माझीगाउँ एक्स्प्रेस

- अधिकारी रवीन्द्र

वैशाख ८, २०७५

 

अरूले झैँ  नयाँ वर्ष मनाउने उद्देश्यका साथ हामी पाँच भाइ कोसीदेखातिर लाग्ने निधो भयो । जय, विजय, माने, सुधीर र म ।

‘ए, ए, ए, ए, ढल्यो, ढल्यो ढल्यो’ डुङ्गा हो, त्यति सजिलै के ढल्थ्यो, माझीले मिलाई–मिलाई दाबिलो चलायो । उसले पहिल्यै भनेकै थियो, डुङ्गा कोल्टेर लड्न आँट्यो भने जता कोल्टिन्छ तपाईंहरूचाहिँ त्यसको उल्टोतिर कोल्टिनु । केटाहरूले उल्टो बुझेछन्, डुङ्गा कोल्टेतिरै ढल्कँदा रहेछन् । माझीलाई ती तीन केटालाई जोगाएर सुनकोसी तार्न हम्मे–हम्मे पर्याे । पालो हाम्रो । लामा दाइले टेक्निक सिकाए– जीउलाई सन्तुलित गरेर टुक्रुक्क बस्ने । 

दुइटा घुँडालाई डुङ्गाको दुई छेउमा टाँस्ने । हलचल नगरी सीधा अगाडि हेरेर बस्ने । हाम्रो डुङ्गा नकोल्टी सुनकोसी तर्‍यो । सुधीर नदी तरेदेखि नै तनावमा थियो– अब फर्कंदा कसरी डुङ्गा तर्ने ? साथीहरूको सङ्गतले डुबाउँछ, म त एक्लै तर्छु । एकपटकको २५ रुपैयाँ त हो, एक्लै चढे नि चार जना चढे नि । कोसीको किनारछेउबाट थोरै उक्लिएपछि बिछट्टै राम्रो सानो गाउँ— माझीगाउँ । गाउँवासीको मुख्य पेसा माछा मार्ने र दोलालघाटसम्म किनारै किनारको बाटोमा आएर बेच्ने । एक जना माझी गुनासो गर्दै थिए– ‘अब त माछा पनि सकिए । वैशाख–जेठ सिजन हो, तैपनि दिनभरिमा दुई सिलभन्दा मार्नै सकिन्न । माछा पनि पहिलेका जस्ता ठूला कहाँ पाउनु ?’

हुन पनि हो, सबै सहायक खोलामा विष हालेर निमुट्यान्नै हुने गरी माछा मारिने रै’छ । कोसी ठूलो भएकाले विषले नभ्याउने भएर त्यहाँचाहिँ करेन्ट लगाएर माछा समात्दा रै’छन् । लामाजीले स्मरण गरे– एकपटक नागदह तल बम पड्काएर माछा मार्दा पानीभरि कुइरीमण्डल माछा मरेथे रे । माछा समात्न गाउँलेहरू सबै खोलामा, समातेको माछा भेट्नेलाई आधी, बम पड्काउनेलाई आधी । एउटा माछा त २४ किलोको थियो रे, नोल लगाएर बोक्नुपर्ने ।

अघिल्लो दिन पलाञ्चोकमा आएर राति बास बसी देवीको दर्शन गरेर बिहानै हामी ओरालो लाग्यौं । धुर्मुस–सुन्तलीको नमुना पहरी बस्तीबाट पूर्व हेर्दा नीलो कोसी किनारामा केरा र मेवाका रूखहरूको झाङभित्र लुकेको मनै मोहित पार्ने माझीगाउँ । कच्ची बाटो मोटरसाइकलमा कोसी देखा पुगियो । त्यहाँ एउटा उदाहरणीय सरकारी स्कुल रहेछ । भवन पनि स्वीस सहयोगमा बनेको पढाइ र प्रणाली पनि बोर्डिङभन्दा चर्को । ज्यामिरेबाट ढुङ्गा छापेको बाटो हुँदै हामी ओरालो लागेर सेरा पुग्याँै । त्यहाँबाट आधा घण्टा पैदल हिँडेपछि बल्ल डुङ्गा चढ्ने ठाउँमा पुगिने रहेछ । एउटै जामुनको काठ खोपेर बनाइएको त्यो डुङ्गामा बढीमा ६ जनासम्म तर्न सकिने रहेछ । 

