मसँग गीतको भकारी नै छ

- कृष्ण भट्टराई

चैत्र २७, २०७४

२०७२ साल साउन २१ गते यूट्युबमा एउटा गीतको भिडियो अपलोड भयो, चलचित्र वडा नम्बर छको सुर्के थैली खैको रुपमा, जसले हरेक स्रोता तथा दर्शकलाई मोहनी लगायो । उक्त गीत त्यो वर्षको तीजदेखि दसैं, तिहार, महोत्सव, मेला–पात, स्कुल–कलेज सबैतिर यसरी बज्यो, मानौं सुन्ने र हेर्ने अरू नेपाली गीत नै छैनन् । 

त्यसपछि खोजी भयो उक्त गीतका स्रष्टाको । उनी थिए युवा संगीतकर्मी राजनराज शिवाकोटी । आफ्नै शब्द तथा संगीतको उक्त गीतमा शिकोवोटीलाई गायिका अञ्जु पन्तले साथ दिएकी थिइन् । उक्त गीतको सफलतासँगै संगीतकर्मी शिवाकोटीले पछाडि फर्किएर हेर्नु परेन । २०७३ साल जेठ २५ गते यूट्युबमा अपलोड भएको चलचित्र छक्का पञ्जाको पूर्व–पश्चिम रेलले राजनराजको उचाइ अझ बढायो । 

नौ महिनाअघि अपलोड भएको चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतको कीर्तिमानी सफलताले राजनराजलाई सबैभन्दा लोकप्रिय संगीतकर्मी साबित गरिसकेको छ । उक्त गीतले यूट्युबमा सबैभन्दा धेरै पटक हेरिएको (५ करोड पटक) कीर्तिमान कायम गरेको छ । कुटुमा कुटुपछि राजनराजको स्वर, संगीत तथा शब्दका झन्डै नौ वटा गीत लोकप्रियताको शिखरमा छन् । यसै साता फान एवार्डमा सर्वोत्कृष्ट संगीतकारको रुपमा पुरस्कृत यी संगीतकर्मीले कृष्ण भट्टराईसँग लामै कुराकानी गरेका छन् :

आफ्ना सिर्जनाले इतिहास बनाउँदा कस्तो अनुभव गरिरहनुभएको छ ?

कुटुमा कुटु...गीतले ५ करोड पटक हेरिएको कीर्तिमान कायम गर्दा म पश्चिम नेपालको एउटा महोत्सवमा यही गीत गाइरहेको थिएँ । आज काठमाडौं आएर यसरी कुराकानी गर्दा म उक्त कीर्तिमान मेरो परिकल्पनाभन्दा टाढाको कुरा थिएन मात्र भन्न सक्छु । यो गीत नेपाली सांगीतिक इतिहासमै यस्तो गीत बन्यो, जसलाई प्रत्येक नेपालीले सुन्नुभएको छ अर्थात यो गीत सुन्न अब शायदै कोही नेपाली बाँकी हुनुहुन्छ होला । भर्खरै तोतेबोली बोल्न थालेको शिशुदेखि वृद्ध–वृद्धासम्म मेरो गीत सुनेर रमाएको देख्दा असाध्यै खुसी लागेको छ । म त भन्छु सरस्वती माताले म मार्फत सबैलाई प्रसाद पठाउनुभएको रहेछ, त्यही प्रसाद सबैले राम्रोसँग ग्रहण गर्न पाएजस्तो लाग्छ ।

यो गीतले यति धेरै दर्शक पाउला भन्ने लागेको थियो ?

रेकर्डिङ सकिने बित्तिकै मैले चलचित्रका निर्देशक असिम शाहलाई यो गीतको भिडियोले पाँच करोड भ्युज पाउन गाह्रो हुन्न भनेको थिएँ । गीत तयार हुने बित्तिकै मैले गरेको अनुमान तथा घोषणा मिलेकोमा थप खुसी छु । मेरो सिर्जना करोडौं पटक सुनिनु नै ठूलो कुरा हो जस्तो लागिरहेको छ । 

तपाईंका तीनवटा गीत यतिबेला युट्युबमा सर्वाधिक हेरिएका गीतको सूचीमा छन् । के यो संयोग मात्र हो ?

यसलाई संयोग मात्र मान्न नसकिएला । यदि यो संयोग मात्र हो भने अबदेखि मैले संगीत सिर्जना गर्न छाडे भैगो नि । यस्तो कीर्तिमान कायम हुनुमा दर्शक तथा श्रोताको माया अनि मेरो मेहनतको ठूलो भूमिका छ ।

तपाईंका सिर्जनामा त्यस्तो के जादु छ, जसलाई हरेकले मन पराउँछन् ?

