प्रहरी फन्दामा महाठग

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७४

 

डेढ वर्षअघि एक युवतीको फेसबुकमा मनिष बस्नेतको नाममा फ्रेन्ड रिक्वेस्ट आउँछ । गोरो ठूलो अनुहार, आर्मी कट कपाल भएका ह्यान्डसम युवकको रिक्वेस्ट ती युवती एसेप्ट गर्छिन् । फेसबुकमा साथी बनेपछि उनीहरूबीच हाई–हेलो चल्छ । त्यो हाई–हेलो क्रमश: मित्रताका रूपमा झाँगिंदै जान्छ । त्यही क्रममा युवकले आफू अमेरिकामा रहेको र केही दिनमै नेपाल फर्कने बताउँछन् । 

 

काठमाडौं आएपछि ती युवकले युवतीलाई एक महँगो रेस्टुराँमा भेट्छन्, उनका लागि एक थान मोबाइल पनि उपहार ल्याइदिन्छन् । फेसबुकमा गफ भएकै भरमा मोबाइल उपहारसमेत पाएपछि युवती मख्ख पर्छिन् । उनले आफू पनि अमेरिका जाने लालसापूर्ण इच्छा व्यक्ति गर्छिन् । युवकले अमेरिका जान धेरै गाह्रो नभएको र आफूले सहयोग गरेमा अमेरिका सहजै जान सकिने बताउँछन् । त्यसको केही दिनपछि भिसा प्रोसेसिङ सुरु गरेको बताउँदै ती युवकले ती युवतीबाट पटक–पटक गरी लाखौ रुपैयाँ लिन्छन् । पैसा लिइसकेपछि उनीहरूबीचको कन्ट्याक्ट बिस्तारै पातलिँदै जान्छ । त्यसपछि युवक बेपत्ता हुन्छन् । अमेरिका जाने सपनाको पछि लाग्दा युवतीको लाखौं रुपैयाँ स्वाहा हुन्छ । 

 

फिल्मी लाग्ने यो घटना एक मास्टरमाइन्ड ठगको ठगीको शैली हो । यस्तै, फरक–फरक नाटकीय शैलीमा १२ जनालाई लाखौं ठग्ने व्यक्ति अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा छन् । हेलम्बु, सिन्धुपाल्चोक घर भएका सुलभ पण्डित क्षेत्रीले १२ जनाबाट झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ । २९ वर्षीय पण्डितले कसैलाई अमेरिकन आर्मी हुँ भनेर त कसैलाई अमेरिकामा बस्ने बिजनेसम्यान हुँ, अमेरिका लग्छु भन्दै सो रकम ठगी गरेको उजुरी सिआइबीमा परेको छ । 

 

अझ योभन्दा रोचक त के भने यी ठगले केही घटनामा त विश्वास दिलाउनकै लागि गोरो छाला भएकी विदेशी महिलाको समेत प्रयोग गर्ने गरेको तथ्य पनि प्रहरीले हात पारेको छ । प्रहरीले त्यसरी प्रयोग गरिएकी महिलाका विषयमा पनि अनुसन्धान जारी राखेको छ, तर अहिलेसम्म ती महिला को हुन् भन्ने कुरा पत्ता भने लगाउन सकेको छैन । ठगिनेहरूमा पुरुष र महिला बराबर रहेको प्रहरीमा परेका उजुरीहरूमा देखिन्छ । सिआईबीका प्रमुख डिआईजी पुष्कर कार्की— आफू अमेरिकामा रहेको र अमेरिका पठाइदिने आश्वासन दिँदै पण्डितले ठगी गर्ने गरेको बताउँछन् । पण्डित कसैसँग आफू अमेरिकाको बिजनेसम्यान त कसैसँग अमेरिकन आर्मी भएको बताउँथे, कार्कीले साप्ताहिकसँग भने— आफू अमेरिकामा रहेको बताउने, एक–दुई हप्तापछि नेपाल आएको नाटक गर्ने, विश्वासमा पार्न उपहार ल्याइदिने र अमेरिका लैजाने भन्दै लाखौं ठगी गर्ने र त्यसपछि हराउने गर्थे । 

 

