अर्कै रवीन्द्र अधिकारी

- रवीन्द्र अधिकारी

चैत्र १५, २०७४

 

चैत २ गते । मोबाइलमा ६ बजे एउटा एसएमएस आयो– ‘बधाई हो बधाई !’ हप्तौँदेखि आफ्नो वरिपरि कुनै राम्रो घटना घटेको छैन, केको बधाई, कसको बधाई ? म्यासेज रङ नम्बरमा परेको हुनुपर्छ । ४५ मिनेटपछि फेरि अर्को नम्बरबाट म्यासेज आयो– कंग्य्राच्स सर । त्यो नम्बर कहिल्यै म्यासेज नगर्ने वरिष्ठ आफन्तको थियो । रिप्लाई के गर्ने ? फोन नै गरेर बधाई केको थियो भनेर सोध्ने आँट पनि आएन । बूढा फेरि प्य्राङ्क गर्ने खालका पनि होइनन् । ९ बजेको तेस्रो म्यासेजले मलाई सोच्न बाध्य बनायो, जसमा लेखिएको थियो– ‘डियर रवीन्द्र सर, बधाई ! यु रियल्ली डिजर्भ इट ।’ नम्बर नौलो थियो, तैपनि एक मिसकल ठोकिदिएँ । नचिनेको नम्बरलाई थाहै नभएको विषयमा फोन वा एसएमएस फर्काएर गलफत्ती गर्नुभन्दा एक मिसकलमा टार्ने योजना थियो, जसले केही घण्टामै घाँस खायो । 

आँखा लागिसकेका थिए, पौने एघार बजे राति फोनको रिङ्ग बज्यो । अन्धकार अनि सन्नाट्टामा फोनको घन्टी पनि कति चर्को ? आँखा आधा खोलेर हातले छामछुम–छामछुम गरी फोन उठाएँ । फोनलाई सिरकमुनि नै लगेर कानमा राखँे । आवाज आयो– ‘नमस्ते सर ।’ लर्बराएको जिब्रोसँगै ब्याक ग्राउन्डमा लाइभ म्युजिक चलिरा’छ । भेउ पाउन गाह्रो भएन, केटो तालमा छ नत्र त्यति राति किन फोन गथ्र्याे ? 

ऊ भन्दै थियो – ‘कङ्ग्य्राचुलेसन सर कङ्ग्य्राचुलेसन्स ।’ प्वाक्क सोधँे– ‘किन र ?’ लौ बित्यास । साह्रै बिरलै पाउने बधाईलाई यथावस्थामा स्वीकार गरेर प्रकम्य आनन्द लिनुको साटो उल्टै किनको झटारो तेस्र्याउनु भनेको नेपाली पहिचानकै खिलाफ थियो । मेरो असामान्य ‘किन’ लाई उसले सम्पूर्णत: प्राकृतिक मान्दै स्वीकार गर्‍यो । कारण: महाशय सोमरसको तलाउमा अलि बढी नै डुबेका थिए । 

उताबाट जिब्रोले झन्डै–झन्डै बुझिने वाक्य निकालिरहेको छ– ‘अब हजुर पर्यटन मन्त्री, हामी पनि लामो समयदेखि पर्यटनमै काम गरेको मान्छे । पर्यटन उद्यमीहरूको हजुरलाई पूर्ण समर्थन र सहयोग रहनेछ ।’ हैट् ! बल्ल मेरो दिमागको तार झन्झनायो– ‘अच्छा, यसले मलाई माननीय रवीन्द्र अधिकारी मान्दैछ ।’ अघिल्ला एसएमएसहरूको गोलचक्कर पनि बल्ल खुल्यो । पछिल्लो समाचार फलो नगर्दा यत्रो बेर रनभुल्लमा पर्नुपर्‍यो । उता मीतज्युले मन्त्री पड्काइसकेछन् ।

तरङ्गित म कता घुम्न गएछु । उताबाट उही स्वरले झस्कायो– ‘हैन, हजुरले मलाई चिन्नुभएन कि कसो ? म फलानो । तीन महिनाजति अघि फलानो रिजर्टको गाला डिनरमा भेटघाट भएको थियो नि ?’ प्रतिक्रियामा मैले भन्नै आँटेको थिएँ– ‘माफ गर्नुहोला महाशय, म त्यो रवीन्द्र अधिकारी होइन, जो तपाईंले सोचिरहनुभएको छ । म त अर्कै रवीन्द्र अधिकारी हुँ ।’ तर फेरि झ्वाट्ट सम्झिएँ– ‘अहिले त्यसो भनेर सुड्डोको निन्द्रा के हराम गर्दिनु ? एक रात भए नि दङ्ग परोस् न ओरिजिनल रवीन्द्र अधिकारीसँग फोन वार्ता गरेँ भनेर ।’ त्यसैले मैले एसएस, मेनी–मेनी थ्यांक्स मात्र भनिरहेँ । छोटो वार्तालाप त्यहीं टुङ्गियो । 

अब प्रश्न उठ्छ– ‘मन्त्रीलाई पुग्नुपर्ने बधाईका शब्दगुच्छाहरू एकाएक कसरी एउटा सर्वसाधारणको मोबाइलमा आयो ?’ यकिन त म पनि कसरी भन्न सक्छु र तर सोसल मिडियामा कसैगरी जोडिएर एकाउन्ट सिङ्क गर्दा मेरो नामसहित नम्बर सेभ भएर पछि त्यो मान्छे झुक्किएको हुनुपर्छ । यो कुरा पक्का हो कि कसै न कसै गरी ती बधाई दिने मानिसहरू हामी दुई रवीन्द्र अधिकारीसँग सम्बन्धित छन् । खै कुरा के हो तर त्यो रात ऊ पनि मख्ख, म पनि मख्ख । 

भोलिपल्ट बिहानै तिनै नम्बरलाई अघिल्लो रात साँचेको म्यासेज पठाएँ । कसैको रिप्लाईचाहिँ आएन । रवीन्द्र अधिकारी हुनुको चटारो बेलाबखत अरू ठाउँमा पनि पर्छ । केही हप्ताअघि बैंकमा पनि पर्‍यो । भौचरमा नाम हेर्दै लगभग किटानीका साथ टेलर मुस्कुराउँछ । मुस्कानसहित टाउको उठाएर मलाई हेर्छ अनि अपरिचित रवीन्द्र अधिकारीको थोपडा दर्शन गर्नुपर्दा थुतुनो कालो बनाउँदै पुर्ववत् किबोर्डमा हात चलाऊन थाल्छ । 

नाम मात्र हेर्नेले त तुरुन्त फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइहाल्छन् र पछि फुर्सदमा अनुहार नियाल्दै विरक्तिन्छन् । आखिर रवीन्द्र अधिकारी हुनुमा मेरो के दोष ? मेरो न्वारन गर्दा माननीयज्यू सुप्रसिद्ध भैसक्नुभएको भए पनि त मेरो नाम खोजीखोजी अर्कै राख्ने थिए होलान् नि मेरा बा–आमाले ! अब त नाम फेर्न पनि नमिल्ने, डुब्लिकेट रवीन्द्र अधिकारी भएर बाँच्नुको विकल्प पनि त छैन । 

                                                           ravinems@iom.edu.np

                                                          facebook.com/AdhiQarie/

प्रकाशित :चैत्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्