चर्चामा आएका एप्स

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७५

 

खल्ती

नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०७४ प्रारम्भ हुनुभन्दा केही अघि प्रयोगमा आएको ‘खल्ती डिजिटल वालेट’ यो वर्ष निकै चर्चामा आयो । उक्त एप्समा इन्टरनेट तथा बिजुलीको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, रोजेको चलचित्रको टिकट, फोन, मोवाइल, डिसटीभी आदिको रिचार्ज सुविधा उपलब्ध छ । 

टुटल

मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्यमा पुर्‍याउन सकिने सुविधा उपलब्ध गराउन तयार पारिएको टुटल एपले २०७४ मा निकै चर्चा पायो । उक्त एपमार्फत सेवा प्रदान गरेबापत चालकले आम्दानी र यात्रुले सहयोग पाउने भएकाले पनि टुटल सबैको प्रिय बन्दै गएको हो । अहिलेसम्म टुटल मा ५ हजार मोटरसाइकल चालक आबद्ध भएको बताइएको छ । यो सुविधा लिएबापत यात्रुले कम्तीमा तीन किलोमिटरसम्मको ५० रुपैयाँ र त्यसपछि प्रति किलोमिटरमा १२ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । 

 

खाली सिसी

खाली सिसी फोहोर व्यवस्थापन गर्ने ‘डिजिटल प्लेटफर्म’ हो । खाली सिसीको फेसबूक पेज वा डब्लुडब्लुडब्लु खालीसिसी डटकममार्फत फोहोरको वर्गीकरण गर्ने, फोहोर संकलनका लागि बोलाउने, फोहोर बेच्ने वा दान दिने जस्ता प्रक्रियाका सम्बन्धमा बुझ्न सकिन्छ । अहिले करिब १३ हजार व्यक्ति यो एपको सम्पर्कमा छन् । 

फुड मारियो

काठमाडौंमा खाना डेलिभरी गर्ने विभिन्न व्यवसायिक संस्था छन् । यद्यपि फुड मारियो अरू व्यवसायभन्दा फरक छ । यसमा होटलबाट नभै कुनै घरमा गृहिणी वा पाककलामा सिपालु पुरुषले पकाएको परिकार डेलिभरी गरिन्छ । यही सिर्जनशील सोचका कारण संयुक्त राष्ट्रसंघीय विकास नियोगले थाइल्यान्डमा आयोजना गरेको युथ को–ल्याबमा एसिया प्यासिफिक क्षेत्रका १ हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै यसका संस्थापक रोहित तिवारी टपटेनको सूचीमा परे । 

सगुन 

पुसको अन्त्यतिर सगुन मोबाइल एप सार्वजनिक भयो । पहिले देखि नै चर्चामा रहेको सगुन एप नयाँ दिल्लीबाट सार्वजनिक गरिएको थियो । सगुन अन्य सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्राम) जस्तै सूचना, ज्ञान बाँड्नका साथै पैसासमेत कमाउने सञ्जाल हो । सगुनमा फेसबुक, ट्विटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामसहितका म्यासेजिङ उपलब्ध छन् । 

वाउटाइम 

नेपाल टेलिकम तथा विन नेपालको सहकार्यमा सञ्चालनमा ल्याइएको ‘वाउटाइम’ मोबाइल एप्समार्फत लाइभ टिभी, मुभी एवं विभिन्न विधाका भिडियो हेर्न अनि सुन्न सकिन्छ । त्यसैगरी यसमा विभिन्न विधाका मुभी, म्युजिक भिडियो एवं टिभी शोहरू पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिन्छ ।

सारथि

ट्याक्सी सेवाका लागि नौलो प्रयोगका रूपमा प्रारम्भ भएको सारथि एपले पनि यो वर्ष चर्चा पायो । यसको प्रयोगबाट तोकिएको भाडामै ट्याक्सी चढ्न सकिन्छ र ठगिने डर हुँदैन । सारथिको सेवा लिन चाहनेहरूले ९८१०१००६०० नम्बरमा फोन गर्छन् र ट्याक्सी बुक गर्छन् । 

प्रकाशित :वैशाख ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्