फरक–फरक नामका फेक फेसबुक आइडी बनाएर युवा–युवतीलाई ठग्ने पण्डितको जालमा पर्ने अरू पनि धेरै हुन सक्ने आँकलन प्रहरीको छ । पण्डितबाट ठगिनेहरूले पण्डितले १ लाखदेखि २६ लाख रुपैयाँसम्म ठगेको उजुरी प्रहरीमा दिएका छन् । उनले बैंकमा पनि मनिष बस्नेत, सुलभ पण्डित क्षेत्री र नरेन्द्रबहादुर तीनवटै नामबाट खाता समेत सञ्चालन गरेका थिए । प्रहरीका अनुसार विदेश जाने लालसा, बेरोजगार र राम्रो देश जाऊ भन्ने लालसा पाल्नेहरू बढी ठगिएका छन् । अमेरिका पठाइदिन्छु भन्दा तत्कालै विश्वास गरिहाल्नेहरू बढी ठगिएका छन्, अर्का एक प्रहरी अधिकारी भन्छन्— यति चाँडै कसैले अमेरिका पठाइदिन्छु भन्दैमा विश्वास गर्न पनि हुँदैनथ्यो । कतिपयलाई त पण्डितले भारतीय सेनामा जागिर लगाइदिन्छु भनेर समेत ठगी गरेका छन् । ठगिनेहरूमा २७ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू बढी छन् । 

 

अदालतमा ४ करोड ९८ लाख रुपैयाँ ठगीको अभियोग 

२ वर्षदेखि सुलभ ठगीमा संलग्न रहेको विषयमा केही उजुरी र दरखास्तहरू प्रहरीकहाँ पुगिरहेका थिए । तीमध्ये केही उजुरीमाथि प्रहरीले गहन रूपमा अनुसन्धान गर्‍यो । प्रहरीको अनुसन्धानका क्रममा केही उजुरी सत्य ठहरिए । त्यसपछि प्रहरी पण्डित ठगीमा संलग्न भएको निष्कर्षमा पुग्यो । 

प्रहरीले पण्डितलाई पक्राउ गर्नुअघि केही समय पण्डितका गतिविधिहरूलाई पनि निगरानी गरेको थियो । त्यस क्रममा पनि पण्डितका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले माघ २१ गते काठमाडौंको गोकर्णेश्वर—८ बेसीगाउँबाट पण्डितलाई पक्राउ गरेको हो । 

 

पण्डितमाथि काठमाडौं जिल्ला अदालतमा विभिन्न व्यक्तिबाट ४ करोड ९५ लाख रुपैयाँ ठगी गरेको अभियोग समेत पेस भएको खुलेको छ । प्रहरीले पण्डितलाई पक्राउ गरेपछि अदालतबाट म्याद थप गरेर हिरासतमा राखेको छ । उनीमाथि सरकारी छाप र दस्तखत कीर्ते, ठगी, मानव बेचबिखन र नक्कली नागरिकतामा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

 

तीन नाम, तीन नागरिकता 

उनीसँग तीनवटा नागरिकता छन् । ठाँटबाँटपूर्ण जीवनशैलीलाई ठगीको अस्त्र बनाइरहेका यी कुख्यात ठगले आफ्नो वास्तविक नाम सुलभ पण्डित रहेको बयान प्रहरीलाई दिएका छन् ।  तर, तीनवटा फरक–फरक नाममा तीनवटा फरक–फरक नागरिकता रहेका कारण प्रहरीले उनको वास्तविक पहिचान पत्ता लगाउन अनुसन्धान गरिरहेको सिआईबीका प्रवक्ता जीवन श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका—७ मा आफ्नो वास्तविक ठेगाना भएको बयान पण्डितले प्रहरीलाई दिएका छन् । उनले सिन्धुपाल्चोकबाट एउटा नागरिकता सुलभ पण्डित क्षेत्रीको नाममा निकालेका छन् भने अर्को नागरिकता पनि सिन्धुपाल्चोकबाटै नरेन्द्रबहादुर पण्डितको नाममा लिएको प्रहरीले फेला पारेको छ । यसबाहेक उनले कास्की जिल्लाबाट समेत नागरिकता लिएका छन् । उक्त नागरिकतामा उनको नाम मनिष बस्नेत छ । उनले फेसबुकमा पनि फरक–फरक नाम र परिचयबाट ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

 

विवाह पनि नक्कली

प्रहरी अनुसन्धानका क्रममा पण्डितको विवाह पनि नक्कली रहेको भेटिएको छ । सुलभले आफ्नो नाम मनिष बस्नेत भन्दै एक युवतीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । त्यसअघि पहिलो विवाह डिभोर्स गरेका पण्डितले वास्तविक नाम सुलभ बताएकाले जिल्ला अदालतमा मनिषको नाममा गरेको कोर्ट म्यारिज नक्कली भएको प्रहरीको दाबी छ । प्रहरी स्रोतका अनुसार पण्डितसँग विवाह गर्ने ती युवतीले अहिले आफू पण्डितको झूटको पासोमा परेको बताइरहेकी छिन् । ती युवतीले पनि आफूले ठगिएर विवाह गरेको गुनासो हामी कहाँ पुगेको छ, सिआइबीका एक प्रहरी अधिकारी भन्छन्— त्यसकारण पण्डितको विवाह पनि नक्कली देखिन्छ ।

