प्रधानमन्त्रीलाई चिठी

- सुविन भट्टराई

चैत्र १२, २०७४

सम्माननीय प्रधानमन्त्रीज्यू,

कहिल्यै नउठेको कलम यस पटक उठेको छ मेरो । तपाईंलाई केही नलेखी, केही नभनी, तपाईंसँग केही नमागी बस्नै नसक्ने भएँ भन्नु मेरो अधिकार पनि त हो । तपाईंलाई नघुक्र्याए, तपाईंलाई नधम्क्याए, तपाईंसित गुनासो नगरे, तपाईंसित नरोए, कोसित जाउँm ?

हिजोअस्ति चोकको चियापसलमा, चियाका गुलिया चुस्कीसँग मन अमिलो बनाउँदै तपाईंप्रति तिक्तता पोख्नु मेरो पनि दैनिकी थियो । तपाईंप्रति मात्र होइन, यसअघिका हरेक सरकारप्रति आँखाभरि घृणा, मुटुभरि आक्रोश र गोजीभरि गाली अनि व्यङ्ग्य बोकेर हिँड्ने मानिसहरूको भीडमा म 

पनि थिएँ ।

यद्यपि आज सबै कुरा फेरिएको छ । तपाईंको प्रधानमन्त्रित्व हिजोअस्तीको जस्तो कुपोषण र क्षयरोग लागे जस्तो पनि रहेन । आज तपाईंको प्रधानमन्त्रित्व हट्टाकट्टा र स्वस्थ छ । हिजो तपाईंका हिम्मत र इच्छाहरूमा प्वालैप्वाल थिए । आज तपाईंको क्षमता र अवसरका पखेटामा प्वाँखैप्वाँख पलाएका छन् । उडाएर समृद्धि र विकासको लोकमा पुर्‍याउनुहुन्छ कि भ्रष्टाचार र अनियमितताको दलदलमा पछार्नुहुन्छ, तपाईंकै हातमा छ ।

अझै पनि, हर चियापसल, हर चोक, हर घर, हर प्रहर, हर गफ, हर रिस, हर दिग्दारी, हर लाचारीमा तपाईं नै बढी सम्बोधित भैरहनुभएको छ । सरकार फेरिन्छ, तै पनि मानिसभित्रको निराशा हत्तपत्त फेरिँदैन । देशमा मन्त्रीमाथि मन्त्री थपिन्छन्, तर मानिसको अँजुलीमा किन एक मुठी खुसी कहिल्यै थपिएन ?

यस पटक सक्नुहुन्छ तपाईं— ती हर व्यङ्ग्य र गालीगलौजको प्रहार छेक्न सक्ने गजबार लगाउन । पक्कै सक्नुहुन्छ तपाईं हर अनुहारमा थुप्रिएको निराशाको कसिङ्गर बढारेर मिल्काउन । सक्नुहुन्छ तपाईं, हरेक बिहान, गेटबाट हामफाल्ने पत्रिकाको हेडलाइनमा सुध्रिएर अथवा सच्चिएर छाउन । 

किन नसक्नु र प्रधानमन्त्रीज्यू ? तपाईं त प्रधानमन्त्री पो । तपाईं सक्नुहुन्छ यसपटक त पक्कै पनि, हरेक नेपालीको मस्तिष्कमा बोल्ड अक्षरमा लेखिएको ‘यो देशमा केही हुनेवाला छैन’ भन्ने निराशा मेटाउन । 

प्रधानमन्त्रीज्यू, मानिसहरू अझै पनि हर बिहान चियाको भन्दा निराशाको चुस्कीले आफ्नो बिहान तङ्ग्र्याइरहेछन् र दिनभरको भागदौडमा कहीँ नपुगेको देख्दा रातरातभर आफ्नै नियतिलाई नङ्ग्याइरहेछन् ।

मानिसहरू अझै पनि हर दिन आफ्नै देशमा बस्नुपर्दाको पीडाले छट्पटाइरहेछन् । अब त सक्नुहुन्छ प्रधानमन्त्रीज्यू, सक्नै पनि पर्छ, अब पनि केही नगरी पाँच वर्षपछि फुत्त उम्किएर भाग्ने बहाना तपाईंसित छैन । 

र, म यसपटक आशावादी पनि छु । तपाईंको मन्त्रिमण्डलमा परेका केही अनुहारको विगतको प्रभाव र आजको चमक हेर्दा मात्र पनि मेरा मुर्झाइसकेका आशाहरू त्यसै बौरिएर आएका छन् । धेरै थोक त अहिल्यै तपाईंबाट आश पनि गरेको छैन । रातारात जादु गर्न त तपाईंले पनि कहाँ सक्नुहोला र ?

