गीत चोरीले दिएको सन्देश

- महेश तिमल्सिना

चैत्र २६, २०७४

पछिल्लो समय नेपाली चलचित्रका निर्माता निर्देशकहरूलाई गीत चोरीको आरोपले हैरान बनाउन थालेको छ । दुई महिनाअघि यो वर्षकै बहुप्रतीक्षित चलचित्र ‘कृ’ प्रदर्शनमा आयो । चलचित्रले राम्रै व्यापार गर्‍यो । यद्यपि उक्त चलचित्रमा समावेश गरिएको ‘उकालीमा पछि पछि’ गीत चोरी प्रकरणमा चलचित्रका निर्माता सुवास गिरी पक्राउ परे । २०४० सालमा बनेको चलचित्र ‘सम्झना’ को गीत अनुमतिबिना नै ‘कृ’ मा समावेश गरिएको भन्दै ‘सम्झना’का निर्माता तथा निर्देशक शम्भू प्रधानले ‘कृ’ का निर्माता सुवास गिरी, भुवन केसी एवं संगीतकार अल्मोडा राना उप्रेतिविरुद्ध जाहेरी दिएका थिए । 

उनले जाहेरी दिएसँगै प्रहरीले गत मंगलबार अर्थात् चैत १३ गते गिरीलाई पक्राउ गरेर हिरासतमा राख्यो । गीत होस् वा संगीत दुवैको चोरीमा प्रत्यक्ष संलग्नता गीतकार अथवा संगीतकारको हुन्छ । यसरी हेर्दा ‘कृ’ को उक्त गीत चोरीको दोष पनि अल्मोडालाई नै जानुपर्ने हो, तर यो मामिलामा निर्माता गिरी निर्देशक प्रधानलाई ११ लाख क्षतिपूर्ति तिरेर बुधबार हिरासतबाट मुक्त भए । यो विषयमा गिरीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको भन्दै दुखेसो समेत पोखे । यो त एउटा प्रतिनिधि घटना मात्र हो । 

पछिल्लो समय निर्माण भएका धेरैजसो नेपाली चलचित्रमाथि गीत चोरीको आरोप लाग्ने गरेको छ । आफ्नो गीत चोरी भएको थाहा पाएपछि कतिपय कानुनी सहायताका लागि सम्बन्धित ठाउँसम्म पुग्छन् भने कोहीचाहिं आपसी मिलापत्रमा विवाद टुंग्याउँछन् । यही वर्ष प्रदर्शनमा आएको अर्को चलचित्र छक्कापञ्जा –२ को ‘नाइलनको साडीमा’ गीतमाथि पनि चोरीको आरोप लागेको थियो, जसले गर्दा संगीतकार अल्मोडाले निकै आलोचना खेप्नुपर्‍यो । उक्त गीत चोरीको कानुनी प्रक्रिया अघि बढ्न नपाउँदै निर्माण पक्षले त्यसलाई सामसुम पारेको थियो । यसरी हेर्दा अल्मोडा बेलाबेलामा गीत चोरीको आरोपमा रुमल्लिरहन्छन् । अब त उनीसँग काम गर्न चलचित्रका निर्माताहरूसमेत हच्किन थालेका छन् । त्यस्तै, यही चैत ९ गते प्रदर्शनमा आएको चलचित्र ‘शत्रुगते’ को ‘रुपै मोहनी’ गीत चोरी भएको भन्दै लोकगायक कुमार बस्नेतले उक्त गीतका संगीतकार टंक बुढाथोकीमाथि आरोप लगाएका छन् । टंक पनि गीत चोरीको आरोपमा मुछिइरहन्छन् ।

 यसैगरी, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डमरुको डन्डिबियो’को ‘तितेपाती तितेपाती’ गीत आफ्नो भएको गायक प्रकाश पौडेलले दाबी गरेसँगै यतिबेला संगीतकार कालिप्रसाद बाँस्कोटासमेत विवादमा तानिएका छन् । गीतकार तथा संगीतकारहरू बेलाबेला गीत चोरीको आरोपमा तानिरहन्छन् । आफ्नो सम्पत्ति चोरी हुँदा प्रहरीसामु उजुरी हाल्न जानु नराम्रो होइन भने यस्तो आरोप नआओस् भनेर स्रष्टा स्वयं इमान्दार हुनुपर्ने संगीतकार सुरेश अधिकारी बताउँछन् । अधिकारी भन्छन्, ‘कुनै पनि स्रष्टाको सिर्जना भनेको उसको सम्पत्ति हो । त्यसैले कुनै पनि स्रष्टाले अरूको सम्पत्तिको पनि सुरक्षा गर्न सक्नुपर्छ । अर्को कुरा गीत चोरीको यस्तो आरोप नआओस् भनेर स्रष्टा नै इमान्दार भै यो कसैको सम्पत्ति हो कि होइन, निक्र्यौल गर्नुपर्छ । यति मात्र गर्न सके यस्ता आरोप आफैं कम भएर जान्छ ।’

