भान्साभित्रका खबरहरू

- किशोर नेपाल

चैत्र २४, २०७४

 

यो कुरा त सबैलाई थाहा थियो : प्रधानमन्त्रीले जनताको नाममा नेपाल टेलिभिजन र रेडियो नेपालबाट सन्देश दिएपछि मात्र शासन सम्हाल्नेछन् । समाचारदाताहरूले खबर पाइसकेका थिए— प्रधानमन्त्रीको प्रेस कन्फरेन्स हो । पत्रकारहरूलाई भोकभोकै राखेर त के शासन सुरु गर्लान् र ? प्रधानमन्त्री निवासमा पाइने खाजाका बारेमा सबैलाई थाहा छ : स्ट्यान्डर्ड हुन्छ । अब कुन स्ट्यान्डर्ड ? आँगन कि साजन ? मेरा मीत कि तेरा प्रित । देशका प्रधानमन्त्रीले संसद्मा भाषण गरेर सरकारको दाम्लो समात्दैछन् भनेपछि खाजा राम्रो हुन्छ । खाजा राम्रो नभए समाचार राम्रो हुन्छ । बालकेशरलाई पत्रकारितामा नआउन्जेलसम्म यस्ता खबरसँग बाल मतलब थिएन । अहिले स–सानो डिटेल्स पनि खोज्छ ऊ ।

केही बेरपछि बालकेशरले थाहा पायो, प्रधानमन्त्रीबाट हुन लागेको राष्ट्रिय प्रसारण रोक्यो प्रतिपक्षले । पहिले त प्रतिपक्ष पनि प्रमुख हुन्थ्यो । अहिले छैन । प्रतिपक्षले प्रसारण रोकेकाले प्रधानमन्त्रीले रोस्ट्रममा पुग्नै परेन । संसद् र प्रधानमन्त्रीको गला दुवै अवरुद्ध भयो । अघिसम्म प्रधानमन्त्रीको अनुहारमा चमकै चमक थियो । अहिले अनुहारमा दमक मात्र बाँकी रह्यो । त्यो दमक लिएर उनी सभामुखको कार्यकक्षमा पुगे । अब प्रतिपक्षसँग झगडा भए पनि त्यही हुने भयो । मेलमिलाप भए पनि त्यहीँ हुने भयो ।

प्रधानमन्त्री धेरै पत्रकारको दृष्टीमा परिपक्व विद्वान् मानिन्थे । ६० वर्षभन्दा माथि लागिसकेपछि पनि त्यति ‘स्मार्ट’ र ‘सेक्सी’ कमै मानिस देखिन्थे । बोल्दा चारैतिर आँखा नचाएर बोल्ने प्रधानमन्त्रीको भाषा लरतराले बुझ्नै नसक्ने । पहिले जेलको कुरा गर्थे रे, अहिले रेलको कुरा बढी गर्छन् । शब्दमा जे बोलिरहेका छन, शरीरमा चाहिं त्यस्तो हाउभाउ, कटाक्ष केही नदेखिने ।

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधनको प्रसंगमा पत्रकारहरू सोच्दै थिए, देशमा अहिलेसम्म जो–जो प्रधानमन्त्री भएका छन् तिनको चरित्रको वर्णन गर्ने हो भने एउटा राम्रो एनुअल रिपोर्ट तयार हुन्छ । पाठकहरूले पढ्न चाहने पनि त्यही हो । प्रधानमन्त्रीका मखिबुट्टे जुँगाका बारे कति कुरा काटेका हुन्छन् मानिसहरूले । एकताका उनले लगाएका कलरफुल दौरा–सुरुवालसमेत युवतीहरूको सर्कलमा चर्चाको विषय थियो । उनले लगाएका घडी, उनी सुतेका पलङ, उनले खाएको खसीको मासु, उनले खाएको कुखुराको भुटन : के मात्र चर्चित भएनन् ?

