मुख्य समाचार के–के हुन् ?

- मनोज गजुरेल

चैत्र १७, २०७४

प्रत्येक दिनको अखबार पढ्नुहोस्, टिभीको न्युज हेर्नुहोस्, रेडियोको समाचार सुन्नुहोस्— राजनीतिबाहेक अरू विषय कहिल्यै प्रमुख समाचार हुँदैनन्, किन होला ?

सोसल नेटवर्क फलो गर्नुहोस्, अपडेट्सहरूसँग अपडेट रहनुहोस्, अनलाइन भिजिट गर्नुहोस्, पोर्टल पछ्याउनुहोस्— सबैभन्दा मुख्य विषय राजनीति नै हुन्छ, किन होला ? चिया खाने बेला, जन्त जाने बेला, कुरुवा बस्दा, आफन्त खस्दा, मलामी बन्दा, खेत खन्दा, लञ्च टाइममा, डिनरको मौकामा— सबैभन्दा पहिले राजनीतिकै कुरा हुन्छ, किन होला ?

किन होला ? किन होला भने, कि त हामीलाई राजनीतिको रेबिज लागेको छ कि भने पोलिटिक्सको सरुवा रोगले समातेको छ । यो पनि होइन भने हामीलाई नेता फोबिया भएको हुनुपर्छ । त्यो पनि होइन भने पक्कै हामी पोलिटिक्स मेनियाले ग्रस्त छौं ।

यी रोगको तत्काल उपचार हुन नसके अधिकांश जनता रोगग्रस्त हुन्छन् । सिंगै देश भोक र शोकग्रस्त हुने पक्का छ । हरेक स्थानमा राजनीतिलाई नै छलफल, चर्चा र बहसको बिषय बनाइरहने हो भने एक दिन हामी कोही पनि जनताका रूपमा रहनेछैनौं । विभिन्न पार्टीको हनुमान वा पिछलग्गु मात्र बन्नेछौं ।

हाम्रो नाम, थर, ठेगाना, उमेर, लिंग, वर्ग सबै राजनीतिक रूपमा राखिनेछ । यदि कांग्रेसको समर्थक छ भने उसको नाम श्री बीपी भक्त समाजवादी हुनेछ । कम्युनिस्टको समर्थकको नाम क्रान्तिवीर साम्यवादी भनिनेछ ।

वास्तविक उमेर भनिनेछैन । पार्टीमा आबद्ध भएपछिको समयलाई उसको जन्म मिति मानिनेछ । लिंगको ठाउँमा खाली राखिनेछ, किनभने साम्यवादमा सबै समान हुनेछन् भनिएको छ ।

राजनीतिबाहेक समाजमा सयौं विषय छन् । कला, साहित्य, संस्कृति, धर्म, विज्ञानजस्ता विषय भिडियाको प्रमुख समाचार त बनेनन्–बनेनन्, हामी सर्वसाधारणको चियागफमा समेत पर्दैनन् । रक्सी पार्टीमा पनि मोदी वा डोनाल्ड ट्रम्पभन्दा तलको विषय वर्जित छ ।

यो तरिकाले उँभो होइन, तलतिरको यात्रा हुन्छ । हाम्रो चेतना, विचार र समाज मात्र होइन, मानव सभ्यता नै राजनीतिभन्दा बाहिर पनि अर्को संसार छ भन्ने कुरामा कन्फ्युज देखिन्छ । हामीले आफ्नो यो स्वभाव परिवर्तन गर्नुपर्छ, तर कसरी ? मान्छेको दिमाग एकदमै खुराफाती हुन्छ । ऊ एक ठाउँमा चुप लागेर बस्न सक्दैन । बरु प्रकाशको गतिलाई रोक्न सकिएला, विचारको स्पिडमाथि ब्रेक लगाउन गाह्रो हुन्छ ।

रहस्यदर्शी ओशो भन्नुहुन्छ— विचारलाई रोक्न सकिँदैन, बरु त्यसलाई राम्रो काममा लगाउन सकिन्छ । राम्रो काम भनेको के त ?

मलामी जाँदा अब राजनीतिको कुरै नगरौं । नगरौं मात्र होइन, सोच्दा पनि नसोचौं । जुन सन्दर्भमा सहभागी छौं, त्यही सन्दर्भको प्रसंग चलाऔं । जन्म र मृत्यु, नाम र बदनाम, दण्ड र क्षमाजस्ता विषय मलामी जाँदा गर्न सकिन्छ । कुनै एक जना मानिसको मृत्युमा ओली वा प्रचण्डको चर्चा गर्नु भनेको मुख्र्याइँ मात्र हो । 

जन्ती जाँदा पनि कांग्रेस र कम्युनिस्टको प्रसंग चलाउनु हुँदैन । प्रेमका कुरा हुन सक्छन् । विवाहका चर्चा चल्न सक्छन् । डिभोर्सका विषय उठ्न सक्छन् । सुहागरातको विज्ञान र हनिमुनसम्बन्धी ज्ञानका विषयमा बहस हुन सक्छ, तर राजनीति त्यहाँ पटक्कै सुहाउँदैन ।

यो त आममानिसको कुरा भयो । राजनीतिलाई मात्र प्रमुख समाचारको विषय मान्ने सञ्चारक्षेत्रले पनि बुझ्नुपर्छ— राजनीतिबाहेक विज्ञान, अर्थतन्त्र, आध्यात्म, खगोल आदि थुप्रै विषय छन् । ती विषयले मानव सभ्यता, मानव जाति र हाम्रो धर्तीलाई विभिन्न खालका प्रभाव पारेका हुन्छन् । यिनलाई पनि प्रमुख विषय बनाउनुपर्छ । 

पाठक, श्रोता तथा दर्शक के चाहन्छन्, त्यही मात्र दिने हो भने त पत्रकारितालाई राष्ट्रको जिम्मेवार अंग किन भन्ने ? गैरजिम्मेवार भएर मानिसको मनले माग्ने रासलीलाका तस्बिर र कृष्णलीलाका समाचार मात्र पस्किए भैगयो नि, तर त्यसो गर्नु हुँदैन । गर्ने के हो भने जनतालाई के चाहिएको छ, त्यो मात्र दिने होइन । के दिंदा जनताको तन, मन, धनलाई राम्रो हुन्छ, त्यो पो दिने हो त— सबैको मंगल होस् । 

प्रकाशित :चैत्र १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्