व्यक्ति : यज्ञश

जगदम्बा श्री पुरस्कार राशि : २ लाख रुपैयाँ

सम्मानित व्यक्ति : वात्सायन (दुर्गा बराल) 

पद्मश्री पुरस्कार

राशि : २ लाख रुपैयाँ

सम्मानित व्यक्ति : नवराज पराजुली 

४० भाषाका कविता

गत वर्ष अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अबसर छोपेर नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सञ्चालन गर्‍यो । नेपालमा १ सय २३ भाषा बोलिने सन्र्दभमा ती भाषाको संरक्षणका लागि एउटा सानो प्रयासका रुपमा उक्त कविता महोत्सव आयोजित गरिएको कार्यक्रम संयोजक तथा प्रज्ञा सदस्य श्रवणकुमार मुकारुङले बताए । उक्त कार्यक्रममा विभिन्न समुदायबाट छनौट भएका ४४ कवितामध्ये ४० प्रतियोगीको कविता वाचन गरिएको थियो । 

८ नेपाली साहित्य

दूतको घोषणा

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिले नेपाली साहित्यका आठ महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गर्‍यो, जसअनुसार नेपाली साहित्यदूत (सगरमाथा) तुलसी दिवस र नेपाली साहित्यदूत (कञ्चनजंघा) प्रा.डा. टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत (ल्होत्से) मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत), नेपाली साहित्यदूत (मकालु) टेकनारायण रिमाल र नेपाली साहित्यदूत (मनासलु) ठाकुरप्रसाद गुरागाईं (म्यानमार), नेपाली साहित्यदूत (चोयु) भक्त घिमिरे (भुटान र अमेरिका) र नेपाली साहित्यदूत (धौलागिरि) अन्नपूर्णलक्ष्मी राई (बेलायत) घोषित भए ।

 

प्रकाशित :वैशाख ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्