Teej banner

प्रचण्डसँग पारिवारिक रूपमा जोडिदिने विषयले पीडाबोध गर्छु

  • बिना मगर

- जनक तिमिल्सिना, भिषा काफ्ले

चैत्र १०, २०७४

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारकी सबैभन्दा कान्छी मन्त्री हुन्— बिना मगर । ३४ वर्षीया बिनाले माओवादीका तर्फबाट खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी पाएकी छिन् । कञ्चनपुरको सामान्य किसान परिवारमा जन्मिएकी मगर लामो समय माओवादी आन्दोलनमा सक्रिय रहिन् । सोही क्रममा उनले भैरवनाथ गणमा कठोर यातनाको सामना गर्नुपर्‍यो । 

पछिल्ला वर्षहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीका रूपमा पनि उनको चर्चा चुलियो । दाहालका एकमात्र पुत्र स्व. प्रकाश दाहालकी श्रीमती बिनाले चुनावी अभियानकै क्रममा पतिवियोगको बज्रपात बेहोर्नुपर्‍यो । अझै पनि बिनाको अनुहार सामान्य अवस्थामा फर्कन सकेको छैन । पति दिवंगत भएको तीन महिना बितिसके पनि बिना प्रकाशको प्रसंग आउँदा आकाशतिर फर्किएर रुन्छिन् । कञ्चनपुर—१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बिना अहिले दाहाल परिवारकी प्रभावशाली सदस्य त हुँदै हुन्, माओवादीभित्रको एउटा पावरसेन्टरसमेत मानिन थालेकी छिन् । बिनासँग मन्त्री भएपछिका कार्यभार, सम्भावना, चुनौती आदि विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना तथा भिषा काफ्लेले गरेको कुराकानी :

महत्वकांक्षी भनिएको सरकारमा कसरी आफूलाई फिट सावित गर्नुहुन्छ ? 

पहिलो कुरा अहिले हामी संयुक्त वाम गठबन्धनको सरकार बनाइरहेका छौं । यसले आफ्ना एजेन्डाहरू घोषणापत्रमै प्रस्ट पारिसकेको छ । म आफैंले पनि अहिले जुन अवसर पाएकी छु, त्यसलाई घोषणापत्रको स्पिरिटअनुरूप राष्ट्रको उन्नति– विकास अनि बेरोजगारीको अन्त्यमा केन्द्रित हुँदै पूरा गर्नेछु । 

ओली क्याबिनेटमा तपाईं युवाहरूको प्रतिनिधि पनि हो । यस्तो स्थितिमा तपाईंलाई असफल हुने छुट छ कि छैन ? 

मैले सबैभन्दा कम उमेरकी फुल मन्त्रीका रूपमा क्याबिनेटमा जिम्मेवारी पाए । हुन त मभन्दा कान्छी रामकुमारी चौधरी राज्यमन्त्री हुनुहुन्छ । जुन रूपमा मिडियाले मलाई फोकस गरिरहेको छ त्यसलाई हेर्दा मलाई असफल हुने छुट छैन । हाम्रो देशका युवाहरूमा ठूलो फ्रस्टेसन आइरहेको छ, म असफल भए भने युवा नेतृत्वमाथि रहेको आशामा तुषारापात हुन्छ । 

अहिले नेपाली युवाका मुख्य समस्या केलाई मान्नुहुन्छ ? 

सर्टिफिकेट हुन्छ, त्यसको उचित व्यवस्थापन हुँदैन, अर्थात् जागिर हुँदैन । जबकि त्यो सर्टिफिकेट हासिल गर्न उसले र उसका अभिभावकले पर्याप्त लगानी र कष्ट गर्नुपर्ने हुन्छ । ठूलो लगानीपछि छोराछोरीलाई सक्षम बनाइएको हुन्छ तर नेपालमा त्यो सर्टिफिकेटको सदुपयोग हुँदैन । युवाहरू त्यही फ्रस्टेसनका कारण विदेश गैरहेका छन् । युवा जमातमा राष्ट्र, सरकार तथा राजनीतिप्रति वितृष्णा देखिन्छ, यसलाई ब्रेक गर्नुपर्छ र त्यसका लागि मैले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । 

