वार्षिक राशिफल

  • देशको भविष्यफल

- युवा ज्योतिष हरिहर अधिकारी

चैत्र ३०, २०७४

 

यो वर्ष ग्रहहरूमा राजाको भूमिका सूर्य ग्रहले तथा मन्त्रीको भूमिका शनि ग्रहले निर्वाह गरेका छन् । यी दुई ग्रहबीच शत्रुताको भावना हुने भएकाले यसलाई त्यति फलदायक मानिँदैन । 

राजनीतिक क्षेत्रमा दलहरूबीचको किचलो बढ्ने देखिन्छ । दलहरूभित्रकै अस्थिरता तथा खिचातानीले देशको सिर्जनात्मक विकासमा अवरोध खडा गर्नसक्छ । आर्थिक विकासको सम्भावना भने राम्रो छ । वैदेशिक सहायतामा उल्लेख्य वृद्धि हुनेछ, तर त्यसको कार्यान्वयनमा प्रभावकारिताको अभाव देखा पर्नेछ । सरकारबाट नयाँ नियम–कानुनहरू लागू गर्ने प्रयास हुनेछ, तर ती नियम–कानुनको विरोध समेत हुनेछ । विद्यमान समस्याहरू पनि सल्टिन गाह्रो छ । छिमेकीहरूसँगको सम्बन्ध सामान्य रहनेछ । सूर्य राजा भएका कारणले राजसंस्थाको स्पेशका लागि पहल हुने सम्भावना देखिन्छ, तर मन्त्री शनिका कारणले गर्दा वैदेशिक हस्तक्षेपको सम्भावना पनि उत्तिकै छ । 

०७५ सालको असारदेखि देशको आर्थिक स्थिति राम्रो हुँदै जानेछ भने पुसपछि आर्थिक स्थितीमा पुन: समस्या देखिनेछ । बैंकिङ क्षेत्रमा बाधाको योग छ, कृषिक्षेत्रले सफलता दिलाउनेछ । ऊर्जा सामान्य रहनेछ । वैदेशिक रोजगारी पनि अनुकूल नै छ । पर्यटकहरूको आगमन राम्रै भए पनि त्यसबाट राज्यको आय वृद्धि हुने देखिँदैन । 

समाजमा हत्या, बलात्कार तथ लुटपाटका घटनाहरू नियन्त्रण नै नभए पनि रोकथाममा उल्लेख्य प्रगति हुनेछ । धार्मिक, सामाजिक एवं परोपकारको क्षेत्रमा नेपालले राम्रै उपलब्धि हासिल गर्नेछ । समाजका केही व्यक्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता एवं सम्मान प्राप्त गर्ने सम्भावना छ । नयाँ रोगहरू देखा पर्न सक्छन् । यद्यपि स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुनेछ । ०७५ भदौपछि नेपालले खेलकुदमा ठूलो सफलता प्राप्त गर्नेछ । असोजपछि मनोरञ्जन उद्योगमा समेत राम्रो विकास देखिनेछ । विज्ञान प्रविधिमा नयाँ कामहरू हुनेछन् तर त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिनेछैन । 

समाजमा विपत्ति, दुर्घटना, प्राकृतिक प्रकोप एवं अन्य अप्रिय घटनाको सम्भावना पनि प्रबल छ । विशेषगरी पुस र असार महिना जोखिापूर्ण छन् । देशका उच्चपदस्थ महिलाहरूका लागि समय अनुकूल देखिँदैन । 

मेष 

मेष राशि हुनेहरूका लागि ०७५ साल सामान्य छ । मेष राशिमा मंगलको प्रभावका कारण स्वास्थ्यप्रति सचेत हुनुपर्नेछ । खासगरी मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या सिर्जना हुनसक्छ । विदेश भ्रमण, वैदेशिक अध्ययन एवं करिअर निर्माणमा राम्रो अवसर छ । व्यापारमा भने अस्थिरता देखा पर्न सक्छ । स्वास्थ्य क्षेत्रमा लागेकाहरूका लागि यो वर्ष निकै फलदायी रहनेछ । मनोरञ्जन उद्योगमा लागेका मेष राशिका व्यक्तिहरूका लागि वर्ष सामान्य नै रहनेछ । असार महिना बढी लायदायक हुनेछ भने माघ महिना केही खराब देखिन्छ । वैवाहिक सम्बन्ध उतारचढावपूर्ण रहनेछ । प्रेमसम्बन्धमा विछोडको योग छ । मंगलबारको दिन शुद्ध रहनु राम्रो हुन्छ । सुन्तला रंगका वस्त्र तथा सिम्रिकको प्रयोगले पनि मंगलको प्रभावलाई कम गर्न सक्छ, जुन सम्बन्ध सुधारका लागि सहयोगी हुनेछ । 