म आफ्ना गीतका शब्द आफैं रचना गर्छु । मैले रचना गर्ने गीतमा यथार्थपरक कुरा, सत्य कुरा समेटिएको हुन्छ । मैले जति पनि गीत तयार पारेको छु, ती सबै गीतले नेपालीहरूको मन, भावना, संस्कार र संस्कृति बोलेका छन् । मैले गीतमार्फत झुट बोलेको छैन । जे–जे कुरा छन्, सबै भएकै कुुरा छन्, अनुभव र अनुभूति गरिएका कुरा छन् । यसबाहेक मेरा गीत हेर्दा तथा सुन्दा लाज लाग्ने, अप्ठ्यारो लाग्ने खालका अथवा गलत सन्देश दिने शैलीका छैनन् । गीतमार्फत मैले आफ्नो संस्कार, संस्कृति र मौलिकता प्रस्तुत गर्ने प्रयास गरेको छु । नेपाली माटो सुहाउँदो मेलोडीलाई प्राथमिकता दिएको छु । गायकी तथा एरेन्जमेन्टलाई पनि बलियो बनाएको छु । यिनै कारणहरूले गर्दा मेरा गीत श्रोताहरूको जिब्रोमा झुन्डिन सफल भएका हुन् ।

सुर्के थैली खै... भन्दा अघि तपाईं कहाँ हुनुहुन्थ्यो ?

म कहीँ गएको थिइनँ, यहीं थिएँ । सांगीतिक क्षेत्रमै सक्रिय थिएँ । यद्यपि म त्यो बेला एक प्रकारको प्रयोग गरिरहेको थिएँ । अहिले तपाईंले जे सुनिरहनुभएको छ, म त्यसकै तयारीमा थिएँ । अहिले लोकप्रिय भैरहेका गीत बनाइरहेको थिएँ । यी गीत केही दिनको मेहनतमा तयार भएका होइनन् । मैले प्रत्येक गीतमा ७ देखि १० वर्षसम्म खर्चिएको छु । अहिले मेरा गीत लोकप्रिय हुनुमा मैले झन्डै एक दशकअघि देखि गरेको मेहनतले काम गरेको छ ।

कसरी ?

मैले यो कुराको संकेत २०६२–२०६३ सालमै दिएको थिएँ । त्यतिबेला मैले ‘सम्धीज्यू वार्ता गराइदेऊ...’ शीर्षकको समयसापेक्ष गीत गाएको थिएँ । पारिवारिक झैँ–झगडापछि वार्ताबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त गीत सारा नेपालीले मन पराउनुभयो । त्यो गीत लोकप्रिय भएपछि मेरो दिमागमा के कुराले स्ट्राइक गर्‍यो भने गीतमा वास्तविकता मन पराइँदो रहेछ । गीतमा यथार्थपरक शब्द राखियो भने त्यसले श्रोताहरूको मन छुने रहेछ । रियालिटी बिक्ने रहेछ भन्ने कुरा मैले १२ वर्षअघि नै बुझिसकेको थिएँ । त्यसैले मैले त्यही बेलादेखि नै गीतमा वास्तविकतालाई समावेश गर्न थालिसकेको थिएँ ।

विगतमा त तपाईं पपदेखि दोहोरी गीतसम्ममा संगीत दिनुहुन्थ्यो ?

हो, मैले विगतमा समय सापेक्ष हरेक प्रकारका संगीत दिएँ । सांगीतिक क्षेत्रमा टिकिरहन पप गीत बनाएँ, दोहोरी गाएँ । यद्यपि म संगीतमै रमाइरहेको थिएँ, आजको सफलताका लागि पनि त्यही बेलादेखि भित्र–भित्रै काम गरिरहेको थिएँ । अर्को शब्दमा भन्नुपर्दा म एक प्रकारको मास्टर प्लानिङ गर्दै थिएँ, त्यसले आज आएर मलाई प्रसिद्धि दिलायो ।

प्रसंग बदलौं, तपाईंसँग जोडिनु दीपक–दीपाको भाग्य हो त ?

होइन, वास्तविकता के हो भने मेरो अड्किरहेको भाग्यको साँचो खोल्ने काम उहाँहरूले गरिदिनुभएको हो । भाग्य मेरो पनि हो, उहाँहरूको पनि हो अनि आम नेपालीको पनि हो ।

सुर्के थैली...ले दीपक–दीपाको साथ कसरी पायो ?

