विलासी बन्दै यौन व्यापार

- भिषा काफ्ले

चैत्र २९, २०७४

 

 

 

 २४ वर्षीया उपमा (नाम परिर्वतन) को कथा केही फरक छ । स्नातकसम्म अध्ययन गरेकी उपमाले आमाको पाठेघरमा पलाएको ट्युमरको उपचार गराउन एउटा फाइनान्समा रिसेप्सनको जागिर सुरु गरेकी थिइन् । जागिर थालेको एक हप्ता पनि नबित्दै उनी फाइनान्समा नियमित आउने एक ग्राहकसँग नजिकिइन् । ती ग्राहकले उनलाई एकपटकका लागि २५ हजार रुपैयाँ दिने प्रस्ताव गरे । त्यत्रो पैसा पाइने भएपछि उपमा लोभिइन् । ती ग्राहकसँग नियमित सम्पर्क हुन थालेपछि अन्य त्यस्तै ग्राहकसँग पनि उनको सम्पर्क हुन थाल्यो । मासिक ११ हजार रुपैयाँको रिसेप्सनको जागिरमा लागेकी उपमाले यौन व्यवसायबाट एक दिनमै १० हजार रुपैयाँ भन्दा बढी कमाउन थालेपछि उनको मन यतै भुलियो भने एक महिनामै आमाको उपचार खर्च पनि जुट्यो । आमाको उपचारपछि उनी फाइनान्सको जागिर छाडेर यही व्यवसायमा केन्द्रित भएकी छिन् । 

 

 रमेश (४१ वर्ष) (नाम परिवतन) एक निजी विद्यालयमा गार्ड छन् । बिहान ८ बज्दा नबज्दै रमेश श्रीमती रेश्मा (नाम परिवर्तन) अनि १० वर्षीया छोरीलाई लिएर एउटै स्कुटरमा हुइँकिन्छन् । श्रीमतीलाई रत्नपार्कमा छोडेर उनी छोरीलाई विद्यालय पुर्‍याउँछन् । बेलुका उनी प्राय: त्यही रुट हँुदै श्रीमतीलाई लिएर घर फर्कन्छन् । धेरैलाई लाग्ला, रेश्मा रत्नपार्कमा दिनभर के गर्छिन् त ? रत्नपार्क त रेश्माका लागि ‘ग्यादरि·जक्सन’ मात्र हो । त्यहाँ उनी ग्राहकसँग सम्पर्क गर्छिन् र कुनै सुरक्षित स्थानमा गएर त्यस दिनको कमाइको जोहो गर्छिन् । यौनकर्मी महिलाहरूको स्वास्थ्य तथा उनीहरूको मानवअधिकारका सम्बन्धमा वकालत गर्ने एक संस्थामा भेटिएकी रेश्मा यौन व्यवसायमा बाध्यताले लाग्नुपरेको कुरा बताउँछिन् ।

 

राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा यौन व्यवसाय मौलाउँदो अवस्थामा छ । निश्चित उमेर समूह वा निश्चित लिंग, निश्चित वर्ग मात्र यौन व्यवसायमा संलग्न छन् भन्ने छैन । अधिकांश बाध्यताले यो दलदलमा फसेका छन् भने कतिपय रहरैरहरमा यो पेसामा तानिएका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा ३ लाखभन्दा बढी यौनव्यवसायी छन् । तीमध्ये ५४ हजारभन्दा बढी महिला काठमाडौंमा सक्रिय रहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय यौन तथा एचआईभी एड्स रोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाउँछ । केन्द्रले हालै यौन पेसामा संलग्न हुनेहरूको एकीकृत तथा जैविक सर्वेक्षण (आइबिबीएस) गरेको थियो, जसले अचम्म लाग्दो तथ्यांक पनि निकालेको छ ।

काठमाडौंका ५ सय यौनकर्मी महिलामा गरिएको उक्त सर्वेक्षणअनुसार ६६ प्रतिशतभन्दा बढी यौनकर्मी विवाहित छन् । सर्वेक्षणमा उनीहरूमध्ये कतिपयले श्रीमान् पनि आफूसँगै रहेको र कतिपयले वैदेशिक रोजगारीमा रहेको जवाफ दिएका थिए । सर्वेक्षणमा संलग्न करिब १७ प्रतिशतले आफू अविवाहित रहेको जवाफ दिएका थिए भने १४ प्रतिशतले पारपाचुके गरी बसेको बताएका थिए । ५ सयमध्ये ३ दशमलव ४ प्रतिशतले आफू विधवा भएको बताएका थिए । सर्वेक्षणमा संलग्नमध्ये ६६ प्रतिशत महिला विवाहित देखिए पनि सबै विवाहित खुलेर अगाडि नआउने हुँदा यो संख्या अझ बढी हुन सक्ने अनुमान सर्वेक्षकहरूको छ । 

