Teej banner

पीडालाई प्रवेश निषेध छ

- मनोज गजुरेल

वैशाख ६, २०७५

 

विक्रम संवत् २०७४ गैसक्यो, २०७५ स्वागत गरियो । यो बीचको समय शून्य समय हो । शून्य समयलाई सदुपयोग गर्दै नयाँ वर्षको संकल्प प्रस्ताव गर्दैछु । जस्तो कि, खानपान, जीवनशैली, बानीबेहोराजस्ता कुराबाट ठूला संकल्पमा प्रवेश गर्न सकिन्छ । एकैचोटि ठूल्ठुला संकल्प लिँदा त्यसको भारले थिच्न सक्छ । संकल्पको शुरुवात मसिना कुराबाट गर्नुपर्छ ।

अपरिचितसँग पनि बोल्नेछु । सन्चो–बिसन्चो सोध्नेछु र भ्याएसम्म चिया खाएर वा ख्वाएर छुट्टिनेछु । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ मान्छेसँग भेट हुनु पनि एउटा आनन्दको क्षण हो । नयाँसँग भलाकुसारी गर्न चिनेकै हुनुपर्छ भन्ने छैन । नयाँ मान्छेसँग बालचाल गर्दा केही नयाँ सिकिन्छ । केही नयाँ जानिन्छ । अत: नौलो परिवेशसँग घुलमिल हुनेछु ।

मेरो पहिलो संकल्प हो— मुस्कान । चिनेका मानिसलाई त मुस्कान दिइन्छ नै, नचिने पनि मुसुक्क हाँस्ने बानीले सबैलाई सुन्दर देखिन्छ । विदेशीहरू बाटो हिंड्दा जोसुकैसँग मुस्कुराइरहेका हुन्छन् । हामी भने नचिनेको मानिस मुसुक्क हाँस्यो भने ‘चिन्नु न जान्नु, किन हाँस्या होला’ भन्दै ठुस्स पर्छौं । म यो स्वभावलाई सकेसम्म मेटाउने प्रयास गर्नेछु । मुखले बोल्न नभ्याए पनि मुस्कानले संवाद गर्नेछु ।

आफ्नो कमजोरीको दोष अरूमा थोपर्ने छैन । राम्रो कामको जस अरूलाई दिनेछु । नराम्रो कामको दोष आफैंले लिनेछु । अर्कामा कमजोरी खोज्ने बानी त्याग्नेछु । आफ्नो कमजोरी सच्याउने प्रयास गर्नेछु । मेरो भाग्यको दाता आफैंलाई मान्नेछु, दुर्भाग्यको विधाता पनि आफैंलाई मान्नेछु ।

परिस्थितिलाई कुर्नेछैन, मनस्थितिलाई बलियो बनाउनेछु । कमजोर मानसिकताले जहिले पनि परिस्थितिलाई दोष दिन्छ । बलियो मानसिकताले आफ्नो मनस्थिति बलियो बनाउँछ र परिस्थितिलाई आफ्नो अनुकूल तुल्याउँछ । मेरो आन्तरिक अधिराज्यमा बाह्य शक्तिको हस्तक्षेप हुन दिनेछैन ।

विचारलाई नियन्त्रित गर्नेछु । हावा–हुन्डरीजस्तो आउँने गलत विचारलाई विवेकले सम्पादन गर्नेछु । अरूका बारेमा गलत विचार मनमा ल्याउनेछैन । आफ्ना बारेमा सुन्दर विचार मात्र मनमा खेलाउनेछु । अरूका बारेमा गलत सोच्दा त्यसले मलाई नै हानी पुर्‍याउँछ भन्ने सत्यलाई मनन गर्नेछु । बोल्दा दसपल्ट सोचेर बोल्नेछु, सोच्दा सुनजस्तो तौलिएर मात्र सोच्नेछु । 

समयलाई चिन्ने प्रयास गर्नेछु । क्षणभंगुर जीवनमा सकेसम्म राम्रा काममात्र गर्नेछु । प्रत्येक श्वासमा नयाँपन महसुस गर्नेछु । समयलाई उत्पादक क्षेत्रमा लगाउनेछु । सिर्जना, मनोरञ्जन एवं पेसाको निश्चित समय निर्धारण गर्नेछु । समयको महत्व बुझ्नेछु र अरूलाई पनि बुझाउनेछु ।

नेतालाई गाली गर्न कम गर्नेछु । आफैं आफ्नो क्षेत्रको नेता हुनेछु । कसैको आलोचना संयक् तरिकाले गर्नेछु । म उक्त ठाउँमा भएको भए के गर्थें होला, त्यो बुझेर मात्र गाली र ताली दिनेछु । आफूमा गुण नै गुण, अरूमा दोष नै दोष देख्ने नजर परिवर्तित गर्नेछु ।

खानपानमा नियन्त्रण गर्नेछु । सिंत्तै पाए जति पनि खाने छैन । किन्नुपर्दा थोरै खाने पनि छैन । शरीरलाई जति आवश्यक हुन्छ त्यति मात्र खानेछु । ३ इन्चको जिब्रोका लागि १८ इन्चको पेटमा जे पायो त्यही हाल्नेछैन । शरीरलाई यसरी माया गर्नेछु कि ऊ मेरो बेस्ट फ्रेन्ड हो । किनभने जसले आफूलाई, आफ्नो शरीरलाई माया गर्छ उसले मात्र अरूलाई माया गर्न सक्छ । 

नयाँ वर्षले आफूमा उमंग ल्याओस् । आफूले लिने सबै संकल्प पूरा हुन् । नयाँ वर्ष २०७५ आगमनको पूर्वसन्ध्यामा तपाईंहरू सबैलाई हार्दिक मंगलमय शुभ कामना । सबैको मंगल होस्, सधैं मंगल होस् ।

 

प्रकाशित :वैशाख ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्