राम्रो रंग : सुन्तला, राम्रो बार : बिहीबार, राम्रो दिशा : उत्तर, शुभ महिना : असार, कात्तिक तथा वैशाख, शुभ अंक : १, ३ र ७ ।

वृष 

वृष राशि हुनेहरूलाई राहुले प्रभावित तुल्याउनेछ, जसका कारण यो वर्ष चोटपटक लाग्न सक्छ । यात्रा गर्दा सावधानी अपनाउनुहोला । राहुले यो राशिका स्वामीलाई साहू बनाउने भएकाले यसको सकारात्मक प्रभाव पनि उत्तिकै छ, अर्थात् व्यापार–व्यवसाय वृद्धिको प्रबल सम्भावना छ । विशेष गरी, आयात/निर्यात तथा निर्माण व्यवसायीहरूका लागि यो वर्ष निकै राम्रो सावित हुनसक्छ । विद्यार्थीहरूका लागि यो वर्ष केही गाह्रो छ । मन अस्थिर हुने भएकाले त्यसको प्रभाव कम गर्न शनिबार शुद्ध रहनु उपयुक्त हुन्छ । कालो रंग प्रयोग नगर्नुहोला । वैवाहिक तथा प्रेम सम्बन्ध सामान्य देखिन्छ । आफन्तहरूसँग टाढा हुनुपर्ने योग छ । राहुका कारण आँखा, नाक, कान, घाँटी आदिमा समस्या सिर्जना हुनसक्छ । ग्रह शान्तिका लागि सूर्यलाई हरेक दिन जल चढाउनुहोला । 

शुभ रंग : खैरो, शुभ बार : सोमबार, शुभ दिशा : पूर्व, शुभ महिना : साउन तथा कात्तिक, शुभ अंक : ४ र ७ ।

मिथुन

सरकारी सेवामा भएका मिथुन राशिका व्यक्तिहरूका लागि वर्ष–२०७५ भाग्यशाली सावित हुनेछ । यो वर्ष सूर्यको प्रभाव राम्रो भएका कारणले मान–सम्मान एवं पदोन्नतिको योग छ । मनोरञ्जनको क्षेत्र पनि फाइदाजनक छ । एक क्षेत्रका लागि सञ्चित गरेको धनसम्पत्ति अर्कै क्षेत्रमा खर्च गर्नुपर्ला । प्रेमसम्बन्धमा रहेका बाधा, आशंका तथा अवरोधहरू हट्नेछन् भने सम्बन्ध सुमधुर हुनेछ । वैवाहिक सम्बन्ध पनि सामान्य नै रहनेछ । पेटसम्बन्धी रोगको सम्भावना भएकाले खानपिनमा ध्यान पुर्‍याउनु होला । अध्ययनका लागि वैदेशिक यात्रा हुनसक्छ । विशेष गरी स्वास्थ्य क्षेत्रमा रहेकाहरूलाई सफलता प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध राम्रो छ तर आमाले भनेको कुरा मानेर अघि बढ्नु अझ फलदायक हुन्छ । 

शुभ रंग : हरियो, शुभ बार : बुधबार, शुभ दिशा : उत्तर, शुभ महिना : भदौ तथा जेठ, शुभ अंक : २ र ५ ।

कर्कट 

स्वास्थ्य राम्रो रहनेछ । शिक्षामा वकालत तथा आमसञ्चारसँग सम्बन्धित विषय अध्ययन गर्नेहरूका लागि वर्ष फलदायक छ । पारिवारिक उल्झनहरू सिर्जना हुन सक्छन् । विदेशमा भन्दा स्वदेशमै उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ व्यापार व्यवसाय सुरु गर्न असोजपछि राम्रो साइत छ । जग्गा जमिनको कारोबार लाभदायक हुनेछ । प्रेम सम्बन्धमा नभएकाहरूको नयाँ सम्बन्ध गाँसिनेछ भने प्रेम एवं वैवाहिक सम्बन्धमा रहनेहरूको दैनिकी सामान्य रहला । बायाँ हात र बायाँ खुट्टामा सामान्य चोटपटक लाग्ने सम्भावना छ । साहित्यिक क्षेत्रका लागि यो वर्ष उपलब्धिमूलक देखिन्छ । साथीभाइहरूसँगको सम्बन्ध सामान्य रहनेछ भने साझेदारीमा व्यवसाय नगर्नुमै आफ्नो भलाइ छ ।