हिजो तपाईं सडकमा ढुंगा हान्ने समूहको नेतृत्व गर्नुहुन्थ्यो, अहिले सरकारमा हुनुहुन्छ । अहिले युवाहरू सडकको साटो सामाजिक सन्जालमा आक्रोश व्यक्त गरिरहेका छन् । त्यो आक्रोशलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 

विरोधका आ–आफ्नै स्वरूप तथा शैली हुन्छन् । त्यसलाई ग्रहण गर्ने पनि आफ्नै शैली र तरिका हुन्छ । त्यो आक्रोशलाई हामीले सकारात्मक ढंगले ग्रहण गर्न सक्नुपर्छ । विरोधका स्वरभित्र पनि धेरै सकारात्मक पक्ष हुन्छन् । त्यसले सकारात्मक परिवर्तनका लागि झकझकाइरहेको हुन्छ, त्यसैले हामीले त्यसलाई सकारात्मक दबाबका रूपमा ग्रहण गर्न सक्नुपर्छ । स्याबासी दिएर सपोर्ट गर्नेभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तप्का विरोधी तप्का हो । त्यसले हामीलाई अगाडि बढ्न, नयाँ काम गर्न र आफ्नो क्षमतालाई थप प्रस्फुटन गर्न, सिर्जनात्मक बन्न अनि देश, जनता र समग्र युवाहरूको हकहितका लागि काम गर्न प्रेरित गर्छ । ती आक्रोशलाई मैले प्रेरणाका रूपमा ग्रहण गरिरहेकी छु र त्यसले मेरो कार्यकालमा सकारात्मक भूमिका खेल्नेछ । 

खानेपानी मन्त्री बन्नुभयो, कस्तो लागिरहेको छ ? 

बाहिर खानेपानी तथा सरसफाइ मन्त्रालय र अन्य मन्त्रालयलाई हेर्ने दृष्टिकोण फरक–फरक छ । यद्यपि यो मन्त्रालयमा आइसकेपछि मलाई अजीव किसिमको आत्मसन्तुष्टि मिलिरहेको छ । किनभने खानेपानी मन्त्रालय जनताको नैसर्गिक अधिकारसँग जोडिएको छ । नेपाली कल्चरमा दुई किसिमको स्याबासी हुन्छ, एउटा राम्रो काम गरिसकेपछि स्याबासी दिइन्छ भने अर्को राम्रो काम गरेबापत आशीर्वाद दिइन्छ । यो मन्त्रालय राम्रो काम गरेर आशीर्वाद पाउने मन्त्रालय हो । अरू मन्त्रालयले काम गरेपछि स्याबासी र धन्यवाद पाउँछन् तर यो मन्त्रालयले काम गर्न सक्यो भने आशीर्वाद पाउँछ । म त्यो आशीर्वाद प्राप्त गर्ने अभियानमा छु । नेपालको सन्दर्भमा यो महत्वपूर्ण र जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो, नैसर्गिक अधिकारसँग जोडिएको मन्त्रालय हो, त्यसकारण यसको महत्व निकै ठूलो छ । यो मन्त्रालयबाट जनतालाई उपलब्ध गराइने सेवा–सुविधा जुन जनताको अधिकारभित्र पर्छ, त्यसलाई फुलफिल गर्ने काम निकै चुनौतीपूर्ण छ । म यसमा एकदमै संवेदनशील र गम्भीर छु । 

मन्त्रालयका प्रमुख चुनौती के देख्नुभएको छ ? 