 

ठगीका १२ उजुरी

२६ लाख रुपैयाँ    एक जनाबाट 
९ लाख ५० हजार रुपैयाँ    एक जनाबाट 
८ लाख ९९ हजार रुपैयाँ    एक जनाबाट 
६ लाख ५० हजार रुपैयाँ     दुई जनाबाट 
६ लाख २६ हजार रुपैयाँ     तीन जनाबाट 
३ लाख ९५ हजार रुपैयाँ     एक जनाबाट 
२ लाख २० हजार रुपैयाँ     दुई जनाबाट 
 १ लाख रुपैयाँ         एक जनाबाट 

                                        पुष्कर कार्की

                            प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरो

ठगीका घटनाहरू दिनदिनै किन बढिरहेका हुन् ? 

लाइफ स्टाइल, सामाजिक सञ्जाल र पहुँच, आर्थिक कारोबार चलखेल, चाँडै विश्वास गर्ने परिपाटीजस्ता कारणले ठगी बढेको हो ।

 

ठगीका घटना बढ्नुमा कानुन र सजाय व्यवस्था पनि दोषी छ कि ? 

ठगीका लागि कानुन दह्रो नै छ । ठगीका प्रकृति फरक–फरक छन् । जग्गा–जमिनमा टेकेर गर्ने ठगी, पैसा लिने त्यसको प्रमाण नराख्ने, ठगीमा ठ्याक्कै केस चलाउन नमिल्ने गरी कपाली तमसुक गरिदिनेजस्ता कारणले प्रलोभन र चाँडै धनी भइन्छ भन्ने बाटो देखाएर ठगी गरेको पनि पाइन्छ । 

 

ठगीका तरिकाहरू के–के देखिन्छन् ? 

ठगीका तरिकाहरू पनि भिन्न–भिन्न छन् । मुख्यतया: साइबर स्पेस फेसबुक, भाइबरलगायतका विविध सामाजिक सञ्जालहरू प्रयोग गरेर बढी ठगी हुने गरेको छ । 

 

सोसल मिडियामार्फत सजिलै ठगिने खतरानाक ट्रेन्ड देखिएको छ नि ? 

सुरक्षा व्यवस्था सधैं आफैंबाट सुरु हुन्छ । फेसबुकमा वा बाहिर पनि सजिलै अरूको साथी बनिएन भने ठगिनबाट बचिन्छ । धेरै कुरा हामीले गहिरोसँग हेर्दा नै थाहा भैहाल्छ । नचिनेको व्यक्तिको मित्रताको प्रस्ताव अस्वीकार गर्नुपर्‍यो वा स्वीकार गर्नुभएन । आज प्रस्ताव एसेप्ट गर्‍यो भने बिस्तारै मान्छेको जीवनमा छिर्छ र समस्या सिर्जना गर्न थाल्छ । प्रलोभनमा पारिसकेपछि डर, लोभ र नचाहिने किसिमको प्रभाव पार्‍यो भने मान्छेलाई डर पनि हुने भयो ।

 

कस्ता मानिसहरू बढी ठगिएका देखिन्छन् ? 

अहिले धेरै ठगिनेमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरू नै छन् । चिठ्ठा किनेको छैन्, तर चिठ्ठा पर्‍यो भन्नेबित्तिकै डिपोजिट राख्न सजिलै तयार भैहाल्ने, भन्सारमा बहुमूल्य सामान उपहार पठाएको छु भन्छ त्यो आएको छ कि छैन चेक गर्नु छैन,  सामान निकाल्नका लागि पैसा दिन तयार भइहाल्ने, यस्ता विविध कारणले ठगिएको पाइन्छ । चिठ्ठा नकिनेर कसरी चिठ्ठा पर्छ त्यति सामान्य कुरा पनि ख्याल गरेको पाइँदैन । भाइबरका म्यासेज भेरिफाई गर्ने ठाउँहरू पनि छन् । हाम्रो मनोवृत्ति, महत्वाकांक्षा, आर्थिक चलखेल फाष्ट मुभिङ लाइफका कारण पनि धेरै जना ठगिएका छन् । 

 

 

प्रकाशित :चैत्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्