 

शुभ रंग : रातो, शुभ बार : आइतबार, शुभ दिशा : पूर्व, शुभ महिना : असोज तथा कात्तिक, शुभ अंक : ३ र ७ ।

सिंह 

सिंह राशिका लागि बृहस्पतिको प्रभाव सकारात्मक रहनेछ । बृहस्पति शैक्षिक क्षेत्रसँग सम्बन्धित भएकाले यो क्षेत्रमा लागेका व्यक्तिहरूका लागि वर्ष निकै लायदायक हुनसक्छ । विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा वैदेशिक अध्ययन आदिको योग छ । वैवाहिक एवं प्रेम सम्बन्ध पनि निकै राम्रो छ । यो वर्ष जन्म लिने सन्तान शुभ लक्षण लिएर जन्मनेछन् । सामाजिक क्षेत्रमा सक्रियता बढ्नुका साथै मान–सम्मान पनि पाइनेछ । सामान्य खालका कानुनी समस्या आइपर्न सक्छ, जसको समाधानका लागि शुक्र ग्रहको उपासना गर्नु उपयुक्त हुन्छ । शुक्रबार शुद्ध रहने, सेतो रंगका वस्त्र प्रयोग गर्ने तथा सातमुखे रुद्राक्ष धारण गर्नाले समस्याबाट जोगिन सकिनेछ । पारिवारिक सम्बन्धका दृष्टिकोणले पनि यो वर्ष सामान्य नै रहनेछ भने साथीभाइहरूसँगको सम्बन्ध त्यति फलदायक देखिँदैन । 

शुभ रंग : पहेंलो, शुभ बार : बिहीबार, शुभ दिशा : दक्षिण–पूर्व, शुभ महिना : कात्तिक तथा वैशाख, शुभ अंक : १ र ७ ।

कन्या 

यो वर्ष स्वास्थ्यमा केही समस्या देखापर्न सक्छ । पेटसँग सम्बन्धित शल्यक्रिया हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । मंगलबार शुद्ध रहनु लाभदायक हुन्छ । व्यापार–व्यवसाय गर्नेहरूले मंसिर अघि नयाँ लगानीमा हात हाल्नु उचित हुँदैन । विद्यार्थीहरू मंसिरपछि मात्र पढाइमा जागरुक हुनेछन् । शिक्षाका लागि वैदेशिक यात्रा हुने योग छ । वैवाहिक सम्बन्ध सामान्य रूपमा अघि बढ्नेछ । प्रेम सम्बन्धमा समस्या देखिन्छ । प्रेमी–प्रेमिकाले आ—आफ्नो घरमा सुत्दा सिरानी दक्षिण दिशामा र उत्तर पूर्वको कोठामा सुत्ने व्यवस्था मिलाउन सके शुभ फल प्राप्त गर्नेछन् । परिवारमा रोगव्याधि बढ्ने सम्भावना देखिन्छ । सरकारी तथा निजी दुवै क्षेत्रको जागिर सामान्य नै रहला । 

शुभ रंग : नीलो, शुभ बार : आइतबार, शुभ दिशा : पूर्व, शुभ महिना : मंसिर तथा फागुन, शुभ अंक : ८ र ११ ।