 

होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले बढी निगरानी गर्न थालेपछि अहिले यौनकर्मीहरू व्यवस्थित रूपले कोठा वा फ्ल्याट भाडामा लिएर व्यवसाय गर्न थालेका छन् । राम्रो कमाइ हुने अधिकांशले एक्लै वा सामूहिक रूपमा फ्ल्याट नै लिएर व्यवसाय गरिरहेको एक यौनकर्मी बताउँछिन् । सुरु–सुरुमा तारे होटलमा कलगर्लका रूपमा सेवा उपलब्ध गराउने ती यौनकर्मी अहिले तीन जना साथीसँग मिलेर एउटा फ्ल्याटलाई यौन ब्यवसायको थलो बनाएको कुरा बताउँछिन् । ती यौनकर्मीको भनाइलाई स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले समेत पुष्टि गरेको छ । 

 

सर्वेक्षणका क्रममा ५ सय जनामध्ये ४ सय १० जनाले व्यवस्थित रूपमा कोठा वा फ्ल्याट लिएर आफैं व्यवसाय चलाइरहेको बताएका थिए । १० जनाले भने आफ्नै घरमा तथा ८० जनाले सडकमा ग्राहक खोजेर होटल वा रेस्टुराँ पुग्ने गरेको बताए । यसरी फ्ल्याट लिएर व्यवसाय गर्ने यौनकर्मीलाई नै प्रयोग गरेर कम्पनी नै दर्ता गरी यौन ब्यवसाय सञ्चालन गर्नेहरूको सञ्जाल ठूलो रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् । पोखरेल भन्छन्—स्वेच्छाले यो व्यवसायमा लागेका भन्दा पनि उनीहरूलाई बाध्यतामा पारेर नाफा कमाउनेहरूको हैकम बढ्दै गएको छ, हामी स्वेच्छाले यस्तो काममा लाग्नेहरूलाई भन्दा पनि जबर्जस्ती लगाउनेहरूलाई कारबाही गर्न अघि बढेका छौं ।

 

किशोरी तथा विवाहितको बाढी 

बाध्यताले एकपटक यो पेसामा पुगेपछि यसबाट निस्कन गाह्रो हुन्छ भन्ने उदाहरण हुन्— चितवनकी १९ वर्षीया गौरी (नाम परिवर्तन) । गाउँकै एक जना दिदीले पढाउने अनि जागिर पनि लगाइदिने भन्दै उनलाई काठमाडौं ल्याइन् । ती दिदीले गौरीलाई एक हप्ता आफूसँगै राखेर बिहानको प्लस टुमा भर्ना गरिदिइन् अनि दिउँसो काम गर्न भन्दै ठमेलको एक पार्लर पुर्‍याइन् । पार्लरमा भर्ना गरिदिएबापत ती दिदीले ३० हजार कमिसन लिइन् भने गौरीले मासिक १५ हजार रुपैयाँ पाउने गरी सम्झौता गरिन् । यद्यपि दुई दिनपछि पार्लरमा काम गर्न नजानेको बहानामा उनलाई आफ्नो शरीर अरूलाई सुम्पनुपर्ने पेशातर्फ धकेलियो ।

 

काम अस्वीकार गर्दा गौरीसँग दलालले लगेको पैसा फिर्ता मागियो, त्यतिबेला मात्र उनले आफू बेचिएको कुरा थाहा पाइन् । त्यसपछि भने उनी बाध्यतामा परिन्, दलालले लगेको पैसा चुक्ता गर्न पनि उनले जबर्जस्ती यो पेसा अँगाल्नुपर्ने भयो । दुई महिनासम्म त्यही समूहमा रहेर काम गर्दागर्दै उनको छुट्टै समूह बन्यो । त्यो समूहले अहिले फ्ल्याट नै लिएर व्यवसाय सञ्चालन गर्दै आएको छ । अब त यो दलदलबाट निस्कन गाह्रै होला, गौरीले भनिन्, स्नातक सकेपछि लोकसेवाको तयारी गर्छु, लोकसेवामा नाम निकालुन्जेलसम्मका लागि खर्चको जोहो गर्न पनि यो काम नगरी सुखै छैन् । 