त्यो गीत मैले धेरै पहिले नै रेकर्ड गरेर राखेको थिएँ । यो गीत चलचित्रमा प्रयोग हुनुअघि नै रेडियोबाट बजिसकेको थियो । दीपाश्री निरौलाले लोक शैलीमा आधारित उक्त गीत सुनेपछि चलचित्रमा त्यही गीत राख्ने कुरा बताउनुभयो । यो गीतको भाग्य बलियो रहेछ, मैले पनि अनपेक्षित सफलता पाएँ । त्यही गीतको लोकप्रियताबाट खुलेको मेरो संगीतको भाग्य अहिले दिनप्रति दिन चम्किरहेको छ ।

पूर्व–पश्चिम रेल...पनि उहाँहरूकै भागमा पर्‍यो नि ?

यो गीत पनि तयार भएको पाँच वर्ष भैसकेको थियो । चलचित्रका लागि प्रयोग होला भन्ने सोचेकै थिइनँ । एक दिन संगीतकार राजन इशानसँग बसेर यसलाई एरेञ्ज गरें । त्यसको केही दिनपछि दीपकराज गिरीले राजन इशानसँग नयाँ चलचित्रका लागि नयाँ गीत खोजिरहेको बताउनुभएछ । हामीले एरेञ्ज गरेको उक्त गीत दीपकजीले मन पराउनुभयो । 

तेस्रो चलचित्रमा उहाँहरूले तपाईंको गीत नलिने कारण के थियो ?

मैले सुनाएका गीत उहाँहरूको चलचित्रको कथासँग मेल खाएन भन्ने कुरा आयो । त्यसबाहेक उहाँहरूले चलचित्रको कथालाई मेल खाने मेरै शैलीको गीत पहिले नै फेला पार्नुभएको रहेछ ।

कुटुमा कुटु..गीतको सिर्जनाचाहिं कहिले गर्नुभएको थियो ?

दाँतै कालो छ, ओठै कालो छ...भन्ने लाइन त झन्डै एक दशकअघि नै लेखेको थिएँ । दोलखाको गाउँमा छँदा भारी बोक्नेहरूले चौतारामा भारी बिसाएर पातले बेरको चुरोट सल्काएपछि मुसुक्क हाँस्दा कालो दाँत देखेपछि ती शब्द फुरेका थिए । उक्त गीत चलचित्र दुई रुपैयाँमा समावेश हुने भएपछि बाँकी शब्द रचना गर्न म पुन: गाउँ (चरिकोट) पुगेँ । मेरो गाउँमा मौवाको एउटा रूख छ । त्यसको फेदमा म ढल्किने आफ्नै विशेष ठाउँ छ, त्यहाँ ढल्किएपछि कुटुमा कुटुका शब्द फुरेका थिए ।

तपाईंका गीतमा अञ्जु पन्त र मेलिना राई बाहेक अन्य गायिकाको स्वर निकै कम सुनिन्छ नि ?

मैले रचना गरेका शब्द तथा तयार पारेका मेलोडीमा उहाँहरूको स्वर सुहाउने भएकाले मेरा गीतमा उहाँहरूकै स्वर सुनिएको हो ।

कुटुमा कुटुपछि तपाईंका कतिवटा गीत लोकप्रिय भए ?

पछिल्ला आठ महिनाको बीचमा झन्डै नौवटा गीत विभिन्न चलचित्रमार्फत आएका छन् । यूट्युबमा उपलब्ध ती गीतमध्ये चलचित्र शब्दको गुलेलीले हानौं कि, चलचित्र कमलेको बिहेको टाकन टुकन टक्क, रुद्रप्रियाको चिरबिर चिरबिर, ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो, पिँजडा ब्याक अगेनको लामकाने बाख्राको, हुर्रेको ठेकीमा दही मदानीमा मही, कान्छीको चरी चट्ट परी, कोहलपुर एक्सप्रेसको सिओडब्लू काउ तथा चलचित्र पटुकीको पटुकी पटुकी गीत श्रोताहरूको रोजाइमा परेका छन् ।

अबका दिनमा कस्ता गीत आउँदैछन् ?

अशोक शर्माको चलचित्र ‘जय भोले’ का लागि तयार गरेको गीत लोकप्रिय हुने सम्भावना छ । डिट्ठा साब अर्थात् किशोर भण्डारीको चलचित्र ‘चंगा’ का लागि तयार पारेको गीत पनि कर्णप्रिय छ ।

दुई वर्षअघिको राजनराज र अहिलेको राजनराजमा के फरक छ ?