तुला

मंगल तथा शनिको प्रभावले वैवाहिक सम्बन्धमा विवाद, मनमुटाव तथा सम्बन्ध–विच्छेद आदिजस्ता समस्या सिर्जना हुने देखिन्छ । सम्बन्ध सुमधुर तुल्याउन मंगलबार र शनिबार शुद्ध रहनु होला । अन्तरजातीय प्रेम सम्बन्धमा रहेकाहरूका लागि वर्ष–२०७५ फलदायी छ । सरकारी जागिर सामान्य छ भने निजी क्षेत्रमा पदोन्नतिको योग छ । सुन–चाँदी तथा गरगहनासम्बन्धी व्यापारले राम्रो लाभ दिनेछ । चोटपटकको योग छ, यात्रा गर्दा सावधानी अपनाउनु होला । इन्जिनियरिङ, कम्प्युटर तथा सिए अध्ययनरतहरूका लागि वर्ष राम्रो छ । पारिवारिक जिम्मेवारीमा वृद्धि हुने देखिन्छ । टाउको दुख्ने समस्या उत्पन्न हुनसक्छ । समाधानका लागि रातो रंगको प्रयोग गर्ने तथा सूर्यलाई जल चढाउने । 

शुभ रंग : सुन्तला रंगी र रातो, शुभ बार : शुक्रबार, शुभ दिशा : दक्षिण र पश्चिम, शुभ महिना : पुस तथा असार, शुभ अंक : ९ र ३ ।

वृश्चिक 

अध्ययनमा समस्या देखिएला । समाधानका लागि बिहीबार शुद्ध रहनुका साथै नौमुखे रुद्राक्ष प्रयोग गर्ने । १५ वर्षभन्दा मुनिका नारी–पुरुषले घाँटी तथा पेटको समस्या सामना गर्नुपर्ने हुनसक्छ । चिसोबाट उत्पन्न हुने समस्या पनि देखा पर्नेछ । यसका लागि केतु ग्रहको उपासना गर्नु लाभदायक हुन्छ । शनिबार शुद्ध रहनुहोला । कालो रंग प्रयोग गर्नु उपयुक्त हुँदैन । हरेक दिन बिहान खाली पेटमा एक चम्चा पञ्चामृतको सेवनले स्वास्थ्य सकारात्मक राख्न मद्दत पुर्‍याउनेछ । वैवाहिक सम्बन्धमा गाँसिएकाहरू कामको सिलसिलामा एक–अर्काबाट टाढा रहनु पर्नेछ । प्रेम सम्बन्धमा तेस्रो व्यक्तिका कारण झमेला उत्पन्न हुन सक्छ, सचेत रहनुहोला । व्यापार–व्यवसाय सामान्य देखिन्छ भने जागिरमा तनावको सामना गर्नुपर्ला । समग्रमा वर्ष सामान्य नै रहनेछ । 

शुभ रंग : हरियो र पहेंलो, शुभ बार : मंगलबार, शुभ दिशा : पश्चिम, शुभ महिना : माघ, शुभ अंक : १० ।

धनु 

धनु राशिका लागि वर्ष सामान्य रहनेछ । विदेशमा रहेकाहरूले धन कमाउने राम्रो अवसर प्राप्त गर्नेछन् । वैदेशिक रोजगारीमा जानेहरूका लागि उत्तम साइत छ । धनु राशिमा राहुको दृष्टिले गर्दा सन्तानप्राप्तिमा बाधा उत्पन्न हुन सक्ने भएकाले बिहीबार शुद्ध रहनुहोला । राहुका लागि आठमुखे रुद्राक्ष प्रयोग गर्नु फाइदाजनक हुन्छ । धनु राशिका विद्यार्थीहरूका लागि प्राविधिक क्षेत्र निकै राम्रो छ भने स्वदेशमै अध्ययन गर्नु उपयुक्त देखिन्छ । सवारी साधन किनबेचका लागि पनि समय उत्तम छ । चिट्ठा, लोटरी, उपहार आदिबाट धन लाभको योग पनि उत्तिकै छ । वैवाहिक सम्बन्धमा तनाव भए पनि त्यसले हानि गर्नेछैन । प्रेम सम्बन्धमा भने मनमुटाव र विछोडको योग छ । व्यवसाय सामान्य नै रहला, अर्धसरकारी तथा समाजसेवाको क्षेत्रका जागिरेहरूका लागि समय उत्तम छ । 

शुभ रंग : सेतो, शुभ बार : सोमबार, शुभ दिशा : पूर्व, शुभ महिना : साउन तथा पुस शुभ अंक : ३ र ५ ।