नेपालमा प्रधानमन्त्री भएका र अब हुने व्यक्तित्वहरूका आ–आफ्नै स्वभाव छन् । एमालेका नेताहरूमध्ये सबैभन्दा बुद्धिजीवी झलनाथ खनाल भए पनि उनको विशेषता केही देखिएको छैन । झलनाथ उपचार केन्द्र हो कि चिकित्सा प्रतिष्ठान खोलेर बसेका छन् । प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि अब्बा–डब्बा कम्पनीको सुट लगाउँथे । भर्सासे पर्प्mयुम उनको प्रिय सुवास थियो । लाउनमा उनको विशेष रुचि थियो । देश–देशान्तरको भ्रमणको त कुरै नगरौं । जोसुकै प्रधानमन्त्री भए पनि भ्रमणमा उसको चाख नहुने कुरै भएन । खनाल पनि भ्रमणका सौखिन थिए । उनको व्यक्तित्वमा पनि प्रशस्तै सेक्स अपिल नभएको त होइन, तर एमाले पार्टीको नेता भएकाले त्यो अपिल स्वत: कुण्ठित भयो ।

माधव नेपाल कामरेडलाई सामान्य दाल–भात–तरकारीबाहेक त्यस्तो नभै नहुने केही छैन । यत्ति हो कि उनको हातमा एउटा क्यामेरा हुन्छ । उनी बिहान दस बजेभित्र भान्सा कोठाको पिर्कामा बसेर दाल–भात खाइसक्छन् । ग्याँस्ट्रिकले सार्‍है दु:ख दिएको छ । डाक्टर भन्छन्, ग्याँस्ट्रिकको त उपचारै छैन । एमालेका लागि सर्वाधिक उपयुक्त र अद्भुत नेता भएकाले उनले देशको शासन कम गरे, पार्टीको शासन लामो समयसम्म चलाए । माधव नेपाल एक मात्र त्यस्ता व्यक्तित्व हुन् जसको लाइफ स्टाइल प्रधानमन्त्री नभएका बेला कमनरको जस्तो हुन्छ । उनी एकपटक प्रधानमन्त्री भएपछि जीवनभर प्रधानमन्त्रीकै लाइफ स्टाइल धान्नुपर्ने कुरामा विश्वास नगर्ने व्यक्तित्व हुन् । उनी आफैं पनि मोबाइललाई सेल्फी मोडमा राखेर फोटो खिच्न माहिर छन् ।

पुराना नेताहरूमा ठूला–ठूला नाम चर्चामा आउँथे : कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द । समकालीनहरूका अनुसार, यीमध्ये सबै नै रोमान्टिक थिए । लुकेर रोमान्स गर्ने खालका । उनीहरू के.एल. सहगल, उमादेवी, तलत महमुद आदिले गाएका गीत मन पराउँथे । चिया, पान र सुपारीका सौखिन यी महान् आत्माहरू साँझ कसैले थाहा नपाउने हिसाबले रसपान पनि गर्थे । 

त्यसपछि पत्रकारहरूको दृष्टि बाबुराम भट्टराईमा पुगेर अडियो । उनी सधैं आफूलाई समाजले चिनेन भन्दै गनगन गर्थे । उनी आफ्ना बारेमा सबैको दृष्टिकोण पूर्वाग्रही छ भन्ने सोचाइ राख्थे । पहिलो कुरा त, भट्टराईले आफ्नो नामको अगाडि झुन्ड्याएको ‘डाक्टर’ शब्द नै कसैले मन पराएका थिएनन् । गोरखाका जनताले गाउँमा डाक्टर आएछन् भनेर खोकी जँचाउन आए भने के जवाफ देलान् यी डाक्टरले ? जनतालाई डाक्टर शब्दले झुक्याउँछ ।

प्यूसा पत्रकारहरूले डाक्टर भट्टराईमा कुनै सेक्स अपिल फेला पारेनन् । सार्‍है रुखो देखिने, कहिल्यै बोरोप्लस नलगाएको अनुहार । सधैं नीरस शब्दहरूको प्रयोग । सुन्दा के न के लाग्ने । बुझ्दा र छोडाउँदा एबस्ट्रयाक्ट चिन्तन बन्दागोबी । बाबुरामको व्यक्तित्व सम्भँmदा–सम्झँदै पत्रकारहरूले सोचे, यीचाहिं पक्का चालु माल हुन् । बजारमा टिक्न गाह्रो छ । पार्टी पनि हावादारी बनाए, तर भन्न सकिन्न, कुन बेला सबैलाई थाङ्नामा सुताएर कांग्रेसकै समर्थनमा फेरि एकपटक प्रधानमन्त्री पदको घोडा चढ्ने हुन् ?

प्रकाशित :चैत्र २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्