पहिलो चुनौती अहिलेको अपर्याप्त पानीको माग पूरा गर्नु छ । सहरतिर हेर्ने हो भने मेलम्ची खानेपानीको काम रोकिएको छ, त्यसलाई चाँडै सञ्चालनमा ल्याउने निर्देशन दिने तयारीमा छु । त्यसलाई चाँडोभन्दा चाँडो काठमाडौं ल्याएर जनतालाई बाँड्ने एउटा कुरा भयो । तत्कालको अर्को ठूलो चुनौती भनेको खानेपानीमा विद्यमान ठूलो चुहावट रोक्नु हो । खानेपानीको चुहावटलाई हामीले कहिल्यै नोटिस गर्न सकेका रहेनछौं । हाम्रो ध्यान बिजुलीको चुहावटमा केन्द्रित हुन्छ, तर खानेपानीमा यति ठूलो चुहावट छ भन्ने कुरा मैले मन्त्रालयमा आएको दुई दिनमै अनुभूति गरे । कुनै–कुनै घरमा चार पाँचवटा धारा पनि छन्, एउटै घरमा यति धेरै धारा भएपछि टाढाका घरहरूको त एउटै धाराका लागिसमेत पानी पुग्दैन । यसलाई नियन्त्रण गरेर उपलब्ध पानीलाई सही तरिकाले सही समयमा जनताको माझमा पुर्‍याउनुपर्ने चुनौती पनि छ । अर्कातर्फ भ्याली वरपर पानीका स्रोतहरू छन्, त्यसको व्यवस्थापन गर्ने कुरा पनि प्राथमिकतामा रहन्छ । हामीसँग धार्मिक एवं पर्यटकीय महत्वका स्थलहरू छन्, सुनधारा, ढुंगेधारा, बाइसधारा आदि धारालाई पनि व्यवस्थापन गर्नुपर्छ । यो पर्यटकीय महत्व र जनतासँग जोडिएको कुरा हो । यसलाई म गम्भीरतापूर्वक अध्ययन गर्दैछु । यो मन्त्रालयका सम्भावना, चुनौती एवं समस्याहरूको अध्ययन जारी छ । अध्ययन सकेपछि म एक्सनमा जान्छु । 

तपाईं मन्त्री हुने कुरा निकै अघिदेखि चर्चामा थियो, तर यही मन्त्रालय पाउँछु भन्ने थियो ? 

हामी उपसभामुखको चुनावमा थियौं, चार बजे नयाँ मन्त्रीको शपथ हुन्छ भन्ने थाहा थियो तर मन्त्रालय यही हुन्छ भन्ने कन्फर्म थिएन । फेसबुक र मिडियातिर आएपछि थाहा त पाए, तर आधिकारिक रूपमा कसैले भनिदिएनन् । शपथका क्रममा मात्र थाहा पाएँ । 

तपाईंको उमेर र अनुभवअनुसार त शिक्षा तथा युवा मन्त्रालय उपयुक्त हुन्थ्यो कि ? 

उपयुक्तताका हिसाबले अरू मन्त्रालय पनि हुन सक्थे तर यो मन्त्रालयको महत्व बढी छ भन्ने कुरा म यहाँ आएपछि मात्र थाहा भयो । म अहिले आफ्ना लागि योभन्दा उपयुक्त मन्त्रालय अर्को हुँदैनथ्यो भन्ने निष्कर्षमा पुगेकी छु । युवा र खेलमा पनि मेरो रुचि छ भने विद्यार्थी आन्दोलनबाट आएका कारण शिक्षा मन्त्रालय मेरो पेसासँग नजिक छ । अर्कै क्षेत्रको विज्ञ हुँदाहुँदै पनि पार्टीले मलाई यो मन्त्रालय जिम्मा दियो । यो मन्त्रालयको टेस्ट फरक छ । 

यो नै मन्त्रालय सम्हाल्न पाए हुन्थ्यो भन्ने कुनै रहर थियो कि ? 

म नेतृत्व र पार्टीले दिएको जिम्मेवारी सही ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा दृढ छु । बढीभन्दा बढी आफ्नो क्षमता देखाउनुपर्छ भन्ने छ । यो वा त्यो मन्त्रालय भन्ने कुरै भएन ।

 

पानी महिला तथा गृहिणीहरूसँग प्रत्यक्ष रूपमा जोडिन्छ । उहाँहरूको जीवनस्तर उकास्न केही फरक योजना बनाउनुभएको छ ? 

यो निकै महत्वपूर्ण विषय हो । यो हामीले गाउँघरमा भोगेर आएको विषय पनि हो । तल खोलामा जति पनि पानी बगिरहेको हुन्छ, माथि डाँडामा रहेको घरमा त्यहाँको पानी ल्याउन घण्टौं लाग्छ । गाउँघरका दिदीबहिनीहरूलाई ठूलो असुविधा छ । गृहिणीहरू पानी लिन घण्टौं कठोर श्रम गर्नुपर्ने कुराको प्रत्यक्ष मारमा हुन्छन् । पहाडी क्षेत्रमा कसरी खानेपानीको उपलब्धता सहज बनाउने र समस्या न्यूनीकरण गर्ने भनेर बृहत् योजना बनाउनुपर्छ । तराईमा त ट्युबेलका कारण अलि कम समस्या छ तर, त्यो पानी पिउन योग्य छैन, त्यसमा शुद्धीकरण जरुरी छ । भूकम्पपछि पहाडी क्षेत्रका कतिपय गाउँबस्ती पानीको मुहान सुकेर काकाकुल छन्, यसले हाम्रो जनजीवनलाई नै प्रभावित तुल्याएको छ । हामी यस्ता पक्षमा ध्यान दिँदैनौं । यो स्वास्थ्य, सरसफाइ एवं महिलाको शारीरिक पक्षसँग जोडिएको गम्भीर विषय पनि हो । यसलाई सहजीकरण गर्न मलाई केही समय लाग्छ । 

