Teej banner

मंगोलियन हार्टको सिल्भर जुब्ली

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७५

 

उनी स्कुल, कलेज तथा गाउँटोलमा हुने हरेक जसो साँस्कृतिक कार्यक्रममा भाग लिन छुटाउँदैनथे । कतिपय कार्यक्रममा उनी पुरस्कार समेत जित्थे । कतिपय कार्यक्रममा दोस्रो वा तेस्रो स्थान हासिल गर्थे भने कतिपय कार्यक्रममा पुरस्कार होइन, स्यावासी मात्र पाउँथें ।

उनी अर्थात् काठमाडौं, वनस्थलीका राजु लामालाई धेरैले भन्थे, ‘स्वर राम्रो छ, गीत बजारमा ल्याउनुपर्‍यो ।’ यद्यपि राजु गीत रेकर्ड गराउनतर्फ लागेनन् बरु केही मिल्ने साथी–भाइ जुटाएर गाउँटोलमा कार्यक्रम दिन थालें । राजु लामाको टिममा वसन्त गुरुङ, धीरज गुरुङ, राजकुमार थापा, देव गुरुङ तथा चन्द्र गुरुङ थिए । उक्त टिमका चन्द्र गुरुङले एक दिन राजुसँग भने, ‘अब यसरी भएन, एउटा सांगीतिक ब्यान्ड खोलौं अनि समय–समयमा कार्यक्रम प्रस्तुत गरौं ।’ राजुले केही सोच्दै–नसोची एक सेकेन्डमैं ओके भन्दिए र स्थापना भयो मंगोलियन हार्ट सांगीतिक समूह ।

५ जना साथी जम्मा गरेर लामाले खोलेको उक्त सांगीतिक समूहका सदस्यहरूले समय क्रमसँगै समूह छोड्दै गए । अहिले स्थापना बेलाका वसन्त गुरुङवाहेक अरू सबै विदेशमा छन् । उनीहरूले छोड्दै जाँदा केही साथी भित्रिँदै पनि थिए टिममा । बबी लामाले ६ जनाको त्यो टिमलाई अप्रत्यक्ष रूपमा साथ दिए । चन्द्र गुरुङ जसले यो सांगीतिक ब्यान्ड खोलौं भनेर परिकल्पना गरेका थिए उनी आफैं समूह छोडेर बिदेसिए । त्यही बेला बवी इन भएका हुन् । अहिले ब्यान्डको प्रमुख गायकमा राजु लामा छन् भने गिटारमा बबी लामा र किरण नगरकोटी, ड्रम्समा सन्तोगा थापा तथा बेस गितारमा पवन कपाली छन् । यिनै ५ जनाको सांगीतिक ब्यान्ड मंगोलियन हार्टले यो वर्ष आफ्नो स्थापनाको २५ औं वर्ष मनाउँदैछ । राजु लामा भन्छन्– ‘हामी आफ्नो सांगितिक यात्रालाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्छौं ।’

टिकट २५ रुपैयाँ

हामी जो कसैलाई पनि थाहा छ सामान्यतया: सांगीतिक कन्सर्टको टिकट शुल्क सय रुपैयाँभन्दा बढी नै हुन्छ । अझ पाँचतारे होटलमा नाम चलेका ब्यान्डको प्रस्तुति हेर्न कम्तीमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म तिर्नुपर्छ । मंगोलियन हार्टले वैशाख ८ मा हयात रिजेन्सी होटलमा आयोजना गर्न लागेको ‘मंगोलियन हार्ट सांगीतिक उत्सव’ मा सहभागी हुन भने दर्शकले २५ रुपैयाँको टिकट काटे पुग्छ । ब्यान्डका प्रमुख गायक राजु लामा भन्छन्– ‘हामीहरूले स्थापनाको यो खुसी दर्शकमाझ साट्न खोजेका हौं । सुरुमा नि:शुल्क गरौं भनिए पनि पछि न्यूनतम शुल्क लिने र कार्यक्रमबाट उठेको रकम बौद्ध नजिकैको टुसाल युवा क्लबलाई सहयोग गर्ने निर्णयमा पुगियो ।’ उनले थपें, ‘यो व्यवसायिक कन्सर्ट होइन ।’ 

२५ वर्षको सफलता ?

