Teej banner

ब्यागको चेन

  • लघु कथा

- प्रतीक गौतम

चैत्र १७, २०७४

 

गाडी जाम थिए । छेउबाट एउटी युवतीले हर्न बजाई । हेरें, राम्री थिई ऊ । ‘तपार्इंको ब्यागको चेन खुल्ला छ,’ उसले भनी । बीचमै रोक्न नमिल्ने थियो । ‘ए, हो र ?’ जस्तो संकेत दिएँ मैले ।

‘छेउमा लगेर रोक्नु’ भन्ने संकेत दिई उसले । बिस्तारै छेउपट्टि लगेर रोकें । ऊ पनि पछिपछि आई । स्कुटर रोकी र मेरो ब्यागको चेन लगाइदिई र तुरुन्तै स्कुटर हुइँक्याई । मैले धन्यवाद दिएँ । त्यो हूलमा, त्यो कोलाहलमा उसले सुनी– सुनिन, मलाई थाह भएन ।

होइन, यत्रो ठूलो हूलमा किन उसलाई मात्र चासो ? अरू कसैले पनि त भन्न सक्थे । किन उसले नै भनी ? फेरि म किन यति लुच्चो भएको ? अलि सुन्ने गरी मैले धन्यवाद दिनुपथ्र्यो । म उसको पछि–पछि हुइँकिन थालें– मात्र ‘धन्यवाद’ भन्न । अलि अगाडि ट्राफिक जाम थियो । बल्ल–तल्ल उसकै छेउमा गएर रोकें । 

‘धन्यवाद है,’ मैले भनें ।

मुसुक्क हाँसी, केही बोलिनँ ऊ । जवाफमा मैले पनि मीठो हाँसो फालें ।

तुरुन्तै जाम खुल्यो, ऊ हुइँकिई । हावाले उसका केश फिर्रफिर्र उडाइरहेको थियो । 

लाग्यो, उसको काम गर्ने अफिस मैले पत्ता लगाउनैपर्छ । म उसको पछि–पछि लागेँ । करिब १५ मिनेटको यात्रापछि ऊ एउटा रेस्टुराँमा छिरी अनि मचाहीं छेउपट्टिको चियापसलमा छिरें । चुरोट सल्काएँ । 

उसले मलाई देखी भने फेरि धन्यवाद भनौं ? म दोधारमा परें । 

‘किन पिछा गरेको भनी भने ?’ ऊ मलाई कुन औकातको सोच्दी हो ?

अर्को तीनओटा चुरोट सल्काएँ, तर ऊ बाहिर आइन । भित्रै गएर उसलाई बोलाउँm ? अहँ, आँट आएन ।

करिब एक घण्टापछि ऊ निस्किई । लुकेर हेरें उसलाई– राम्री थिई । फटाफट चुरोटको पैसा तिरेर बाइक स्टार्ट गरें र फेरि उसलाई पछ्याउन थालें । अलि अगाडि मात्र के गएको थिएँ, ऊ एकाएक विलीन भै । चौबाटो थियो, चारैतिर हेरें उसलाई, कतै देखिनँ । केही बेरसम्म हेरिरहें, तर ऊ कता गई–गई ।

फेरि आफैंलाई देखेर अचम्म लाग्यो । म किन उसलाई पछ्याउँदै छु ? किन ?

किन – धन्यवाद दिनका लागि ?

किन – ऊसँग बोल्न ?

म आफैंलाई थाहा थिएन । घडी हेरें । अफिस जान ढिलो भैसकेछ । त्यहाँबाट फर्किएँ र आफ्नो अफिसतिर लागें ।

अफिस पुगेर ब्याग हेर्छु त ब्यागको चेन खुल्लै पो छ । 

प्रकाशित :चैत्र १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्