डिप्रेसनलाई शान्त हुन नदिऊँ

- निक्की वेवर एलेन

चैत्र ८, २०७४

तिमी यहाँ के गरिरहेका छौं ? यो मञ्चमा, त्यो पनि यति धेरै मानिसका अगाडि ? यो आवाज हो, मभित्रको चिन्ताको, किनभने कुनै पनि कुरा गलत नहोस् । तपाईंहरूलाई थाहा नै होला, केही वर्षअघि म चिन्ताग्रस्त थिएँ, निराश थिएँ । यो दुवै स्थिति एकसाथ ममा बितिरहे पनि म कसैलाई भन्न सक्ने अवस्थामा थिइनँ । अझ यत्रा श्रोताका अघि कुनै एक अश्वेत महिलाले यो कुरा भनेर प्रचारमा आउन चाहेकी हुन् भन्ने भनाइ सुन्नु नपरोस भन्ने चाहन्थें म । 

हामी जुन समाजमा बस्छौं, त्यो समाजमा डिप्रेसनलाई ऊभित्रको कमजोरी हो भन्ने मानिन्छ, तर, म आफूलाई कमजोर भएको मान्दिनथें, म आफ्नो क्षेत्रमा सफल थिएँ । मैले मल्टिमिडियामा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी थिएँ । टेलिभिजन र सिनेमाको व्यापारका क्षेत्रमा मैले राम्रो रोजगारी पाएकी थिएँ । अझ राम्रा अवसरहरूका ढोका खुल्दै गएका थिए । मैले दुईवटा एमी एवार्ड जितेकी थिएँ, जसका कारण म आफ्नो क्षेत्रमा निकै व्यस्त थिएँ ।

मलाई म आफू जुन काममा व्यस्त थिएँ त्यो कामप्रति नै रुचि कम हुँदै गएको थियो । मसँग खाना खाने पनि समय थिएन, निद्रा लाग्दैनथ्यो । म आफूलाई एक्लो र गल्दै गएको महसुस गर्थें, तर मैले आफूलाई कहिल्यै निराश सम्झिनँ ।

डाक्टरकहाँ परीक्षण गराउँदा मलाई डिप्रेसन भएको भनियो । डाक्टरले भनेको यो कुरालाई म आफैंले स्वीकार गर्न पनि दुई हप्ताभन्दा बढी समय लाग्यो, तर पछि मलाई डाक्टर सही छन् र म डिप्रेसनमा छु भन्ने लाग्यो । मलाई यो कुरा अरूलाई भन्न निकै लाज लाग्थ्यो । मलाई के लाग्थ्यो भने मलाई आफैं निराश हुने कुनै हक छैन, किनभने मेरो जीवन विशेष किसिमकै थियो । मायालु परिवार थियो, परिवारका सबै सदस्यले एक–अर्कालाई माया गर्थे । मेरा पूर्वजले मेरो राम्रो भविष्यका लागि गरेको योगदान सम्भँmदा मलाई आत्मग्लानि हुन्थ्यो, किनभने म उनीहरूकै काँधमा चढेर हुर्किएकी थिएँ । त्यसैले म उनीहरूको आशामा तुषरापात गर्न चाहन्नथें । त्यसै पनि मैले आफ्नो शिर उँचो बनाएर उनीहरूको मुहारमा मुस्कान ल्याउन सकेकी थिएँ ।

कसैलाई केही नभने पनि सन् २०१३ मा मेरो दुनियाँ बिग्रियो । मेरी आमाको फोन आयो र उनले भनिन्– मेरो २२ वर्षीय भान्जाले डिप्रेसनवाट हार खाएर आत्महत्या गर्‍यो । उक्त खबरले मलाई निकै विचलित बनायो । मेरो भान्जा र म अति नै नजिक थियौं, तर म उसले भोगिरहेको समस्याका बारेमा जानकार थिइनँ । हामी जति नै नजिक भए पनि एक–अर्काको संघर्षका कुरा भने सेयर गर्दैनथ्यौं, जसका कारण यो विषयमा हामी दुवै जना चुपचाप रहन्थ्यौं ।

मलाई थाहा छ– कुनै पनि किसिमको दु:खको सामना डटेर गर्नुपर्छ । मैले दुई वर्ष डिप्रेसन/एन्जाइटीको विषयमा खोज गरे । मेरो खोज र डब्लूएचओका अनुसार डिप्रेसन अहिले विश्वमा सर्वाधिक फैलिएको रोगमध्ये एक हो । डिप्रेसन हुनुको वास्तविक कारण थाहा नभए पनि हालसम्मको खोजअनुसार मस्तिष्कमा देखिने रसायनको असन्तुलन वा जन्मजात देखिने समस्याले डिप्रेसन हुन्छ । त्यसबाहेक कुनै व्यक्ति सामाजिक वा जातिगत हिसाबले समाजमा अपहेलित भएको खण्डमा उसमा यस किसिमको समस्या देखिने खतरा २० प्रतिशतले बढी हुन्छ । सामाजिक रूपमा उच्चता पाएका जाति वा आर्थिक रूपमा बलियाहरूको तुलनामा कमजोरहरूको ५० प्रतिशतले मात्र डिप्रेसनका लागि मद्दत माग्छन् । त्यसो हुनुको मुख्य कारण भनेकै उनीहरूले आफैंलाई हीन सम्झनु हो । सामाजिक रूपमा उत्पीडनमा परेका जातिहरू डिप्रेसनलाई व्यक्तिगत कमजोरी मान्छन् । अमेरिकामै हेर्ने हो भने ६३ प्रतिशत कालाले डिप्रेसनलाई व्यक्तिगत कमजोरी मान्छन् । पछिल्ला २० वर्षको तथ्यांक हेर्ने हो भने काला जातिका बालबालिकाले गर्ने आत्महत्याको दर दुई गुणाले बढेको छ ।

