सिग्रेटजस्तै जिन्दगी

- नवीन प्यासी

चैत्र ६, २०७४

एउटा रित्तो टेबलमा आफूलाई टक्र्याएँ । टेबल त भरियो, तर म रित्तो ग्लासजस्तो थिएँ । कुनै बिर्को नफोरिएको बोतलको पर्खाइमा बसेको ग्लासजस्तो । एकछिन् मौन भएँ, भैरहेँ । टक्क ! सानो आवाजले मेरो मौनतालाई तितरबितर बनाइदियो । मेरो अगाडि एउटा भरिएको गिलास छचल्किँदै उपस्थित भयो । सायद उसलाई इत्रिने मुड थियो । मलाई थिएन । रिस उठ्यो । गिलासलाई उठाएँ र रित्याइदिएँ । आफूजस्तै बनाइदिएँ । हुन सक्छ, हरेक कुरालाई आफू अनुकूल बनाउन खोज्नु मानिसको खतरनाक बानी हो । यही आदतका कारणले नै हरेक कुरा ऊ प्रतिकूल बनिदिन्छ । आफैंभित्र उप्किँदै थिएँ । जोसिँदै थिएँ । आफैंभित्र दौडँदै थिएँ । अचानक टक्क रोकिएँ । 

‘सर ! अर्डर ?’ यसो हेरेँ । हातमा सानो ब्ल्याक डायरी बोकेकी ब्युटिफूल लेडी । उनको आर्टिफिसियल मुस्कानले कताकता हिर्कायो । कतै दूर अन्जान कुनामा । 

‘एउटा मिनी प्याकेट सूर्य रेड ल्याइदिनुस् र स्वीट लस्सी । अहिलेलाई चैँ यति मात्र ।’ उनी हस् भन्दै फर्किन् । पकेटमा भइब्रेसनले अड्डा जमायो । मोबाइल झिकेँ । आमाको फोन रै’छ । बूढी औँलाले रिसिभ बटम चुम्यो— हेलो ! 

‘के गर्दैछस् नानी ? सञ्चै छस् ? कहाँ छस् ? फोन पनि गर्दैनस् ! खालि मैले मात्र गर्नुपर्छ !’

आमाले एकैपटकमा यति धेरै प्रश्न सोधेको यो पहिलो पटक । भन्न त मन थियो, के गरिरहेछु आफंैलाई थाहा छैन । बिराम नभएकैले आराम छु । फोन किन गर्नु र आफैले आफैंलाई बिर्सने मान्छेले, तर शब्दहरू घाँटी वरिपरि कतै अड्किए । जति गरे नि निकाल्न सकिनँ । खै कहाँ हो कहाँ अन्जान ठाउँमा मुटुलाई ढुङ्गाले किच्याएजस्तो भयो । नाक पिरो भयो । आँखा भरिला भए ।

‘सबै ठिकै छ आमा । केही दिनदेखि अलि व्यस्त थिएँ ।’ फोस्रो आवाजमा भनेँ । आमा न हुन्, थाहा पाइहालिन् मेरो फोस्रो आवाजको तात्पर्य । 

‘के भयो नानी तँलाई ? बोली मधुरो छ त ?’ निधारमा निस्किएको उनको पीरका रेखाहरू आवाजमै पनि प्रस्ट हुन्थ्यो । मैले प्रस्टै देखेँ । अगाडि सिग्रेट र लस्सी उपस्थित भयो । सिग्रेटको प्याकेट खोल्दै भनेँ, ‘केही भएको छैन । बरु तपाईंलाई कस्तो छ । के कसो छ उतातिरको खबर ?’

‘यता सबै ठीकै छ । म ठीकै छु । बैनी भर्खर आ’की छ छ्यामाको बाट ।’ 

‘ए । ल ल । राम्रोसँग बस्नु । मेरो पीर नगर्नु ।’ सिग्रेट ओठमा झोसेँ । मरेको रै’छ तर जलेको रै’नछ । धूवाँ आएन । गोजीबाट लाइटर निकालेर जलाएँ ।

‘अनि तँ यता कैले आउँछस् ? यत्रो तीन वर्ष भयो भेट नभा’को । तँसँग भेट नगरी मर्नु ?’

‘म आउँछु । अलि पछि ।’ भन्न त मन थियो । केही समय पर्खनुस् । राम्रो जागिर गरेर तपाईंलाई नै यतै बोलाउँछु अनि सधैं सँगै बसम्ला, तर त्यसो भन्न सक्ने हिम्मत थिएन । जसोतसो बाँचेको मात्र थिएँ । बाँचेको पनि के भन्नु र ? सास फेरेको मात्र थिएँ । सास त आइसियुमा भएको बिरामीले पनि त फेर्छ नि † लामो सट धूवाँ उडाएँ । उसले पनि निकै लामो सेकेन्डसम्म आफ्नो अस्तित्वको दाबी गरोस् भन्ने हेतुले ।

‘छिटो आइज है कान्छा । समयमै उठ्नु, समयमै सुत्नु । सबै कुरा समयमै गरेको राम्रो हुन्छ । भगवान्लाइ सम्झनु, हरेक काम गर्नुभन्दा अघि ।’ समयमै गरेको राम्रो हुन्छ भन्ने शब्दले मस्तिष्कमा नराम्रोसँग हिर्कायो । म घाइते भएँ । आमाले के सोचेर भनिन्, तर मैले त्यसलाई आफ्नो एंगलबाट बुझेँ । कहिलेकाही आफ्नै बुझाइ पनि तेजाब बनेर आफ्नै अनुहारमा छ्यापिने रै’छ ।

‘हस् । म छिट्टै आउँछु । मेरो केही पीर नगर्नु । म भोलि बेलुका कल गर्छु ।’ आमा बोल्न खोज्दै थिइन् । मैले फोन काटिदिएँ अनि टेबलमा फ्यात्र्याक्क फालिदिएँ । निराशाहरूको कुम्लोलाई फालिदिएँ । तर के गर्नु, एकछिनमा आफैंले बोकेर हिँड्नैपर्ने बाध्यता छ निराशाहरूलाई । 

सिग्रेट तान्न भुलेछु । आधा यतिकै सकिएछ, जिन्दगीजस्तै । सल्किएपछि केही नगरे पनि यत्तिकै सकिने । सिग्रेटप्रति दया जागेर आयो । बिचरा, बेअर्थ सकिइरहेछ । मायाले ओठमा राखे र लामो पफ तानिदिएँ । सकिन्छु भनेर थाहा हुँदाहुँदै पनि ऊ यति खुसी भयो कि उसले एउटा चहकिलो मुस्कानको फोहोरा मिल्कायो ।

प्रकाशित :चैत्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्