 

गौरीजस्ता अविवाहित युवती मात्र होइन, विवाहित महिलाहरू पनि बाध्यताले यो दलदलमा फसेका छन् । परिवार पाल्न बाध्य भएर यौन व्यवसायमा संलग्न हुनेदेखि छोराछोरीको विद्यालयको शुल्क तिर्न यो पेसामा लाग्नेहरूसम्मको कुनै कमी छैन । श्रीमान्लाई घरखर्च उपलब्ध गराएर उनीहरूकै कमाइमा घरबार जोड्नसम्म भ्याएका यौनकर्मी पनि उत्तिकै छन् । केन्द्रले गरेको सर्वेक्षणमा पनि आफ्नै घरव्यवहार भएका यौनकर्मीको संख्या उल्लेख्य देखियो । सर्वेक्षणमा सामेल हुनेहरूमध्ये अधिकांश विवाहित छन्, सर्वेक्षकसमेत रहेका नेसनल इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड रिसर्चका निर्देशक टेकराज भट्ट भन्छन्—कतिपय श्रीमानसँगै छन् भने कतिपय वैदेशिक रोजगारीमा रहेकाहरूका श्रीमती हुन् । सर्वेक्षणमा १६ देखि १९ वर्ष उमेर समूहका १८ दशमलव ८ प्रतिशत मात्र देखिनु भनेको अन्य प्राय: विवाहित नै हुनु भएको उनको बुझाइ छ । 

यो सर्वेक्षणले करिब ३६ प्रतिशत यौनकर्मी ३५ वर्ष माथिका भएको देखाउँछ । त्यसैगरी ३० देखि ३४ वर्ष उमेर समूहका ३५ दशमलव ८ प्रतिशत छन् भने २५ देखि २९ वर्षका १८ प्रतिशत, २० देखि २४ वर्षका ११ दशमलव ८ तथा १६ देखि १९ वर्षका १८ दशमलव ८ प्रतिशत छन् । 

 

अशिक्षित बढी, १४ प्रतिशत 

उच्च शिक्षित

अशिक्षितलाई जीवन जिउने बाध्यता, एकल महिलालाई छोराछोरीको पालन–पोषणको बाध्यता, शिक्षितलाई बेरोजगार हुनुको बाध्यता, श्रीमान् विदेश भएकाहरूलाई यौनइच्छा पूरा गर्नुपर्ने बाध्यताले महिलाहरू यौन व्यवसायमा आइपुग्ने यौन व्यवसायमा संलग्न महिलाहरूको स्वास्थ्य एवं उनीहरूको मानवअधिकारका सम्बन्धमा वकालत गरिरहेको संस्था जागृति महिला महासंघकी वरिष्ठ कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । तिवारीको भनाइलाई सर्वेक्षण नतिजाले समेत पुष्टि गर्छ ।

 

सर्वेक्षणकाअनुसार यौन व्यवसायमा संलग्न महिलाहरूमध्ये २५ दशमलव ६ प्रतिशत निरक्षर छन् । २२ दशमलव ४ प्रतिशत सामान्य लेखपढ गर्न सक्ने देखिन्छन् भने १८ दशमलव ६ प्रतिशत कक्षा ५ सम्म अध्ययन गरी पढाइ छाडेकाहरू छन् । कक्षा ९ सम्म अध्ययन गरेका १९ दशमलव ४ प्रतिशत छन् भने १४ प्रतिशत उच्चशिक्षा अध्ययन गरेका पाइएको राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका आईबीबीएस फोकल प्रसन्न वीरबहादुर रावल बताउँछन् ।

 

कन्डम लगाउन मान्दैनन् ग्राहक

असुरक्षित यौनसम्पर्क गर्नु भनेको निश्चित रूपमा यौनरोगको भारी बोक्नु भएको राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । अझ यौन जोखिममा रहेका समूहसँग गरिने यौन सम्पर्कमा कन्डम लगाउने भन्दा अन्य विकल्प नभएको डा. पाण्डेले बताए । उता यौनकर्मी महिलाहरू भने ग्राहकले कन्डम लगाउनै नमान्ने बताउँछन् । 

