“३० अन्डर ३०” का नेपाली

- साप्ताहिक संवाददाता

चैत्र २२, २०७४

धनी तथा प्रभावशालीहरू व्यक्तिको सूची जारी गर्ने अन्तर्राष्ट्रिय म्यागजिन फोब्र्सले उदीयमान युवाहरूको सूचीमा ६ जना नेपाली युवालाई समेटेको छ । सन् २०१८ का लागि फोब्र्सले विभिन्न विधामा जारी गरेको एसियाका ‘३० अन्डर ३०’ उदीयमान युवाको सूचीमा नेपालमा ६ जना युवाले स्थान पाएका हुन् । 

फोब्र्सले जारी गरेको सूचीमा सोसल इन्टरपेनर्स विधामा ५ जना तथा इन्डस्ट्री, म्यानुफ्याक्चर एवं इनर्जी विधाको सूचीमा १ जना नेपाली युवा अटाएका हुन् । नवीनतम सोच र सम्भावना बोकेका युवाहरूलाई समेटेर फोब्र्सले विगत तीन वर्षदेखि ‘३० अन्डर ३०’ को सूची तयार पार्दै आएको छ । 

सन् २०१८ को उक्त सूचीमा सोसल इन्टरप्रेनरसिप क्याटागोरीमा ‘खाली सिसी म्यानेजमेन्टकी संस्थापक आयुषी केसी पनि छिन् । यही क्याटोगोरीमा इकोसेल इन्डस्ट्रीका तीन जना युवा निशान श्रेष्ठ, सचित पण्डित तथा सुवास श्रेष्ठ छन् । यस्तै, अमेरिकामा चर्चामा रहेकी नेपाली चेली कञ्चन अमात्य पनि त्यही क्याटागोरीमा समेटिएकी छिन् । फोब्र्सको ३० अन्डर ३० को सूचीमा परेका अर्का नेपाली हुन्— एन्जल निरौला । उनी इन्डस्ट्री/ म्यानुफ्याक्चर तथा इनर्जी क्याटागोरीको ३० अन्डर ३० को सूचीमा छन् । निरौला घाम पावरका म्यानेजिङ डाइरेक्टर हुन् । 

फोब्र्सले ‘३० अन्डर ३०’ लागि कला, इन्टप्राइज टेक्नोलोजी, फाइनान्स एण्ड भेन्चर क्यापिटल, इन्डस्ट्री/म्यानुफ्याक्चर/इनर्जी, मिडिया/मार्केटिङ/एड्भन्टिजमेन्ट, सेलिब्रेटी, योङ्गेष्ट, विग मनी, रिटेल/इकमर्स, कन्जुमर टेक्नोलोजी, इन्टरटेन्मेन्ट/स्पोट्र्स, हेल्थकेयर/साइन्स, सोसल इन्टरपेनर्सजस्ता विधामा उल्लेखनीय कार्य गर्ने युवाहरूलाई सूचीकृत गरेको हो । तीन वर्षदेखि फोब्र्सले ३० अन्डर ३० को सूची प्रकाशन गर्दै आएको छ । गत वर्ष एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवामा पाँच जना नेपालीले स्थान पाएका थिए ।

इको सेल 

को–फाउन्डर, इको सेल इन्डस्ट्रिज

इको सेल इन्डस्ट्रिज आर्थिक, पर्यावरण—अनुकूल भूकम्पप्रतिरोधी निर्माण सामग्री निर्माण गर्न समर्पित स्टार्टअप कम्पनी हो । सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपश्चात् निशान श्रेष्ठ, सचित पण्डित तथा सुवास श्रेष्ठले भवन निर्माणमा छिटो र सस्तो प्रविधि प्रयोग गर्नुपर्ने खाँचो महसुस गरे । उनीहरूले लेगोजस्तो इन्टरलकिङ इँटा प्रयोगमा ल्याए । माटोले बन्ने उक्त इँटामा १० प्रतिशत सिमेन्ट हुन्छ, जसलाई त्यसपछि मेसिनद्वारा एउटा आकार दिइन्छ । इको सेलले मेसिनरी आपूर्ति, निर्माण परामर्श सेवा तथा प्रशिक्षण समेत प्रदान गर्दै आएको छ । यही नवीन सोचका लागि फोब्र्सले इको सेलका, को–फाउन्डरहरूलाई एसियाका ‘३० अन्डर ३०’को सोसल इन्टरपेनर्स क्याटागोरीमा समेटेको हो । 

