समयचक्र

- अधिकारी रवीन्द्र

चैत्र २१, २०७४

 

हल्का बिसन्चो भएका बेला अकस्मात् मथिङ्गलको खैरो भुमरीमा एउटा दर्शन फुर्‍यो । मन समयसँग ठक्कर खाँदै कता–कता तैरिन थाल्यो : 

हामीसँग एउटा मात्र सत्य छ । यो निमेष–निमेषमा अड्किएर बहन्छ– टिक्टक्–टिक्टक् । निरन्तर, अविरल, भविष्यतिर । यसको दिशा निश्चित छ, त्यो हो— भविश्य । युग एक क्युमुलेटिभ समयचक्र हो । यसको प्रवृत्ति कठोर छ ।

समयको चक्र निष्ठुरी छ । यो दिन र रात बनेर घुमिरहन्छ । सबै जिजिविषाहरूको इहलीला आखिर यही दिन र रातमै विभक्त छ । समय चलायमान छ । यसको सुरु अनि अन्त्य कतै छैन । घडी बन्नुभन्दा पहिले पनि सेकेन्ड, मिनेट र घण्टा थियो । मात्र तिनलाई नाम दिइएको थिएन । सूर्य आकाशमा चम्किनुपहिले नै समय बनेको हो । बिग ब्याङ थ्यौरी घटित समय पनि ट्रेस गर्न सकिन्छ । ब्रम्हान्डको यदि सुरुवात कहीं छ भने समयको चक्रमा त्यो पनि पर्‍यो अर्थात् समय जहीँ–तहीँ छ, समय जहिले–तहिले छ । इतिहास समयलाई सम्बोधन गरिएको कागज हो । एउटा जिन्दगी पनि अनुप्रस्थ अनुभवको समय सँगालो हो । 

जवाकुसुमको फत्रँmदो कोपिला, एउटा कल्कलाउदो फूलको सुवास, किन पछि ओइल्याउँछ ? किन बिलाउँछ ? एउटी सानी नानीको मुस्कान किन चाउरी परेको थोते अनुहारमा परिणत् हुन्छ ? हो, वास्तवमै समयको झापड निरीह नै हुन्छ । यसले कलकलाउँदो सोह्रवर्षे जोसलाई सत्तरीमा पुर्‍याएर पानी–पानी बनाइदिन्छ । भर्खरै जन्मिएको हात्तीको छावा होस् वा बाघको डमरु अथवा एककोषीय अमिबा, आखिर पञ्चतत्व भएर पृथ्वीमै घुमिरहन्छन्, यसरी सबैको अन्तिम स्वरूप परमाणुमै उत्तरित हुन्छ । विचार गर्नुहोस्, यो ‘न भूतो न भविष्यति’ समयले कति जीवका लासहरूलाई अतीतमा पतन बनायो ? कति अस्तित्वहरूलाई वायुमण्डलमा तृण भएको हेरिरह्यो ? यो अक्षम्यकारी आयामहीन् र अगणितीय समयले पल–पल करोडौं जीवात्मालाई मृत्यु शैय्यामा सुताइरहेछ ।

यो नियमबाट कसैले छुट्कारा पाउँदैनन् । जन्मिएका वा उत्पत्ति भएका यी सबै चरहरू समयको रापमा पिल्सिन्छन्, ओइल्याउँछन्, भष्मिभूत हुन्छन् । सबै जिन्दगीको गोरेटो समाधिसँग जोडिएकै हुन्छन् । समयकै छुराले मानिसहरू रोगी हुन्छन्, मर्छन् । हाँसो, खुसी, सफलता, मिलन, बिछोड, भोक, निन्द्रा, संवेदना सबै क्षणिक हुन् । ती सबै जीवन कटाउने मेलो हुन् । यही भूलभुलैयामा एउटा जिन्दगी सहज कटोस भनेर परापूर्व कालदेखि, मानिसको आचरण र स्वभाव सुहाउँदो चलनचल्ती कसैद्वारा डिजाइन गरिएको हो । चक्का घुमिरहने समयको रथमा नि:सन्देह यी सबै नाटक मञ्चन भैरहनेछन् ।

समयको पञ्जा अविचलित छ, यसमा कसैले अड्चन खडा गर्न सक्दैन । समय संविधान हो, को कसरी कहाँ चल्ने हो, उसले हामी जन्मनु पहिले लेखिसकेको हुन्छ । धेरै–धेरै पहिले सबै कुरा समयले तय गरिसकेको छ— के हुन्छ र के हुँदैन ? भविष्यको गर्भमा रहेको तर समयले पहिल्यै निर्धारण गरिसकेको आलेख क्षण–क्षणमा हकिकत भएर हामी सामुन्ने पछारिरहेका छन् । मेरो यो विचार तपाईंले पढ्नुहुन्छ भनेर पनि समयले नै लेखेको थियो, यो फगत तपाईंको इच्छाले भएको कुरा होइन । अनि सम्झनुस्, यो विचार पनि समयले मद्वारा लेखाएको हो । हामी सबै नागपासाका गोटी हौं । गोटी चलाउने भगवान् तिनै अदृष्य समय हुन् ।

                                                                       ravinems@iom.edu.np

प्रकाशित :चैत्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्