 

यौनकर्मी महिला कहाँ जाँदा कन्डमलाई बेवास्ता गर्नु कन्डम यौनरोगबाट जोगाउनेभन्दा पनि सन्तान उत्पादन रोक्ने साधन मात्र हो भन्ने सोचाइको परिणाम भएको डा. पाण्डेको तर्क छ । यसरी ग्राहकले कन्डम प्रयोग गर्न अस्वीकार गर्ने अवस्थामा यौनकर्मी महिला आफैंले कन्डम तयारी अवस्थामा राख्नेदेखि अन्य विधिहरू प्रयोग गर्दै आएको सर्वेक्षणले देखाएको छ । ५ सय मध्ये ३ सय ४६ जनामा बहुसाधन परिवार नियोजनका साधन प्रयोगसम्बन्धी गरिएको अध्ययनमा ७९ प्रतिशतले कन्डम प्रयोग गर्ने कुरा (तर सधैं होइन) बताएका थिए भने ४२ प्रतिशतले वीर्य बाहिर स्खलन गराउने विधि अपनाउँदै आएको बताएका थिए ।

 

त्यसैगरी १७ दशमलव ७ प्रतिशतले गर्भनिरोधक सुई प्रयोग गर्ने, १४ दशमलव ५ प्रतिशतले आकस्मिक गर्भनिरोधक औषधी प्रयोग गर्ने गरेको बताएका छन् । रमाइलो तथ्य त के छ भने ११ दशमलव ३ प्रतिशत महिलाले आफ्नो मासिक श्रावको हिसाब गरी प्राकृतिक गर्भनिरोधको उपाय अपनाउँदै आएका छन् । ६ दशमलव ६ प्रतिशतले अस्थायी गर्भनिरोधक इम्प्लान्ट प्रयोग गर्दै आएका छन् भने ६ दशमलव १ प्रतिशतले स्थायी मिनिल्याप्स नै गराएका छन् । उनीहरूका ग्राहकमध्ये १ दशमलव ४ प्रतिशत पुरुषको बन्ध्याकरण भएको पाइएको छ ।

 

कन्डम प्रयोग नगरेकै कारणले विगतका वर्षको तुलनामा यो वर्ष एचआईभी एड्सको संक्रमण भएका महिला यौनकर्मीमाको संख्या वृद्धि भएको अधिकृत तिवारी बताउँछिन् । यो वर्ष यो ट्रेन्ड बढेर २ दशमलव २ प्रतिशत पुगेको छ । २०११ मा १ दशमलव ७ रहेको यो तथ्यांक २०१५ मा २ प्रतिशत पुगेको थियो । 

तथ्यांकले पनि के पनि देखाउँछ भने पैसा नतिरी यौनसम्पर्क गर्ने १८ प्रतिशत नियमित ग्राहकले मात्र कन्डम लगाउँछन् भने पैसा तिरेर आउने नियमित ग्राहकमध्ये ३८ प्रतिशतसँग बिना कन्डम नै यौनसम्पर्क हुन्छ । ३७ प्रतिशत यस्ता ग्राहक कन्डम नलगाई यौनसम्पर्क गर्न रुचाउँछन् । 

 

सर्वेक्षणमा सहभागीमध्ये १ सय ७९ जनाले गर्भपतन गराएको जवाफ दिएका छन्, जसमा ६१ प्रतिशतले एकपटक गर्भपतन गराएको बताएका छन् भने २ पटक गर्भपतन गराउने २९ प्रतिशत छन् । तीन पटकभन्दा बढी गर्भपतन गराउनेहरूको संख्या १० प्रतिशत छ । 

 

कति कमाउँछन् ? 