कञ्चन अमात्य 

फाउन्डर, सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभ (एसएफएफआई)

कञ्चनलाई सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभ (एसएफएफआई)को फाउन्डरका रूपमा यो सूचीमा समावेश गरिएको छ । कञ्चनको कम्पनीले जलकृषि उत्पादनमार्फत गरिबी निवारण एवं खाद्यान्न असुरक्षा हटाउन काम गर्दै आएको छ । यसका साथै एसएफएफआईले ग्रामीण क्षेत्रका महिलाहरूलाई साना उद्यम सुरु गर्न फाइनान्स, टेक्नोलोजी, स्थानीय स्रोतहरूको उपयोग तथा तालिम उपलब्ध गराउदैं आएको छ । अमात्यको कामलाई अमेरिकाका पूर्वराष्ट्रपति विल किन्टन, नेपाल सरकार तथा संयुक्त राष्ट्र संघले मान्यता दिएको फोब्र्सले जनाएको छ । कञ्चनले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि युएन वुमन ग्लोबल च्याम्पियनका रूपमा समेत योगदान पुर्‍याउँदै आएकी छिन् । 

आयुषी केसी

संस्थापक, खालीसिसी म्यानेजमेन्ट 

आयुषी केसी नेपालमा ‘जिरो वेस्ट गोल’मा काम गरेर विश्वमा परिवर्तन ल्याउने सोचमा छिन् । युएसएडकी पूर्वकर्मचारी केसी जागिर छोडेर सामाजिक उद्यममा लागिन् र उनले खाली सिसी म्यानेजमेन्ट प्राइभेट लिमिटेडको स्थापना गरिन् । खालीसीसीडटकम १३ हजारभन्दा बढी पुन: प्रयोग गर्ने कवाडी विक्रेता तथा कवाडी सामान क्रेतासँग जोडिएको छ । पुन: प्रयोग गर्न मिल्ने पदार्थहरूलाई उनले ल्यान्डफिल्ड (फोहोर फाल्ने ठाउँ) बाट केही टाढा राख्न खोजेकी छिन् । केसीले पुन: प्रयोग गर्न मिल्ने पदार्थहरूप्रति आममानिसको धारणामा परिवर्तन ल्याउन खोजिरहेकी छिन् र त्यसको महत्व बुझाउन लागिपरेकी छिन् । नवीन सोचमार्फत विश्वमा परिवर्तनको सन्देश दिने आयुषीको सकारात्मक पहलका कारण फोब्र्सले सोसल इन्टरपेनर्स क्याटागोरीतर्फ उनलाई दक्षिण एसियाका ‘३० अन्डर ३०’ को सूचीमा राखेको हो । 

एन्जल निरौला

म्यानेजिङ डाइरेक्टर, घाम पावर 

नेपालका ३० प्रतिशत मानिस अन्धकारमा जीवन गुजरिरहेका छन् । घाम पावरका प्रबन्ध निर्देशक एन्जल निरौला यो समस्या सम्बोधन गर्न क्रियाशील छन् । उनले काम गरिरहेको सोलार माइक्रोग्रिडले विद्युत्को आवश्यकता भएका मानिसहरूलाई विश्वसनीय विद्युत् ऊर्जा प्रदान गरिरहेको छ । निरौलाको निजी कम्पनीले २ दशमलव ५ मेगावाट क्षमताको माइक्रोग्रिडहरू २ हजार परिजोजनामार्फत स्थानीय तहमा जडान गरिसकेको छ । यस्ता माइक्रोग्रिडहरूको जडानले सर्वसाधारणलाई डिजेल र मट्टितेलको प्रयोग कम गर्दै वातावरणमैत्री हुनसमेत प्रेरित गर्छ । निरौला विश्व ऊर्जा काउन्सिलको ‘फ्युचर इनर्जी लिडर्स’ कार्यक्रमका सदस्यसमेत हुन् । 

प्रकाशित :चैत्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्