खासै फरक त केही छैन, तर यो वर्षदेखि ममा एउटा परिवर्तन आएको छ । त्यो के भने मैले स्टेजमा समेत गाउन थालेको छु । स्टेजमा गाउन थालेपछि गेटअप तथा हाउभाउ परिवर्तन गर्नुपर्ने रहेछ । कतिपय ठाउँमा म झिल्के पनि देखिएको छु । स्वदेशको मात्र होइन विदेशको सांगीतिक भ्रमण गर्ने अवसरसमेत पाएको छु । स्वदेशमा मात्र पछिल्ला तीन महिनाको अवधिमा झन्डै ३० ठाउँमा आफ्ना गीत प्रस्तुत गर्ने मौका पाएँ ।

कन्सर्टमा सबैभन्दा बढी गाउने गीत ?

प्राय: सबै लोकप्रिय गीत गाइरहेको छु । यद्यपि दर्शकहरूले कुटुमा कुटु तथा चिरबिर चिरबिर चाँचरी...बढी सुन्न खोज्नुहुन्छ ।

अहिले आएर बल्ल गायक भएको अनुभव गर्दै हुनुहुन्छ होइन ?

हो नि...आफू बल्ल गायक भएँछु जस्तो अनुभव हुन थालेको छ । मलाई थाहा थिएन, कन्सर्टको आफ्नै रमाइलो हुँदोरहेछ । पर्फमेन्सको पाटो नै अर्कै रहेछ । दर्शक तथा श्रोतासँग प्रत्यक्ष भेट हुने मौका मिल्दो रहेछ । यो त भाग्यले मात्र पाइने कुरा हो । ३० हजारसम्म दर्शकमाझ प्रत्यक्ष गीत गाउन पाउनु, उहाँहरूको प्रतिक्रिया पनि तुरुन्तै पाइनु, अन्तरक्रिया नै गर्न पाउनु लाइभ पर्फर्मेन्सको सकारात्मक पाटो रहेछ, जुन म अहिले अनुभव गरिरहेको छु । 

दर्शकले तपाईंलाई कसरी स्वागत गरिरहेका छन् ? 

दर्शकभन्दा पहिले कार्यक्रम आयोजकको कुरा गर्छु । आयोजकमध्येका एक जनाले मलाई चिन्नुहुँदो रहेछ । मलाई बोलाउने कुरा चलेपछि ‘राजनराज को हो ?’ भन्ने बहस चल्दो रहेछ । कुटुमा कुटु, सुर्के थैली गाउने गायक...भनेपछि मात्र सबै जना सहमत हुनुहुँदो रहेछ, अर्थात् मलाई व्यक्तिगत रूपमा भन्दा पनि मेरो कामबाट चिनिन थालिएको रहेछ । पाश्र्व गायकहरूको मुख्य समस्या नै यही हो । दर्शकहरूसँगको प्रसंग पनि रमाइलो छ । स्टेजमा नउक्लिउन्जेल मलाई कसैले पनि चिन्दैनन् । स्टेजमा उक्लिएर प्रस्तुति दिएपछि म यति व्यस्त हुन्छु कि कुरै नगर्नुस् । यस्ता लोकप्रिय गीत गाउने तपाईं नै पो हुनुहुँदो रहेछ भनेर मसँग कुरा गर्न चाहने, तस्बिर खिच्न चाहनेहरूको संख्या यति ठूलो हुन्छ कि कन्सर्ट सकिसक्दा पनि म उहाँहरूकै बीचमा हुन्छु । 

 

दर्शकहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ ? 

कुटुमा कुुटु गीतसम्बन्धी प्रतिक्रिया बढी पाउँछु । तपाईंको गीत नसुनि मेरो छ महिनाको छोरा सुत्नै मान्दैन । मेरी सानी भान्जी तपाईंको गीत बजेपछि मात्र खाना खान्छिन् । मेरो भतिजोलाई सुताउनुपर्‍यो भने तपाईंको गीत नबजाई हुँदैन जस्ता प्रतिक्रिया पाउँदा मन प्रफुल्लित हुन्छ । 

अबको व्यस्तता कस्तो छ ? 

चैतभरि सांगीतिक कार्यक्रमहरूमै व्यस्त छु । यसबीच पुन: एक पटक पूर्वदेखि पश्चिम नेपालसम्म पुग्नु छ । यही क्रममा एक पटक कतार पनि जाँदैछु । हङकङ, अस्ट्ेरलिया र दुबईपछि कतारको सांगीतिक यात्रा गर्ने अवसर प्राप्त भएको छ । 

आगामी दिनका लागि कस्ता गीत तयार पार्दै हुनुहुन्छ ? 

