तपाईं कवि बन्नुभयो भने पहिलो कविता कस्तो होला ?

- रामजी ज्ञवाली

चैत्र १२, २०७४

एउटी नारीका रूपमा आफ्नै संघर्षमा आधारित कविता लेख्ने थिएँ ।

महिमा सिलवाल, नायिका

म नेपाली हुनुमा गर्व गर्छु । म नेपालमै जीवनयापन गर्छु । जस्तोसुकै विपत्मा पनि नेपाल र नेपालीको सान बढाइरहन्छु । न झुक्छु कहीँ, न बिना कारण झुकाउँछु कसैलाई । मर्नै परेछ भने पनि नेपालकै निम्ति बलि चढाउँछु, आफंैलाई– यस्तै कविता लेख्ने थिए ।

चिरञ्जीवी भण्डारी, गायक

यता देशको चिन्ता लाग्छ

उता तिम्रो झनै

यता छोडे देश बिग्रन्छ

उता छोडे घरै ।

पुष्कर सुनुवार, गायक

इमान्दार र मेहनती मान्छे हुँ म एउटा

भर्खर–भर्खर टेक्दैछु चलचित्रमा खुट्टा

धेरै पसिना बगाइरा’छु आएको 

होइन फुत्त

सुख–दु:ख हिँड्दैछु लगाई आफ्नै फाटेको जुत्ता ।

निकेश खड्का, निर्देशक

मानिसकै विषयमा कविता लेख्ने थिएँ ।

सुष्मा कार्की, नायिका

पाएको थेँ जिन्दगी

कसैलाई काम लाग्नका लागि

तर समय बितिरहेको छ 

कागजको टुक्रा कमाउनका लागि

के गर्छौं साथी धेरै पैसा कमाएर

न कात्रोमा छ खल्ती न जमिनमा छ दराज

फेरि यो मृत्युको विधाताले त घूस पनि लिँदैन ।

जीसी अमर, गायक

म कवि बनिसकेको छु, त्यो पनि सानैमा । त्यतिबेला मैले स्कुलमा लेखेको कविता भानुभक्त आचार्यका बारेमा थियो । त्यो नै मेरो पहिलो कविता थियो ।

सत्यराज आचार्य, गायक

मलाई मायाले भरिएको सुन्दै मीठो लाग्ने गीत गाउन मन लाग्छ । जोकसैको मन छुन सक्ने शब्द रचना गर्न मन लाग्छ । मेरो स्वभाव नै सफ्ट छ, त्यसैले म कवि भएँ भने मेरो रचना पनि मजस्तै हरकसैको मन छुन सक्ने माया नै मायाले भरिएको हुने थियो ।

कृष्ण काफ्ले, गायक

एकदमै रोमान्टिक । त्यो पनि इलामको कन्याम चिया बगानमा बसेर त्यहाँको प्राकृतिक सुन्दरता र मायालुलाई सम्झँदै बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबैलाई बिर्सिएछु तिमीलाई सम्झिँदा भने जस्तै ।

यम बराल, गायक

जन्म दिने आमाभन्दा ठूलो को नै हुन सक्ला ? त्यसैले मैले लेख्ने कविता पनि आमासम्बन्धी नै हुने थियो ।

विशाल निरौला, गायक

देश र राजनीतिका सम्बन्धमा केही लेख्ने थिएँ । किनभने देश र राजनीति देखेर म निकै हैरान छु । देश चलाउने व्यक्ति राम्रो भएको भए बिदेसिएका नेपालीहरू घर फर्कन्थे । बिदेसिन खोज्नेहरू नेपालमै बस्ने थिए ।

सविन श्रेष्ठ, अभिनेता

मैले लेख्ने कविता देशसम्बन्धी नै हुने थियो ।

सुजना ढकाल, मोडल

सच्चा नागरिकले देशप्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्वका विषयमा लेख्ने थिएँ । देशलाई कसरी अघि बढाउनुपर्छ भन्ने विषयमा लेखिने कविता सम्भवत: रोचक समेत हुने थियो ।

मदन खड्का, निर्देशक

नारी सौन्दर्यका बारेमा लेख्ने थिएँ । पुरुषको ओठ, आँखा, केशजस्ता कुनै पनि अंगको चर्चा हुँदैन, तर नारीका सबै अंगका बारेमा लेखिएको छ । संसारमा बनेका कविता, गीत अथवा साहित्यका किताबमध्ये ७० प्रतिशत त नारीका सम्बन्धमै केन्द्रित छन् ।

निर्मल शर्मा, निर्देशक

म संस्कृत पढेको विद्यार्थी हुँ । त्यसैले छन्दमा माया–प्रेमसम्बन्धी कविता 

लेख्ने थिएँ ।

कृष्ण कोइराला, प्रोडक्सन डिजाइनर

आमाका बारेमा कविता लेख्ने थिएँ । ‘आमा’ दुई शब्दको भए पनि 

यसको बयान लाखौं शब्द लेखेर पनि गर्न सकिँदैन ।

मदन खनाल, पत्रकार

मेरो कविता कि आमा–बाप्रति समर्पित हुने थियो, कि त मातृभूमिप्रति । त्यो पनि नभए कुनै प्रेमिकाको ‘कल्पना’ गरी कोरिएको हुने थियो अथवा फूल वा जूनलाई सम्झी लेखिएको हुने थियो ।

ईश्वर पोखरेल, गायक

समीपमा जब तिम्रो स्पर्श हुन्छ

शीतलताको महसुसले मन छुन्छ

तिम्रो आगमन जब मनको 

कुनामा हुन्छ

अनि ममताको सागर भरिन्छ

भरिएको त्यो ममताको सागर

हृदयको कुना–कुना छछल्किन्छ

जब अनि आनन्द आउँछ

हर पीडा हर कस्ट पनि

सन्चो भए जस्तो लाग्छ ।

विष्णुजी पाण्डे 

‘माइला बा’, हाँस्यकलाकार

समाजका जति पनि विकृति–विसंगति छन्, त्यसका विरुद्ध लेख्ने थिएँ । यो विषयमा त्यति  कविता लेखिएका छैनन् ।

देवराज गैह्रे, गीतकार

आफ्नै जीवनमा आधारित भएर लेख्ने थिएँ । किनभने मैले आफ्नै जीवन चिन्न सकिरहेको छैन । कविता लेखेपछि आफ्नो जीवन चिन्न सजिलो होला कि ?

वसन्त निरौला, निर्माता

प्रकृतिसम्बन्धी कविता लेख्ने थिएँ । किनभने म प्रकृतिप्रेमी हुँ ।

जीवन भट्टराई, अभिनेता

 

प्रकाशित :चैत्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्