गायक राजु लामा केही प्राप्तिका लागि यो सांगीतिक ब्यान्ड सुरु नगरिएको बताउँछन् । स्थापनाकालमा हामीले नेपालको कला क्षेत्रमा केही गरौं भन्ने सोच बनाएका थियौं र त्यसका लागि निरन्तर काम गर्‍यौं । कतिपय साथीहरू बाध्यताले बाहिरिनुभयो, सहयोगी साथीहरू थपिँदै गए, उनले भने, ‘यो २५ वर्षमा दर्शक–श्रोताहरूबाट करोडौं–अर्बौं रुपैयाँले किन्न नसकिने अथाह माया पायौं ।’ नेपालका अधिकांश जिल्लाका साथै अमेरिका, युके, जापान, बेलायत, हङकङ, क्यानाडा, बेल्जियम, इटली, रसिया, फ्रान्स, जर्मनी आदि ६० भन्दा बढी देश पुगिसकेको छु, गायक लामाले भनें, ‘दर्शकको मायाका अघि हामीले पाएका अवार्ड वा पुरस्कार केही पनि होइनन् ।’ हामी धेरै उकाली–ओराली गर्दै यहाँसम्म आइगुगेका हौं, राजुले कुराकानीलाई बिटमार्दै भने– ‘हामीलाई दर्शक–श्रोताहरूको यस्तै माया भए पुग्छ ।’

उत्कृष्ट गीत 

उँभोउँभो खासा म जाँदा, नतानु त तानुतानु लाग्ने, बादल पारिको देशबाट, तिमीलाई देखेर, मेरो नेपाल, सायद तिम्रो बाटोमा, भाइटीका, गाँजलु आँखा, पर्खाइमा बिझ्यो सिरानी, हल्ला चलेछ आदि ।

२५ औं वर्ष, २५ कन्सर्ट

मंगोलियन हार्टले आफ्नो रजत महोत्सवको उपलक्षमा देशका प्रमुख २५ स्थानमा सांगीतिक कन्सर्ट सञ्चालन गर्ने निर्णय गरेको छ । ब्यान्डका व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले भने, ‘२०७५ सालभित्रै देशका प्रमुख सहरहरूमा कन्सर्ट सम्पन्न गरिसक्नेछौं । सम्भवत दसैंअघि नै कन्सर्टका लागि हाम्रो यात्रा सुरु हुनेछ ।

चर्चित एल्बम

ब्यान्डले हालसम्म सोल्टिनी, मंगोलियन हार्ट, मंगोलियन हार्ट–२, मंगोलियन हार्ट–३, मंगोलियन हार्ट–४, मंगोलियन हार्ट–५ तथा मंगोलियन हार्ट–६ एल्बम बजारमा ल्याइसकेको छ । ब्यान्डले हयातको कन्सर्टमै आफ्नो नयाँ एल्बम समेत सार्वजनिक गर्नेछ ।

सिल्भर जुब्ली कन्सर्ट

आफ्नो सांगीतिक यात्राको २५ वर्ष पुगेको उपलक्ष्यमा मंगोलियन हार्टले दर्शक– श्रोताहरूसामु विशेष कार्यक्रम प्रस्तुत गर्न लागेको छ । 

आयोजक : एमएच इभेन्ट म्यानेजमेन्ट नेपाल 

समय : दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म 

स्थान : हयात रिजेन्सी होटल, बौद्ध

कलाकार : राजु लामा सहित ब्यान्डका सदस्यहरू

प्रकाशित :वैशाख ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्