नयाँ वर्षकी सुन्दरी

- किशोर नेपाल

वैशाख १, २०७५

 

अन्जना मल्ल । काठमाडौंमा बसेकाले होला, उनको स्वरमा अलिकति छ्वेलाको स्वाद मिसिएजस्तो लाग्छ । अन्जनाको अनुहार पनि अचम्मसँग संयोजित छ । ब्राह्मणको जस्तो नाक, ठकुरीको जस्तो पौंठा, गुनकेशरी फूलको जस्तो सौन्दर्य, नदी बगेजस्तो सिल्की कपाल । भएन त ‘ओ एम जी’ ? बिहान क्लिनिकपछाडिको कफी पसलमा एउटा केटो देखिएको थियो । टल, स्मार्ट, ट्यांग्रे । यो पछिल्लो शब्द ट्यांग्रे मुमा हजुरले राखिदिइबक्सिएको रहेछ । बिहान कफीको कपबाट ट्यांग्रे उफ्रिइहाल्यो, अनि नाम नि त्यो केटाको ? 

अन्जनालाई जान्न मन लाग्यो, तर सोध्न लाज पनि लागिहाल्यो । अन्जना त्यस्तै छे । मानिसको गुण पनि कति विचित्रको हुने ! राम्रो लागेको चिजलाई राम्रो भन्न लाज लाग्ने अनि अलि यसो केटा साथीको चर्चा चल्यो भने मुख लुकाइहाल्ने । 

तै कसो–कसो नाम त सोधी अन्जनाले त्यो केटाको । 

‘रिखी,’ केटाले जवाफ दिँदै भन्यो, ‘मलाई त तिम्रो नाम थाहा छ । अन्जु, अन्जरी, अनार जे भने पनि हुँदैन त ?’ त्यसपछि दोहोर्‍याएर भन्यो, ‘रिमेम्बर, माई नेम इज रिखी । नट रिसी नि है ।’

मैले सोधें अन्जनालाई, ‘नेपालमा फेसन पेसा बन्न सक्छ कि सक्दैन ?’ अन्जनाले जवाफ दिई, ‘किन नसक्नु ? यतिविघ्न फेसन डिजाइनर, यतिविघ्न पार्लर भएको सहरमा फेसन किन पेसा नबन्नु ? अब त्यस्तो सानो चरिकोट बजार त कस्तो भैसक्यो ? नपत्याए सोध्नुहोस न भोजराज न्यौपाने अंकलसँग । अझ मेरी काकी त त्यहाँको फेसन मार्केटमा पाँच–सात करोड नै लगाउन चाहनुहुन्थ्यो, तर यहाँका कानुन र कर्मचारी दुवै ठीक छैनन् । काकी आफूले गरेको लगानी कसरी सुरक्षित तुल्याउने ? भनेर सोध्दै हुनुहुन्थ्यो । बैंकको म्यानेजरले जवाफ दियो— त्यही त कठिन छ । लगानी रोकिने एक मात्र कारण त्यही हो ।

अन्जनाको उमेरकै कारण होला– उसलाई रेस्टुराँदेखि फार्मेसीसम्म सबै रेन्ज अटाउने बजार मन पर्छ । चरीकोटदेखि कालिन्चोकसम्म नियमित मोटर हिँड्ने पक्की रोड बन्यो भने कालिन्चोकमा थोरैमा पनि ५० वटा होटल निर्माण हुन्छन् । त्योभन्दा ठूलो मार्केट के चाहियो ? अन्जनाको मोह ब्युटिपार्लरभन्दा पनि रेस्टुराँ कलामा छ । भन्छिन् : मेरो त मोट्टो नै छ, ‘फुड गुड–मुड गुड ।’ अन्जनाले ब्युटी सप खोलिन् भने पक्कै पनि खोल्छे रेस्टुराँ । यो त तन्नेरी केटीको कुरा हो । यहाँ त ७० नाघेका, देश ठग्न पल्किएका, काजी साहेबहरूको कमी छैन । काजी साहेबहरूको शासनले अरू केही नसिकाए पनि ‘आइस्योस्–गइस्योस्’ सिकाएका छन । जो दबेका हुन्छन्, तिनीहरू सधैं दब्ने त होइनन् नि ।

यता फेसन, एक्टिङ, ब्युटी, जिम–जाम सबै जानेका पोख्त कलाकारहरू फस्टाउँदैछन् । ‘पहिलो नम्बरमा प्रियंका छिन् क्यारे † मलाई उनको स्टाइल मन पर्छ । एक्टिङ त त्यस्तै हो । केकी अधिकारी, लौ त्यसपछि त नामै पनि सकियो । देशको सिनेमा संस्कृतिमा प्लेटफर्म थोरै छ । आकांक्षीहरू धेरै छन् । अनि केको विकास हुन्छ ? मेरो एक जना साथीको मामाले फिल्म बनाउनुभयो । साथीले मामालाई टिप्पा दिई । मामाले मौका दिए । उसले पनि राम्रै गरी । अहिले त चारवटा फिल्मको हिरोइन भैसकी ।’

अन्जनालाई लागेको एउटा अर्को कुरा के भने भारतबाट कति मान्छे अवसर खोज्न हलिउड पुगेका छन् । खोइ हाम्रा त त्यता अवसर खोज्न पनि जाँदैनन् । भारतीय अभिनेतृ प्रियंका चोपडा भारतमा त सुपर स्टार छँदै छिन्, अब हलिउड पनि भ्याइदिइन् । त्यस्तो पो कुरा हो त दाइ । अन्जना यस्ता अरू धेरै कुरा गर्दै थिई । मैले प्याट्ट सोधें, लभ नि ?

‘अझै टाइम भएको छैन दाइ, अन्जना खुसी भई ।

प्रकाशित :वैशाख १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्