मैले थुप्रै गीत तयार पारेर राखिसकेको छु । अझ भनौं मसँग गीतको भकारी नै छ । चलचित्रलाई कहिलेसम्म मेरो गीत चाहिन्छ, त्यतिबेला सम्मका लागि मसँग उत्कृष्ट गीतहरूको स्टक छ । चलचित्रका निर्माता–निर्देशकहरूले छानी–छानी मेरा सिर्जना सुनेर आफूलाई चित्त बुझेपछि मात्र लानसक्नु हुन्छ । 

भनेपछि तपाईं आफ्ना सिर्जनाबाट सन्तुष्ट हुनुहुन्छ ? 

एउटा सर्जक आफ्ना सिर्जनाबाट कहिल्यै सन्तुष्ट हुन सक्दैन । म पनि सन्तुष्ट छैन । म त भन्छु, मबाट खास चिज त आएकै छैन । मैले जे चाहेको हो, त्यो त अझै आएको छैन । 

तपाईंले चाहेको सिर्जना कस्तो हो ? 

यही नै हो भन्ने त छैन तर मलाई योचाहिँ बबालै हो, यो गीतले चाहिँ अचम्मै गर्‍यो भन्ने शैलीको गीत तयार पार्न मन छ । भाग्यले साथ दियो भने त्यो दिन पनि चाँडै आउँछ । अहिले ममा एक प्रकारको छटपटि छ । यो एउटा उत्कृष्ट गीत सिर्जना हुनुअघिको छटपटि हो कि जस्तो पनि लाग्छ । किनभने मैले पछिल्लो एक दशकदेखि गृहकार्य गरिरहेका गीत सार्वजनिक भैसके । ती गीतले आफ्नै प्रकारले दर्शक तथा श्रोताको मन जितिसके । अहिले आएर मैले कल्पना गरेको त्यो विशेष चिज आउँछ कि भन्ने झझल्को आइरहेको छ । मैले विशेष भन्न खोजेको गीत हिट होइन, आत्मसन्तुष्टिको हिसाबले मनले खाने गीत भन्न खोजेको हुँ । 

त्यस्तो गीत बन्न के कुराले रोकिरहेको छ त ? 

अहिले वातावरण मिलिरहेको छैन । त्यसका लागि मलाई शान्त वातावरण चाहिन्छ । म मानसिक रूपले पनि शान्त हुनु अनिवार्य छ । पारिवारिक बन्धनदेखि यति दिनभित्रमा गीत तयार पार्नुपर्छ भन्ने सीमामा बाँधिएर काम गर्नु परेको छ । एक वर्षजति स्ट्ेरसरहित भएर बस्न पाए अझ उत्कृष्ट गीत सिर्जना गर्न सफल हुन्थें कि ? 

तपाईंका पछिल्ला सिर्जना दबाब र तनावबाट मुक्त भएर गरिएको कामको नतिजा हो त ? 

हो नि । मैले विगत एक दशकमा कुनै पनि दबाबबिना ती गीत सिर्जना गरेको हुँ । कतिसम्म भने सुर्के थैली खै... गीतमा ‘रौं कातेर बुनेको’ शब्दमा रौं लेखौं कि ऊन लेखौं भनेर निक्र्यौल गर्न नै दुई महिना लाग्यो । त्यतिबेला ममाथि कुनै पनि प्रकारको दबाब थिएन, त्यसैले रौं र ऊनमध्ये एउटा शब्द छनौट गर्न दुई महिनाको समय दिन सकें । आजको दिनमा त्यस्तो समय असम्भव छ । अहिले एउटा शब्द होइन पूरै गीतलाई नै दुई महिना दिन सक्ने अवस्था छैन । 

एउटा राम्रो गीत बन्न के–के कुरा चाहिन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा शब्द नै शक्तिशाली हुनुपर्छ । शब्द शक्तिशाली भयो भने गीत आफैं शक्तिशाली बन्छ । कथा, कविता, समाचार, भाषण आदि सबै कुरा शक्तिशाली हुने भनेकै शब्दले हो । गीत पनि त्यही हो । जति स्तरिय शब्द, त्यति नै स्तरीय गीत । त्यसैले म राम्रो गीत बन्न गीतको शब्द नै विशेष हुनुपर्छ भन्छु । त्यसपछि मेलोडी, एरेञ्जमेन्ट अनि स्वरको कुरा आउँछ ।

प्रकाशित :चैत्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्