पैसा कमाउनै सकिएन यार !

- अविरल थापा

चैत्र २०, २०७४

 

पैसा कमाउन सबैलाई मन लाग्छ । पैसा भए सबै कुरा पाइन्छ जस्तो लाग्छ तर पैसा साधन हो, साध्य होइन । पैसाले धेरै कुरा किन्न सकिन्छ तर सबै कुराचाहिं पाइँदैन । जसले जे भने पनि पैसा नभै आवश्यकताको पूर्तिचाहिँ हुँदैन । पैसा कमाउन भनेर मानिसहरू रातदिन कुदेका कुद्यै पनि छन् । 

कसलाई कति पैसा चाहिएको छ उसले त्यहीअनुसार मेहनत गरिरहेको पाइन्छ । कोही गाउँमै पसिना चुहाउँदैछन्, कोही सदरमुकाम र सहर पसेका छन् । कोही सहरले पनि नपुगेर वा नसकेर विदेश पुगेका छन् । आफ्नो क्षमता र योग्यताले भ्याएसम्म नेपालीहरू खाडी मुलुकदेखि विकसित देशसम्म कामकै सिलसिलामा पुगेका छन् । कामसँगै नाम, पहिचान, सन्तुष्टि पाइने कुरा त आफ्नो ठाउँमा छ, तर पैसा कमाउनु मानिसको पहिलो ध्येय हो । कसरी छिटो र धेरै पैसा कमाउन सकिन्छ भनेर नसोच्ने मानिस को होला र ? छिमेकी मुलुक भारतबाट पैसै कमाउन भनेर नेपाल आएका र पैसा कमाइरहेका युवा प्रशस्तै छन् । सीप सिकेका उनीहरूले यहाँ निर्माण, मर्मत–सम्भार आदि पेसाबाट राम्रै पैसा कमाइरहेका छन् ।

हाम्रो देशका धेरै युवाचाहिँ बिनासीप खाडी मुलुक जान लालायित देखिन्छन् । आफनै देशमा दक्ष कामदार र प्रशस्त जनशक्तिको खाँचो छ । सीप सिके यहीं ३०/४० हजार कमाउन गार्‍हो छैन तर त्यही पैसा कमाउन हजारौं युवा मरुभूमिको तातो हावा खाइरहेका छन् । आफ्नै परिवार र समाजमा बसेर काम गर्न छाडेर युवाहरू किन खाडी जान चाहन्छन्, अनुसन्धानकै विषय भएको छ । 

देशको अधिकांश जमिन बाँझो हुन लागिसक्यो । करोडौंको फलफूल तथा तरकारी तेस्रो मुलुकबाट आयात हुन्छ । देशलाई चाहिने र सम्भव हुने कुरा यहीं फलाउन केले रोकेको छ ? राज्यको नीति बाधक छ कि युवाहरूको इच्छाशक्तिले रोकेको छ ? हरेक युवाले सामूहिक लगानी गरेर आफनो गाउँ–ठाउँमै सम्भव हुने व्यवसाय गर्न थाल्ने हो भने देश र युवा दुवै आत्मनिर्भर हुन सक्छन् । गर्दै नगरी केही हुँदैन, गर्न सकिँदैन भनेर पन्छिन थाले कसैको पनि प्रगति हुँदैन । पैसै कमाउन सकिएन यार भनेर चिया पसल वा भट्टीमा निराशा व्यक्त गर्नुको साटो के गर्‍यो भनेचाहिँ पैसा कमाउन सकिन्छ भनेर सोच्ने हो भने अनेक मार्ग फेला पर्छन् । सबैभन्दा पहिले आफू के गर्न योग्य छु र आफ्नो स्वभाव केका लागि सुहाउँदो छ, पत्ता लगाउनुपर्‍यो । जागिर खान मन लाग्छ भने जागिरतिर लाग्नुपर्‍यो र सीमित कमाइमा रमाउनुपर्‍यो, होइन भने स्वरोजगार वा उद्यमी हुने बाटो समात्नुपर्‍यो । कामचाहिँ सुरु नै नगर्ने अनि पैसै कमाउन सकिएर भनेर गनगन गर्नुको कुनै अर्थ हुँदैन । 

