अटो एक्स्पोमा नयाँ मोडल

- एकराज सुवेदी

चैत्र ५, २०७४

 

दिल्लीमा हालै सम्पन्न अटो एक्सपो–२०१८ मा भारतका साथै संसारका विभिन्न देशका मोटरसाइकल निर्माता कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । सुजुकी, होन्डा, टीभीएस, पियाजिओ, यूएम मोटर्स, हिरो, यामाहा, बीएमडब्ल्यू आदि कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटरका साथै कन्सेप्ट एवं इलेक्ट्रिक मोडल सार्वजनिक गरेका थिए । 

एक्सपोमा होन्डाले आफ्नो प्रिमियम मोटरसाइकल एक्स–ब्लेड सार्वजनिक गरेको थियो । कम्पनीले यही मार्च महिनामै यो बाइक बजारमा उतार्ने योजना बनाएको छ । नाम जस्तै यसको लुक्स पनि सार्प छ । उक्त मोटरसाइकलमा फुल एलइडी हेडलाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । 

यामाहाले नयाँ बाइक वाइजेडएफ–आर१५ भी३ सार्वजनिक गरेको छ । यो बाइक यही वर्षको अन्त्यतिर भारतीय बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ । यामाहाको आर१५ भी३ बाइकमा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर फोर भल्व इन्जिन छ । यसले १९ बीएचपी पावर तथा १४.७ एनएम टर्क दिने बताइएको छ । यसले पहिलेको आर१५ भी२ को तुलनामा १६.३ प्रतिशत बढी पावर दिनुका साथै ४.७ प्रतिशतले बढी इन्धन बचत गर्छ । यो बाइक रेसिङ ब्लु र थन्डर ग्रे गरी दुई कलरमा उपलब्ध हुनेछ । 

यो वर्ष धेरैले उत्सुकताका साथ पर्खिरहेको स्कुटर होन्डाको एक्टिभा ५जी पनि हो । एक्टिभाको अन्य स्कुटरको तुलनामा यसको डिजाइनमा धेरै परिवर्तन नगरिए पनि यसमा विभिन्न नयाँ फिचर उपलब्ध छन् । यसमा फुल एलइडी हेडल्याम्प र पोजिसन ल्याम्प उपलब्ध छ । यसमा नयाँ एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा फोर–इन–वान लक ओपनर स्विच छ । 

सुजुकीले आफ्नो प्रिमियम स्कुटर बर्जम्यान स्ट्रिट सार्वजनिक गरेको छ । यसमा १२५ सीसी इन्जिन छ, जसले १० बीएचपी पावर दिन्छ । यो स्कुटर यही वर्ष बजारमा आउने कम्पनीको भनाइ छ । 

अटो एक्स्पोमा अप्रिलियाले आफ्नो एसआर १२५ स्कुटर प्रदर्शन गरेको थियो । यसको डिजाइन अप्रिलियाको पछिल्लो भर्सन एसआर १५० जस्तै छ । यसको अघिल्लो पांग्रामा डिस्क ब्रेक भएकाले यो सेगमेन्टका अन्य स्कुटरभन्दा फरक छ । अमेरिकी मोटरसाइकल कम्पनी यूएमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई अटो एक्स्पो–२०१८ मा सार्वजनिक गरेको थियो । उक्त मोटरसाइकल भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल हुनुका साथै रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइक भएको कम्पनीले जनाएको छ । 

रेनेगेड थोर बाइकले ३० किलोवाट पावरका साथै ७० एनएम टर्क उत्पादन गर्छ । यो बाइकमा ५ स्पिड ट्रान्समिसन भएको गियर बक्स एवं हाड्रोलिक क्लच तथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटर छ । यसका साथै यसमा रिभर्स गियर पनि रहेको कम्पनीले जनाएको छ । उता यामाहाको वाईजेडएफ आर ३ मा नयाँ बडी ग्राफिक्स तथा कलर अप्सन उपलब्ध भए पनि यसको डिजाइन भने पारम्पारिक मोडलको जस्तै छ । यसलाई भारतमै एसेम्बल गरिनेछ । 

यामाहा वाईजेडएफ आर थ्रीमा ३२१ सीसीको फोर स्ट्रोक प्यारालल ट्विन इन्जिन छ । यसले अधिकतम ४० बीएचपी पावर र २९.६ एनएम टर्क प्रदान गर्छ । यामाहाका अनुसार यसले ६ सेकेन्डमै १ सय किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको टप स्पिड १ सय ८० किलोमिटर प्रतिघण्टा छ । 

एक्स्पोमा नयाँ स्टार्टअप कम्पनी २२ मोटर्स (ट्वेन्टी टु मोटर्स) ले स्मार्ट इलेक्ट्रिक स्कुटर फ्लोको प्रदर्शन गरेको थियो । यो स्कुटर अत्याधुनिक फिचरका साथ उपस्थित भएको छ । यो स्कुटर यही वर्ष बजारमा उपलब्ध हुने बताइएको छ । फ्लोमा २.१ किलोवाटको डीसी मोटर छ र लिथियम आयोन ब्याट्रीको सहयोगले यसमा पावर उपलब्ध हुन्छ । ब्याट्री फुल चार्ज हुन ५ घण्टा लाग्छ र हाई पावर चार्जर प्रयोग गर्ने हो भने १ घण्टामै चार्ज हुन्छ । एक पटक फुल चार्ज गरेपछि यसलाई ६० किलोमिटर प्रतिघण्टाको गतिमा ८० किलोमिटर सम्म चलाउन सकिन्छ । 

अटो एक्स्पो–२०१८ मा बीएमडब्ल्यू कम्पनीको एउटा बाइकले सबैको ध्यान खिचेको थियो । बीएमडब्ल्युको उक्त क्रुजर बाइकमा १६ सय ४० सीसीको शक्तिशाली इन्जिन छ । यो बाइकमा रेनी, डर्ट तथा ड्रिफ्ट जस्ता मोड उपलब्ध छन् जसलाई आवश्यकता अनुसार चलाउन सकिन्छ । त्यसैगरी लामो दूरीको यात्रा गर्न २६ दशमलव ५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

हिरोको २०० सीसीको एक्स पल्समा एयर कुल्ड इन्जिन छ, जसले १८ बीएचपी पावर तथा १७ एनएम टर्क प्रदान गर्छ । यसलाई पहिले भन्दा शक्तिशाली इन्जिनका साथ सार्वजनिक गरिएको हो । यसमा भएको २१ इन्चको अघिल्लो पांग्राले सडकका खाल्डाखुल्डीको अनुभव हुन दिँदैन ।

प्रकाशित :चैत्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्