अन्तर्राष्ट्रिय नियमअनुसार गीत संगीतको निश्चित सिमाना मिल्न सक्छ, तर सात बारभन्दा बढी भए कपि भएको मानिन्छ । नेपालमा पछिल्लो समय गीतकार तथा संगीतकार ह्वात्तै बढेकाले छिट्टै दाम र नाम कमाउन पनि अरूको चलेको शब्द–संगीत प्रयोग गर्न थालिएको र त्यसलाई नियन्त्रण गर्ने निकाय नभएका कारण गीत चोरीे हुने गीतकार राजेन्द्र थापा बताउँछन् । थापा भन्छन्, ‘हिजोका दिनमा यस्ता कुरा रेडियो नेपालबाट नियन्त्रित हुन्थ्यो, तर अहिले स्वतन्त्र छ ।’ अर्को कुरा हिजोआज स्रष्टाहरू गीत चोरी भएपछि जाहेरी दिन प्रहरी कार्यालय पुग्छन्, तर प्रहरीको सट्टा रजिस्टार कार्यालयमा मुद्दा हाल्न जाने हो भने यस्ता विकृति हट्ने थापाको दाबी छ । 

गीत चोर्नु र घरको ताला फोर्नु एउटै हो 

 लक्ष्मण शेष

अध्यक्ष, नेपाल संगीतकार संघ 

स्रष्टाहरूमाथि पटक–पटक गीत चोरीको आरोप लाग्छ किन ? 

वास्तवमा स्रष्टाहरू आफैँ चोरीमा संलग्न हुँदैनन् । तथाकथित व्यवसायीहरूले विभिन्न पोर्टलमार्फत कुनै लगानीबिना नै आर्जन गरिरहेका हुन्छन् । अर्कातर्फ स्रष्टाहरू सिर्जना गर्छन् अनि आफ्नै सिर्जना सुनेर मख्ख पर्छन् तर, त्यसबाट अर्कैले करोडौँ रुपैयाँ कमाइरहेको हुन्छ । यसरी कलाकारहरूको सिर्जनाबाट लगानीबिना कमाउन पल्किएकाहरूले चाहिँ लाभ लिइरहेका छन् । जहाँसम्म केही सिर्जना मिल्ने–मिलाउने कुरा छ यो चाहिँ केही लोभी तथा आफूमा क्षमता नभएकाहरूको अनुचित लाभ लिने प्रयास हो । 

 

गीत चोरीमा मुख्य भूमिका गीतकारको हुन्छ कि संगीतकारको ?

दुवैको बराबर भूमिका हुन्छ । प्रतिलिपि अधिकार ऐन–२०५९ मा गीतकार तथा संगीतकार दुवैलाई रचयिता अर्थात मूल स्रष्टा भनिएको छ, जसलाई सिर्जनाको जननी पनि भनिन्छ ।

गीत चोरीकै आरोपमा चलचित्र ‘कृ’ का निर्माता थुनामा परे । यसरी निर्मातालाई थुनेर वा क्षतिपूर्ति तिराएर यो समस्या समाधान होला ?

सिर्जना भनेको भौतिक सम्पत्तिसरह हो, जुन स्रष्टाको मौलिक अधिकार हो । त्यसैले स्रष्टाहरूले आफ्नो सिर्जना चोरी हुने, नक्कल हुने कुरामा अलिकति सचेत भएर कानुनी सहायता लिने हो भने धेरै मानिस जेल जान्छन् र धेरैले ठूलो क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । जसले गर्दा सबैले सचेत हुनुपर्ने अवस्था आएको छ । अर्को कुरा यहाँ निर्माताको कुरा आएको छ । चलचित्र बनाउन लागेका निर्माताले पनि गीत–संगीतका बारेमा ज्ञान राख्नुपर्छ । होइन भने क्षमता भएका संगीतकारहरूलाई लिनुपर्‍यो अन्यथा यस्तै समस्या भोग्नुपर्छ ।

 

यसलाई रोक्न संगीतकार संघले कस्तो पहल गर्दैछ ? 

संगीतकार संघ एउटा सामाजिक संस्था हो । यो एकदमै साधना गरेका हस्ती संगीतकारहरूको संगठन हो । यसको काम संगीतकारहरूको अधिकारको रक्षा, संगीतकारहरूको कल्याण, व्यवस्थापन एवं अन्तर्राष्ट्रियस्तरमा उनीहरूको व्यक्तित्व  विकास गर्ने आदि हुन् । त्यस्तै हामी प्रतिलिपी अधिकार र वौद्धिक सम्पत्तिमाथि संगीतकारहरूको जुन अधिकार छ त्यसमा राज्य तथा सम्बन्धित स्टेक होल्डरहरूको ध्यानाकर्षण पनि गराउँछौँ । 

गीत चोरी रोक्न के गर्नुपर्ला ? 

गीत चोरी हुनु र घरको ताला फोर्नु उस्तै–उस्तै हो । स्रष्टाहरू नै इमान्दार भएर बौद्धिक सम्पत्तिको रक्षा गर्न लागिपर्ने हो भने यो समस्या आफैँ समाधान भएर जान्छ ।

 

प्रकाशित :चैत्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्