आवरण डिजाइन चोरेको आरोप झूटो हो

- नरेन्द्र रौले

चैत्र २२, २०७४

शिवानीसिंह थारुका थुप्रै परिचय छन् । मोडल, भिजे, एयर होस्टेस, नाटक लेखक तथा निर्देशक । यसमा अर्को परिचय थपिँदैछ– लेखिका । चैत २९ गते उनको उपन्यास काठमाडौंमा एक दिन सार्वजनिक हुँदैछ । फाइन प्रिन्टले बजारमा ल्याउन लागेको यो पुस्तक बजारमा आउनुअघि नै चर्चामा छ । बीबीसी मिडिया एक्सनमा नाटक लेखक तथा निर्देशकका रूपमा काम गर्दागर्दै पुस्तक लेख्नकै लागि जागिर छाडेकी थारूसँग साप्ताहिकका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

काठमाडौंमा एक दिन पुस्तक सार्वजनिक नहुँदै यसको आवरण डिजाइन चोरीको आरोप खेप्नुपर्‍यो । यसलाई कसरी लिनुहुन्छ ?

यो आवरणलाई लिएर मानिसहरूले सामाजिक सञ्जालमा अनेक टीका–टिप्पणी गरे । कतिले चोरेको भनेर आरोप लगाए, तर यो चोरी होइन । यो असिम शाक्यजीको डिजिटल पेन्टिङ हो । त्यसको मोडल सबिर चुरौटे हुनुहुन्छ । उहाँ नाटकमा पनि अभियन गर्नुहुन्छ । आवरणमा देखिएको गिद्धको सुड र प्वाँख कुनै फन्डा होइन । त्यो कथामा जोडिएको एउटा घटनासँग सम्बन्धित छ । केटाले बन्दुक लिएर उभिएको जुन पोज छ, त्यो अर्को फोटोसँग संयोगवश मिल्न गएको मात्र हो । यसलाई चोरिएको भनिँदैन । यस्तो पोज हलिउड, बलिउडका पोस्टरमा पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमा त्यसैलाई विषय बनाएर रमाइलो गर्नेहरूलाई रमाइलो गर्न दिनुपर्छ । 

नेपालमा पुस्तकको कभर सार्वजनिक गर्ने कार्यक्रम खासै हुँदैनन् । औपचारिक कार्यक्रममार्फत तपाईंको पुस्तकको कभर सार्वजनिक गरियो । यो सोच कहाँबाट आयो ?

पुस्तकको आवरण कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझाउन उक्त कार्यक्रम गरिएको हो । पुस्तकको कभर सशक्त छ भने त्यसले आममानिसमा कौतूहलता जन्माउँछ । अर्कातिर त्यसले बिक्रीमा सिधै फरक पार्छ । आवरण नै पुस्तक पढौं–पढौं लाग्ने खालको होस् । मेरो पुस्तकको आवरण भिन्न प्रकृतिको छ । सबैले चलचित्रको पोस्टर जस्तो भयो, अलि कलात्मक खालको बनाएको भए हुन्थ्यो पनि भन्नुभएको छ । तर नेपालमा पुस्तकको आवरण सार्वजनिक हुने कार्यक्रम सुरुवात हुँदै जान्छ होला । 

पुस्तकको शीर्षक काठमाडौंमा एक दिन कसरी जुर्‍यो अनि आवरण कसरी तयार पारियो ? 

काठमाडौंमा एक दिन उपन्यासमा एक दिनको घटना मात्र छ । त्यो शीर्षकबाटै प्रस्ट हुन्छ । मैले उपन्यासको सारांश असिम शाक्यलाई दिएकी थिएँ । त्यसमा मधेस पनि आउनुपर्‍यो, त्यहाँको एउटा पात्र छ, उसको आक्रोश पनि आउनुपर्‍यो, पुस्तकमा एक किसिमको सस्पेन्स छ, त्यो र काठमाडौंको चित्र आउनुपर्‍यो भनेकी थिएँ । त्यसैका आधारमा पुस्तकको आवरण तयार भयो । 

यो उपन्यास कुन विषयमा केन्द्रित छ ?

यसमा सस्पेन्स टाइपको कथा छ । राजनीतिक तथा सामाजिक कथामा आधारित विषयवस्तु छ । सस्पेन्स टाइपको भएकाले म धेरै कुरा खुलाउन चाहन्न । ती कुरा अहिल्यै भनिदिँदा उपन्यास पढ्दा त्यति मज्जा नआउन सक्छ । उपन्यास सार्वजनिक भैसकेपछि थाहा भैहाल्छ । 

एउटा पुस्तक लेख्न नौ वर्ष लगाउनुभयो । किन यत्रो समय लाग्यो ?

किताब लेख्नकै लागि मैले बीबीसीको जागिर छाडें । कमाइ पनि राम्रै थियो । पटक–पटक अध्ययन, अनुसन्धान र फिल्ड भिजिट गरियो । देशमा राजनीतिक फेरबदल भैरह्यो । पहिले लेखिएका राजनीतिक मुद्दा फेरिए । त्यसबाहेक मैले यसलाई धेरै पटक पुनर्लेखन गरेकी छु । अर्को पुस्तकमा त्यस्तो गर्नु नपरोस् भनेर कामना पनि गरेकी छु । त्यस क्रममा पुस्तकका दुईवटा पात्रलाई नै हटाएँ । सुरुमा जस्तो पनि लेख्न सक्छु जस्तो लाग्यो । जब मैले पाठक बनेर आफ्नै उपन्यास पढें, त्यसपछि धेरै पटक पुनर्लेखन गरें । कति पटक पुनर्लेखन गरियो, गन्नै छाडें ।

नौ वर्षको मेहनतपछि उपन्यास सार्वजनिक हुँदैछ । मन कत्तिको हलुंगो छ ?

थोरै मात्र हलुंगो भएको छ । दिमागमा अर्को कथा फुरिसकेको छ । मैले अर्को पुस्तक लेख्नुपर्छ । त्यसैले यो उपन्यासको विमोचन चाँडै सकियोस् र अर्को कथा, नाटक लेख्न बसूँजस्तै भैसकेको छ । 

कसको लेखनबाट ईष्र्या लाग्छ ?

धेरै छन् त्यस्ता । अंग्रेजी लेखकहरू छन् । नेपालमा बीपी कोइराला, आई.बी. राई, धच  गोतामे, बुद्धिसागर, नयनराज पाण्डे । सबैभन्दा बढी भैरव अर्यालको लेखनबाट । उहाँले मीठा र राम्रा शब्दहरू प्रयोग गर्नुभएको छ, त्यो खालका शब्द अर्यालबाहेक अरू कसैले सिर्जना गर्न सक्दैनन् । 

तपाईंका प्रिय लेखक को–को हुन् ?

मलाई हुरुक्क पारेको नाइन्स ड्रयु, एनेब ब्लोइटन तथा हार्डी ब्वायका साहसिक कथाहरूले हो । जब सर आर्थर कोनान डोयलको सालक होम्स पढें, त्यसपछि मलाई भित्रैबाट उहाँजस्तो कसैले लेख्न सक्दैन । सक्यो भने त्यो भगवान् नै हो भन्ने लाग्यो । उहाँमेरो आदर्श हो । प्रिय लेखकमा चाल्र्स डिकेन्सलगायत अरू पनि छन् । 

प्रकाशित :चैत्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्