उपेन्द्रका पहाड फोड्ने कविता

- किशोर नेपाल

चैत्र १३, २०७४

उपेन्द्र सुब्बा । सांसारिक अनुभवले थाकेर पाकेको जोगीको लट्टाजस्तो बाक्लो कपाल । एउटा रफ–टफ व्यक्तित्व । असल मानिसका रूपमा जगले उनको सामान्य व्यक्तित्वको राम्रै पहिचान गरे पनि साहित्य र सिनेमाको संसारले राम्रोसँग चिनी नसकेका कवि । असल र राम्रो कवि र कविता चिन्न र खोज्न हाम्रो समाजको बौद्धिक औकात पनि छैन होला । राम्रो र नराम्रो छनौटको जिम्मा एकतर्फी हिसाबले बजारले लिएका बेला चम्किएका कौडीको महत्त्व बढ्छ— मणि कसैको आँखामा चढ्दैन । उपभोक्ता वादी समाजमा मानिस थाहै नपाई बजारको गुलाम बनिसकेको हुन्छ । 

होइन भने बितेका बीस वर्षयता कविताका नाममा कोरिएका करोडौं हरफमा अर्थपूर्ण कविताहरू हराउने अथवा पाठकहरूको सीमित घेरोमा थुनिने थिएनन् होला । फेसबुकमा टाँसिने जन्म र मृत्युका समाचारलाई लाइक गर्दागर्दै जीवनका बहुआयामिक बौद्धिक र दार्शनिक पक्षहरू बिर्संदै गएको पुस्ताको साँघुरिँदै गएको क्षितिजमा कविताले भन्दा बढी स्थान ठट्टाले पाएको छ । प्रकाशन व्यवसायमा लागेका कतिपय बुद्धिजीवी सफल लेखनका लागि लेखकमा शब्दको प्रचुर जानकारी चाहिँदैन भन्ने आशय फैलाउन खोज्दैछन् । अन्तत: लगातार अवनतिको बाटोमा लागेको समाजका लागि कविता र अन्य कुनै पनि रचना विधाको निरन्तर अवनति स्वभाविक नै होला । 

साथीभाइले चिनाइसकेका थिए उपेन्द्रसँग । उनको कविता एकमुस्ट पढ्न पाएपछि मैले सोचें, वास्तवमा यो मान्छे कविता हो कि कविताको चुरो हो ? यसले जीवनलाई जसरी कुँदेको छ कविताको आकारमा, त्यो अनुपम छ । कविता र सम्पूर्ण साहित्यिक रचना–विधाको कायाकल्प खोजिरहेका कवि शैलेन्द्र साकारका शब्दमा— ‘कविताको स्वर र आवाज यस्तो हुनुपर्छ जसलाई कसैले उपेक्षा गर्न नसकोस् ।’ संसारमा आवाज र चित्कारहरूको कमी छैन । पृथ्वीको एउटा गोलाद्र्धदेखि अर्को गोलाद्र्धसम्म मानिसहरू निरन्तर चित्कारिरहेका छन् । ती सबै चित्कार सुनिन्छन् र सुन्नैपर्छ भन्ने पनि केही छैन । बजारको नियमअनुसार सबै सिनेमा नचलेजस्तै सबै कविता मानिसका आवाजको प्रतिनिधि हुँदैनन् र ती सुनिँदैनन् । आवाजको महत्व र प्रभाव सुनिनुमा हुन्छ । जो सुनिँदैन त्यो वास्तविक होइन ।

त्यसपछि आयो यस्तो समय, जब कविता नै सम्पूर्ण नेपालीको आवाज बन्यो । कविहरूले निरंकुश राजासँग चर्को स्वरमा प्रश्न सोध्न थाले– हामी जनता चिच्याइरहेका छौं र तिमी राजा सुनिरहेका छैनौ । के तिम्रा कान त साबुत छन् ? कि तिनका जाली फुटिसके ? मोहन कोइराला, भूपी शेरचन, वासु शशि, कृष्णभक्त श्रेष्ठ, ईश्वर वल्लभ... र त्यसपछि नयाँ पुस्ताका शैलेन्द्र साकार, कृष्णभूषण बल, तीर्थ श्रेष्ठ र धेरै कविहरू । स्वतन्त्रताको खोजीमा कविता क्रान्ति विभिन्न आन्दोलनका रूपमा चली नै रह्यो । औपचारिक निरन्तरताको नाममा भए पनि, अहिलेसम्म त्यो चलिरहेको छ । 

प्रजातन्त्रको पुनस्र्थापनापछि यो देशका कविहरूले चोला बदलिएका थिए । धेरै स्रष्टा पन्छिएका थिए । धेरैले नयाँ सरकार र नयाँ व्यवस्थाका नवरत्नका रूपमा स्थापित हुने अवसर पाएका थिए, तर कविता बदलिएन । कविता एउटै अवस्थामा मात्र बदलिन सक्छ जब समाजको मनोदशा सम्पूर्णतामा बदलिन्छ । कविता नै साहित्यको एउटा यस्तो विधा हो जसले मानिसको मनोदशा बिथोलिदिन्छ । कुनै कुरा पनि नबिथोलिएसम्म बन्न सक्दैन । 

