पत्रकारिताको हिरो नै हुँ !

- साप्ताहिक संवाददाता

चैत्र १८, २०७४

आइतबार मध्याह्न ऋषि धमला रिपोटर्स क्लबको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँगको साक्षात्कार कार्यक्रममा व्यस्त थिए । अघिल्लो दिन फोनमा त्यतै आउनुस्, चिया पिउँदै गफ गरौला भनेका धमलालाई खोज्दै हामी रिपोटर्स क्लबको कार्यालय भृकुटीमण्डप पुग्यौं । धमलालाई कुर्ने क्रममा कार्यालयको ठ्याक्कै अघिल्तिरको चियापसलमा हामीले चिया अर्डर गर्‍यौं । धेरै बेर कुरेपछि उनी नेता अधिकारीसँग नारिँदै बाहिर निस्किए । मन्त्री अधिकारीलाई बिदाइ गरेपछि उनी हामीसँग कुरा गर्न तयार भए ।

सर्वप्रथम त तपाईंलाई स्वागत छ ।

धन्यवाद । सोधिहाल्नुहोस् । के छ प्रश्न ? आज हामी खुलेर बहस गर्न सक्छौं । म तयार छु ।

ऋषिजी, सकेसम्म सटीक र छोटो जवाफ दिनुहोला है ?

हुन्छ, मैले तपाईंलाई अघि नै भनिसकें, छोटो र सटिक जवाफ दिनु त धमला शैली नै हो । जनता त्यही शैलीमा तथ्य जान्न चाहन्छन् । नेपाली राजनीति, मेरो व्यक्तिगत जीवनका वा हरेक कुरामा प्रश्न सोध्न सक्नुहुन्छ । ऋषि धमला खुल्ला पुस्तकजस्तै हो, सामाजिक जीवन बाँच्ने मान्छे । विदेशी राजनीति तथा विश्व घटनाका बारेमा समेत सोध्न सक्नुहुन्छ । मसँग डोनाल्ड ट्रम्पदेखि उत्तर कोरियाको परमाणु बमसम्मको जानकारी छ ।

केमा व्यस्त हुनुहुन्छ ?

म जनताका लागि पत्रकारितामा समर्पित मानिस हुँ । मैले अहिलेसम्म कुनै कार्यक्रम वा सार्वजनिक समारोह एटेन्ड नगरेको तपाईंले देख्न पाउनु हुन्न । फुर्सदै नपाउने मानिसले के–केमा मात्र व्यस्त छु भनौं खै ? अँ, अहिले श्रीमती जी हिरोइन भएकी छिन् । उनको फिल्मके प्रचार प्रसार पनि मेरै जिम्मम छ । 

यूएस बंगला विमान दुर्घटनाका सम्बन्धमा भारतीय टिभीमा तपाईंको कभरेजलाई लिएर सोसल मिडियामा निकै आलोचना भयो । यसलाई कसरी लिनुभएको छ ? 

आलोचना गर्ने भनेकै क्षमता, प्रतिभा भएकाहरूको हो । आलोचना मात्र किन हेर्नुहुन्छ, त्यसको प्रशंसा पनि हेर्नुस् न । जुन कुराको बढी चर्चा हुन्छ, उसैको बढी आलोचना हुन्छ । अहिले पनि नेपालमा सबैभन्दा बढी मैले चलाउने टेलिभिजन कार्यक्रमहरू हेरिन्छन्, रेडियो कार्यक्रमहरू सुनिन्छन् । मेरा अन्तर्वार्ताले अत्यधिक भ्युज पाएका छन् । मेरा लेखहरूको पनि उत्तिकै चर्चा हुन्छ । विमान दुर्घटनाको कुरा गर्नुहुन्छ भने त्यो दिन भारतीय टेलिभिजनले मसँग सम्पर्क गर्‍यो । त्यसमा सुरुमै जुन भाषामा सजिलो हुन्छ, त्यही भाषामा जवाफ दिनु भनिएको थियो । भारतमा त हिन्दी भाषा बोलिन्छ, मैले पनि भारतीय जनताले सहज रूपमा बुझ्न सक्छन् भनेर हिन्दी नै बोलें । यदि चीन वा जापानबाट फोन आएको भए म जापनिज एवं चाइनिज भाषा मै उत्तर फर्काउँथें ।

तपाईंको कतिवटा भाषामा राम्रो पकड छ ? 