तीन हप्ताअघि प्रमिला (नाम परिर्वतन)को मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो । उक्त फोन उनका पूर्व परिचित आइएनजिओका एक जागिरेको रहेछ । प्रमिलालाई पहिलेदेखि नै वाच गरिरहेको बताउँदै उनले एक रातको १५ हजार रुपैयाँ दिने प्रस्ताव गरे । उनले ती व्यक्तिबाट पाएको प्रस्ताव सहर्ष स्वीकार गरिन् । यसले के देखाउँछ भने ग्राहकको रोजाइमा परे भने एकै पटकमा राम्रो कमाइ पनि हुन्छ । 

 

यद्यपि सबैको कमाइ प्रमिलाको जस्तो कुस्त नै छ भन्ने छैन । सर्वेक्षणमा सहभागीमध्ये कतिपयले हप्तामा १ हजार रुपैयाँ समेत कमाउन हम्मेहम्मे पर्ने बताएका थिए । त्यसैगरी १ हजार रुपैयाँसम्म कमाइ हुन्छ भन्ने ७ प्रतिशत थिए भने १ देखि २ हजार रुपैयाँसम्म कमाइ हुने १५ दशमलव २ प्रतिशत थिए । २ देखि ३ हजार रुपैयाँ कमाइ हुने १५ दशमलव ८ प्रतिशत, ३ देखि ४ हजार रुपैयाँ कमाइ हुनेहरूको संख्या ९ प्रतिशतको हाराहारीमा छ । त्यस्तै सातामा ४ देखि ५ हजार रुपैयाँ कमाइ हुने १९ दशमलव, ५ हजारदेखि १० हजार रुपैयाँ कमाइ हुने २२ प्रतिशत तथा १० हजार रुपैयाँभन्दा बढी कमाउने ११ दशमलव ६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । केन्द्रको तथ्यांकअनुसार एक यौनकर्मी महिलाले हप्तामा औसत ५ हजार रुपैयाँ कमाउँछन् । 

 

व्यक्तिगत कमाइका हिसाबले सामान्य देखिए पनि यो व्यापार भने करोडौं रुपैयाँ बराबरको छ । ग्राहकले तिर्ने सबै पैसा सीधै यौनकर्मीकहाँ पनि पुग्दैन । अन्य क्षेत्रमा झैं यहाँ पनि ठूलो सिन्डिकेट खडा भएको महानगरीय प्रहरी प्रमुख पोखरेल बताउँछन् । 

 

को–को हुन् ग्राहक

सर्वेक्षणमा सहभागी महिलाहरूका अनुसार उनीहरूका धेरै ग्राहक कुनै न कुनै व्यवसायमा संलग्न छन् । उनीहरू दलालमार्फत सम्पर्कमा आउने गरेका छन् । यस्ता ग्राहकमध्ये अधिकांश आफ्नो परिचय खुलाउन चाहदैनन् । कन्ट्रयाकमार्फत आउने २४ दशमलव ६ प्रतिशत छन् भने सोझै सम्पर्कमा आउनेहरूको संख्या पनि सोही हाराहारीमा छ । त्यसपछि यातायात क्षेत्रमा काम गर्ने १७ दशमलव ४ प्रतिशत छन् । अन्य रोजगारीमा रहेका १३ दशमलव ८ प्रतिशत तथा सुरक्षा निकायमा काम गर्ने ५ दशमलव २ प्रतिशत छन् । बसाइँसराइ गरेर आउने ३ दशमलव ८ प्रतिशत, उद्योगमा काम गर्ने ७ दशमलव २ प्रतिशत, विदेशमा कार्यरत २ दशमलव ६ प्रतिशत तथा विद्यार्थी १ प्रतिशत छन् । 

यसरी आउने ग्राहकसँग ४५ दशमलव १ प्रतिशत महिलाले दिनमा एक जनासँग मात्र सम्पर्क गर्छन् । त्यसैगरी ३० दशमलव ७ प्रतिशतले २ जना, १५ दशमलव ६ प्रतिशतले ३ जना तथा ८ दशमलव ६ प्रतिशतले चार वा त्यसभन्दा बढीसँग (एक दिनमा) यौनसम्पर्क गर्ने कुरा बताएका छन् । उनीहरूमध्ये १३ दशमलव ४ प्रतिशतले प्रत्येक दिन मादक पदार्थ सेवन गर्ने जानकारी दिएका छन् । त्यस्तै ८ दशमलव ६ प्रतिशतले हप्तामा १ पटक, ३१ दशमलव ६ प्रतिशतले हप्तामा २ देखि ३ पटक, १० दशमलव ८ प्रतिशतले हप्तामा १ पटकभन्दा कम तथा ३६ दशमलव ४ प्रतिशतले कहिल्यै रक्सी सेवन नगर्ने कुरा बताएका छन् । 

 

रेडलाइट एरिया तोक्नु समस्या थप्नु हो 

विजया ढकाल, कार्यकारी निर्देशक

जागृति महिला महासंघ

यौन व्यवसाय कस्तो व्यवसाय हो ?