३४ वर्षको उमेरमा फूलमन्त्री हुनुभयो । तपाईंको राजनीतिक जीवनको उच्चतम लक्ष्य के हो ?

मेरो राजनीतिक जीवनको उच्चतम लक्ष्य जनताको सेवा गर्नु हो । जनताको सेवा गर्ने कुरालाई नै प्राथमिकतामा राखेर आउने जिम्मेवारीहरूलाई सही ढंगले निर्वाह गर्नु मुख्य कुरा हो । 

मन्त्रालयमा तपाईंको बुवाको उमेरका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरूसँगको समन्वय अप्ठ्यारो हुँदैन ? 

त्यति अप्ठ्यारो नपर्नुपर्ने हो किनभने एकले अर्कोलाई सहयोग र समन्वय गरेर नै प्रभावकारी काम गर्न सकिन्छ । 

नेपालको कर्मचारी तन्त्र एक खालको छ । तपाईंलाई सपोर्ट मिल्ला र ? 

एकले अर्कालाई सहयोग गर्ने ढंगमा गयौं भने सहज हुन्छ तर असहयोग गर्ने तरिकाले गयौं भने अव्यवस्थित र भद्रगोल हुन्छ । जुन ढंगले यहाँका सिस्टमहरू चलिरहेका छन् त्यसलाई व्यवस्थित गर्न आजैदेखि काम सुरु गरिसकेकी छु । टिम पनि कामलाई व्यवस्थित गर्न लागिपरेको छ । मेरो मन्त्रालयमा सेतै फुलेका बूढापाकाहरू पनि हुनुहुन्छ । हाम्रो उमेरका युवाहरू त एक दुई जना मात्र हुनुहुन्छ । बूढापाकाहरूका अगाडि हामी हात जोड्छौं, नमस्ते गर्छौं । संस्कारका कारण हामी उहाँहरूका अगाडि झुक्छौं । उहाँहरू मेरो मातहतमा हुँदा एउटा रेस्पेक्टको भावना हुन्छ नै । त्यसका साथसाथै उहाँहरूका अनुभव पनि महत्वपूर्ण छन् । म केश फुलाएका अग्रजहरूको अनुभवको भरपुर सदुपयोग गर्न चाहन्छु । 

कञ्चनपुरको सामान्य परिवारबाट सानै उमेरमा देशको केन्द्रीय मन्त्रीसम्म आइपुगेको श्रेय कसलाई जान्छ ? 

श्रेय त सिंगो आन्दोलन र नेतृत्वलाई जान्छ, सिंगो पार्टीलाई जान्छ । कञ्चनपुरबाट मैले जुन हिसावमा राजनीति सुरु गरे त्यतिबेला राजनीति नै गर्छु भन्ने थिएन । ११ वर्षको उमेरमा कक्षा ५ को परीक्षा दिएर बसेका बेला म जनयुद्ध तयारीको अभियानमा बालकलाकारका रूपमा होमिएँ । मेरो बुबा त्यहाँको संस्थापक जिल्ला सदस्य हुनुहुन्छ । उहाँले मलाई माओवादी पार्टीको अभियानमा आफैंले खर्च दिएर पठाउनुभएको हो । त्यतिबेला दीर्घकालीन जनयुद्ध किन आवश्यक छ र किन माओवादीले यो आन्दोलन गर्दैछ भनेर कला–संस्कृति मार्फत जनतालाई बुझाउने काम हुन्थ्यो, तर मलाई त्यतिवेला धेरै कुरा थाहा थिएन । यद्यपि म पनि त्यो ऐतिहासिक आन्दोलनमा जोडिएँ, अहिले गर्वको अनुभूति हुन्छ । हाम्रा गाउँबस्ती भनेका जटिलता र कठिनाइ भएका ठाउँ हुन् । मलाई हाम्रा भौगोलिक कठिनाइ राम्रोसँग थाहा छ । तराई हँुदाहुँदै पनि विकासबाट ओझेलमा परेका ठाउँ पनि प्रशस्तै छन् । तराईका सीमावर्ती क्षेत्रमा अत्याचार भोगिरहेकाहरू पनि प्रशस्तै छन् । जन्मसिद्ध राष्ट्रभक्त खोज्न तिनै सीमावर्ती गाउँबस्ती पुग्नुपर्छ भन्ने मलाई लाग्छ । त्यहाँका मानिसहरू जन्मदै राष्ट्रभक्त भएर जन्मिएका हुन्छन् । हाम्रा निम्ति दुर्भाग्य नै भन्नुपर्छ सधैं त्यही वातावरण छ त्यहाँ । म पनि त्यस्तै वातावरणमा हुर्किएकी हुँ । यस्तो स्थितिको अन्त्य हुनुपर्छ । 