मलाई झन्डै एक दर्जनजति भाषा बोल्न आउँछ । हिन्दी, नेपाली र अंग्रेजी त मैले सानैदेखि प्रयोग गरिरहने भाषा भैहाले ।

 

एउटा अन्तर्वार्तामा अंग्रेजी भाषामा एक घण्टा बहस गर्न तयार छु भनेर खुला चुनौती पनि दिनुभयो । साँच्चै अंग्रेजी भाषामा बहस गर्न तयार हुनुहुन्छ ?

हो, म तयार छु । अहिले पनि तपाईं पढ्न सक्नुहुन्छ, अंग्रेजी दैनिकहरूमा मेरा लेख छापिन्छन् । तपाईंले पढ्नुभएको छैन ? म ऋषि धमला हुँ, मौका परे चाइनिज, फ्रेन्च, जापानी भाषाको पत्रिकामा पनि आफ्ना लेख छपाउन सक्छु ।

तपाईंको शैक्षिक योग्यताका बारेमा बेला–बेला प्रश्न उठ्छ । खास तपाईंले औपचारिक रूपमा कतिसम्म पढ्नु भएको छ ?

शैक्षिक प्रमाणपत्र देखाउँदै हिँड्ने कुरा भएन । पत्रकारिता पो त गरेर देखाउने विषय हो । मैले काम गरेर देखाएको छु, आफूलाई प्रमाणित गरिसकेको छु । मेरो औपचारिक शिक्षाको कुरा गर्नुहुन्छ भने मैले जनप्रभात मावि कालीमाटीबाट एसएलसी र पिपल्स क्याम्पसबाट आईएसम्म पढेको छु । गिरिजाबाबुले मलाई थप अध्ययनका लागि भारतको राम्रो कलेजको छात्रवृत्ति दिनुभएको थियो, तर मैले उक्त छात्रवृत्ति गरिब र विपन्नलाई दिनुहोस् भनेर अस्वीकार गरें । मैले स्व–अध्ययन गरें र आफ्नो क्षमता बढाए ।

तपाईंले जीवनमा क–कसको अन्तर्वार्ता लिनुभयो ?

यो प्रश्नले चाहिँ मलाई हँसायो है । मैले अन्तर्वार्ता लिन बाँकी कोही होला र ? तपाईं सोच्न सक्नुहुन्छ । नेताहरू मलाई अन्तर्वार्ता लिइदिनुपर्‍यो धमलाजी, हामीले बोल्ने स्पेस नै पाएनौं भनेर गुनासो गर्छन् । जबसम्म रिपोर्टस क्लबमा आएर भाषण गर्दैनन्, उनीहरूलाई आफू नेता भएजस्तै लाग्दैन । राजादेखि रैतीसम्म र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय व्यक्तित्वसम्म सबैको अन्तर्वार्ता लिने क्षमता राख्ने नेपालको कुनै पत्रकार छ भने त्यो म नै हुँ । 

प्राय: अन्तर्वार्तामा तपाईं आफू बढी बोल्नुहुन्छ । अतिथिहरूलाई कमै बोल्न दिनुहुन्छ । किन ?