साथीहरू गर्मीले रापिएर आएका थिए । थ्याच्याक्क फलैंचामा बसे । बिहानदेखि फोन गरेर भनिएको कोसीका असला माछा झुरुम–झुरुम हुने गरी तारेर राखिएको रहेछ । अचारमा चोपेर तात्तातो माछा खान सुरु गरिहाले साथीहरूले । त्यत्तिकैमा एउटा भाले कुरकुर गर्दै नजिक आयो, मानबहादुर जोस्सियो– ‘लौ यसलाई कराककुरुक पारौँ त ।’ पाँच मिनेटमा त्यो तातो कसौंडीमै झानियो । आँगनका डिलाँ ठूलो मेवाको बोट रहेछ । जयरामले भन्यो– ‘ल त्यो ठूलोचाहिँ मेवा तासाँै त ।’ मेवा तासियो, मुला काटियो । ठेकीभरिको भैंसीको मोही ओठभरि नौनी लाग्ने गरी घुटुक–घुटुक पारियो ।

एउटा लामा पाइलट चुरोट खाँदै थिए । अर्का लामा चना चट्पट बनाउँदै थिए । काठको घरभित्र पलेंटी मारेर खाटमा बसेका छाँै हामी । दाउराको चुलोमा लोकल चामलको भात पनि पाक्यो । केराघारी छिचोलेर कोसीको सुसेली कानमा निरन्तर ठोक्किइरहेको छ । चरेसको थालमा साथीहरू झोल र भात सप्य्राक–सप्य्राक पार्न थाले । रामबहादुर दाइले भन्नुभयो– ‘म अब सरहरूलाई सातो लिने डुङ्गा हैन, पौडिएरै कोसी तर्ने ठाउँबाट तार्छु ।’ साथीहरू चौबर खुसी भए ।

एक घण्टा पौडी खेलेर कोसी तर्ने तर्खर गरियो । पाँच जना पौडी खेल्न जान्ने, एक जना नजान्ने । रामबहादुर दाइले एक जनालाई हात समाती–समाती कोसी तारिदिने भए । चार जना सुरिएर कोसी तर्न हाम फालियो । कोसी र त्रिशूली भनेपछि मलाई सानैदेखि डर लाग्थ्यो । पौडी त निकै पटक खेलिया थियो, किनारै–किनारमा, तर पारचाहिँ पहिलो पटक गर्न आँटेकाले साह्रै डर लाग्ने रहेछ । बीचतिर पुगेपछि त पानी यति गहिरो रहेछ कि पाइलै नसर्ने ।

कस्सो डुबिएन, साथीहरूको हौसलाले जसोतसो छड्के बग्दै पारि आइयो । एउटा साथी ट्युबमा चढ्ने भएर बीचमा पल्टियो, अत्ताल्लिएर कति बान्ता गर्‍यो–गर्‍यो । त्यसपछि हामी लामबगरको मेवा बगैंचा पुग्यौं, त्यहाँ साथीहरूको पिकनिकमा सरिक भएर एकछिन गाना–बजाना गर्दै भोज खाएर बिदा भयौं । फर्कंदा पाँचै जनाको न्यू इयर रेजुलुसन एउटै थियो–अब आइन्दा गहिराइ थाहा नभएको नदीमा बिना सुरक्षा कहिल्यै नपस्ने ।

                                                               ravinems@iom.edu.np

                                                                 facebook/AdhiQarie

प्रकाशित :वैशाख ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्