‘‘उहाँ मेरो आदर्श हो, नेता हो । हामी उहाँको निर्देशनमा मर्न तयार युवा हौं । त्यसकारण उहाँसँग जोड्ने विषयलाई म अस्वभाविक मान्दिनँ । यद्यपि मेरो व्यक्तिगत राजनीतिलाई जोड्नु उपयुक्त होइन, नातागोता–सम्बन्ध एक ठाउँमा छ । त्योभन्दा ठूलो कुरा उहाँ मेरो आदर्श हुनुहुन्छ । म उहाँको कमान्डमा लडिएको विद्रोहको एउटी सिपाही हुँ  । उहाँसँग जोडिने कुरालाई म सकारात्मक लिन्छु, तर आफ्नो राजनीतिलाई परिवारसँग जोड्ने विषयमा भने पीडाबोध गर्छु ।’’ 

 

तपाईंको जीवन भोगाइ धेरैलाई थाहा छ । तपाईंले एउटा बालकलाकारदेखि सैनिक हिरासतका चरम यातनासम्म भोगेको सबैले देखेका छन्, तैपनि तपाईंको सफलतालाई पारिवारिक नातासँग जोडिँदा कस्तो अनुभूति हुन्छ ? 

अध्यक्ष प्रचण्डसँग जोड्ने कुरालाई म अस्वभाविक मान्दिनँ । पारिवारिक नाता सम्बन्ध एउटा कुरा भयो । अध्यक्ष प्रचण्ड मेरो आदर्श पनि हुनुहुन्छ । हिजो उहाँले जनयुद्ध थालनी नगरेको भए नेपाली समाज यहाँसम्म आइपुग्दैनथ्यो । गणतन्त्र नेपाल, संघीय राज्य पुनर्संरचनाका विषयहरू, धर्मनिरपेक्षताका कुराहरू, महिला तथा जनजातिका विषयहरू, स्थापित हुन सक्दैनथे । त्यही कारणले उहाँ मेरो आदर्श हो, नेता हो । हामी उहाँको निर्देशनमा मर्न तयार युवा हौं । त्यसकारण उहाँसँग जोड्ने विषयलाई म अस्वभाविक मान्दिनँ । यद्यपि मेरो व्यक्तिगत राजनीतिलाई जोड्नु उपयुक्त होइन, नातागोता–सम्बन्ध एक ठाउँमा छ । त्योभन्दा ठूलो कुरा उहाँ मेरो आदर्श हुनुहुन्छ । म उहाँको कमान्डमा लडिएको विद्रोहको एउटी सिपाही हँु । उहाँसँग जोडिने कुरालाई म सकारात्मक लिन्छु, तर आफ्नो राजनीतिलाई परिवारसँग जोड्ने विषयमा भने पीडाबोध गर्छु । 

तपाईंको परिवारमा एउटा अकल्पनीय घटना घट्यो । त्यो दु:खको क्षणमा पनि यहाँले आफूलाई सम्हाल्दै चुनाव जितेर मन्त्रीसम्म हुनुभयो ? त्यो क्षणमा आफूलाई काबुमा राख्न के कुराले ऊर्जा दियो ?

