कहिल्यै नथाक काठमाडौं

- किशोर नेपाल

चैत्र २८, २०७४

 

काठमाडौं सहरका मानिसहरू तीनदोबाटो वा सातदोबाटो भनेर चिनिने चौबाटोमा भूत मन्सिन्थे । भूत मन्सिने काम पक्कै पनि अविश्वास थिएन । जतिबेला हामी स–साना भुरा थियौं, त्यतिबेला काठमाडौं सहरमा डाक्टर थिएनन्, वैद्य मात्र थिए, त्यो पनि न्यून संख्यामा मानिसहरू गुनासो गर्थे, ‘डाक्टरसँग जँचाउन पाएको भए पक्कै पनि बिरामी बाँच्थ्यो । अब पूर्णमान दाइ पनि मर्‍यो ।’

 सारा काठमाडौंलाई थाहा थियो : पूर्णमान भनेको ठूलो वैद्य हो । दुई थरी वैद्यको ठूलो मान–प्रतिष्ठा हुन्थ्यो त्यतिबेलाको काठमाडौंमा । बिरामीको प्राण घरमा अड्केला भनेर मानिसहरू घाटे वैद्य बोलाउँथे । घाटमा पुर्‍याइएको मान्छे, कति घडी, कति पलापछि मर्छ– वैद्यले ट्याक्य्राक्कै बताइदिइहाल्छन् । यति धेरै ठूलो गुण हुन्थ्यो ती वैद्यमा ।

काठमाडौं सहर पहिले सार्‍है सानो थियो रे । घट्टबाट घाट र घाटबाट घट्ट । राणा जर्साब, कर्साबहरू लप्तान सा’ब र कप्तान सा’ब चोभारबाट उँधो, बाग्मतीको किनारैकिनार कतै पनि हिंड्न मन नपराउने । त्यसैले सहरको सिमाना तोकियो : दक्षिणको चोभार र उत्तरको बाँसबारी । त्यो सिमानाभन्दा एक पाइला पनि बाहिर सार्नुपर्ने भो भने भत्ता, रासन, शासन सब पाक्यो । 

बर्सातका बेला यी साहेबहरूले घर गृहिणीलाई सार्‍है दु:ख दिने । त्यो बेला काठमाडौं सहरका काँठ–कछाडमा गृहिणीहरू फूलपातीको दिन घिरौंला, काँक्रा, फर्सीजस्ता अनेकथरी तरकारी रोप्थे र रमाउँथे । त्यतिबेला सिपाहीहरूले काठमाडौं टुँडिखेलबाट गुरुमापाको भूत भगाउन बढाइँ गरेको टड्कारो सुनिन्थ्यो । त्यही मौका पारेर बारीमा तरकारीका बीउ–बिजन छरछार गरे जेठ–असारमा तरकारीको दु:ख नहुने । आफूलाई फर्सीका कैंडा र कलकलाउँदो काँक्राको अचार गाई–भैंसीलाई फर्सीका झाल र काँक्राका पात, तर सिपाहीहरू आएर हाकाहाकी काँक्रा, फर्सी चोरेर लाने ।

कति रमाइलो होला त्यो बेलाको काठमाडौं सहर । अहिले एक देशको सात प्रदेश हुँदा त यति रमाइलो छ भने त्यो बेला त पशुपतिनाथको मन्दिरबाट हात्तीवन आइपुग्नै पाँच घण्टा लाग्थ्यो । त्यसपछि अर्को दुई घण्टा । हात्तीवनमा बिताएको यो पाँचघण्टामा मानिसहरू धेरै मीठा कुरा खान्थे । दही–च्यूरा त भै नै हाल्यो इसेन्सियल । त्यसपछि ऐंठे, ऐंठेपछि आलुचप, त्यसपछि नरिवल–मिस्री । दसैं मनाउन काठमाडांैबाट काठमाडौंछेउको पहाड घर पुगेका केटाकेटी मानिसहरूले नरिवल–मिस्रीसँगै मर्‍याक–मर्‍याक चपाएर स्वाद लिएको देख्दा छक्कै परे ।

विचरा दस–बाह्र वर्षका केटाकेटी, कहिले केही नदेखेका, ‘यसो नगर, उसो नगर’ बाहेक केही नसुनेका, काठमाडौंको मसला पसलभन्दा केही नदेखेका, जनसेवा सिनेमा घरमा माया–मच्छिन्द्रनाथ भन्दा अर्को कुनै सिनेमा नहेरेका नेपाली केटाकेटीहरू अहिले धेरै डाक्टर छन्, थोरै कम्पाउन्डर । त्यसैले काठमाडौंमा खुलेका अस्पताल र बिरामी एक–अर्कालाई उछिन्न खोज्दैछन् ।

यो काठमाडौं सहरका घरवालाहरू भन्छन्, यो सहरमा सरकारका ठालु र सेनाका पल्टन जसलाई जे मन लाग्यो त्यो गरे हुन्छ । हुन्छ होला र त भने नि घरका मालिकले । अब वैशाख १२ आउँदैछ । लाखौंको संख्यामा भुइँचालो पीडितहरू अहिलेसम्म टाटको प्वालबाट वाहिर आउन सकेका छैनन । यता साक्षात संकटा–महाकालको सामुन्ने पारेर नेपाली सेनाले अजंगको अस्पताल बनाइदियो । कति दूरदर्शी छ हाम्रो सेना । अब तेस्रो विश्वयुद्ध हुनेवेला नजिक–नजिक आइसकेको छ । त्यतिन्जेलसम्म काठमाडौं र दिल्लीका बीच स्वचालित बुलेट ट्रेन चल्नेछ । उक्त रेल चढेर काठमाडौंको सैनिक अस्पतालमा उपचार गराउन आउनेहरू कोही रेलमै मर्नेछन् । 

कोही अस्पताल पुगेर डाक्टरले छातीमा स्टेथेस्कोप लगाउनासाथ मर्ने छन् । मानौं कि डाक्टरको छातीमा झुन्डिएको त्यो स्टेथकोप अस्पताल ल्याउँदा वा ल्याइसकेपछि मरेका ती मुर्दाहरूलाई वैतरणी नदी पार गराउने डोरीको काममा सहायक हुनेछन् । दाह–संस्कार गर्न यसरी काठमाडौं र बनारसकाबीच अर्को पनि स्वचालित सुपर–डुपर रेल चलेपछि त जता हेर्‍यो, त्यतै विकास । हावा छ, अक्सिजन छैन । अक्सिजन छ, हावा छैन । जे होस्, जति अनुकूल होस वा प्रतिकूल होस् अवस्था । तिमी नथाक काठमाडौं । तिमी सभ्यताको अथक योद्धा हौ ।

 

 

प्रकाशित :चैत्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्