हर कोहीको समय

- सुविन भट्टराई

चैत्र २२, २०७४

कुनै दिन मोबाइलमा एक कल फोन, एउटा मेसेज पनि नआई सन्नाटामा पूरा दिन सिद्धिन्छ । कुनै दिन जिब्रै थुतिदिऊँझैँ गरी एकाबिहानैदेखि फोन घोक्रो सुकुन्जेल चिच्याइरहन्छ ।

फोन नआएको दिन यसो गमी हेर्छु । मलाई फोन गर्नेहरू, जसको व्यस्तताको मोटो किताबमा, कमसेकम त्यो दिन, मेरो सम्झनाको कुनै पन्ना पल्टिएन । जसको थरीथरी बास्नामा व्यस्त नाक मेरो अस्तित्वको कुनै गन्ध नसुँघी अघाइरहेछ । फोन धेरै बजेको दिन मेरो अस्तित्वको गन्ध नअघाउञ्जेल सुँघिइन्छ । हर कोहीका किताबका पन्नैपिच्छे मेरो सम्झना पल्टिरहन्छ । 

फुर्सदमा म छु । यो फुर्सद, मैले नै रोजेको फुर्सद हो । मानिसहरूले त व्यस्तता रोजे । बडो बेमेल छ मानिस–मानिसको स्वभावको बीचमा । बेमेल छन् मानिसका रोजाइ । बडो बेमेल छ हर मानिसले बाँचिरहेको समयमा । 

मेरो मोबाइलमा घण्टी नबज्नुको कारण केलाउँदा लाग्छ, या त उनीहरू मेरो एकान्तको सम्मान गरिरहेछन् या उनीहरू आफ्नै व्यस्ततालाई सलाम गरिरहेछन् । यसको अर्थ यो पक्कै होइन कि फोन धेरै बज्ने दिन उनीहरू आफ्नो व्यस्तताको र मेरो एकान्तको उपेक्षा गरिरहेछन् ।

० ० ०

कुनै दिन, घरमा दिउँसो चियामा बिस्कुट र एक्लोपन चोबेर मेरो खाजा टर्छ । फेसबुक र इन्स्टाग्रामका मित्रहरूको म:म, पिज्जा, कटी रोल र उल्लासपूर्ण वातावरणका तस्बिर छ्यापछ्याप्ती अपलोड भैरहन्छन् । 

कुनै दिन म, कुनै रेस्टुराँमा मिष्ठान्न भोजन गरिरहेका बेला तिनै इन्स्टाग्राम वा फेसबुकका साथी घरमा बासी भुटीभात खाइरहेका हुन सक्छन् । म १ सय २ डिग्रीको ज्वरोले ओछ्यान र सिरकमा रापिएर, खापिएर सुतेका बेला मेरो कुनै साथी राँकिएर, धापिएर पहाड चढिरहेको हुन सक्छ । कुनै दिन म घरमा बसेर एक्लै रोइरहेका बेला मेरा साथीहरू हाँसोका फोहोराले आफूलाई धोइरहेका हुन सक्छन् । 

म पुगेको ठाउँमा मेरा केही साथी पहिल्यै पुगिसकेका हुन्छन् । म पुगेको ठाउँमा मेरा केही साथी पछि पुगिरहेका हुन्छन् । हरेक मानिसको सेरोफेरोजस्तैे समय पनि फरक–फरक हुन्छ । नियति फरक–फरक हुन्छ । 

कोही जब आफ्नो समयलाई आँसुमा उनिरहेको हुन्छ, त्यही समयलाई कोही अर्कोले हाँसोमा बुनिरहेको हुन सक्छ । हरेकको समय बेग्लै हुन्छ, बेग्लै हुन्छ हरेकको अनुहार जसरी । 

घडीको सुई र काँटा सबैका लागि एउटै अंकमा घुमे पनि जरुरी छैन कि हर मानिसको समय एउटै होस्, उस्तै होस् । जरुरी छैन कि हर मानिसका भाव एकैनासका हुन्, स्वभाव एकैनासका हुन् । एउटा हिक्क–हिक्कमा हुँदा अर्को खित्कैखित्कामा हुन सक्छ । एउटा गुनगुनाइरहेका बेला अर्को सुँकसुँकाइरहेको हुन सक्छ । 

समय हरेकका लागि ढिकिच्याउँको खेलजस्तै हो । एउटा माथि पुग्दा अर्को तल हुने । अर्को माथि हुँदा त्यो एउटा तल हुने । 

समय जसको जस्तो होस्, जसरी बितोस्, जहाँ बितोस्, जहिले बितोस्, भावहरू महत्वपूर्ण हुन् । समय र अवस्था त घुमिरहन्छन्, तर भाव उही रहन्छन् । दु:खमा कोही हाँस्दैन । सु:खमा कोही तड्पिँदैन । क्रोधमा कोही शान्त हुन सक्दैन । प्रेमलाई कसैले घृणा गर्दैन । न घृणालाई कसैले प्रेम गर्न सक्छ । संसारका हरेक मानिसको भाव उस्तै–उस्तै हुन्छ । 

आजको हाम्रो भावको बाटो भएर हिजो कोही अरू हिँडेको थियो । भोलि जो जहाँजस्तो अवस्थितिबाट गुज्रनेछ, त्यो अवस्थिति अरूको नियति बनेर कुनै अर्कै समयमा आइरहेको हुन्छ । मानिसको कुनै पनि भावमा स्थायित्व हुँदैन । 

जिन्दगीको पहिलो बिहानदेखि अवसानमूलक चिहानसम्मको यात्रामा पर्ने विभिन्न भावको गाउँ घुम्नु नै मानिसको नियति हो । फरक यही हो कोही अनुभवको लेकमा पुगेर उँधोमुन्टो लगाइरहेका बेला कसैले अनुभवहीनताको बेसीमा उभिएर उँभोमुन्टो लगाइरहेका हुन सक्छन् । किनभने घडीको सुई र काँटा एउटै अंकमा देखिए पनि हरकसैको समय बेग्लै हुन्छ । 

प्रकाशित :चैत्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्