जीवनलाई कसरी बुझ्ने भन्ने कुरा महत्वपूर्ण रहेछ । सानै उमेर भए पनि मैले जीवनमा ठूलो उतारचढाव भोग्नुपर्‍यो, धेरै उथलपुथल बेहोर्नुपर्‍यो । मलाई के लाग्थ्यो भने जब मैले भैरवनाथ गणमा चरम यातना खेपिसकेकी थिएँ, जहाँ २७ महिना बेपत्ता जीवन बिताइयो, त्यो नै जीवनको सबैभन्दा ठूलो दु:ख हो । नेपालको इतिहासमा आर्मी ब्यारेकमा सबैभन्दा लामो समय हिरासतमा बस्ने सम्भवत: हामी नै थियौं । कृष्ण केसी, हिमाल शर्मा, म, वीरेन्द्र बस्नेत आदिको टिम । त्यसरी मेरो जीन्दगी अघि बढेको हो । त्यहाँबाट निस्किएर यसरी समाजसेवामा लाग्छु भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ । अर्को पक्ष के भने त्यहाँबाट निस्किसकेपछि मैले जीवनलाई फरक ढंगले हेर्न र बुझ्न थाले । जिन्दगीमा सबैभन्दा दु:खको क्षण, सबैभन्दा पीडाको पल त्यही गणभित्रको चरम यातना होला भन्ने लाग्थ्यो । अब आउने हरेक पल सुखको होला, हरेक दिन शान्तिको होला र हरेक क्षण आनन्दको होला भन्ने सोच्थे, तर जीवन त्यसरी चल्दो रहेनछ । जब यो घटना घट्यो त्यसले मलाई यसरी झस्काइदियो कि मेरो जीवनको परिभाषा नै बदलियो । जीवन मैले पहिले सोचेजस्तो होइन रहेछ । पहिले मैले खेपेका पीडाहरू अन्तिम होलान् भन्ने कल्पना गरेकी थिएँ, तर त्यस्तो हुँदैन रहेछ । मैले अहिले जुन पीडा बेहोर्नुपरेको छ त्यसको सामना गर्न मैले आफ्नो जीवनको परिभाषा नै परिवर्तन गरेकी छु । अझ त्योभन्दा ठूलो चुनौती र घटना, त्योभन्दा अझ ठूला बज्रपातहरू सहन तयार भएर बसेकी छु । त्यस्ता हरेक बज्रपात सहन सक्ने तयारी नै प्रमुख कुरा रहेछ । अहिले त यही नै जीवन हो जस्तो लाग्छ । 

निकै गाह्रो होला नि यसरी सम्हालिन ? 

प्रकाशजी नहँुदा मैले जुन समस्या भोगे त्यो मेरा निम्ति ज्यादै कठिनाइको पल हो । तर युवा भएका नाताले पनि आफूलाई जबरजस्ती बलियो देखाउनुपर्ने रहेछ । सकभर आँसु लुकाउनुपर्ने अवस्था आउँदो रहेछ । त्यसैले पनि म बाहिर दह्रो रूपमा प्रस्तुत हुन्छु । प्रकाशजीले राजनीतिमा मलाइ जसरी गाइड गर्नुहुन्थ्यो । मसँगै काम गरेका धेरै साथीहरू अझै बेपत्ता हुनुहुन्छ । धेरै त्यही भैरवनाथ गणबाट बेपत्ता हुनुभएको छ । उहाँहरूले सहिदको सम्मान समेत प्राप्त गर्न सक्नुभएको छैन । मनमा त्यो पीडा पनि छ । धेरै सहिद परिवार हुनुहुन्छ, घाइते साथीहरू हुनुहुन्छ । सबैको सपना साकार तुल्याउन लागिपर्छु भनेर तयारी गर्दैछु । 

अन्त्यमा एउटा फरक प्रसंग, अहिलेको सरकारले तत्काल समेट्नै पर्ने युवाहरूको मुद्दा के–के हुन् ? 

पहिलो कुरा समाजवादी लक्ष्य पूरा गर्न सबैभन्दा ठूलो अवरोधका रूपमा रहेको युवाहरूको विदेश पलायन रोक्नु पर्छ । पहिलो स्टेपमा बिदेसिएका युवाहरूलाई नेपाल भित्र्याउने वातावरण बनाउने अनि नेपालमा भएकाहरूलाई विदेश जान निरुत्साहित गर्ने । युवाहरूलाई उनीहरूको सीप र कौसल प्रदर्शन गर्न सक्ने वातावरण निर्माण गरी दिनुपर्छ । 

प्रकाशित :चैत्र १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्