मकर 

चन्द्रमा र बुधको प्रभावका कारण वर्ष शुभ छ । मन चञ्चल रहनेछ भने मानसिक तनाव तथा पेटसम्बन्धी समस्या देखापर्न सक्छ । नियमित योग गर्नुका साथै स्वास्थ्य परीक्षण गराइरहनुहोला । व्यापारमा आकस्मिक प्रगतिको सम्भावना छ । फलाम तथा माटोसँग सम्बन्धित व्यवसाय उत्तम छ । विद्यार्थीका लागि म्यानेजमेन्ट तथा बिजनेस स्टडीको क्षेत्र फलदायक देखिन्छ । लामो समयदेखि प्रेम रहेकाहरूबीच विवाहको योग छ भने प्रेम सम्बन्धमा नरहेकाहरूको प्रेम सम्बन्ध गाँसिने सम्भावना छ । वैवाहिक एवं पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ । असोजदेखि जागरिमा पदोन्नति हुनुका साथै सम्भावनाका नयाँ ढोका खुल्नेछन् । विदेशमा भएकाहरूका लागि वर्ष लाभदायक रहनेछ । यद्यपि वैदेशिक यात्रा तय गर्नेहरूका लागि भने गाह्रो समय छ । दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्ध तनावपूर्ण हुनसक्छ । 

शुभ रंग : पहेंलो र प्याजी, शुभ बार : सोमबार, शुभ दिशा : दक्षिण र उत्तर, शुभ महिना : जेठ तथा असार, शुभ अंक : २ र ३ ।

कुम्भ

राजनीतिक क्षेत्रमा ठूलो सफलता प्राप्त हुने देखिन्छ । सूर्य र शुक्रको संयोजनका कारण राजनीतिसहित कलाको क्षेत्रमा पनि राम्रै उपलब्धि हात पर्नेछ । सरसामान हराउने, चोरी हुने तथा झूटा आरोप खेप्नुपर्ने हुन सक्छ । सरकारी सेवामा रहेकाहरूका लागि वर्ष उत्तम छ । साइत हेरेर हवाई यात्रा गर्दा सुरक्षित रहन सहयोग पुग्नेछ । कपडा, कस्मेटिक, बालबालिका तथा महिलाहरूका लागि आवश्यक सरसामानको व्यवसायमा राम्रो सम्भावना छ । विद्यार्थीहरूले नयाँ–नयाँ अवसर प्राप्त गर्ने छन् । वैवाहिक सम्बन्ध सन्तोषजनक रहनेछ भने आफूभन्दा बढी उमेरको व्यक्तिसँग प्रेमसम्बन्ध गाँसिन सक्छ, त्यसरी गासिएको सम्बन्ध राम्रो समेत हुनेछ । मुटु, छाती तथा नसासँग सम्बन्धित समस्या सिर्जना हुन सक्छ । 

शुभ रंग : नीलो, शुभ बार : बुधबार, शुभ दिशा : पूर्व र दक्षिण, शुभ महिना : वैशाख, शुभ अंक : १ र ९ ।

मीन : 

पश्चिम दिशाको विदेश यात्राको योग छ । जागिरबाट पनि विदेश भ्रमण हुनसक्छ । यो वर्ष घुमफिरमा राम्रै धन खर्च हुनेछ । व्यापार–व्यवसाय गर्नेहरूका लागि भदौपछिको समय उत्तम छ । व्यापार–व्यवसायको नामाकरण दिदीबहिनी अथवा आमाको नामबाट गर्नु उपयुक्त हुन्छ । तुला तथा मीन राशि हुनेहरूसँग राम्रो सम्बन्ध रहनेछ । प्रेमी–प्रेमिकाबीच सबै क्षेत्रमा राम्रो साथ एवं सहयोग हुने भएकाले सम्बन्ध प्रगाढ हुनेछ । वैवाहिक सम्बन्ध सामान्य नै देखिन्छ । आमाबुवाहरूले आफ्ना सन्तानबाट राम्रो साथ एवं सहयोग पाउनेछन् । मेडिकल, नर्सिङ तथा कृषि अध्ययनरत विद्यार्थीहरूका लागि वर्ष उत्तम रहला । हड्डीसँग सम्बन्धित समस्या तथा रक्तचापको सम्भावना देखिन्छ । 

शुभ रंग : पहेंलो, शुभ बार : सोमबार र बिहीबार, शुभ दिशा : दक्षिण, शुभ महिना : भदौ तथा चैत, शुभ अंक : ६ र ९ ।

प्रकाशित :चैत्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्