जनताले जे जान्न चाहन्छन्, त्यो कुरा खोतल्नु पत्रकारिताको धर्म हो । यो देशका नेताहरू एकपटक मात्र सोध्यो भने त प्रश्न नै नबुझेजस्तो गर्छन्, त्यसैले प्रश्न बुझाउन र जनताको जिज्ञासाको उत्तरका लागि म बारम्बार एउटै प्रश्न सोध्छु । त्यसैले म बढी हाबी भएजस्तो देखिन्छ । यसमा आलोचना गर्नुपर्ने कुरा के छ र ? जसको जति क्षमता हुन्छ, उसले उति बढी स्पेस लिने हो । मैले रिपोर्टस् क्लब सुरु गरेकै २० वर्षभन्दा बढी भैसक्यो । म नेताहरूसँग सीधा प्रश्नको सीधा उत्तर दिनुस् भन्छु । म अन्तर्वार्ता लिँदा पनि सीधा रूपमा प्रश्न गर्छु । प्रचण्ड, केपी, वामदेव अथवा जुनसुकै नेतालाई पनि प्रश्न गर्दा सीधा रूपमा अन द स्पट बहस गर्छु । ऋषि धमलाले मेरो अन्तर्वार्ता किन नलिएको होला भन्ने नेता तथा कलाकार पनि प्रशस्तै छन् ।

नेपालका धेरै नेता तपाईंको अन्तर्वार्ता लिने शैलीप्रति बेखुसी छन् भनिन्छ । कतिपय नेताले त अन्तर्वार्ता नै दिन्नसमेत भन्नुभयो । खासमा किन उनीहरू तपाईंको शैलीप्रति बेखुसी भएका होलान् ?

कुन नेताले अन्तर्वार्ता दिन्न भन्नुभयो ? तपाईं भन्न सक्नुहुन्छ ? मेरो रिर्पोर्टस क्लबमा नेपालका सबै नेता पुग्नुभएको छ । बिहान हरेक दिन ३ देखि ४ जनासम्म नेताले मसँग रेडियो कार्यक्रममा बहस गर्दै आउनुभएको छ । मैले अप्रत्यक्ष रूपमा पनि विभिन्न नेताको अन द स्पट अन्तर्वार्ता लिएको छु । जुन सबैले देख्नुभएकै छ । म यो मान्दिनँ । मान्दै मान्दिनँ । तपाईंले थाहा पाउनुभएको छैन ? सुन्नुभएको छैन ? पूर्वप्रधानमन्त्री प्रचण्डले समेत भनिसक्नुभएको छ, ऋषि धमला नभै नहुने भो ।

किताब लेख्ने सोच छ ?

अवश्य छ नि । 

पुस्तकको शीर्षक के राख्नुहुन्छ ?

धमलाको हमला । सुपर हिट हुन्छ । किनभने लाखौं दर्शक, श्रोता तथा पाठकको मनमा धमलाको हमला भन्ने शब्द बसिसकेको छ । यो एउटा ब्रान्ड नै भैसकेको छ ।

तपाईंले उमेर ढल्किएपछि विवाह गर्नुभयो । किन ढिलो विवाह गरेको नि ?

मेरो व्यस्तता एकदमै बढ्यो । विवाह गर्ने समय नै मिलेन । म जहिले पनि देश र जनतालाई ध्यानमा राखेर काम गर्ने मानिस । जनताका लागि पत्रकारिता गर्ने मानिस । त्यसैले गर्दा मेरो विवाह ढिलो भयो । फेरी विवाह भन्ने कुरा आफनो हातमा हुँदैन ।

यति माया गर्ने श्रीमती पाउनुभएको छ । आफूलाई कत्तिको भाग्यमानी मान्नुहुन्छ ?

म आफूलाई एकदमै भाग्यमानी मान्छु । एलिजाजीजस्ती श्रीमती पाउनु मेरो अहोभाग्य हो, उहाँ त यो देशको राष्ट्रपति बन्नुपर्ने मान्छे हो । तर, हाम्रो देशमा व्यक्तिको क्षमताको कदर नै कहाँ भएको छ र ? 

