वर्षका चर्चित खेल व्यक्तित्व

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७५

पारस खड्का

नेपाली खेलकुद वर्ष २०७४ मा क्रिकेटमय रह्यो भने यसको धेरै श्रेय जान्छ, कप्तान पारस खड्कालाई । यो महत्त्वपूर्ण अवसरमा नेपाली क्रिकेटको नेतृत्व सम्हाल्ने काम गरे पारसले । नेपालले पाएको वान डे टिमको मान्यताका सम्बन्धमा चर्चा हुँदा उनलाई अब्बल दर्जाका कप्तानका रूपमा सम्झिनेछ । उनको उपलब्धि यतिमा मात्र सीमित छैन । पारस मध्यक्रमका सफल ब्याट्सम्यान पनि हुन् । जहाँ अरू नेपाली ब्याट्सम्यान असफल भए, विशेषत: डिभिजन–टुमा, उनको ब्याटबाट प्रशस्त रन निस्कियो । यस्तै स्थिति विश्वकप छनौटमा पनि रह्यो, उनले धेरै पटक जिम्मेवारीपूर्ण इनिङ्स खेले । 

सन्दीप लामिछाने

सपना ठूलै बुन्नुपर्ने रहेछ, यो तथ्यलाई सिद्ध गरेका छन्, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले । केही वर्षअघि मात्र चितवनमा क्रिकेट खेल्दा नै उनले सपना बुनेका थिए, इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने । त्यति बेला यो धेरैका लागि हाँसोको विषय हुन सक्थ्यो । यद्यपि सन्दीपले आफ्नो सपना छाडेनन र लगातार मेहनत गरिरहे । अन्तत: उनी दिल्ली डेयरडेभल्ससँग आबद्ध भए । डिभिजन–टुमा उनको प्रदर्शन अविश्वसनीय रह्यो । सन्दीपको धारिलो लेग स्पिन आक्रमणका अगाडि एसोसिएट देशका ब्याट्सम्यानहरू टिक्न सकेनन् । उनी उक्त स्तरभन्दा धेरै माथिका खेलाडी सावित भए । 

करण केसी

खेलकुदमा एउटा खास क्षणले पनि ऐतिहासिक महत्त्व राख्न सक्छ अनि त्यही क्षणले टिमलाई ठूलो सफलतातर्फ पनि अग्रसर गराउँछ । यस्तै क्षणका नायक हुन्, करण केसी । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुको क्यानाडाविरुद्धको खेलमा नेपाल एक समय यस्तो स्थितिमा थियो, जहाँ हार निश्चित थियो । यसको अर्थ नेपालले विश्वकप छनौट पनि खेल्न पाउने थिएन । टिम आठ विकेट गुमाएर १ सय ४४ रनको स्थितिमा थियो र त्यही बेला करणले ४८ बलमा सनसनीपूर्ण ५१ रन बनाउँदै सन्दीप लामिछानेसँग ५१ रनको निर्णायक साझेदारी गरे । त्यसैले नेपालले क्रिकेटमा वर्ष २०७४ मा प्राप्त गरेको ठूलो सफलतापछाडिका नायक हुन्— करण केसी । 

जगत टमाटा

जति बेला श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुपुदु दयानायेकेले नेपाल छाडे, प्रश्न उठेको थियो, अब नेपाली टिमका प्रशिक्षक को हुनेछन् ? एक प्रकारले संकटको स्थिति पनि थियो । त्यही स्थितिमा जगत् टमाटाले आफूलाई सिद्ध गरे, नेपाली टिमको जिम्मेवारी सम्हालेर । दसानायके आफैं भन्थे, नेपाली क्रिकेट प्रशिक्षकमध्ये अब्बल छन्— जगत टमाटा । नेपालले खेलेका दुई ठूला प्रतियोगिता विश्वकप छनौट तथा डिभिजन–टु दुवै अवसरमा प्रशिक्षक टमाटा नै थिए । यस्तोमा नेपालले वान डे मान्यता पाउनुको ठूलो उपलब्धिका पछाडि प्रशिक्षक टमाटाको पनि ठूलै योगदान छ । 

विनोद दास

नेपालले एसियाकप यू–१९ खेलेको टिमका प्रशिक्षक हुन्— विनोद दास । नेपाली क्रिकेटका पहिलो ठूला स्टार विनोदपछि उमेर समूह क्रिकेटमा बढी सक्रिय भए । अहिले उनी विशेषत: नयाँ प्रतिभाको खोजीमा व्यस्त छन् । मलेसियामा भएको यू–१९ मा प्राप्त ऐतिहासिक सफलतालाई पर्दा पछाडिबाट साकार पार्ने नायक पनि हुन् उनी । नेपालले भारतलाई हराउँदा उनका समकक्षी थिए, राहुल द्रविड । यसले पनि देखाउँछ प्रतियोगिता आपैंmमा कति ठूलो थियो र त्यसमा नेपालले गरेको प्रदर्शनको के अर्थ छ ? विनोदले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट बुझ्ने अवसर पाएका छन् र यू–१९ को प्रदर्शन त्यस्तै अर्को अवसर रह्यो । 

किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक हुन्— किरण चेम्जोङ । राष्ट्रिय टिमका लागि ५० भन्दा बढी क्याप यसै वर्ष हात पारेका किरणका लागि पनि ०७४ धेरै अर्थमा सुखद रह्यो । घरेलु फुटबलमा भन्दा विदेशमा बढी व्यस्त किरण अहिले भारतको मिनेरभा पञ्जाबसँग आबद्ध छन् र उनको यही टिमले यसपटक आई–लिग जितेको थियो । यस क्रममा किरण भारतीय फुटबलको माथिल्लो डिभिजनको लिग जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । अब किरणसामु इन्डियन सकर लिग (आईएसएल) सँग आबद्ध हुने अवसर पनि खुलेको छ, जुन नेपाली फुटबलका लागि ऐतिहासिक उपलब्धि हुनेछ । 

रोहित चन्द

विदेशमा फुटबल खेलेर लगातार चर्चा आइरहने अर्का खेलाडी हुन्— रोहित चन्द । लामो समयदेखि इन्डोनेसियामा फुटबल खेलिरहेका रोहित त्यहाँ निकै लोकप्रिय छन् । इन्डोनेसियाली फुटबलमा ठूलो जमातले मन पराउन खेलाडीमा पर्छन्, उनी । अहिले पर्सिजा जाकार्तासँग आबद्ध रोहित लिगको उत्कृष्ट ११ खेलाडीमा लगातार परिरहेका छन् । उनकै उत्कृष्ट खेलको मदतले पर्सिजा जाकार्ताले प्रेसिडेन्टकप जितेको थियो । यसैक्रममा उनी एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता एएफसीकप खेल्ने पहिलो नेपाली खेलाडी पनि भएका छन् । 

नवीन न्यौपाने

खेलाडी छँदा नवीन न्यौपानेले घरेलु फुटबलमा राम्रै सफलता पाए, मनाङ–मस्र्याङ्दीबाट लागि । अहिले खेल जीवनबाट टाढिए पनि उनी प्रशिक्षकका रूपमा व्यस्त छन् । नवीनकै नेतृत्वमा आर्मीले अहिले घरेलु फुटबल खेलिरहेको छ र त्यसका उनी सर्वाधिक सफल प्रशिक्षक हुन् । नवीनको नेतृत्वमा आर्मीले सातवटा उपाधि जितेको छ । प्रशिक्षकको ‘ए’ लाइसेन्स प्राप्त नवीनले आर्मीको टिमलाई निकै बलियो बनाएका छन् । जापानमा समेत प्रशिक्षकको विशेष प्रशिक्षण लिएका नवीनलाई नेपाली फुटबल प्रशिक्षकमध्ये सबैभन्दा बढी आशा गर्न सकिने प्रशिक्षक मानिन्छ । 

नविता श्रेष्ठ 

राखेप च्याम्पिनसिपका क्रममा नविता श्रेष्ठ लगातार सातौं पटक नेपाल टेबल टेनिस च्याम्पियन भइन् । वर्ष २०७४ नविताका लागि ठूलो उपलब्धिका रूपमा रह्यो । लगातार सातौं पटक महिला एकल च्याम्पिनय बन्ने क्रममा उनी नेपाली टेबल टेनिस इतिहासकै सर्वाधिक सफल खेलाडी पनि भइन् । नेपाली टेबलटेनिसमा उनलाई चुनौती दिने खेलाडी नै अगाडि आउन सकेका छैनन् र उनले लगातार आफ्नो प्रभुत्व कायम गरिरहेकी छिन् । अब के नविताले आठौं पटक उपाधि जित्ने प्रयास गर्नेछिन् ? नविता अगाडि तेर्सिएको सबैभन्दा ठूलो चुनौती नै यही हो । 

सन्जु चौधरी

भारोत्तोलन खेलाडी सन्जु चौधरीका लागि यो वर्ष सुखद रह्यो । चौधरीले दक्षिण कोरियाको योङ्गुमा सम्पन्न एसिया कप तथा अन्तर क्लबमा रजत पदक हात पारिन् । उनले यो उपलब्धि ५३ केजी तौल समूहमा प्राप्त गरेकी हुन् । नेपालले भारोत्तोलनमा एसियाली स्तरको पदक जितेको यो पहिलो अवसर हो । रजत पदक जित्ने क्रममा उनले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन् ।

प्रकाशित :वैशाख ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्