सानै उमेरदेखि कविता लेख्न थालेका कविहरूको खाँचो सम्भवत: कहिल्यै कुनै देशलाई परेन । कविताको खेतीमा नेपाल त झन् धाराप्रवाहवादको मूल नै भयो । कविताका नाममा नेपालमा जति कागजको उपभोग भयो होला वा जति गिगावाइट स्पेसमा नेपाली अक्षर छरिए होलान, त्यसको लेखाजोखा नगरेकै बेस । ती छापिएका र छरिएका अक्षरहरूको अर्थवत्ता कति रह्यो ? यो पनि सोच्नुपर्ने विषय रहेन । केही वर्षयता, यस्तो लाग्छ, कविता थोरै लेखिए । कविताका नाममा आत्मप्रलापको ओइरो बढी लाग्यो ।

ती थोरै कविता लेख्ने थोरै कविमध्ये एक हुन्— उपेन्द्र सुब्बा । उनका कवितामा दर्शनका जटिलता छैनन्, बुद्धिका आडम्बर पनि छैनन्, विसुवियस र हिरोसिमाका सन्ताप पनि छैनन् । कूटनीतिक जादुगरी र राजनीतिक कुटिलता पनि छैनन् । अतृप्त आकांक्षाको जालोमा बेरिएका पनि छैनन् यी कविता । बम्हाण्ड विद्रोह र परिवर्तनका नारा पनि छैनन् यी कवितामा । सरसरी हेर्दा नेपाली समाजको सामान्य चित्रण र सामान्य उद्बोधन मात्र उपेन्द्रका कविताका अभीष्ट हुन्, तर गहिराइमा उनका कविता बुझ्ने हो भने यी कविता विद्रोह, आकांक्षा र परिवर्तनका संवेगहरूमा हजारौं मिगावाइट विद्युत् उत्पादन गर्ने पानीको धारजत्तिकै बगेका छन् । 

कवि सामान्य मानिसको सामान्य जीवनको पर्यवेक्षणमा लागेका छन् । उनी भट्टीमा भेटिन्छन् । खेत, खोला र साना नानीहरूको आँखामा चियाइरहेका भेटिन्छन् । फौदारी र मोबाइलमा भेटिन्छन् । आफ्ना परिधि र सीमाभित्रबाट ऊ संसारको निरीक्षण गरिरहेको भेटिन्छन् । संसारलाई आफ्नै परिवेशको प्रतिविम्बमा टल्किएको हेर्न चाहन्छन् उनी । 

उपेन्द्रका कविताहरूमा संगीत सुर र लयको बेजोडको तालमेल छ । यी कविता गाउन सकिन्छ । लिम्बू समाजको संस्कृति र संस्कारका बीचमा हुर्किएका उपेन्द्रले लिम्बू संस्कृतिमा प्रचलनमा रहेका मुन्धुम र आस्थाका थुप्रै अवशेषलाई तिनका अर्थसहित प्रतीक र विम्बका रूपमा प्रयोग गरेका छन् । 

लिम्बू संस्कृतिको व्यापकतासँग बाँकी संस्कृतिलाई परिचित गराउने उनको यो प्रयोगले आजको समाजलाई सह–जीवनको महत्व बुझाउने प्रयत्न गरेको छ । नेपालको विविध सांस्कृतिक जीवनमा विम्ब र प्रतीकहरूको कमी छैन । केही पूर्ववर्ती कविहरूले आफ्ना कवितामा कलात्मक महत्व स्थापित गर्नका लागि मात्र यी विम्बहरूको प्रयोग गरेका पनि छन्, तर उपेन्द्रले ती विम्बको प्रयोग कविताको मागअनुसार गरेका छन् । त्यसैले उनको यो प्रयोग अर्थपूर्ण बनेको छ । आजको अधकल्चो राजनीतिक, सामाजिक र आर्थिक वातावरणमा उपेन्द्रले प्रयोग गरेका प्रतीक र विम्बहरूको गलत अर्थ लगाएर उनको कवितामा क्षेत्रियताको गन्ध सुँघ्न खोज्नेहरू पनि पक्कै होलान् । त्यस्ताले बुझ्नुपर्छ विम्ब र प्रतीकहरू सर्वदेशीय र सर्वकालिक हुन्छन् ।

पछिल्लो कालखण्डका नेपाली कवितामा भावात्मक संवेगका कृत्रिम रेसाहरूको बिगबिगी छ । आफूलाई मानिसभन्दा पहिले देशभक्त र अरू मानिसको तुलनामा विशिष्ट बनाउने धुनमा कविहरूले कवितासँगै बलात्कार गर्ने गरेका छन् । उपेन्द्र ती सबै ताण्डवहरूबाट मुक्त सामान्य मानिसका सहज कवि बनेका छन् । अन्तत: कुनै पनि रचनाकारको परिचय उसका रचनाले दिन्छन् । आज उपेन्द्र लो–प्रोफाइल कवि होलान्, तर उनको कविताको वेग पहाड फोडन समर्थ छ ।

प्रकाशित :चैत्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्