कतै, तपाईंले एलिजाजीले ऋषिजी त यो देशको प्रधानमन्त्री बन्नुपर्ने मान्छे भन्ने कुराको गुन तिर्न त यसो भन्नुभएको त होइन ? 

अहँ म सबै कुरा स्पष्ट भन्न सक्ने मान्छे । मैले उहाँको क्षमता र योग्यतालाई नजिकबाट बुझेकैले यसो भनेको हुँ । 

एलिजाजीले तपाईं प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एक हुनुपर्छ भनेर अन्तर्वार्तामा बोलिसक्नुभएको छ । व्यक्तिगत रूपमा तपाईंलाई रुचि छ कि छैन ?

छैन, मलाई मन्त्री बन्ने, कुनै पदमा बस्ने इच्छा छैन । म समृद्धिको हिसाबले यो देशलाई अघि बढाउन चाहन्छु । गफले देश बन्दैन । भँगेराको जस्तो छातीले पनि देश बन्दैन । भिजन चाहिन्छ, भिजन । म चुनावमा नलडेको मात्र हो । धेरै नेताहरूले मलाई चुनाव लड्नुस्, टिकट दिन्छौं भन्नुभएको थियो । 

प्राय: पत्रकारको आर्थिक हैसियत राम्रो हुँदैन भनिन्छ तर तपाईंको जीवनशैली लोभलाग्दो छ । महँगो गाडीमा सयर गर्नुहुन्छ । करोडभन्दा बढी खर्चिएर श्रीमतीलाई हिरोइन बनाउँदै हुनुहुन्छ । छोरीको पास्नीमा नेपालका प्रधानमन्त्रीदेखि डिआईजीसम्मलाई बोलाउनुभयो । आखिर कसरी खर्च धानिरहनु भएको छ ? ऋषिजी, जनता जान्न चाहन्छन् बताइदिनुस् न । 

पत्रकारीता गर्नेहरूले मेहनत गर्नुपर्छ । व्यवसायिक रूपमा काम गर्न जान्नुपर्छ । सकारात्मक सोच राखेर काम गर्ने हो भने मेरो जस्तो जीवनशैली बाँच्न गाह्रो छैन । काम गर्नुपर्छ काम, खाली कुरा मात्र गरेर हुँदैन । एउटा गाडी चढ्न र काठमाडौंमा आफ्नै घरमा वस्न, मिठो–मसिनो खान गाह्रो छैन । म बिहानैदेखि रातिसम्मै खट्छु । बिहान ५ बजे उठ्छु, राति १२ बजेसम्म निरन्तर काम गर्छु । समाचारको खोजी गर्न अनि अन्तर्वार्ता लिन हिँड्छु । दिनरात घोटिएकै कारणले मैले यो सम्पन्नता हासिल गरेको हुँ । नेपालका अधिकांश पत्रकार अल्छी छन्, पढ्दैनन्, खट्दैनन्, खाली पैसा कमाइएन मात्र भन्छन् । 

नेपाली पत्रकारिताको भविष्य कस्तो देख्नुहुन्छ ? 

एकदमै राम्रो देख्छु । सम्भावना र अवसरहरू थपिँदै गएका छन् । पत्रकारिता सहरदेखि गाउँसम्म फैलिएको छ । यदि मैले जस्तै पत्रकारिता गर्ने हो भने गाडी चढ्न तथा महँगो जीवनयापन बाँच्न गाह्रो छैन । पत्रकार भनेर जुन हिसावले मान्छेले सोच्छ नि त्यस्तो छैन । म त्यस्तो देख्दिनँ । अहिले थोरैमा ५० देखि ६० हजार रुपैयाँ नकमाउने पत्रकार मैले देखेको छैन । 

नेपाली नेतादेखि भारतीय राजनीतिक दलका नेताहरूसम्म तपाईंको राम्रो सम्बन्ध छ भनिन्छ । कहीं–कतै यो पनि हल्ला आउँछ कि तपाईंले भारतीय नेताहरूबाट ठूलो रकमसमेत लिनुभएको छ । यो खालको आरोपको कसरी खण्डन गर्नुहुन्छ ?

