२०७४ का चर्चित पुस्तक

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७५

भुइयाँ

यो पुस्तकमा पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति एवं समुदायको संघर्षलाई मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । यज्ञसले लेखेको तथा फाइन प्रिन्टले बजारमा ल्याएको यो कृति गत वर्ष सर्वाधिक बिक्री भएको पुस्तकमध्ये एक हो । यो कृतिले २ लाख २ हजार रुपैयाँ राशिको पहिचान पुरस्कार पनि प्राप्त गरेको थियो ।

रजगज

पत्रकार हरिबहादुर थापाको रजगजमा तत्कालीन राजदरबारको दाउपेच, विभिन्न घटना अध्ययनका क्रममा हुने जाँचबुझ र कार्यान्वयन नहुने प्रतिवेदन, पञ्चायतकालीन काण्डहरू, भ्रष्टाचारमा मुछिएका राजनीतिक अनुहारहरू, कर्मचारीतन्त्रमा व्याप्त विकृतिजस्ता विषय समेटिएका छन् । प्रकाशक फाइन प्रिन्टका अनुसार यो धेरै बिक्री हुने पुस्तकमध्ये एक हो । 

धृतराष्ट्र

कवि घनश्याम कँडेलको छैटौं महाकाव्य हो— धृतराष्ट्र । यसमा दृष्टिविहीन धृतराष्ट्र ठूलो छोरा भए पनि दृष्टिविहीन भएकाले राजा हुन नपाएको प्रसंग उल्लेख छ । सुरुमा भाइ राजा भएको र भाइको मृत्युपछि मात्र धृतराष्ट्र राजा भएको कथा यो कृतिमा समेटिएको छ । 

नथिया

कवि सरस्वती प्रतीक्षाको पहिलो उपन्यास हो— नथिया । यसमा वादी महिलाहरूको जीवनलाई मार्मिक ढंगले वर्णन गरिएको छ । महिलाहरूसँग आफ्नो अस्तित्व खोज्न आग्रह गरिएको सरस्वतीको यो कृति बुक हिलले बजारमा ल्याएको हो । 

महको म

यो वर्ष चर्चामा आएको अर्को पुस्तक हो, हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म । यो पुस्तक पनि सर्वाधिक बिक्री हुने पुस्तकमध्ये एक हो । यसमा मदनकृष्णले आफ्नो बाल्यकालदेखि अहिलेसम्मका संघर्ष, उपलब्धि, विवाह, हास्यव्यंग्य यात्रा आदिका सम्बन्धमा उल्लेख गरेका छन् । 

दोचा

लेखनमा आफ्नो बेग्लै छाप छोड्न सफल कुमार नगरकोटीको दोचा यो वर्षको अर्को चर्चित कृति हो । यसमा नगरकोटीले आफ्नो जीवनका सम्बन्धहरूलाई समेटेका छन् । पुस्तकको विषय तथा कथा भन्ने शैली रोचक छ । 

पाठशाला

पोखरेली साहित्यकार तीर्थ गुरुङको उपन्यास पाठशाला यो वर्षको चर्चित पुस्तकमध्ये एक हो । दुवै मृगौला प्रत्यारोपण गरेका तीर्थ दुई दशकदेखि साहित्यमा क्रियाशील छन् । यो पुस्तकले किशोरवयदेखि प्रौढ अवस्थासम्मको मनोविज्ञानलाई बुझ्न सघाउँछ । 

यार

उपन्यासकार नयनराज पाण्डेको यारमा उनको बाल्यकालदेखि अहिलेसम्मका २५ वटा संस्मरण संग्रहित छन् । 

हजार माइलको बाटो

नेपाली आख्यानमा बेग्लै स्थान बनाएका लेखक नारायण ढकालको उपन्यास हजार माइलको बाटोमा ढकालले काठमाडौंको जनजीवन तथा माओवादी विद्रोहको अध्यारो पाटोलाई उजागर गरेका छन् । यो पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो । 

अविजित

चर्चित कवि तथा गीतकार विप्लव प्रतीकको उपन्यास अविजित यो वर्ष चर्चामा रहेको कृति हो । नेपालको वामपन्थी आन्दोलनले बिर्सिएको एउटा पात्रमाथि केन्द्रित भएर लेखिएको यो उपन्यास बुक हिलले प्रकाशन गरेको हो । 

 

प्रकाशित :वैशाख ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्