डिप्रेसनका कारण मृत्यु हुनेहरूको संख्या बढे पनि ७० प्रतिशत डिप्रेसनका रोगी सही उपचार, औषधि र थेरापी प्राप्त गर्न सके ठीक हुन सक्छन् । यही जानकारीकै कारण मैले चुप लागेर बस्दा आफूलाई अझ हानि पुग्छ भन्ने बुझें, मलाई मेरो परिवारको आशीर्वाद रहेको कुरा महसुस गर्दै मैले आफ्नो कथालाई आम मानिसका अघि ल्याउनुपर्छ भन्ने मानें । मलाई लाग्छ, यसले विश्वमा एक किसिमको जागरूकता ल्याउँछ । मेरी एउटी साथी छिन्— केली पिरे । उनका अनुसार हामीले आफु भित्रको कुनै समस्या कसैलाई नभन्ने हो भने त्यसले हामीलाई भित्रभित्रै गालेर कमजोर बनाउँदै लान्छ, त्यसैले त्यस्ता कुरालाई जतिसक्यो बाहिर निकाल्ने प्रयास गर्नुपर्छ ।

महिलाहरूले मानसिक रूपमा सुदृढ र पुरुषहरूले शारीरिक रूपमा सुदृढ हुनु जरुरी रहेको बताइन्छ, तर कुनै पनि किसिमको समस्या आउँदा हामीले मानसिक एवं शारीरिक रूपमै त्यससँग संघर्ष गर्नुपर्ने हुन्छ । त्यसैले हामीमा सधैं आफैसँग संघर्ष गर्ने भावना हुनुपर्छ । आफूभित्र रहेको मानवीय गुण बिर्संदै गएपछि हामी आफैं शून्यजस्तै हुन्छौं । त्यसपछि हामी औषधि–उपचार गराउनु पर्ने अवस्थामा पुग्छौं । यदि तपाईंहरूले मलाई हेर्नुभयो भने म सन्चो हुनुको कारण मभित्रै रहेको दृढता र मैले पाउँदै आएको सफलताले नै औषधिको काम गरेको पाउनुहुन्छ, जसका कारण म तपाईंहरूलाई आफ्नो कथा खुला रूपमा बताउन सकिरहेकी छु ।

अहिले म के चाहन्छु भने हामी सबैले यस्ता किसिमका रोग लिएर विभिन्न कारणले चुपचाप बसेका बिमारीहरूलाई मद्दत गरौं । यो समस्यासँग जुध्न तिमी एक्लै छैनांै, हामी तिम्रो साथमा छौं भन्दा पनि उनीहरूलाई ठुलो ढाडस मिल्छ । तपाईंहरूलाई लाग्ला म अझै पनि एन्जाइटिससँग लडिरहेकी छु । यो समस्यासँग जुध्न म नियमित रूपमा ध्यान र योग गर्छु भने आफ्नो खानपिनमा समेत सन्तुलन ल्याएकी छु । त्यसो गर्दा पनि म आफूलाई प्रतिकूल अवस्था आइरहेको महसुस गर्नेबित्तिकै उपचारका लागि चिकित्सककहाँ गैहाल्छु ।

यही कुरा मैले आफ्नो भान्जालाई बताउन पाएको भए, सम्भवत: ऊ यो धर्तीमै हुन्थ्यो होला । उसलाई बचाउन नपाएकोमा मलाई धेरै दुख लागे पनि अहिले यही समस्याबाट जुधिरहेका लाखौं मानिसलाई मेरो यो कुरा सुनेर प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु । यदि यो सन्देश उनीहरूकहाँ पुगेको छैन भने तपार्इंहरूले पुर्‍याउन मद्दत गर्न सक्नुहुन्छ । यदि तपाईंहरू पनि मेरोजस्तै समस्यासँग जुधिरहनुभएको छ भने हिम्मत राख्नुहोस् । सही व्यक्तिको मद्दत लिनुहोस्, सबै कुरा ठीक हुन्छ । यदि तपाईंको टाउको धेरै दुखिरहेको छ भने चिकित्सक वा घर परिवारका सदस्यहरूको मद्दत अवश्य लिनुहोला ।

(निक्की दुई पटककी एमी एवार्ड विजेता हुन् । उनले २० वर्षभन्दा बढी समय वार्नर ब्रदर्स, एचबीओ, एबीसीजस्ता टेलिभिजनमा काम गरिसकेकी छिन् । मारिई फोर्ली स्कुलमा सोसल इन्टरप्रेनरसिपको छात्रवृत्ति पाएकी निक्कीले मिडिया स्टडिजमा स्नातकोत्तर गरेकी छिन् ।)

प्रकाशित :चैत्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्