तत्काल प्रतिकृया नजनाउने हरिवंश

- रामजी ज्ञवाली

चैत्र २१, २०७४

हरिवंश आचार्य लामो समयपछि चलचित्रमा फर्किएका छन् । देशभर प्रदर्शन भैरहेको चलचित्र शत्रुगतेले दर्शकको मन पनि जितिरहेको छ । खासगरी अभिनेता दीपकराज गिरी तथा हरिवंश आचार्यको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । हरिवंश आचार्यले चलचित्रमा दीपाश्री निरौलाका श्रीमान् तथा पल शाहका बुबाको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनको चरित्रलाई केही अस्वभाविक बनाइएको छ । यही प्रसंगमा आचार्यलाई नजिकवाट चिन्नेहरूको केही टिप्पणी जस्ताको तस्तै :

प्रदीप भट्टराई, निर्देशक : उहाँको सबैभन्दा राम्रो पक्ष क्यारेक्टरको रिसर्च गर्नु हो । मेडिकल फिल्डको अभिनय गर्नु छ भने उक्त विषयमा अनुसन्धान र सर्च गर्नुहुन्छ । कस्तो अभिनय गर्ने भन्ने विषयमा व्याक स्टोरी खोजेर काम गर्नुहुन्छ । उहाँ निर्देशकको हाउभाउबाटै के गर्ने हो, ठ्याक्कै बुझ्न सक्नुहुन्छ । व्यक्तिगत हिसाबले उहाँ सबैलाई माया तथा सम्मान गर्नुहुन्छ । निकै सरल र साधारण हुनुहुन्छ । सवैको भावनाको कदर गर्नुहुन्छ ।

दीपकराज गिरी, अभिनेता : यो चलचित्रमार्फत म हरिदाइसँग नजिक भए । म आफूलाई हरिवंश आचार्यको एकलव्य भन्छु । मैले उहाँबाट अप्रत्यक्ष रूपमा धेरै कुरा सिकेको छु, तर एउटै स्क्रिनमा भने पहिलो पटक काम गर्न पाए । यो प्रोजेक्टमा हरिवंश दाई भएकाले पनि मैले यसलाई निकै ठूलो महत्व र अवसरका रूपमा लिएको थिएँ । उहाँसँग चलचित्रको छायाँकनमा रहँदा रमाइलो नगरेको दिननै भएन । उहाँको सबैभन्दा राम्रो पक्ष मृदुभाषी हुनु हो । एकदमै परिपक्व हुनुहुन्छ । तुरुन्त प्रतिक्रिया जनाउनुहुन्न । चलचित्रको छायाँकन भैरहेका बेला युनिटका सबै सदस्यको उत्तिकै केयर गर्नुहुन्छ । एउटा अभिभावकको हिसाबले सवैसँग समान व्यवहार गर्नुहुन्छ ।

प्रदीप कार्की, पत्रकार : शत्रुगतेको उहाँको अभिनयले जो–कसैको मन छुन्छ । चलचित्रमा उहाँको क्यारेक्टर र रियल लाइफको क्यारेक्टरमा निकै ठूलो फरक छ । उहाँ सानो बच्चादेखि ठूला व्यक्ति सबैलाई तपाईं भनेर सम्बोधन गर्नुहुन्छ । उहाँजस्तो सरल, सबैका प्रति एकै खालको व्यवहार गर्ने कलाकार कमै हुन्छन् । उहाँलाई जति पटक भेट्यो त्यतिधेरै नयाँ र राम्रो कुरा सिक्न सकिन्छ ।

 

दीपाश्री निरौला, अभिनेत्री : हरिवंश दाई आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँलाई स्क्रिनमा हेर्दा के नै होला र जस्तो लाग्थ्यो, तर प्रत्यक्ष भेट्दा जीवन नै सिक्न सकिँदो रहेछ भन्ने अनुभव भयो । बास्तवमा मानिस सफल हुन प्रतिभा मात्र भएर हँुदैन, व्यवहार पनि चाहिँदोरहेछ । उहाँको जोडिका रूपमा काम गर्न सुरुमा साह्रै अप्ठ्यारो लागिरहेको थियो तर जब उहाँसँग घुलमिल हुँदै गएँ, उहाँलाई निकै सरल पाएँ । उहाँ आफूलाई क्यारेक्टरमा घुसाउन सक्ने अब्बल कलाकार हुनुहुन्छ । मैले चलचित्र निर्देशन गरे, धेरै कलाकारहरूलाई सिकाए तर उहाँसँग स्क्रिन सेयर गर्दा म आफू साँच्चिकै काँचो रहेछु भन्ने अनुभव भयो । उहाँसँग काम गर्दा पहिलो पटक सँगै काम गरेजस्तो कहिल्यै भएन । निकै रमाइलो र सबैलाई सम्मान गर्ने उहाँजस्ता कलाकार नेपाली कला क्षेत्रमा विरलै पाइन्छन् ।

प्रियंका कार्की, अभिनेत्री : एकदमै सरल हुनुहुन्छ । देशकै वरिष्ठ र सम्मानित कलाकार भए पनि सामान्य खालको हुनुहुन्छ । चलचित्रको छायाँकन हुँदा भेटिरहने, बोलिरहने भएकाले पनि यसपटक मैले उहाँलाई नजिकबाट बुझें । उहाँ सानादेखि आफूभन्दा ठुला अथवा हरेक कलाकारको विचार तथा सुझावहरू सुन्नु हुन्छ । आफू जतिसुकै जान्ने भएपनि त्यो खालको व्यवहार कहिल्यै देखाउनुहुन्न । सबैको अस्तित्व स्वीकार गर्नुहुन्छ । उहाँ साँच्चिकै महान् कलाकार हो ।

 

प्रकाशित :चैत्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्