तपाईंहरूकै नेतृत्वको छायाँमुन्तिर बस्दाबस्दा, यति बाठा त हामी पनि भैसकेका छौँ कि तपाईं र तपाईंका साथीहरूले देखाएको ठूल्ठूला सपना पाल्ने भ्रम हाम्रो सानो मस्तिष्कले गरेको छैन । तपाईंहरूले देखाएका कतिपय सपनाका भारलाई हाम्रो आशा र विश्वासले अझै थेग्न सकेको छैन । 

प्रधानमन्त्रीज्यू, यो देशका नागरिकमा, यो देशमा, यही देशको भएर, यही देशका लागि केही गरूँ भन्ने सपना यही देशको आकाशमा फिँजिइरहने धुलोका कणजति नै छन् । नभए दराजमा थन्किएर बसेका उनीहरूका टुहुरा पासपोर्टले घरी–घरी दराज खोलेका बेला उनीहरूलाई आशालाग्दो अनुहारले नहेरेको कहाँ होलान् र ? अब त केही राम्रो पक्कै हुनुपर्छ । 

मेरो फोक्सोले एक मुठ्ठी स्वच्छ सास मागेको छ, त्यति त सक्नुहुन्छ नि प्रधानमन्त्रीज्यू !

रोगै थाहा नपाई हजारौँ पर्ने औषधी दिने नाफाखोर डाक्टरहरूको लाइसेन्स खारेज गर्न त सक्नुहोला । देशमा स्तरीय सडक र अति आवश्यक नियम नहुँदा बर्सेनि त्रिशूलीमा खसेर मर्नेहरूका आफन्तको आँसु त्रिशूलीजत्तिकै बगिसक्यो । अब त्यहाँ अरू आँसु नथपियोस् । यो नसक्ने पनि कुरा हुन्छ नि ?

सात वर्षकी बालिका बलात्कृत भन्ने खबर सुन्दा हर उमेरका महिला तर्सिन्छन् । यसपटक सक्नुपर्छ तपाईंले उनीहरूको मुटुबाट त्यो भय उखेलेर फ्याँक्न । सक्नुहुन्छ तपाईंले यस्तो कानुन बनाउन (र कार्यान्वयन गर्ने वातावरण बनाउन) कि आइन्दा कसैका छोरीचेलीप्रति गिद्धे आँखा लगाउनुअघि देशकै कानुन सम्झेर ऊ हजार पटक तर्सियोस् । 

प्रधानमन्त्रीज्यू, कोही बोक्सीको नाउँमा दिनदहाडै पिटिन्छन् र मानिसहरू तमासा हेरेर बस्छन् । यस्ता समाचार पढ्दा–पढ्दा तिलगंगै जानुपर्ने गरी आँखा दुखिसकेको छ । अब त पक्कै सक्नुहुन्छ यस्तो अन्धविश्वासलाई रोक्न । 

चार भित्ता जमिन र दुई मुठ्ठी चामलका लागि यही देशमा मर्नुसम्म परिरहेको छ । धेरै मतले जित्नुभएको व्यक्ति तपाईं, अब थोरै मन उनीहरूको पनि जित्नुस् न । 

हरेक नेपालीका थाकेका, दुखेका, पोलेका, घोचेका, बाउँडिएका आफ्नै अवयवहरूले तपाईंलाई टुलुटुल हेरिरहेका छन् ।

यसपटक त म धेरै नै आशावादी छु । चियापसलमा बसेर ‘यो देशमा केही हुनेवाला छैन’ भन्ने भीडबाट पनि अलग्गिसकेको छु । ठूलो केही गर्नु पर्दैन, यत्ति मात्र गुन लगाउनुहोस्, यति मात्रको लायक हुनुहोस् प्रधानमन्त्रीज्यू कि अर्को चुनावमा पनि सारा जनताले आँखाभरि उत्साह र ह्दयभरि आशा लिएर निर्धक्कसित तपाईंलाई नै भोट हालून्— शुभकामना ।

                                                                                                            तपाईंको देशको

                                                                                                          आशावादी नागरिक

प्रकाशित :चैत्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्