मेरा केटी साथी नै छैनन्

- कृष्ण भट्टराई

चैत्र ८, २०७४

सर्लाहीमा जन्मिएका विजय बराल अहिले चलचित्र अभियनमा सक्रिय छन् । उनले यो वर्ष मात्र तीनवटा चलचित्रमा अभिनय गरिसकेका छन् भने त्यसअघि पनि झन्डै एक दर्जन चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका छन् । सानैदेखि कलाकार बन्ने सौख भएका यी अभिनेता काठमाडौं आएपछि रंगमञ्चतर्फ आकर्षित भए । गुरुकुलमा सुनिलकुमार पोखरेलसँग प्रशिक्षण लिएपछि उनी नाटकको अभिनयमा सक्रिय भए । दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेपछि बरालले पहिलो पटक चलचित्र ‘छड्के’ मा अभिनय गर्ने मौका पाए ।

पहिलो चलचित्रमै प्रभावकारी भूमिका निर्वाह गरेपछि उनी एकपछि अर्को गर्दै विभिन्न चलचित्रमा सक्रिय हुँदै गए । साँघुरो, कर्कस, कबड्डी, कबड्डी–कबड्डी, मौन, मिस्टर झोले आदि चलचित्रमार्फत विजयले आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । हालै मात्र चलचित्र पण्डित बाजेको लौरी तथा मिस्टर भर्जिनको छायांकन सम्पन्न गरेका बराल चलचित्र ‘हुर्रे’ मा मुख्य अभिनेताका रूपमा प्रस्तुत भएका छन् । प्राय: हास्य शैलीको भूमिका निर्वाह गरिरहेका बरालले साप्ताहिकमार्फत आफ्ना सेक्रेट कुरा यसरी व्यक्त गरेका छन् : 

बोल्ने शैली

सानै उमेरदेखि ममा एउटा अचम्मको बानी विकसित भएको छ । सार्वजनिक समारोह, भेला, बैठक अथवा स–साना मिटिङहरूमा म निकै कम बोल्छु कि त बोल्दै बोल्दिन्, तर जब हामी नजिकका साथीहरू भेला हुन्छौं, त्यति बेला साथीहरू मलाई ‘चुप लागेर बस् न यार’ भन्न बाध्य हुन्छन् । मेरो यो अनौठो बानी निकै कमलाई मात्र थाहा छ । 

नो गर्लफ्रेन्ड

पत्याउनुहुन्न होला, २८ वसन्त पूरा गरिसकेको यो जीवनमा मैले कुनै केटी साथी बनाएको छैन । बनाएको छैन भन्दा पनि बनाउने मौकै जुरेको छैन भन्दा उचित होला । केटी साथी नै नभएपछि गर्ल फ्रेन्ड हुने त कुरै भएन । त्यसैले भविष्यमा मेरो मागी विवाह हुने निश्चित छ । केटी साथी नभएकाले आजको मितिसम्म म कुमार नै रहेको सगौरव घोषणासमेत गर्न चाहन्छु । 

अम्मलबाट टाढा

म सर्लाहीमा जन्मिएको केटो । तराईमा जन्मिएको केटो, किशोरबाट युवाअवस्थामा आइपुग्दासम्म कुनै न कुनै कुराको अम्मली त हुनुपर्ने हो नि, तर अहँ मैले आजको मितिसम्म पान, सुपारी, खैनी, रक्सी, चुरोट, पानपरागजस्ता कुनै पनि कुरा मुखमा हालेको छैन । अँ...अभिनय गर्ने क्रममा एक–दुई सर्को चुरोट तान्दा पुर्लुक्कै ढलेको चाहिं झलझली सम्झन्छु । 

गायक

म पार्ट टाइम गायक पनि हुँ । ‘बिलगेट्स पण्डित’ शीर्षकको नाटकका लागि मैले ‘सुनसान अँध्यारो संसारमा..’ शीर्षकको गीत नै रेकर्ड गराएको छु, जसमा सागर प्रसाईंको शब्द तथा आधासुर ब्यान्डको संगीत छ । यसबाहेक चलचित्र पशुपतिप्रसादमा समेत मैले धेरै ठाउँमा आलाप गाएको छु । कहिलेकाहीं जमघटमा कसैले आग्रह गर्‍यो भने म गीत गाउन समेत तयार हुन्छु । 

राजनीति

कलेजमा छँदा मैले केही वर्ष राजनीति पनि गरें । आईकम पढ्दा गाउँकै कलेजमा अनि बीबीएस पढ्दा मीनभवन क्याम्पसमा विद्यार्थी संगठनका लागि राजनीति गरेको थिएँ । कलाकारितामा सक्रिय भएपछि भने म राजनीतिबाट धेरै टाढा आएँ । अब भविष्यमा पुन: त्यो क्षेत्रमा पुग्ने सम्भावना पनि छैन । 

कमलो मन

साथीभाइहरूलाई मोटिभेसन दिने कुरामा म सधैं अग्रपंक्तिमा हुन्छु । कसैलाई सम्झाउनुपर्‍यो, अघि बढ्न उत्साह जगाउनुपर्‍यो भने सबैले मलाई नै अघि सार्छन् । आजको मितिसम्म कसैलाई पनि थाहा नभएको कुरा के हो भने राति कोठामा एक्लै हुँदा म प्राय: रुन्छु । अनामनगरको मण्डला थिएटरको माथिल्लो तल्लामा मेरो बसाइ छ । राति जब सुनसान हुन्छ, मलाई रुन मन लाग्छ । त्यसरी रुँदा मन पनि हल्का हुन्छ ।

 

क्यारिकेचर

गाउँमा छँदा म क्यारिकेचर गर्ने कलाकारका रूपमा चिनिन्थिें । म स्कुलमा छँदादेखि नै क्यारिकेचर गर्थें । काठमाडौं आएपछि नाटकमा अभिनय गर्ने क्रममा पनि मैले क्यारिकेचर गरेको छु । चलचित्रमा भने मैले आजसम्म यो कला प्रदर्शन गर्ने मौका पाएको छैन । म प्राय: हस्की स्वर भएका सबै नेताको क्यारिकेचर गर्न सक्छु । खासगरी स्व. सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल अनि बलिउड अभिनेता नाना पाटेकरजस्ता भासिएको स्वर भएका नेताको बोली त 

हुबहु उतार्छु ।  

 

प्रकाशित :चैत्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्