आफूलाई ज्ञान भएको काममा हात हाले ढिलो–चाँडो सफलता हात पर्छ । कसैमा नेतृत्व लिने गुण हुन्छ, कसैमा बोलेर अरूलाई बुझाउने गुण हुन्छ, कसैमा बजारीकरण गर्ने गुण होला, कसैमा एकोहोरो काम गर्न सक्ने गुण होला । आ–आफ्नो गुण–अवगुण पहिचान गरेर साथीभाइ मिली व्यवसाय गरे कामको बाँडफाँड पनि हुन्छ, एकै जनाको ठूलो लगानी डुब्ने भय पनि रहँदैन । सकिन्छ भने एक्लै व्यवसाय गरे पनि भयो । महिनाको १० हजार तलब आउने काममा लागेपछि महिनाको अन्त्यमा त्यति नै तलब आउँछ भन्ने पहिल्यै बुझ्नुपर्‍यो । होइन, पुग्दैन भने धेरै कमाउने बाटो समात्नुपर्‍यो, अन्यथा जागिर छोड्न पनि नसक्ने, व्यवसाय पनि गर्न नसक्ने अनि पैसै कमाउन सकिएन भन्ने आर्तनाद गर्नुको के अर्थ ? 

कहिलेकाहीँ अरूले कुनै क्षेत्रमा सफलता हात पारेको देखेर सबै त्यसैमा हामफाल्छन् । सानो बजारमा धेरैको प्रवेश भएपछि आफूसँगै अरू पनि डुब्ने जोखिम हुन्छ । त्यही काम कसरी नयाँ तरिकाले वा नयाँ प्रविधिअनुरूप वा नयाँ वितरण प्रणाली प्रयोग गरी सञ्चालन गर्न सकिन्छ भनेर अघि बढे प्रतिस्पर्धा कम हुन्छ । व्यवसाय गर्दैमा सफल भइन्छ, रातारात धनी भइन्छ भन्ने ग्यारेन्टी हुँदैन, तर हुने सम्भावना जीवित रहन्छ । केही नगरे त सम्भावनाकै अन्त्य भैहाल्यो नि । 

घरजग्गाको कारोबार तथा सेयर बजारलाई पैसालाई गुणन गर्न सक्ने क्षेत्रका रूपमा लिइन्छ । यता लाग्ने क्षमता छ भने रातारात करोडपति वा रोडपति हुने सम्भावना बराबर हुन्छ । जोखिम कम लिने हो भने स–सानो व्यवसाय गर्दै विस्तार गर्दै गए भयो । सकिन्छ ठूलै उद्योग खोलौं, सकिँदैन आफ्नो क्षेत्रमा के छैन त्यही आवश्यकता पूरा गर्ने उद्योग खोलेर काम सुरु गरौं । चिया पसल, डेरी, केक बेकरी, सेवामूलक जे–जस्तो क्षेत्रमा आफ्नो रुचि छ त्यही गरे हुन्छ । कोही सुरुमै करोडपति हुँदैनन्, गर्दै जाँदा भइने हो । जागिरमै पनि पदोन्नति हुँदै पैसा कमाउन सकिन्छ, जसका लागि आफूलाई अब्बल बनाउँदै लान भने सक्नुपर्छ ।

काम गरे अवश्य कमाउन सकिन्छ । यो संसारमा जन्मिएका हरेक व्यक्तिमा पैसा कमाएर धनी हुने सम्भावना र क्षमता बराबर छ । कुरा यत्ति हो, कतिले काम सुरु गरेर कमाउन थालिसके, धेरै चाहिँ पैसै कमाउन सकिएन भनेर केही नगरी अलाप मात्र गाइरहेछन् । आफूलाई चिनौं, काममा लागौं, तपाईंलाई धनी हुन कुनै शक्तिले रोक्न सक्दैन । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :चैत्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्