कसैले पैसा वा जिन्सी लिएर वा कुनै फाइदा लिएर एक वा एकभन्दा बढीसँग यौन सम्पर्कका लागि राजी हुने पेशालाई यौन व्यवसायका रूपमा हेरिन्छ ।

 

हाम्रो जस्तो यौनको विषयमा खुला नभएको देशमा पनि किन यति धेरै महिला यौन व्यवसायमा लागेका होलान् ?

गरिबी नै यसको प्रमुख कारण हो । महिलालाई पुरुषको तुलनामा जीवनयापन गर्न आवश्यक रकम जुटाउन गाह्रो छ, अशिक्षित महिलाहरू अझ दयनीय अवस्थामा छन् । कतिपयलाई त म यौन व्यवसाय गरिरहेकी छु भन्ने पनि थाहा हुँदैन । अहिले पहिलेको तुलनामा यौन ब्यवसायीको संख्या पनि बढ्दै गएको छ । त्यसको कारण बजार महँगो हुँदै जानु तथा जीवनयापन कठिन हुनु पनि हो । इमेल–इन्टरनेट आदिका कारण टेस्ट चेन्ज गर्न तथा सुविधाको जीवन बिताउन यो व्यवसायमा आउनेहरूको संख्या बर्सेनि बढ्दो छ । 

 

शिक्षित तथा घरानिया महिला पनि यो व्यवसायमा छन् ? 

होलान्, कतिपय पैसाको कमीले लागेका हुन्छन् । शिक्षित परिवारकाहरू सन्तुष्टिका लागि पनि यो व्यवसायमा संलग्न हुन्छन् तर यस्तो वर्गमा पैसा लिनेभन्दा पनि दिनेहरूको संलग्नता बढी छ । 

 

यौन व्यवसायमा लागेका महिलाहरूबाट के–कस्ता गुनासा आउँछन् ? 

धेरै खालका गुनासा आउँछन् । सबैभन्दा बढी हामी रहरले यो व्यवसायमा आएका होइनौ तर समाज र राज्यले किन हामीलाई मात्र दोष दिन्छ भन्ने गुनासो आउँछ । हामीलाई किन राज्यले बुझ्दैन ? हामीले कुन त्यस्तो ठूलो अपराध गरेका छौं र राज्यले हामीलाई सधैं अपराधी भन्दै थुन्छ ? हामीले पुरुषकै चाहनामा सेवा दिइरहेका छौं । जहिले पनि पक्राउ गरेर ल्याउँदा हाम्रो मात्र प्रचार गरिन्छ तर पुरुषलाई किन संरक्षण गरिन्छ भन्ने गुनासो लिएर आउनेहरू धेरै छन् । 

 

नेपालमा महिला यौन व्यवसायी कति छन् ?

सरकारको तथ्यांकअनुसार म यौनकर्मी महिला हुँ भनेर नियमित स्वास्थ्य संस्थामा जाँच गराउन आउनेहरूको संख्या ५७ हजार छ तर त्यहाँ नपुगी लुकेर यो व्यवसायमा संलग्न हुनेहरूको संख्या पनि त्यतिकै छ, जो खुल्न चाहँदैनन् ।

 

तपाईंहरू यौनकर्मी महिलाको कुन पक्षमा वकालत गर्नुहुन्छ ? 

हामी उनीहरूको मानव अधिकारको पक्षमा वकालत गर्छौं । हिंसा र स्वास्थ्यको कुरालाई प्राथमिकता दिन्छौं । सरकारले एचआइभीलाई शून्यमा झार्ने योजना ल्याएको छ । ती कुरालाई हेर्छांै । उनीहरूलाई तपाईं यौनकर्मी हो, यही काम गरिरहनुहोस् भन्ने होइन । यदि गरिरहेको छ भने सुरक्षित तवरबाट गर्न सुझाव दिने हो ।

 

वैकल्पिक पेसा अपनाउन जोड दिनुहुन्छ ?