मैले १४ वर्षको उमेरदेखी पत्रकारीता सुरु गरेको हुँ । मैले कति मेहनत गरेको छु भन्ने कुरा बाहिर हल्ला गर्नेहरूलाई थाहा हुने कुरा होइन । अर्को कुरा मैले कसैसँग एक रुपैयाँ पनि खाएको फेला पार्नुभएको छ भने प्रमाण देखाउनुहोस्, म पत्रकारिता नै छोडिदिन्छु । यदि मैले त्यसरी पत्रकारिता गरेको भए, कसैको पैसा खाँदै हिँडेको भए अहिले ऋषि धमला, ऋषि धमला नै हुने थिएन । म अम्बानीकै समकक्षी व्यवसायी बनिसक्थे । बरु, मैले समाचारको खेती र समाचार खोज्नमै आफ्नो महत्वपूर्ण समय र बुद्धि खर्चिएको छु । म दिनभरी रेडियो, टिभी, अनलाइन र कार्यक्रमहरूमै व्यस्त हुन्छु ।

सभासद बन्न लबिङसमेत गर्नुभएको थियो, तर टिकट पाउनुभएन । खास कुरा के हो ? 

म जुन ठाउँबाट चुनावमा उठे पनि जुनसुकै पार्टीले टिकट दिन्छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा अथवा कुनै पनि पार्टीले । म आफैं केही समय पत्रकारिता नै गर्छु भनेरै ठूलो प्रेसरका बावजुद चुनावबाट व्याक भएको हुँ । ऋषि धमला कहिल्यै चुनौतीदेखि डराउँदैन । आलोचनाबाट भाग्दैन । कसैले कुरा काटे भन्दैमा भाग्ने मान्छे होइन ऋषि धमला । म आफ्नो कामप्रति पूर्ण वफादार भएर लाग्ने पत्रकार हुँ ।

श्रीमतीलाई हिरोइन बनाएर चलचित्रमा डेब्यु गराउँदै हुनुहुन्छ । तपाईंलाई एलिजाको अपोजिटमा अभिनेताका रूपमा काम गर्न मन लागेन ?

पत्रकारिताको त म हिरै हुँ नि । जहिले पनि म केन्द्रबिन्दुमै छु । जताततै मेरो चर्चा हुन्छ । कलाकार, नेता, जनता सबैका माझमा लोकप्रिय छु । अर्को कुरा तपाईंलाई राम्रोसँग थाहा छ, म ह्यान्डसम छु । मेरी श्रीमती पनि निकै ब्युटिफुल छिन् । यदि मैले चाहना गरेको भए एलिजासँग चलचित्रमा देखिने थिएँ तर छ नि मैले फिल्म खेलें भने मैले गर्दै आएको पत्रकारिता केही समय रोकिन्छ, त्यसैले चलचित्र नखेलेको हो । 

अरू कुनै चलचित्रबाट हिरोको रोल आयो भने खेल्न तयार हुनुहुन्छ ?

म केही चलचित्रमा देखिएको पनि छु । जीवनको कुनै खालखण्डमा हिरो वनेर काम गर्ने इच्छा छ । पक्कै मेरो त्यो रहर पूरा हुनेछ । 

तपाईले चलाउने टेलिभिजन कार्यक्रम धमलाको हमलामा हिरोइनहरूसँग निकै उच्छृङ्खल प्रश्न सोध्नुहुन्छ, किन हो ? 