दिन्छौं, तर राज्य यौनकर्मी महिलाहरूले चाहेअनुरूपको विकल्प दिनेभन्दा पनि झारा टार्ने तरिकाले प्रस्तुत हुन्छ जसले गर्दा यौनकर्मी महिलालाई परिवार सञ्चालनका लागि आवश्यक खर्च जुटाउन गाह्रो हुन्छ । त्यही भएर धेरै जना चाहना हुँदाहुँदै पनि यो पेसा छोडेर विकल्पमा जान सकिरहेका छैनन् । 

 

त्यसका लागि राज्यले के गर्न सक्छ ?

राज्यलाई थाहा छ, नेपालमा यौनकर्मी महिला छन् र उनीहरू बाध्यताले यो पेसामा आएका हुन् अनि हामी सबैलाई थाहा छ उचित विकल्प दिन सके उनीहरू यो पेसाबाट बाहिर आउँछन् तैपनि राज्यले कहिल्यै यौनकर्मी महिलाहरू कस्तो वैकल्पिक व्यवसाय चाहन्छन् भन्ने कुरा सोध्न चाहँदैन । उनीहरूले चाहेजस्तो वैकल्पिक व्यवसायको वातावरण बनाइदिने हो भने यो ठूलो समस्या रहँदैन । 

 

यसलाई व्यवस्थित गर्न रेडलाइट एरियाको कुरा पनि उठ्ने गरेको छ ?

रेडलाइट एरिया छुट्याउने, पक्रेर धरौटीमा छोड्ने, जेल हाल्नेजस्ता कामले यो समस्या समाधान हुँदैन । समाधानका लागि राज्यलाई गाह्रो–अप्ठ्यारो छ भने हामीसँग सहकार्य गर्नुपर्‍यो । हामी समाधानका उपाय निकाल्छौं । अब उठ्छ रेडलाइट एरियाको कुरा, यो त झनै वाहियात कुरा हो । नेपाल जस्तो सानो देशमा सबैले सबैलाई चिनेकै हुन्छन् । त्यसले अझ ठूलो समस्या सिर्जना गर्छ । यौनकर्मी महिला अहिले सहरमा मात्र होइन गाउँमा पनि छन्, खालि तरिका मात्र फरक छ ।

 

व्यवस्थित बनाउने बहस

यौन व्यवसायमा संलग्नहरूलाई व्यवस्थित गरी वैकल्पिक व्यवसायमा ल्याउन उनीहरूलाई अपराधीका रूपमा नभै नयाँ संयन्त्र बनाएर वैकल्पिक व्यवस्था गर्ने तयारी भैरहेको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । हिजोका दिनमा यौन व्यवसायीलाई प्रहरी प्रसासनबाट अपराधीका रूपमा हेर्ने काम पनि भएको थियो, डा. पाण्डे भन्छन्— राज्यको यो नीतिले रोगको जोखिम घटाउन सक्दैन, समस्याको समाधान पक्राउ गरेर छोड्नु मात्र होइन भनेर नयाँ संयन्त्र बनाई वैकल्पिक व्यवस्था गर्ने विषयमा छलफलसमेत सुरु भएको छ ।

 

 महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेल पनि यौनकर्मी महिलालाई पक्राउ गरी दु:ख दिने मनसाय नरहेको बताउँछन् । पोखरेल भन्छन्— कुनै ठाउँमा इच्छा विपरीत यौन शोषण भएको उजुरी आउँदा मात्र प्रहरीले छापा मार्ने हो । हामी सहमतिमा हुने यौन सम्पर्क स्थल खोज्दै हिँड्दैनौं । 

यौनकर्मी महिला तथा व्यवसायलाई सरकारले हेर्ने नीति द्वैध भएकाले समस्या समाधान हुन नसकेको जागृति महिला महासंघकी वरिष्ठ कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । तिवारी भन्छिन्— एकातर्फ नेपालमा यौन व्यवसायी छन् भनेर सरकार विभिन्न दातृ निकाय गुहार्दै करोडौं रुपैयाँ थाप्छ अनि अर्कातर्फ त्यही सरकार प्रहरी लगाएर यौनकर्मीलाई पक्राउ गरी मुद्दा चलाएर दु:ख दिन्छ, दातृ निकाय एवं सरकारले उनीहरूमाथि गरिरहेको खर्च मात्र व्यवस्थापन गर्ने हो भने पनि समस्याको समाधान सहजै गर्न सकिन्छ । यसका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्छ ।

प्रकाशित :चैत्र २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्