नेपाली सेलिब्रेटीका हरेक विषय जनताका लागी चासोको विषय हुन्छन् । उनीहरू के खान्छन्, के गर्छन्, जीवनशैलीदेखी हरेक कुरा । उनीहरूका ब्वाइफ्रेन्डका कुरा, उनिहरूका श्रीमान् अथवा श्रीमतीका कुरा सबै जनताका चासोका विषय हुन् । मैले आफ्ना लागि उनीहरूसँग त्यस्तो प्रश्न गरेको होइन त्यो प्रश्न आम नेपाली जनताको प्रश्न हो । मैले त जनताको कौतूहलता मेट्ने प्रयास मात्र गरेको हुँ । ऋषिले अश्लील प्रश्न सोध्यो भनेर मसँग रिसाउनुको कुनै तुक छैन् । 

प्राय: हिरोइनहरूलाई तपाईं प्रश्न गर्नुहुन्छ, सेक्स गर्नुभएको छ ? कति पटक गर्नुभयो ? यी नितान्त व्यक्तिगत कुरा हुन् भन्ने कुरा जो कसैलाई पनि थाहा छ । यस्तो प्रश्न पनि जनताको प्रश्न होला त ?

किन नहुने ? यस्तै कुरामा जनताको चासो हुन्छ । तपाईंले पनि त्यस्तै प्रश्न मात्र ख्याल गर्नुभएको रहेछ । जनताको मनमा त झन यस्तो खुलदुली हुन्छ । फरक यत्ती हो अरू पत्रकारले सोध्ने आँट गर्दैनन्, म गर्छु ।

नेपालमा सयौं पत्रकार छन् । सवैले सबैको अन्तर्वार्ता लिएका छन् । अरू पत्रकार कमै विवादमा आएका छन् । उनीहरूको तुलनामा तपाईंचाहिँ सधैं किन विवादमा आइरहनुहुन्छ ?

मेरो कामका कारणले, क्षमताका कारणले । समय सापेक्ष समाचार सम्प्रेषण गर्दा त्यसो भनियो भने मलाई मतलब हँुदैन । देशमा हजारौं पत्रकार छन्, म ती सबैको सम्मान गर्छु । पत्रकारिता सिक्ने पेसा हो । कोही पनि यो पेसामा पोख्त हुँदैन । मेरो लगनशीलता, काम एवं समपर्णका कारण मेरो चर्चा बढी हुन्छ । म पत्रकारितालाई सर्वाधिक माया गर्ने पत्रकारमा पर्छु । 

तपाईं आफूले गल्ती गरे पनि कहिल्यै उक्त गल्ती स्वीकार गर्नुहुन्न भनिन्छ, साँचो हो ?

मेरा पनि केही कमीकमजोरी होलान् तर ऋषि धमलाले गल्ती गरेको छैन । गल्ती गरे स्वीकार गर्न तयार छु । भनिदिनुस् कुनै पनि बेला । क्लियर कट रूपमा म आफ्नो गल्तीमा आत्मसमिक्षा गर्न तयार छु ।

तपाईं बिनाभिसा भुटान पुग्नुभएको प्रसंग पनि खुबै चर्चामा छ । के भएको हो ? 

भनिन्छ, म्युजिकको सिमाना हुँदैन । म ऋषि धमला पनि पत्रकारिताको म्युजिकजस्तै हुँ, म सिमानाबिनाको मानिसलाई पासपोर्टको आवश्यकता किन ? सिंहदरबार, बालुवाटार, संसद भवन, सर्वोच्च सबैतिर जान अरू पत्रकारले पास देखाउनुपर्छ, म त्यतिकै छिर्छु । म यहाँ सोझै सबैको बेडरुम, बाथरुमसम्म पुग्न सक्छु । यहाँ मलाई परिचयपत्रको आवश्यकता पर्दैन्, पासपोर्टको आवश्यकता पर्दैन भने भुटानमा किन पर्छ र ?

 

(पत्याउनु भो होइन ? तर भ्रमित नहुनुहोस् । न त ऋषिजीका कुरामा तर्क–वितर्क गर्नु नै आवश्यक छ, किनभने यो अप्रिल फूलका अवसरमा तयार पारिएको काल्पनिक अन्तर्वार्ता हो।)

 

प्रकाशित :चैत्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्